एकीकृत समाजवादीद्वारा उम्मेदवार छनोटको गृहकार्य सुरु

नेपालभ्युज

एकीकृत समाजवादीद्वारा उम्मेदवार छनोटको गृहकार्य सुरु
फाइल फोटो

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारको सिफारिस एवं छनोट गर्न यही भदौ १० गतेभित्र जिल्ला कमिटीमा सिफारिस गरिसक्न निर्देशन दिएको छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीले निर्धारित समयमा गरेको सिफारिसलाई सम्बन्धित जिल्ला कमिटीले भदौ १२ गतेभित्र प्रदेश कमिटीमा सिफारिस गर्नुपर्ने छ । पार्टीका महासचिव डा. बेदुराम भुसालका अनुसार ती सिफारिस भएका नामलाई प्रदेश कमिटीले भदौ १५ गतेभित्र केन्द्रमा सिफारिस गर्ने र केन्द्रीय कमिटीले भदौ २० गतेभित्र उम्मेदवारको अन्तिम निर्णय गरिने छ। केन्द्रले उम्मेदवार छनोटका लागि औपचारिक तथा अनौपचारिक रुपमा प्रक्रिया सुरु गरिसकेको छ ।

पार्टीको कार्यदिशा, नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहेको नेता तथा कार्यकर्तालाई उम्मेदवार बनाइने छ । पार्टी सङ्गठन निर्माणमा सक्रिय भूमिका खेलेका र योगदान गरेका, पार्टी र क्रान्तिप्रतिको निष्ठा र अनुशासनमा दृढ, आर्थिक एवं नैतिक आचरण राम्रो रहेको, जनतामा स्थापित एवं लोकप्रिय, स्वच्छ छवि भएको र सुशासनको पक्षपाती, कार्यक्षमता राम्रो भएको तथा सक्रिय र समावेशीताको सिद्धान्त अनुसार उम्मेदवार छनोट गरिने छ ।

प्रतिनिधिसभाको सदस्यमा प्रत्यक्ष तथा समानुपातिकतर्फको उम्मेदवार बनाउनका लागि पार्टीको प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीले कम्तीमा एक महिलासहित बढीमा चारजनाको नाम जिल्ला कमिटीमा सिफारिस गर्न गृहकार्य भइरहेको छ । जिल्ला कमिटीले उक्त चारजना मध्येबाट कम्तीमा एक महिलासहित बढीमा तीनजनाको नाम प्रदेश कमिटीमा सिफारिस गर्ने छ । प्रदेश कमिटीले उक्त तीनजना प्रतिको आफ्नो धारणासहित केन्द्रमा पठाउन तथा केन्द्रीय कमिटीले मातहत कमिटीबाट सिफारिस भई आएका तीनजनामध्येबाट प्रत्यक्ष वा समानुपातिकतर्फको उम्मेदवार बनाउन निर्णय गर्ने बताइएको छ ।

प्रदेशसभाको सदस्यमा प्रत्यक्ष तथा समानुपातिकतर्फ उम्मेदवार बनाउनका लागि पार्टीको प्रदेशसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीले नाम सिफारिस गर्ने छ ।एकमात्र निर्वाचन क्षेत्र भएको जिल्लामा जिल्ला कमिटीले नै प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीको काम गर्ने छ । यदि कुनै जिल्लामा निर्वाचन क्षेत्रीय समन्वय कमिटी नबनेको भए एक हप्ताभित्र उक्त कमिटी गठन गरी सिफारिससम्बन्धी काम गर्न परिपत्र गरेको छ ।

विशेष प्रदेश र विशेष जिल्ला कमिटीले पनि समानुपातिक उम्मेदवारका लागि एक महिला र एक पुरुषको नाम सिफारिस गर्न सक्ने छन् । केद्रीय कमिटीले मातहत कमिटीबाट सिफारिस भई आएका र केन्द्रको अभिलेखमा रहेका नामबाट छनोट गरी बन्दसूची तयार गर्ने छ । उम्मेदवारसम्बन्धी निर्णय सकेसम्म कमिटीको पूर्ण बैठकबाट गर्ने, पूर्ण बैठक बस्न सम्भव नभएमा सचिवालयको बैठकबाट पनि टुङ्गो लगाउने नीति छ । कुनै निर्णय विवादित भएमा एक तह माथिल्लो कमिटीले छानबिन गरी फैसला गर्ने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved