एउटै चिन्हमा चुनाव लड्न माओवादी केन्द्र र नेसपाले आज संयुक्त निवेदन दिँदै

दिउँसो १ बजे दुवै दलका प्रतिनिधि निर्वाचन आयोगमा पुगेर निवेदन दिने कार्यक्रम रहेको माओवादीको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले नेपाल भ्युजलाई जानकारी दिए ।

नेपालभ्युज

एउटै चिन्हमा चुनाव लड्न माओवादी केन्द्र र नेसपाले आज संयुक्त निवेदन दिँदै

काठमाडौं।  मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एउटै चिन्हसहित भाग लिन नेकपा माओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले आज मङ्गलबार संयुक्त रुपमा निवेदन दिँदैछन् ।

दिउँसो १ बजे दुवै दलका प्रतिनिधि निर्वाचन आयोगमा पुगेर निवेदन दिने कार्यक्रम रहेको माओवादीको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले नेपाल भ्युजलाई जानकारी दिए । माओवादी र नेसपाबीच साझा चिन्ह, घोषणापत्र र बन्दसूची बनाएर चुनावमा भाग लिने सहमति भइसकेको छ ।

नेसपाले पनि माओवादीकै हँसिया हथौडा चिन्हमा चुनाव लड्दैछ । दुबै पार्टीको केन्द्रीय समितिको निर्णयसहित निर्वाचन आयोग पुगेर अनुसूची १३ बमोजिम निवेदन दिने तयारी भएको नेसपाका कार्यालय सचिव फणिन्द्र देवकोटाले पनि पुष्टि गरे ।

निवेदन दिने र संयुक्त रुपमा चुनाव लड्ने विषयको अन्तिम निर्णय गर्न माओवादी केन्द्रको स्थायी कमिटीको बैठक अहिले बस्दैछ । माओवादी केन्द्रसँग भएको सहमति जानकारी गराउन नेसपाले बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर नै आयोगमा बुझाउने तयारी गरेको छ ।

माओवादीले निर्वाचन प्रयोजनका लागि आइतबार नै दल दर्ता गरेको छ । यो दल दर्ता अनुसूची १२ बमोजिमको प्रक्रिया भएको र संयुक्त रुपमा लड्न १३ अनुसार छुट्टै निवेदन दिनुपर्ने भएकाले मंगलबार संयुक्त रुपमा जान लागेको उपाध्यायले बताए ।

यसअघि माओवादी अध्यक्ष प्रचण्ड र नेसपा अध्यक्ष बाबुराम भट्टराईबीच पटक-पटक भएका वार्तामा पार्टी एकताको सहमति भएको थियो । हाल एउटै भएर चुनावमा जाने र पछि एकताको औपचारिक घोषणा गर्ने दुई नेताबीच सहमति बनेको छ ।


Comment

2 thoughts on “एउटै चिन्हमा चुनाव लड्न माओवादी केन्द्र र नेसपाले आज संयुक्त निवेदन दिँदै

  1. अब पनि यी भ्रष्ट चोर देश बेचुवा दलालहरुलाइ भोट हाल्नु भनेको आफ्नो संतानको ह्त्या गर्नु बराबर हो यी नपुंसक हरुलाइ त अब लखेटेर थानकोट कटाउन पर्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved