अन्तरवार्ता

कांग्रेसविरुद्धको मोर्चाबन्दी रोक्न गठबन्धन आवश्यक छ : प्रदीप पौडेल

सरकारले कार्यशैली सुधार गर्नुपर्छ

नेपालभ्युज

कांग्रेसविरुद्धको मोर्चाबन्दी रोक्न गठबन्धन आवश्यक छ : प्रदीप पौडेल

अहिलेको सरकार गठन भएको एक वर्ष भइसक्दा नागरिकले राहत महसुस गर्न पाएका छैनन् । महँगी बढेको छ । सरकारको नेतृत्व गरेका कांग्रेस सभापति शेरबहादुर देउवालाई पार्टीभित्रै पनि दबाब बढेको छ । उनलाई पार्टी र सरकार एकलौटी रूपमा सञ्चालन गर्न खोजेको आरोप छ ।

गठबन्धनका नाममा नेपाली कांग्रेसको स्वाभिमान माओवादीको पाउमा बुझाएको पनि एकथरीले आरोप लगाइरहेका छन् । तर, नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले भने गठबन्धनलाई कांग्रेस विरोधी अभियान रोक्ने अस्त्रको रूपमा बुझ्नुपर्ने बताउँछन् । साथै, पार्टीमा देखिएको विवाद मिलाएर सबै पक्षलाई समेट्न उनले सभापति देउवालाई सुझाव दिएका छन् । प्रस्तुत छ नेपालभ्युजका लागि प्रकाश बस्यालले नेता पौडेलसँग गरेको कुराकानीको सम्पादित अंश : 

सरकारले गरेका कामबाट सन्तुष्ट हुनुहुन्छ ?

नेपाली कांग्रेसको जिम्मेवार कार्यकर्ताको हैसियतले भन्दा सरकारले गरेका केही काम सकारात्मक छन् । तर, जुन ढंगले यसको प्रभावकारिता हुनुपर्ने हो त्यो अलि देखिएको छैन । त्यसैले, प्रभावकारिता बढाउन हामीले प्रधानमन्त्रीसँग अनुरोध गरिरहेको स्थिति हो । केही पक्षमा सरकारको प्रभावकारिता बढ्न आवश्यक छ । कोरोनाविरुद्धको खोप लगाउने जस्ता कतिपय विषयमा सरकारले सकारात्मक काम गर्‍यो । निर्वाचन प्रक्रिया अघि बढाउने सरकारको काम पनि स्वागतयोग्य छ । तर, त्यति मात्रै भएर पुगेन । जनजीविकासँग जोडिएका कतिपय मुद्दामा अझै प्रभावकारिता बढाउनुपर्ने देख्छु ।

प्रतिपक्षमा बसेर गाली गर्न सजिलो थियो । तपाईंहरूले हिजो उठाएका विषय अहिले सम्झनुहुन्छ कि बिर्सनुभयो ?

अनायास जोड घटाउ गरेर बनेको सरकारले अत्यन्तै ठूलो परिवर्तन दिन्छ भन्ने अपेक्षा गर्न पनि मिल्दैन । निर्वाचनबाट तत्काल निर्वाचित भएर तत्कालै स्वाभाविक रूपमा अगाडि बढेको स्थिति होइन । अहिले परिस्थितिवश विभिन्न दलहरू मिलेर गठबन्धनको सरकार बनेको हो । मध्यावधिभन्दा पनि अन्तिम अवस्थामा बनेको सरकारले सबै ठाउँमा परिवर्तन गर्छ, दीर्घकालीन रूपमा परिवर्तन ल्याउँछ, हामीले अपेक्षा गरेका सबै कुरा पूरा गर्छ भन्ने स्थिति त पक्कै होइन, तर पनि सरकारले जनताको दैनिक समस्या, जनजीविका र सुशासनको सवालमा प्रभावकारिता बढाउनुपर्छ ।

त्यसो भए नेपाली कांग्रेसले छवि सुधार्ने अवसर फेरि पनि गुमायो ?

त्यति धेरै नकारात्मकतातिर जान पनि जरुरी छैन । खासगरी यो सरकारले निर्वाचन गराउने हो , स्थानीय तहको निर्वाचन पनि देशैभरि एकैचरणमा सम्पन्न भइसकेको छ । संघीय र प्रदेश निर्वाचन पनि एकै चरणमा हुने स्थितिमा छ । तर एउटा नागरिकको हैसियतले भन्दा जनताका दैनिक समस्या महँगी नियन्त्रण गर्ने , सुशासन कायम गर्ने सवालमा थप प्रभावकारिताको आवश्यकता छ ।

सरकार मात्र होइन नेपाली कांग्रेस पार्टीमा पनि समस्या देखिन्छ नि ?

अब पार्टीभित्रको विवादको कुरा जहाँसम्म छ । स्थानीय तह निर्वाचनसम्म उहाँहरू मिलेरै अघि बढेको देखिन्छ । त्यो बेला सबै नेताहरूसँग सरसल्लाह गरेर नै टिकट वितरण गरेको हो । अब सभापतिले आफ्नो ठाउँबाट आफू सफल हुनका लागि सबैलाई समेटेर अगाडि बढेको, आफ्नो नेतृत्वमा पार्टी एकताबद्ध भएको, पार्टीको एकताले निर्वाचनमा सकारात्मक परिणाम ल्याएको सन्देश दिन सक्ने हो भने सभापति सफल देखिनुहुन्छ । त्यो पक्षलाई सभापतिले विशेष ख्याल गर्नुपर्छ । आन्तरिक निर्वाचन र बाह्य निर्वाचनमा धेरै अन्तर छ । पार्टीभन्दा बाहिरको निर्वाचनमा जाँदा सम्पूर्ण रूपमा आन्तरिक एकता कायम गरिनुपर्छ । स्थानीय तहको निर्वाचनमा एक हदसम्म त्यो परिस्थिति देखियो अब आउने निर्वाचनमा पनि सबै नेताहरूसँगै बसेर निर्णय गर्ने परिस्थिति सभापतिले बनाउनुपर्छ । सभापतिको नेतृत्वमा पार्टीलाई मजबुत बनाउने सवालमा सबै नेताले पार्टीको स्वार्थलाई प्रधान ठानेर सँगै अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्छ ।

अन्य दलसँग सहकार्य गर्दा कांग्रेसको सिट खुम्चने अवस्था छ, यसले पार्टीलाई झन् कमजोर बनाउने पार्टीकै कतिपयको आरोप छ नि ?

सिट बाँडफाट पनि एक किसिमको सत्ता बाँडफाँटजस्तै हो । त्यसैले यो जटिल छ । यो जटिलताको बाबजुद पनि त्यसलाई सहज बनाउने प्रक्रिया अगाडि बढिरहेको छ । कसले कति सिट पाउने त्यसले भोलिको प्रतिनिधिसभामा हैसियत निर्धारण गर्ने भएकाले सकेसम्म बढी सिट पाइयोस् भन्ने सबैको चाहना हुन्छ । त्यसलाइ हामीले स्वाभाविक रूपमा लिनुपर्छ । तर, निर्वाचनमा जाँदै गर्दा कसरी जितिन्छ कसलाई उम्मेदवार बनायो भने जितिन्छ , कुन पार्टीको मत कति छ, मतदातामा सकारात्मक सन्देश कसरी जान सक्छ भन्ने आधारमा निर्णय गर्ने हो । त्यो निर्णयको आधारमा कार्यदलमा छलफल पनि भइरहेको छ । शीर्ष नेताको बीचमा पनि छलफल भइरहेको छ । मलाई लाग्छ छिट्टै नै गठबन्धनकारी दलको बिचमा निर्वाचन क्षेत्र बाँडफाँट गर्ने परिस्थिति बन्छ । गठबन्धनको सबै पक्ष नराम्रो नै छ भन्न मिल्दै छ । यसका धेरै राम्रा पक्षपनि छन् । नराम्रा पक्षलाई राम्रा पक्षले ढाक्ने गरी हामीले गठबन्धनको उपयोग गर्नुपर्छ ।

कांग्रेसलाई किन गठबन्धनको सहारा लिनुपर्‍यो ? एक्लै चुनावमा जान किन डराएको ? 

लोकतन्त्रको सुन्दरतालाई जोडेर हेर्दा गठबन्धन गरेर जानुभन्दा एक्ला एक्लै चुनावमा जाँदा ठीक हुन्छ । मतदाताले पनि बहु छनोटको सुविधा पाउँछन् । तुलनात्मक रूपमा त्यो राम्रो हो, तर नेपालको राजनीतिमा गठबन्धनको प्रक्रिया २०७४ सालदेखि विकसित हुँदै आएको हो । नेकपा एमालेले त्यसको सुरुवात गरेको हो । अब अहिलेको अवस्थामा कांग्रेस एक्लै चुनाव लड्छ हामी कसैसँग गठबन्धन गर्दैनौँ भन्यौँ भने हाम्राविरुद्ध नयाँ खाले गठबन्धन निर्माण हुन्छ । हाम्रा विरुद्ध गठबन्धन बन्ने खतराले हामीले पनि गठबन्धन बनाउने अभ्यास गर्न खोजेका हौँ ।मैले यसलाई भयंकर ठूलो विकृति त मान्दिनँ , राजनीति विभाजनमा भन्दा पनि एकतामा सुदृढ हुन्छ भन्ने तर्कपनि छ । मुख्यगरी, गरी गठबन्धन गणित केन्द्रित मात्र हुन भएन, वैचारिक हिसाबले पनि जोडिनुपर्‍यो, राष्ट्रिय मुद्दामा पनि जोडिनुपर्‍यो । गठबन्धन नै गर्न हुँदैन यो ठूलो विकृति हो भन्ने मलाई लाग्दैन ।

सभापतिलाई कांग्रेसको इतर पक्षभन्दा अन्य दल प्यारो लाग्ने गरेको आरोप पनि छ नि ?

भन्नकै लागि त यस्तो भन्न सकिन्छ, तर व्यावहारिकता अर्को पक्ष हो । हाम्राविरुद्ध नयाँ गठबन्धन बन्ने जोखिमलाई रोक्न यो गठबन्धन बनेको हो । विरोधी अभियानलाई रोक्न हाम्रै नेतृत्वमा गठबन्धन बनेको हो । यसमा शंका गर्नुपर्ने ठाउँ छैन ।

नेपाली कांग्रेसको चुनावी अभियान कसरी अघि बढ्दै छ ?

हामीले निर्वाचन मुखी केही कार्यक्रम तय गरेका छौँ । यही भदौ १० गतेदेखि २१ गतेसम्म केन्द्रीय प्रतिनिधि पठाएर चुनावी अभियान सञ्चालन गर्ने निर्णय गरिसकेका छौँ । त्यसका अलावा निर्वाचनसँग जोडिएका वैचारिक कामलाई हामीले अगाडि बढाइरहेका छौं । पार्टीलाई आन्तरिक रूपमा व्यवस्थित गर्ने सन्दर्भमा पनि हामीले काम गरिरहेका छौँ । अहिले मुख्य गरी गठबन्धन गरेर चुनावमा जाने हाम्रो निर्णयअनुसार बनेको कार्यदलले पनि आफ्नो जिम्मेवारी अनुसारको काम गरिरहेको छ । अनि अर्को कुरा, विगतका निर्वाचनमा उम्मेदवारी दर्ताको दिन मात्रै उम्मेदवारको टुंगो लाग्थ्यो भने अहिले सकेसम्म छिटो उम्मेदवारको टुंगो लगाउने गरी गृहकार्य गरिरहेका छौँ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved