गरिखाने अभियानले जन्माउँदैछ देशभर नयाँ उद्यमी

गरिखाने अभियानले जन्माउँदैछ देशभर नयाँ उद्यमी

काठमाडौं । काभ्रेको धुलिखेल—११ पात्लेखेतका गणेश गौतम र अर्चना पराजुली श्रीमान्–श्रीमती हुन् । उनीहरूले आफ्नो घरनजिकै बीपी राजमार्गको छेउमा एउटा चिया पसल सञ्चालन गरिरहेका थिए । २६ वर्षीय श्रीमान् गणेशले नजिकैको गाउँमा रहेको उद्योगबाट बेकरी लिएर पसलहरूमा पुर्‍याउने काम गर्थे । अर्चना भने दिनभरजसो पसलमा बस्थिन् ।

जागिर खानुभन्दा पनि आफ्नै व्यवसाय गर्ने हुटहुटी भएकोले सानै भए पनि उनले पसल खोलेका थिए । तर, विवाह गरेपछि पारिवारिक जिम्मेवारी थपियो । उनको जीवन यसैगरी चलिरहेको थियो । तर, उनको आफ्नै केही गर्ने हुटहुटी भने मरेको थिएन । तर, रोकिएका थिए त, केवल लगानीको अभावमा ! उनको पुर्ख्यौली सम्पत्तिले व्यवसाय विस्तार गर्न सम्भव थिएन । गत वर्ष असार महिनाको एक बिहानी भने उनको सपना साकार पार्ने गरी उदायो । छिमेकी दाइले उनको संकल्पलाई सार्थक बनाउने उपाय देखाइदिए ।

मनमा आशा लिएर गणेश गरिखाने अभियानको कार्यालयमा पुगे र आफ्नो भावी योजना स—विस्तार सुनाए, ‘अब मलाई आफ्नै बेकरी उद्योग सञ्चालन गर्ने इच्छा छ ।’ उनले भने, ‘सधैँ अरूको उत्पादन मात्र कति बेच्नु, अब आफैँले आफ्नो उत्पादन बेच्न पाए हुन्थ्यो भन्ने लागेको छ ।’ उनलाई त्यसका लागि १० लाख रुपैयाँ चाहिन्थ्यो । उनको अठोट देखेपछि गरिखाने अभियानका अधिकारी आश्वस्त भए । अनि सुरु भयो, गणेशको जीवनमा ‘दोस्रो इनिङस्’ ।
गर्न त उनी अहिले पनि त्यही गर्छन्, जे दुई वर्ष अघि गर्थे । तर, फरक के छ भने उनको पसलमा बिक्री हुनेदेखि उनले वितरण गर्ने बेकरीसम्म अरुको होइन, आफ्नै उत्पादन बनेको छ । उनले श्रीमतीको नाममा ‘अर्चना बेकरी उद्योग’ स्थापना गरेका छन् ।

आफ्नो घरमै सञ्चालन गरेको उद्योगमा उनले अन्य तीन जनालाई पनि रोजगारी दिइरहेका छन् । ‘गरिखाने अभियानले मलाई वितरकबाट उत्पादक बनाइदियो’, गणेश भन्छन्, ‘अहिले उद्यमी भएर अरूलाई पनि रोजगारी दिन सकेकोमा सन्तोष लाग्छ ।’ त्यसो त गणेशको लगाव देखेर नै आफूहरूले उनलाई सहजीकरण गरिदिएको गरिखाने अभियानका प्रमुख कार्यकारी अधिकृत योगराज कँडेल बताउँछन् ।

गरिखाने अभियानका विज्ञ टिमले उनको योजना अनुरुपको ‘व्यवसायिक परियोजना’ निर्माण गर्न सहयोग गरेको थियो । त्यसपछि बैंकसम्म गणेशको सम्पर्क स्थापित गराउन मात्र होइन, बैंकमा सहुलियत कर्जाका लागि आवश्यक सबै कागजात तयार गरिदिनुका साथै प्रोसेसिङको काम पनि गरिदिएको थियो ।

काभ्रेका गणेश दम्पती मात्र होइन, गरिखाने अभियानको अभिभावकत्वमा आफ्नो व्यवसायमा फड्को मारेका छन्, चितवनका फूलमाया प्रजा र राजकुमार प्रजाले पनि । उनीहरूले अहिले चेपाङ हस्तकला पसल सञ्चालन गरिरहेका छन् । उनीहरूको पसलमा चेपाङ समुदायको परम्परागत पेशाको व्यावसायिक स्वरूप देख्न पाइन्छ । कुचो, डोको, नाङ्लो, भकारी, मान्द्रोलगायतका विभिन्न परम्परागत वस्तुको उनले व्यावसायिक उत्पादन थालेका छन् । उनले यो पेशा थालेको एक दशक कट्यो । तर, अघिल्लो वर्षसम्म निर्वाहमुखी मात्र थियो ।

‘सुरुमा आफैँले बुनेका डोका बेचेँ’ सुरुवाती दिन सम्झँदै आफ्नो जीवनको चालिसौं वसन्तको नजिक पुगेका राजकुमारले भने, ‘विस्तारै ग्राहकको माग बढ्न थालेपछि स्थानीयलाई पनि बुन्न लगाए ।’ लगानीको अभावमा उनले ग्राहकको माग अनुसारका समान तयार गर्न सकेका थिएनन् । ‘ग्राहक आएर अर्डर गरेपछि उत्पादन थाल्ने बाध्यात्मक अवस्थामा थिए’, राजकुमारले भने, ‘अहिले भने अवस्था फरक छ ।’ उनले आफ्नो १५ धुर जग्गामा गोदाम बनाएका छन् र त्यही गोदाममा स्थानीयबाट उत्पादित सामग्री राखेका छन् । अहिले गाउँका १ सय ६० जनालाई उनले उत्पादनमा जोडेका छन् ।

त्यसका लागि सुरुमा सीप विकास तालिम दिए । तालिममा सीप सिकाएपछि उनीहरूले गर्ने उत्पादन आफैँले खरिद गर्छन् । ‘दैनिक ज्यालादारी मजदुरी गर्ने गरेका गाउँले साथीभाइ अहिले उद्यमी बनेका छन् र राम्रो आम्दानी पनि गरिरहेका छन्’, उनले भने । ‘ मैले कामको विस्तार गर्ने योजना पहिले नै बनाएको थिए । एक दिन गरिखाने अभियानबारे सुने, उहाँहरूको कार्यक्रममा सहभागी हुने अवसर पनि पाए । उहाँहरूको सहयोग, पहल र व्यवस्थापनमा मैले बैंकबाट ऋण पाए । त्यो लगानी नै म लगायत मेरा गाउँले साथीलाई दैनिक श्रम बेच्ने मजदुरबाट उद्यमीमा परिणत गर्ने साधन बन्यो ।’

अब प्रसंङ्ग, मिरा थापाको । कोटेश्वर स्थित रणसैनी किराना स्टोरकी सञ्चालिका हुन्, मिरा । उनले उक्त किराना स्टोर २०७७ सालको माघबाट सुरु गरेकी हुन् । उनका श्रीमान लोकेन्द्र थापा पर्यटन व्यवसायमा आबद्ध थिए । तर, कोभिड १९ को महामारीले विश्वभरि नै संकट ल्याएपछि पर्यटन व्यवसाय धरापमा पर्‍यो । परिणाम स्वरूप, उनको परिवारको आम्दानीको स्रोत पनि खुम्चिँदै गयो । मिराले श्रीमानसँग सल्लाह गरिन्, अनी आफूहरूसँग रहेको थोरै वचतबाट सानै भएपनि किराना पसल सुरु गरिन ।

पसल त सुरु भयो । तर, लगत्तै मुलकभरि लकडाउन भयो । श्रीमानको आम्दानीको श्रोत पूर्णरूपमा बन्द भयो । किराना पसल लकडाउनकै बेलामा पनि मुस्किलले चलेको थियो । पसल सञ्चालनको अनुभवपछि उनीहरूलाई थाहा भयो ‘थप लगानी गर्न सके मुनाफा बढाउन सकिन्छ ।’ तर, आफूसँग भएको बचत पसल सुरु गर्दा नै सकिएकाले उनीहरूसँग थप लगानी थिएन । बैंकमा कर्जाको लागि जाने बाटो नभेटेर अल्मल्लिरहेका थिए । तर, गत भदौमा गृह जिल्ला बैतडी पुगेका लोकेन्द्रको जीवनमा ‘सम्भावनको सञ्चार’ भयो । उनले गरिखाने अभियानबारे पहिलोपटक सुने । लोकेन्द्र सम्झिन्छन्, ‘उद्यमशीलता विकास र विस्तारमा आवश्यक परामर्श र अन्य सहयोग पनि गर्छ भन्ने थाहा पाउँदा मेरो पसल पनि विस्तार गर्न सकिन्छ कि भन्ने आशा त्यहीँ पलाएको थियो ।’

काठमाडौं फर्किएलगत्तै उनी थापाथलीस्थित गरिखाने अभियानको कार्यालयमा पुगे । उद्यमशीलताका फाइदा, लगानी एवं आर्थिक व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विस्तृत जानकारी लिए । र, आफ्ना सबै योजना अधिकारीहरूलाई  सुनाए । अनी सुरु भयो उनको ‘समृद्धिको यात्रा’ ।

गरिखाने अभियानका अधिकारीहरूले उनको व्यवसायिक योजनालाई लिपिबद्ध गराई व्यवसाय विस्तार परियोजनाको प्रतिवेदन तयार पारिदिए । बैंकमा कर्जा सापटीका लागि आवश्यक पर्ने अन्य कागजपत्र पनि समाजकै सल्लाहबमोजिम गरियो । उनी सम्पर्कमा आएको भोलिपल्ट नै सिटिजन्स् बैंकको कोटेश्वर शाखामा ऋण प्रक्रियाको लागि काम अगाडि बढाउने प्रबन्ध मिलायो । त्यसको चार कार्यदिनमै उनको हातमा पर्‍यो, ‘सहुलियतपूर्ण कर्जा’ । त्यो पनि विना धितो । त्यस दिन सम्झदै मीरा भन्छिन्, ‘आफ्नै साथीभाइसँग कर्जा सापटी माग्दा त धरौटी खोज्छन्, तर हामीजस्तालाई विश्वास गर्नु भनेको कल्पनाभन्दा बाहिरको कुरा थियो ।’

कोभिड १९ महामारी कम भएसँगै लोकेन्द्र आफ्नो व्यवसायमा फर्केका छन् भने मीराको एकल जिम्मामा छ, पसल । श्रीमानको कमाइले घरखर्च धान्ने र पसलको मुनाफालाई बैंकको किस्ता र लगानी विस्तारमा प्रयोग गर्छिन्, उनी । मीरा आफू उद्यमशील हुँदा आर्थिक निर्भरता अन्त्य भएको, आत्मविश्वास बढेको र समाजमा आफ्नो पनि छुट्टै अस्तित्व रहेको अनुभूति भएको बताउँछिन् । उनी भन्छिन् ‘ गरिखाने अभियानले तिर्नै नसकिने गुण लगाइदिएको छ, म यसका लागि आभारी छु ।’

लगानी, पूर्वाधार र रोजगार समितिले सञ्चालन गरेको गरिखाने अभियानबाट उद्यमी र व्यवसायी बन्नेको संख्या दिनदिनै बढ्दो क्रममा छ । डेढ वर्षअघि व्यवसायी विनोद चौधरीको पहल र नेतृत्वमा गरिखाने अभियान सुरु भएको थियो ।देशको आर्थिक समृद्धिको लागि धेरै भन्दा धेरैलाई उद्यम र उत्पादनसँग जोड्नु गरिखाने अभियानको मुख्य ध्येय रहेको चौधरीले बताए । यो अभियानमा हालसम्म १ हजार ४ सय २८ जनाले प्रस्ताव पठाएका छन् । यीमध्ये प्रारम्भमा १ सय २९ लाई प्राविधिक ज्ञान र आवश्यक ‘फन्डिङ’ गरिएको छ भने ३ सय ५२ जनाको परियोजना प्रक्रियामा छ ।

पछिल्लो समय, गरिखाने अभियानमा सरकारको पनि चासो बढेको छ । हालै प्रस्तुत भएका नीति तथा कार्यक्रममार्फत मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश सरकारले गरिखाने अभियानलाई विशेष प्राथमिकता दिएका छन् । ‘नवप्रवर्तन, सीप र उद्यमशीलता विकास प्रोत्साहीत गर्न परियोजनामा आधारित कर्जा व्यवस्थालाई थप प्रभावकारी बनाउने’ भन्ने मौद्रिक नीतिको व्यवस्थाले सम्भावित उद्यमीले धितोविना नै कर्जा प्राप्त गर्ने व्यवस्था भएको छ । बैंक तथा वित्तीय संस्थाले यस्ता सहुलियत कर्जा प्रवाह गर्न साथै कृषि, लघु तथा घरेलु उद्यममा कर्जा प्रवाहका लागि विभाग-फोकल डेस्क नै स्थापना गरेर काम गरिरहेका छन् ।

3 thoughts on “गरिखाने अभियानले जन्माउँदैछ देशभर नयाँ उद्यमी

  1. उदयपुर त्री न पा 5 मा संचालन गर्न
    के गर्नु पर्छ होला

  2. कहाँ र कसरी पाइन्छ कर्जा म पनि कृषि गर्न चाहान्छु स्याङ्जा मा

  3. गरि खाने आंट र सीप भएका तर पूंजीको अभाबमा अघि बढ्न नसकेका उध्यमीहरूको लागि राम्रो हो । सफलताको शुभकामना !!!

Leave a Reply

Your email address will not be published.

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved