लेख

आर्थिक संकट र जनविद्रोहपछिको श्रीलंकाली राजनीति

एसएलपीपीका सांसद योजनाबद्ध आक्रमणले चिन्तित थिए । केही प्रतिपक्षी सांसदले आक्रमणको भयका कारण निवास बदलेका थिए । कतिपय सांसदले जनविद्रोहलाई समर्थन गरेर आफूलाई मनोवैज्ञानिक तवरले सुरक्षित राख्न खोजेका थिए । यसले एक विचित्रको स्थिति सृजना गरेको थियो । सांसदहरू दलीय वा अरू कुनै राजनीतिक बन्धनभित्र थिएनन । न ती सरकार पक्षका रहेका थिए न विपक्षी । सांसदहरू बिल्कुलै वैयक्तिक बन्न पुगेका थिए ।

आर्थिक संकट र जनविद्रोहपछिको श्रीलंकाली राजनीति

लियोन त्रोतस्कीको प्रसिद्ध भनाइ थियो–‘राजनीति प्राथमिक अंकगणितभन्दा बढी बीजगणित जस्तै र अझ आधारभूत गणितभन्दा सधै उच्च हुन्छ।’ श्रीलंकाको संसदले रनिल विक्रमासिंगेलाई राष्ट्रपति निर्वाचित गर्नु त्रोतस्कीको भनाइ ‘राजनीति अकंगणितभन्दा बीजगणितजस्तो हो’ को एक सटिक उदाहरण हो ।

संसदमा मतदान हुनुअघि एसएलपीपीका असन्तुष्ट सांसद डुलास अलाहपेरुमा विजयी हुने ठानिएको थियो । विभिन्न राजनीतिक दल र स्वतन्त्र सांसदको समूहको समर्थनका कारण २२५ सदस्यीय संसदमा उनले आवश्यक पर्ने न्यूनतम् ११३ भोट सजिलै प्राप्त गर्ने अपेक्षा थियो ।

अर्कोतिर संसदमा एक मात्रै सीट भएका युएनपीका रनिल विक्रमासिंगेलाई एसएलपीपीका महासचिव सागरा करियावासमले उम्मेद्वार घोषणा गरेका थिए । एसएलपीपी संसदमा एकलरूपमा सबैभन्दा ठूलो पार्टी हो । यद्यपि, एसएलपीपीका अध्यक्ष प्रो. जिएल पेरिसले त्यसलाई चुनौति दिएका थिए । उनले विद्रोही सांसद अलाहपेरुमालाई समर्थन गरेका थिए । अझ रोचक कुरा– प्रमुख प्रतिपक्षी दल एसजेबीका नेता सजिथ प्रेमादासाले आफ्नो उम्मेद्वारी फिर्ता लिँदै डुलास अलाहपेरुमाको उम्मेदवारी प्रस्तावित गरेका थिए । यसरी अलाहपेरुमाले विक्रमासिंगेलाई पराजित गर्ने निश्चितजस्तो देखिएको थियो ।

सबै गणितीय विश्लेषणले त्यही देखाएका थिए । सञ्चारमाध्यमले पनि रनिलमाथि अलाहपेरुमा हाबी हुने रिपोर्ट गरेका थिए। गणितीय संख्या अलाहपेरुमाको पक्षमा हुँदाहुँदै पनि अन्तत्वगत्वा विक्रमासिंगे भारी अग्रतासहित जित हासिल गरे ।

दल र समूहहरूले समर्थनको वाचा त गरे तर जब सांसदहरू व्यक्तिगत गोप्य मतदानमा सरिक भए, अंकगणित र बिजगणित बीच विचलन तत्व देखापर्‍यो  र अंगगणितमाथि बीजगणितको विजय भयो । यी त पृष्ठभागको कुरा भए । तर, सन् २०२२ को जुलाई २० श्रीलंकाको राजनीतिक इतिहासमा एक उल्लेखनीय दिन सावित भयो । यो टापु राष्ट्रको संसदले नयाँ कार्यकारी राष्ट्रपति प्रत्यक्ष निर्वाचित गरेको पहिलोपटक थियो ।

कार्यकारी राष्ट्रपति :

कार्यकारी राष्ट्रपतिको प्रचलन ४४ वर्षअघि जे आर जयवर्द्धने नेतृत्वको युनपी सरकारले सुरुवात गरेको थियो । यो प्रावधान सन् १९७२ मा गणतान्त्रिक संविधानको दोस्रो संशोधनमार्फत् पहिलोपटक लागू गरिएको थियो । जेआर जयवर्द्धने श्रीलंकाको पहिलो कार्यकारी राष्ट्रपति बनेका थिए । त्यसपछि, सन् १९७८ मा जारी नयाँ लोकतान्त्रिक समाजवादी गणतन्त्र श्रीलंकाको संविधानमा कार्यकारी राष्ट्रपतीय प्रणाली कायम राखिएको थियो । सन् १९८२ को निर्वाचनमा जयवर्द्धने पुनश्च: निर्वाचित भए ।

त्यसपछिका सबै राष्ट्रपति जनताबाट प्रत्यक्ष निर्वाचित भए । राष्ट्रपतिको निधन भयो, राजीनामा गरे वा अन्य कुनै कारणले कार्यकाल बाँकी छँदै हटाइयो भने प्रधानमन्त्री कार्यवाहक राष्ट्रपति हुने र संसदले यथाशिघ्र नयाँ राष्ट्रपति निर्वाचित गर्नुपर्ने भयो ।

सन् १९९३ मा राष्ट्रपति प्रेमदासाको हत्या हुँदा संसदले एकमतले तत्कालीन प्रधानमन्त्री डिबी विजयातुङगालाई राष्ट्रपतिमा चयन गरेको हुँदा निर्वाचन नै गर्नुपरेन । उनी कार्यवाहक हुँदै पछि राष्ट्रपति भए ।

सन् २०२२ मा नाजुक राजनीतिक स्थितिका कारणले उत्पन्न विवादास्पद अवस्थाले गर्दा राष्ट्रपति गोटाबाया राजापाक्षेले राजीनामा गर्नुपर्‍यो । गोटाबाया श्रीलंकाबाट भागे । उनले सिंगापुरबाट इमेलमार्फत् राजीनामा पठाएका थिए । मे १२ मा राजपाक्षेले प्रधानमन्त्री नियुक्त गरेका यूएनपी नेता रनिल विक्रमासिंगेलाई प्रधानन्यायाधीश जयन्था जयासूर्याले शपथ गराए ।

सन् १९९३ मा विजयातुङगा सर्वसम्मत भएभन्दा बिल्कुलै फरक विक्रमासिंगेले थुप्रै चुनौति सामना गुर्नपर्‍यो । कार्यवाहक राष्ट्रपति बन्न थुप्रै सांसद इच्छुक थिए । संसदभित्र त्यस्ता थुप्रै समूह थिए, जसको प्रमुख राजनीतिक मनसाय नै विक्रमासिंगेलाई कार्यवाहक राष्ट्रपति बन्नबाट रोक्नु थियो ।

किताब जलाउने ‘फासीवादी’ भीडतन्त्रः

संसदभित्र मात्र हैन, संसद बाहिर पनि त्यस्ता धेरै शक्तिशाली समूह र संघर्षहरू थिए, जो विक्रमासिंगेलाई राष्ट्रपति कार्यालयमा पस्न नदिने चाहना चाहन्थे । यो चाहना यति धेरै उग्र थियो कि उनीहरूमध्ये केहीले रनिल र मैथ्री बिक्रमासिंगेको घर जलाए । घर मात्रै हैन, तिनीहरुले ऐतिहासिक, सांस्कृतिक तथा असीमित भावनात्मक मूल्यका किताब पनि जलाए।

भीडले प्रधानमन्त्रीको कार्यालयमा समेत प्रवेश गरी तोडफोड गर्‍यो । कोट्टेस्थित संसद् भवन कब्जा गर्ने प्रयास भने प्रहरी र सशस्त्र प्रहरीको गैरघातक प्रतिरोधका कारणले विफल भएको थियो । यी सबै प्रयासको उद्देश्य विक्रमासिंगेलाई प्रधानमन्त्री, कार्यवाहक राष्ट्रपतिका रूपमा काम गर्न नदिनु र आगामी राष्ट्रपतीय निर्वाचनको प्रतिस्पर्धाबाट बाहिर राख्नु थियो ।

यस सन्दर्भमा भएका हिंसा भड्काउन केही विपक्षी सांसदको भूमिका छ, जो भनिदैछ, यदि त्यो सत्य हो भने नि:सन्देह निन्दनीय छ । यस्तो आँधीमय राजनीतिक स्थितिमा जुलाई २० को मतदान भएको थियो । विक्रमासिंगे संसदमा यूएपीका एक मात्र सांसद थिए।

एसएलपीपी भित्रको विवादः

विक्रमासिंगेलाई प्रधानमन्त्री हुँदै कार्यवाहक राष्ट्रपति हुने फाइदा उपलब्ध भयो । एसएलपीपीका महासचिव सागरा करियावासमको समर्थनपछि विक्रमासिंगेको सम्भावना ह्वात्तै बढेको थियो । यो सम्भावना त्यतिखेर जोल्टिङ खान खोजेको थियो जब एसएलपीपी अध्यक्ष प्रोजिएल पेरिलले करियावासमको घोषणालाई चुनौति दिएका थिए । यसबाट यो प्रष्ट भएको थियो कि एसएलपीपीको विक्रमासिंगेलाई औपचारिक पार्टीगत समर्थन भने छैन । त्यसपछि जिएस पेरिल अलाहपेरुमाको पक्षमा खुलेरै लागेका थिए।

अरु थुप्रै दलहरूको औपचारिक समर्थन अलाहपेरुमाको पक्षमा थियो । यसका बाबजुद यूएनपी अध्यक्ष बजिरा अभयवर्द्धनेले बारम्बार विक्रमासिंगेको जित हुने सार्वजनिक दाबी गर्दै आएका थिए । एकातिर अलाहपेरुमाको पक्षमा १२२– १३५ भोट आउन सक्ने अनुमान थियो । अर्कोतिर बजिरा अभयवर्द्धने भने विक्रमासिंगेको पक्षमा १४० भोट आउने दाबी गरिरहेका थिए । जब परिणाम आयो, बजिराको दाबीभन्दा ६ भोट मात्रै कम आयो । विक्रमासिंगे १३४ भोटले कार्यवाहक राष्ट्रपति भए । विक्रमासिंगेको जितले फेरि एकपटक यो पुष्टि गर्‍यो कि राजनीति सधैँ संख्याको खेल मात्रै हुँदैन ।

राजपाक्षे वंश विरुद्धको विद्रोह :

सन् २०२० अगष्टको निर्वाचनमा श्रीलंकनहरूले राजपाक्षे परिवार र वंशको पक्षमा ठूलो जनसमर्थन व्यक्त गरेका थिए । तर, यस वर्ष जब जनप्रदर्शन शुरुवात भए, त्यो राष्ट्रपति गोटाबायाको विपक्षमा मात्र सीमित भएन, विस्तारै राजपाक्षे वंशकै विरुद्ध लक्षित हुँदै गयो । तर, त्यसको अर्को रोचक पक्ष जब त्यसले सरकार र राजपाक्षे परिवारलाई बढार्‍यो, त्यो फेरि प्रतिपक्षी दलहरूविरुद्ध पनि उसरी नै खनियो ।

एसएलपीपीका सांसद योजनाबद्ध आक्रमणले चिन्तित थिए । केही प्रतिपक्षी सांसदले आक्रमणको भयका कारण निवास बदलेका थिए । कतिपय सांसदले जनविद्रोहलाई समर्थन गरेर आफूलाई मनोवैज्ञानिक तवरले सुरक्षित राख्न खोजेका थिए ।
यसले एक विचित्रको स्थिति सृजना गरेको थियो । सांसदहरू दलीय वा अरू कुनै राजनीतिक बन्धनभित्र थिएनन । न ती सरकार पक्षका रहेका थिए न विपक्षी । सांसदहरू बिल्कुलै वैयक्तिक बन्न पुगेका थिए । उनीहरू आफ्नो व्यक्तिगत स्वार्थ वा बुझाइअनुरूप भोट हाल्न सक्ने स्थितिमा थिए । तर, त्यस्ता व्यक्तिगत स्वार्थहरू कसरी समूह स्वार्थमा परिणत हुन्छन र कस्तो परिणाम दिन्छन भन्ने प्रष्ट थिएन ।

सांसदहरूको स्वस्वार्थ :

अधिकांश सांसद यस्तो स्थितिमा तुरुन्तै नयाँ चुनाव होस भन्ने चाहँदैनथे । त्यसो भएमा विद्यमान सांसदहरूको पुननिर्वाचित हुने सम्भावना स्वात्तै घट्थ्यो । संसदमा ८० जना त त्यस्ता सांसद थिए जो पहिलोपटक निर्वाचित भएका थिए । यदि, संसदको एक कार्यकाल पूरा नभएमा उनीहरूले सांसद पेन्सन जlन्दगीभरिलाई गुमाउनुपर्ने हुन्थ्यो । त्यसैले, तत्काल नयाँ चुनावमा जान कसैलाई मन थिएन ।

सजिथ प्रेमादासा शिविरको कथा :

सजिथ प्रेमादासाको शिविरभित्र आफ्नै नयाँ चालहरू थिए । तर, जब एसएसपीपी महासचिव करियावासमले विक्रमासिंगेलाई समर्थनको घोषणा गरे, त्यसअघि प्रेमादासा विश्वस्त रहेका चालहरू कमजोर बन्न पुगे ।
श्रीलंकन मुस्लिम लिग, तमिल प्रोग्रेसिभ अलाइन्स, सिलोन मक्कल कांग्रेसलगायत केही स्वतन्त्र सांसदहरू प्रेमादासा शिविरमा थिए । श्रीलंकन फ्रिडम पार्टीको सहयोगसमेत आउने आश्वासन थियो । उनले विरावासना समूह जसमा १० सांसद थिए, त्यस समूहबाट समेत राम्रै भोट पाउने आशा गरेका थिए । तर, करियावासमको घोषणाले प्रेमादासाको योजनालाई बलियो असर गर्‍यो । करियावासमको घोषणा बसिल राजपाक्षेद्वारा निर्धारित एसएलपीपीको औपचारिक रणनीति अभिव्यक्त भएको ठानियो । विक्रमासिंगेप्रति बढ्दो समर्थनको मुख्य कारण यही थियो ।

धेरै मान्छेको बुझाइ यस्तो छ कि सजिथको रणनीति आफैँ कार्यवाहक राष्ट्रपति हुनुभन्दा बढी जसरी पनि विक्रमासिंगेलाई रोक्नु थियो । सजिथ र अलाहपेरुमाले जो राष्ट्रपति भए पनि अर्कोलाई प्रधानमन्त्री बनाउने आन्तरिक सहमति गरेका थिए भनिन्छ । तर, यो कुरा उत्तिकै महत्त्पूर्ण छ कि राजपाक्षे परिवारको अघोषित आन्तरिक समर्थन बिना विक्रमासिंगेको उदय भएको हैन । गोटावाया र महेन्द्रापछि अहिले एसएलपीपीको रणनीति बसिल राजपाक्षेले बनाउने गरेका छन् । करियाबासमको घोषणाभित्र बसिलको रणनीति क्रियाशील थियो ।  सबै कुरा बुझेपछि प्रेमादासा कार्यवाहक राष्ट्रपतिको उम्मेद्वारीबाट बाहिरिएका थिए । अलाहपेरुमालाई त्यो शिविरको एकल उम्मेद्वार बनाइएको थियो ।

विक्रमासिंगेका चुनौति :

रनिल विक्रमासिंगे सत्तामा आएपछि पनि श्रीलंकाली जनविद्रोह, प्रदर्शन र उपद्रवहरू राम्ररी शान्त नहुनुको कारण विक्रमासिंगे राजपाक्षे परिवारको समर्थनमै आएका हुन भन्ने पनि हो । अहिले पनि विक्रमासिंगेलाई ‘बाख्रो’ चित्रण गर्ने प्रयत्न भइरहेका छन्। कतिपयले उनलाई ‘रनिल राजापक्षे’ भन्दै मजाक गर्दछन्। विक्रमासिंगेको शासनलाई राजपाक्षे शासनकै निरन्तरता मानिएको छ । त्यसैले असन्तुष्टहरु चाहन्छन् कि रनिल पनि सत्ताच्युत हुन र शासनसत्ता छोडेर घर फर्किऊन् ।

विडम्बनापूर्ण स्थिति :

श्रीलंका यतिखेर साँच्चै नै विडम्बनापूर्ण स्थितिमा छ । त्यो मान्छे जो वर्षौंवर्ष राजपाक्षेको विरुद्धमा लड्यो, उसैलाई ‘राजपाक्षेहरूको बाख्रो’ चित्रण गरिँदै छ । अनि अर्कोतिर अलाहपेरुमा, त्यो मान्छे जो लामो समयदेखि राजपाक्षेप्रति निष्ठा राख्दथ्यो, उसलाईचाहिँ ‘स्वतन्त्र’ भनिँदै छ । अलाहपेरुमालाई परिवर्तनको संवाहकका रूपमा चित्रण गर्ने प्रयत्न हुँदै छ ।

अझ गज्जबको कुरा त के छ भने, ‘राजपाक्षे–परस्त’ भनिएका विक्रमासिंगे हुन् कि ‘राजपाक्षे–विरोधी’ भनिएका अलाहपेरुमा, दुवैले एसएलपीपीबाट विपक्षी दल जत्तिकै भोट पाएका छन्। त्यो भिन्नै कुरा हो कि, विक्रमासिंगेले एसएलपीपीको भोटको अलिक ठूलो हिस्सा पाए र कार्यवाहक राष्ट्रपतिमा विजयी भए ।

द डेली मिररबाट संक्षेपीकरणसहितको अनुवाद ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved