प्रिय पात्र

ग्रहणमा पनि जीवनको उज्यालो देखिरहने गंकी

‘थ्याङ्क्यु मिस्टर ग्ल्याड’ पढेपछि जेलको कालकोठरी पनि विश्वविद्यालय जस्तो लागेको अनुभव पनि ताजै छ। ‘गीता’ र ‘महाभारत’ले परिपक्व राजनीति, कूटनीति र युद्धनीति हजारौँ वर्षदेखि सिकाउँदै आइरहेकै छ र सिकाइरहने नै छ।

ग्रहणमा पनि जीवनको उज्यालो देखिरहने गंकी

थोरै लेखिने र धेरै पढिने विधा हो उपन्यास। उमेर र चेतना अनुसार उपन्यासको रोजाइमा पनि भिन्नता आउँदो रहेछ। रोजाइको उपन्यास पढ्दा प्राप्त हुने आनन्द साँच्चै अदभूत हुन्छ। त्यसका पात्रहरूले छाड्ने छाप र पार्ने प्रभावले जीवनको दिशा नै परिवर्तन गरिदिन पनि सक्छ।

किशोरावस्थाको उत्तरार्ध र युवावस्थाको पूर्वाध सस्तो मनोरञ्जन दिने ‘बजारू’ उपन्यासहरू सिरानीमुनि लुकाएर खुब पढिन्थ्यो। कलेज जीवन प्रवेशसँगसँगै कोर्सका अलावा क्रान्तिकारी उपन्यासहरू खुब पढियो। वास्तवमा ती उपन्यासहरूले जीवनलाई अग्रगामी बाटोमा अघि बढ्न दिशा निर्देश पनि गर्‍यो।

‘आमा’ र ‘अग्निदीक्षा’का पावेल बन्ने सपना सजाएर जीवनको उर्वर उमेर क्रान्ति मैदानमा बिताएको आजैजस्तो लाग्दैछ। ‘थ्याङ्क्यु मिस्टर ग्ल्याड’ पढेपछि जेलको कालकोठरी पनि विश्वविद्यालय जस्तो लागेको अनुभव पनि ताजै छ। ‘गीता’ र ‘महाभारत’ले परिपक्व राजनीति, कूटनीति र युद्धनीति हजारौँ वर्षदेखि सिकाउँदै आइरहेकै छ र सिकाइरहने नै छ।

संख्या र गुणवत्ता दुवै दृष्टिले नेपाली उपन्यास उकालो यात्रामै छ। माधवी, अनुराधा, शिरीषको फूल, चपाइएका अनुहार, गंकीजस्ता उपन्यासहरू नेपाली औपन्यासिक क्षेत्रका बेजोड उपन्यासहरू हुन् जस्तो लाग्छ। यिनै उपन्यासहरूमध्ये धुस्वाँ सायमीद्वारा लिखित उपन्यास ‘गंकी’को नायिका पनि मलाई खुब मनपर्ने प्रिय पात्र हुन्। यिनै पात्रबारे केही लेख्न मन लागेको छ।

वि. सं. २०१६ सालमा नेवारी भाषा र स्वगत (Monologue) शैलीमा लेखिएको यस उपन्यास यौन मनोविज्ञानमा आधारित छ। यो उपन्यास २०३६ मा नेपालीमा प्रकाशन भएको थियो। आज विश्वका अरू भाषामा पनि यस उपन्यास उपलब्ध छ।

उपन्यासकी नायिका उपन्यासको कथावाचक हुन्। उपन्यास काठमाडौँको मध्यभाग झोछेँदेखि मरूहिँटी, ठहिँटीसम्म नेवार समुदायमा घुम्छ। उपन्यासकार सायमीले नायिकाको चरित्रमार्फत तत्कालीन शहरीया नेवारी समाजको बेजोड चित्रण गरेका छन्। यी नायिका मध्यकाठमाडौंंको ठूला सेठ काजीसाहुकी एक्ली छोरी हुन्।

यी नायिकाले बाल्यकालदेखि प्रौढावस्थासम्म घर, परिवार र समाजमा जे–जे देखिन् र भोगिन् ती सबै कुरा स्वगत शैलीमा उपन्यासमा वर्णित छ। किशोरावस्था लाग्दै गर्दा शरीरमा देखा पर्ने भिन्नता र मनमा पैदा हुने चञ्चलता बिस्तारै कामुक बैँसमा कसरी रूपान्तर हुन्छ र आफ्नो मन आफ्नै वशमा हुँदैन। कामुक तन र अनियन्त्रित मनको फाइदा पुरुष प्रधान समाजका जुनसुकै उमेर र जुनसुकै पेसाका पुरुषहरूले कसरी उठाउँछन् भन्ने जिउँदा पात्र हुन् यी नायिका।

आफ्नो बाको साथी बा बराबर हुनुपर्ने हो। तर बाको साथी मदनबा, बा नभएर यौन व्यभिचारी पुरुष भएर यी नायिकाको जीवनमा बाल्यकालदेखि बारम्बार आइरहन्छन्। यी व्यभिचारी पुरुषले काजीसाहुको घर, सम्पत्ति सबै कब्जा गर्छन्। काजीसाहुको मृत्युपछि आमाछोरी दुवैसँग यौन प्यास मेट्छन्। आमाछोरीको सम्बन्ध सौता–सौताको बनाइ दिन्छन्। अझ छोरीलाई त पेट पनि बोकाउँछन्। पेटको बच्चा जिम्मा नलिएर सौतामाथि एकजना प्रौढ पुरुषलाई जिम्मा लगाएर आफू पन्छिन्छन्।

जीवनका सबै ढोका बन्द हुँदै गए तापनि जिउनका लागि अन्तिम ढोका बाँकी नै हुन्छ। त्यो अन्तिम ढोका हो– उनको रूप, सौन्दर्य र त्यसलाई बिकाउन चाहिने रक्सी भट्टी। जिउनका लागि उनी रण्डी बन्न तयार भइन्, वेश्या बनिन्।

यी अभागी नायिकाको कथा यतिमै टुङ्गिँदैन। ६ महिनामै बच्चा जन्मिएपछि लोग्ने, सौता र समाजले समेत प्रश्न उठाउँछन्। ६ महिनामा यति स्वस्थ बच्चा कसरी जन्मन्छ ? शङ्काको घेराभित्र पर्दै गएकी छोरीलाई बचाउन आफ्नै आमा राक्षस भएर आउँछिन् र १० दिन नपुग्दै बच्चा मार्छिन्। यी अभागिनी पटकपटक मर्दै र बौरिँदै गर्छिन्। बिस्तारै सम्हालिन्छिन्। यिनको जीवनमा फेरि अर्को एकजना साहुको छोरा आउँछ। प्रेमको नाटक गर्छ। जीवनमा बिस्तारै बहार फर्केला झैँ हुन्छ। लोग्ने र सौताले थाहा पाएपछि घरबाट निकालिदिन्छ। प्रेमको नाटक गर्ने साहुको छोरा सधैँको लागि बेपत्ता हुन्छ।

जीवनका सबै ढोका बन्द हुँदै गए तापनि जिउनका लागि अन्तिम ढोका बाँकी नै हुन्छ। त्यो अन्तिम ढोका हो– उनको रूप, सौन्दर्य र त्यसलाई बिकाउन चाहिने रक्सी भट्टी। जिउनका लागि उनी रण्डी बन्न तयार भइन्, वेश्या बनिन्। भट्टी खोलिन्। त्यसपछि यिनको जीवनमा एकजना मास्टर प्रेमको गुलाफ लिएर आउँछन्। अन्ततः मास्टर पनि भँवरा बनेर यिनलाई चुसेर जान्छन्।

जीवनको उत्तरार्द्धमा बाल्यकालका साथी सुकुचा आउँछ। यिनले पनि जाँडको नशामा एकपटक यिनको शरीर भोग्छ। बलात्कारीलाई हत्या गरे बापत सुकुचालाई प्रहरीले समातेर लैजान्छ। आजीवन जेल ठोक्छ। जेलमै सुकुचाको मृत्यु हुन्छ। सुकुचाको मृत्युसँगै यिनले हातको चुरा फुटाएर मन हलुङ्गो पार्छिन्। सुकुचाप्रति आफ्नो अन्तस्करणमा गढेको प्रेम व्यक्त गर्छिन्।

यिनका लागि न त आमा, आमा जस्ती भइन्, न त बा, बा जस्तो। न त आफैँले हुर्काएको भाइ, भाइ जस्तो भयो न त बुहारी, बुहारी जस्ती। न त बाको साथी बा जस्तो भयो न त प्रेमको नाटक गर्ने साहुको छोरा र मास्टर नै आफ्नो भयो। अन्तिममा मनमन्दिरमा सजाउँदै गरेको सुकुचा पनि आफ्नो भएन। आफन्त त आफ्नो भएन, भएन यो समाज पनि कहिल्यै आफ्नो भएन। हुन त नारीद्वेषी यो पुरुष प्रधान समाजले कहिले पो नारीलाई सम्मान गरेको छ र ?

संस्कार, शिक्षा र सम्पत्ति सन्तानलाई हस्तान्तरण गर्नुपर्छ भन्ने हाम्रो पूर्वीय मान्यता छ। यस मान्यतामा बिस्तारै परिवर्तन आउँदै छ। संस्कार, शिक्षा र सम्पत्तिमध्ये सम्पत्ति सन्तानलाई होइन, समाजलाई हस्तान्तरण गर्नुपर्छ भन्ने बहस मधुरो आवाजमा गुन्जिन थालेको छ। संस्कारी परिवार भयो भने सभ्य समाज बन्छ। सम्पत्ति र सौन्दर्य क्षणिक हुन्छ। तर ती दुवै निकै बलशाली हुन्छन्। शहरी समाज विशेषगरी सम्पत्ति र सौन्दर्यको तुजुकमा बाँचेको देखिन्छ।

उपन्यासकार सायमीले विदु्रप बन्दै गइरहेको शहरी समाजलाई उपन्यासमार्फत चित्रण गरेका छन्।
जीवनमा सधैँ घृणा, तिरस्कार, अभाव, अपमानबिच पनि यी नायिकाले जिउनको लागि सङ्घर्ष गरिरहिन्। यिनले आत्महत्याको बाटो कहिल्यै रोजिनन्। सायद यी नारीको ठाउँमा कुनै पुरुष भएको भए आत्महत्या पो गथ्र्याे कि !? हो यी नायिकाको जीवन ग्रहण (गंकी) (नेवारी भाषामा ग्रहणलाई गंकी भनिन्छ।)ले ढाकेको जूनजस्तै छ। फेरि पनि यिनी आशावादी छन्। कथाको बिट मार्दै गर्दा भन्छिन्– ‘चन्द्रमालाई ग्रहण लाग्यो भन्दैमा, राहुले समात्यो भन्दैमा उसलाई झुत्रो–झुत्रोझैँ ठानी ऊ नभए पनि हुन्थ्यो भन्न त होला र ?’ ग्रहणमा पनि जीवनको उज्यालो देखिरहने गंकीलाई सलाम !
००


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved