धनुषामा कांग्रेस नेता निधिको विरासत फर्केला ?

धनुषामा कांग्रेस नेता निधिको विरासत फर्केला ?
फाइल फोटो

जनकपुरधाम। आगामी मंसिर ४ गतेका लागि प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावको मिति घोषणा भएसँगै धनुषामा चुनावी सरगर्मी बढ्न थालेको छ ।
४ निर्वाचन क्षेत्र रहेको धनुषामा यति खेर क्षेत्र नं. ३ मा सबैको ध्यानाकर्षण भएको छ । यस क्षेत्रबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व उपसभापति विमलेन्द्र निधिले उम्मेदवारी दिने बताएका छन् ।

त्यसैगरी, नेकपा एमालेबाट जुली महतोले पनि उम्मेदवारी घोषणा गरेकी छिन् । धनुषा ३ मा ०७४ को प्रतिनिधिसभाको निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालको तर्फबाट राजेन्द्र महतो निर्वाचित भएका थिए ।महतो ले नेपाली कांग्रेसका नेता निधिलाई उनकै निर्वाचन क्षेत्रमा पराजित गरेका थिए । हाल नेता महतो लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेताको रूपमा छन् । यसपटक पनि महतोले यसै क्षेत्रबाट निर्वाचन लड्ने चर्चा हुँदैछ ।

तर, काँग्रेस नेता निधिले लोकतान्त्रिक शक्तिहरू एकजुट भई मिलेर आगामी निर्वाचनमा जानुको विकल्प नरहेको बताउँछन् । उनले सत्ता गठबन्धनको दलमा नरहेका लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि पाँच दलीय गठबन्धनमा सहभागी गराई सरकारमा समावेश गर्नुपर्ने धारणा राखेका छन् । नेता निधिले लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोलाई आफूले स्वयं कुरा गरेर निर्वाचनमा सँगै जानका लागि भनेको समेत बताए। उनले लोसपालाई गठबन्धनमा ल्याउन पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि विभिन्न चरणमा छलफल गरेको जानकारी दिए ।

यसरी क्षेत्र नं.३ मा ‘हेवीवेट’ उम्मेदवारहरूबीच प्रतिस्पर्धा हुने सम्भावना रहँदा धनुषाका अन्य तीनवटा क्षेत्रको चर्चा ओझेलमा परेको छ । मधेस प्रदेशको राजधानी जनकपुरधामको अधिकांश भूभाग पनि यसै क्षेत्रमा परेका कारण पनि अन्य क्षेत्र भन्दा क्षेत्र नं. ३ को बढी चर्चा हुनु स्वाभाविक नै हो । यस क्षेत्रमा २०७४ को निर्वाचनमा राजपा र संघीय समाजवादी फोरम नेपालको संयुक्त गठबन्धनबाट लडेका नेता महतो नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई २ हजार ९०३ मतान्तरले पराजित गर्दै जित हात हासिल गरेका थिए । महतोले ३० हजार ७५० मत प्राप्त गरेका थिए भने निधिले २७ हजार ८४७ मत मात्र प्राप्त गरेका थिए ।

चुनावको मिति घोषणा भएपछि यस क्षेत्रबाट एमाले नेतृ जुली महतोले पनि यसै क्षेत्रबाट उम्मेदवारी दिने घोषणा गरेकी छिन् । उनी एमालेको वर्तमान समानुपातिक प्रतिनिधिसभा सदस्य हुन् । यस क्षेत्रमा स्थानीय तहको निर्वाचनमा एमालेले राम्रो मत प्राप्त गरेको आँकलन गर्दै उनले चुनाव लड्ने घोषणा गरेकी हुन् ।
यता कांग्रेसका निधि यसपटक आफ्नो गुमेको विरासत फर्काउने दाउमा देखिन्छन् । नेता निधि चुनाव लड्ने तयारीमा रहेको कांग्रेस जनकपुरधाम उपमहानगर कार्यवाहक सभापति राकेश विक्रम साहले बताए ।

त्यसैगरी, यस क्षेत्रबाट लोसपाका नेता राजेन्द्र महतो पनि फेरि चुनाव लड्ने मनसायमा रहेको महतोका स्वकीय सचिव विन्दकिशोर साहले बताए ।
तर, यस २०७४ को जस्तो अवस्था छैन । लोसपाको अवस्था कमजोर छ, त्यतिबेला जस्तो मधेस आन्दोलनको सेन्टिमेन्ट पनि छैन र जनकपुरधाम उपमहानगरपालिकामा नराम्रोसँग पराजित भएको लोसपाको सन्तोषजनक स्थान पक्कै पनि अहिले छैन । अर्कोतर्फ जनकपुरमा साहुजीको बाहुल्यता रहेको हुँदा जातीय मतसमेत एमाले नेतृ जुली महतोले चुनाव लडे विभाजित हुने भएकोले राजेन्द्र महतोलाई जित्न गाह्रो नै रहेको छ । यसपटक प्रतिस्पर्धा गर्ने आधार कमजोर रहेकाले राजेन्द्र महतो ब्याक हुने सम्भावनासमेत रहेको राजनीतिक विश्लेषकरू बताउँछन् ।

स्रोतका अनुसार निधि यस क्षेत्रबाट चुनाव लड्ने विषयमा केही साताअघि राजेन्द्र महतोसँग छलफल गरेका थिए । भेटमा आउँदो चुनावमा एक–अर्कालाई सघाएर अगाडि बढ्ने विषयमा दुवैजना बीच सहमति भएको श्रोतको दाबी छ । नेता निधिले केही दिनअघि लोसपालाई समेत पाँचदलीय गठबन्धनमा ल्याउनुपर्ने र यदि लोसपा गठबन्धनमा आए महतोले आफ्नै गृह जिल्ला सर्लाहीमा चुनाव जित्ने वातावरण मिलाउने नेता निधिको तयारी रहेको चर्चा छ ।

राजेन्द्र महतो जिल्ला फर्केको खण्डमा धनुषा क्षेत्र नं. ३ मा सेफल्याण्ड हुने निधिको रणनीति तयार हुँदै गरेको जानकारहरूले विश्लेषण गर्दैछन् ।
तर, महतो यो क्षेत्रलाई छाडेको खण्डमा यहाँ जुली महतो र निधिबीच प्रतिस्पर्धा हुने निश्चित जस्तै छ ।

यसअघि, दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन क्षेत्र नं. ३ मा कांग्रेसबाट नेता निधि र एमालेबाट नेतृ जुली महतोको कडा प्रतिस्पर्धा भएको थियो । झन्डै १५ सयको मतान्तरले नेतृ महतोलाई पराजित गर्दै नेता निधि निर्वाचित भएका थिए ।

धनुषाको क्षेत्र नम्बर ३ मा नगराइन नगरपालिका, धनौजी गाउँपालिका, मुखियापट्टी मुसहरनीया गाउँपालिका र जनकपुरधाम उपमहानगरपालिकाको १७ वटा वडा पर्दछन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved