टिकट वितरणमा कसैलाई अन्याय नगर्ने कांग्रेस सभापति देउवाको आश्वासन

नेपालभ्युज

 टिकट वितरणमा कसैलाई अन्याय नगर्ने कांग्रेस सभापति देउवाको आश्वासन

काठमाडौं। प्रधानमन्त्री एवं  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंसिर ४ मा हुने निर्वाचनका लागि सबैलाई न्याय हुनेगरी टिकट वितरण गरिने बताएका छन् ।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा सोमबार ललितपुरमा आयोजित बधाई/शुभकामना तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै सभापति देउवाले सबैलाई न्यायपूर्ण ढंगबाट टिकट वितरण गरिने भन्दै ढुक्क हुन आग्रह गरेका हुन् ।

‘न्यायबद्ध रूपमा टिकट वितरण हुन्छ । तपाईंहरू ढुक्क भएर चुनावमा लाग्नुहोस्‚’ उनले भने ।

आगामी निर्वाचनमा कांग्रेस देशको सबैभन्दा ठूलो पार्टी बन्ने भन्दै यसअघिको प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा एक्लै लडेकाले आफूहरू पराजित भएको तर अब गठबन्धन साथमा रहेको उनले बताए ।

आफूले विशेष परिस्थितिमा सरकारको नेतृत्व लिएको सभापति देउवाले उल्लेख गरे । ‘हाम्रो ध्यान मंसिर ४ मा छ । पहिलो पार्टी बन्छ भन्ने अठोटका साथ हामी लाग्नु पर्छ । त्यो समर्पणका साथ लाग्नुहुनेछ भन्ने लागेको छ । २०७४ सालमा हामी वाम गठबन्धनसँग एक्लै लडेर पराजित भएका थियौँ, अहिले हाम्रो गठबन्धन छ । कति ठाउँमा जित्छौं भन्ने कुरा महत्त्वपूर्ण हो । त्यसैले यसमा साथीहरूले मनन गरेर लाग्नु होला‚’ उनले भने‚ ‘पार्टीका साथीहरूलाई भेदभाव गर्दिनँ । सबैलाई मिलाएर लाने इच्छा छ ।’

गठबन्धनका बाबजुद पनि आफूहरू पराजित भएको भन्दै उनले जनताले गाउँ-गाउँमा सिंहदरबार आयो भने पनि हामीले केही पाएनौँ भन्न थालेको बताए ।

उक्त कार्यक्रममा देशभरबाट समन्वय समितिका ३४ प्रमुख‚ २३ उपप्रमुख‚ १४१ नगरप्रमुख‚ ११० नगर उपप्रमुख‚ १८८ गाउँपालिका अध्यक्ष र १९ जना गाउँपालिका उपाध्यक्ष सहभागी थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved