दक्षिण कोरियाको प्रस्तावप्रति उत्तर आक्रोशित

नेपालभ्युज

दक्षिण कोरियाको प्रस्तावप्रति उत्तर आक्रोशित

काठमाडौं। उत्तर कोरियाली नेता किम जोङ उनकी शक्तिशाली बहिनी किम यो जोङले आणविक हतियार छाडे अर्थतन्त्र सघाउने दक्षिणको प्रस्तावलाई ठाडै अस्वीकार गरेकी छन् । दक्षिण कोरियाली राष्ट्रपति यून सुक–यियोलले यसअघि,  उत्तर कोरियाले आणविक नि:शस्त्रीकरण सुरु गरे बदलामा चरणबद्ध आर्थिक सहायता दिने प्रस्ताव गरेका थिए ।

बुधबार सत्तामा आएको १०० दिन पूरा भएको अवसरमा एक पत्रकार सम्मेलन आयोजना गरेर युनले उनको प्रस्ताव दोहोर्‍याएका थिए । त्यसैको जवाफमा किम यो जोङले एक विज्ञप्ति जारी गर्दै ‘मुख नखोलेकै भए यूनको इमेजलाई राम्रो गर्थ्यो ’ भनिन् ।

‘कसैले पनि आफ्नो नियतिलाई खाने कुरासँग साट्दैन,’ उनले भनेकी छन् । दक्षिण कोरियाका एकीकरण मन्त्री क्वोन योङ–सेले संसदमा बोल्ने क्रममा आफ्नो देशको प्रस्तावप्रति किम यो जोङले जनाएको टिप्पणीप्रति ‘गहिरो पछुतो’ व्यक्त गरे । योङ–सेले उत्तर कोरियाली प्रतिक्रियालाई ‘अत्यन्त अपमानजनक र अभद्र’ टिप्पणी भनेका छन् ।

उत्तर कोरियाले उसको कुल ग्राहस्थ उत्पादनको ठूलो हिस्सा हतियार कार्यक्रममा खर्चिन्छ । अमेरिका, दक्षिण कोरिया र जापानको ‘शत्रुतापूर्ण’ नीतिका कारण आफूले आणविक कार्यक्रम परित्याग गर्न नसक्ने उसले बताउने गरेको छ । अर्थात उत्तर कोरियाले आणविक हतियारलाई उसको अस्तित्वसँग जोड्ने गर्छ ।

केसीएनएले बुधबार नै उत्तर कोरियाले दुई क्रुज मिसाइल समूद्रमा परीक्षण गरेको समाचार प्रसारण गरेको छ । यो वर्ष उत्तर कोरियाले हतियार परीक्षण बढाएको छ । उसले सन् २०१७ पछि पहिलोपटक अन्तर–महादेशीय ब्यालेष्टिक मिसाइलको परीक्षण पनि गर्यो । तथापि प्योङयाङलाई ब्यालेष्टिक मिसाइल परीक्षण गर्न अन्तर्राष्ट्रिय प्रतिबन्ध छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved