इरानले भन्यो- रूश्दीको आक्रमणकारीसँग हाम्रो कुनै सम्बन्ध छैन

नेपालभ्युज

इरानले भन्यो- रूश्दीको आक्रमणकारीसँग हाम्रो  कुनै सम्बन्ध छैन
तश्वीर: रोयटर्स

तेहरान । इरानले विश्व प्रसिद्ध लेखक सलमान रूश्दीमाथि अमेरिकामा छुरा प्रहार गर्ने आक्रमणकारीसँग आफ्नो कुनै सम्बन्ध नरहेको बताएको छ ।

इरानको विदेश मन्त्रालयका प्रवक्ता नासिर कनानीले पत्रकार सम्मेलनमा भारतीय मूलका उपन्यासकार रूश्दीको छुरा प्रहार र इस्लामिक गणतन्त्र इरानबीच कुनै सम्बन्ध नरहेको बताएका  हुन् ।

आफ्नो पुस्तक ‘द स्याटेनिक भर्सेज’का कारण ज्यान मार्ने धम्की खेपिरहेका रूश्दीलाई गत साता पश्चिमी न्यूयोर्क राज्यमा एक कार्यक्रमस्थलमा छुरा प्रहार गरिएको थियो ।

अमेरिकी राष्ट्रपति जो बाइडन, बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलगायत विश्वका कैयौँ नेताले घटनाको निन्दा गरेका छन् ।

सन् १९८१ मा आफ्नो उपन्यास ’मिडनाइट्स चिल्ड्रेन’ बाट चर्चा कमाएका भारतीय मूलका बेलायती उपन्यास तथा निबन्धकार रूश्दीलाई आक्रमणपछि तत्काल हेलिकोप्टरमार्फत अस्पताल लगी उपचार गरिएको थियो ।

सन् १९८८ मा प्रकाशित उनको पुस्तक ’द स्याटानिक भर्सेज’ले मुसलमान समुदाय र प्रोफेट मोहम्मदको अपमान गरेको भन्दै तत्कालीन इरानी नेता अयातुल्ला रुहोल्ला खोमेनीले उनिविरूद्ध फतवा जारी गरेपछि निजी सुरक्षाका कारण उनले लामो समयसम्म भूमिगत जीवन बिताएका थिए ।

शनिबार न्युयोर्क राज्यमा एक साहित्यक कार्यक्रमका क्रममा छुरा प्रहार भएपछि घाइते रूश्दीलाई तत्काल भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो । अहिले उनलाई भेन्टिलेटरको सहायता बिना नै उपचार भइरहेको र उनको स्वास्थ्य सुधारोन्मुख रहेको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved