असनः दुई कविता

असनमा किन्न पाइने रायोको साग हैन जिन्दगी
जिन्दगी त यथास्थितिको विरुद्ध
एउटा यात्रा हो प्राप्तिको
आरोहण हो समष्टिको
आन्दोलन हो प्रगतिको।

नेपालभ्युज

असनः दुई कविता

असनको माछाझैँ सलबलाइरहेछ

–डा. मोहनहिमांशु थापा


एसिया, युरोप र संसारमा उभिइरहेछु
भोटाहिटी, असन, इन्द्रचोक र
काठमाडौंमा लिएर


हिँड्न खोजिरहेछु
टुँडिखेलका ठाउँठाउँमा
बार हालेर

म काठमाडौंमा
नेपालको सपना देख्न सिकिरहेछु
काठमाडौंलाई चारैतिर
पहाडले घेरेर

हाम्रो जीवन
साँझको नयाँ सडकजस्तै छ
अनि हाम्रो जीवनको
आधारातको सपना
असनको माछाझैँ सलबलाइरहेछ

को आउँछ बत्ती बाल्न ?
हामीलाई बाटोमा झुक्याउन
को स्याबजी छर्न खोज्छ ?
हामीलाई पानीमा डुबाउन।
हाम्रो जीवन नयाँ सडकजस्तै छ
हाम्रो जीवनको
आधारातको सपना
असनको माछाझैँ सलबलाइरहेछ।

म भित्र
भित्रभित्र एउटा नयाँ सडक
खनिरहेछु।


एसिया, युरोप र संसारमा उभिइरहेछु
भोटाहिटी, असन, इन्द्रचोक र
काठमाडौंमा लिएर

 

असनमा किन्न पाउने रायोको साग हैन जिन्दगी

–सुदन खुसः

सिनेमाको टिकटझैँ
ब्लैकमा आफू बेचिएर
मात्र व्यक्तिभित्र थुन्न नदेऊ
जिन्दगी बन्द खामभित्रको
सम्मानित शब्दको अर्थमा मात्र सीमित हैन
जिन्दगीको दिनचर्यामा
फैलिएर व्यक्ति समष्टिमा बाँच्नुपर्छ
समष्टिलाई बाक्लो ओछ्यान बनाएर
हाइसञ्चोसँग सुताउन सकिन्न व्यक्तिलाई
हाँस्न सक्दैनन् शोषितहरू
हुँदैन र पुग्दैनको अनुहार प्रदर्शित गरेर

म कराइरहेछु
भिडभित्रका
उच्छ्वासमात्र सुनिरहेका मेरा साथीहरू
जिन्दगीमा
फेरिँदै जाने प्रत्येक समयको लामो नदीमा
सक्ने जति पानी उभायो
यति बेला भने
पुँजी हुन्छ वर्तमानका निम्ति र भविष्यका बटुवाहरूको स्वागतार्थ।

समष्टिको नाममा हामीलाई कुल्चेर
मात्र साइनबोर्ड झुन्ड्याउन प्रतिबद्ध मेरा साथीहरू
जनता बथान मान्छेहरूको फोटो हैन जिन्दगी
पानीमा लेखिएको मूल्य र मान्यता पनि हैन जिन्दगी
आफ्नै विकृत अनुहार हेर्न आतुर मानिसहरू
इनारमा हाम्फालेर मर्दैमा शहीद हुँदैनन्

म कराइरहेछु
शहर–बजार उचालेर ठूल्ठूलो स्वरमा
जिन्दगी
निरस मानिसहरूको सुस्केरा हैन
ललिपप पनि हैन जिन्दगी
न त जिन्दगी कौच र डिनर टेबिल नै हो
आन्दोलन हो अनवरत
आरोहण र प्राप्तिको
सप्ठ्यारो हिजोसँग बाँधिएको गतिविरुद्ध जिन्दगीको।
हो, म भन्दैछु
आतंकित गर्दैमा पुग्दैन
मौन–मौन र सुनसान पनि किमार्थ हैन जिन्दगी
कोठामा झुन्ड्याउने
उर्दीको कोटमात्र जिन्दगीलाई नबनाऊ
नबनाऊ उफ्रेर पनि भेट्टाउन नसकिने महान्।
पर्ख ! जिन्दगीलाई यति छिटो
फलामे खोरभित्र बन्द नगर
असनमा किन्न पाइने रायोको साग हैन जिन्दगी
जिन्दगी त यथास्थितिको विरुद्ध
एउटा यात्रा हो प्राप्तिको
आरोहण हो समष्टिको
आन्दोलन हो प्रगतिको।
००


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved