जातीय अगुवालाई पाँच लाख रुपैयाँ बुझाउन नसक्दा शव उठेन

छोरा नभएका वृद्धको मृत्युपश्चात् किरिया खर्च दिनुपर्ने भन्दै पीडितलाई अगुवाको धम्की

जातीय अगुवालाई पाँच लाख रुपैयाँ बुझाउन नसक्दा शव उठेन

जनकपुरधाम। महोत्तरीको बर्दिवासमा छोरा नभएका एक वृद्धको मृत्यु भएपछि दाहसंस्कारका लागि पाँच लाख रुपैयाँ जातीय अगुवाले माग गरेको घटना सार्वजनिक भएको छ।

बर्दिवास नगरपालिका वडा नं. १४ छोरा नभएका एक वृद्धको मृत्युपछि जातीय भेलामा जातका माइजन (अगुवा) ले पाँच लाख रुपैयाँ नदिए लास नउठ्ने बताएपछि मृत्यु भएको एक दिन एक रात लास उठ्न सकेन ।

२१औं शताब्दीमा एउटा कुनै पनि सभ्य समाजमा यस्तो किसिमको मानवीय संवेदनाहीन यस्ता घटनाले लज्जित तुल्याउने काम गरेको छ।

त्यति मात्र हैन, एक दिनपछि छोरीहरूले आफैँ मृतक बुबाको दाहसंस्कार गरे । त्यसपछि, फेरि ती जातीय अगुवाले अब काजकिरिया भोजभात गर्नको लागि पाँच लाख रुपैयाँ उपलब्ध गराउनुपर्ने माग राखेर पीडितलाई थप पीडा दिन थालेको पीडितले बताए।

पीडित परिवारजनसँग त्यति ठूलो रकम खर्च गर्न नसक्ने आफैँ काजकिरिया भोजभातका गर्छौं भन्दा जातबाट निकाला गरिदिने, काजकिरियाको पुण्यतिथिमा जातका कसैलाई पनि सहभागी हुन नदिने भनेर धम्की दिएको पीडित परिवारले दु:खेसो पोखेका छन् ।

बिहे, जन्म तथा अन्य खुसियालीको बेला यस्तो किसिमको सौदाबाजी हुने कुरा सामान्य लागे पनि मृत्युसंस्कारमा पनि यस्तो संवेदनहीन कुराको अगुवाइ गर्नेमा मृतक वृद्धको आफ्नै ज्वाइँ हुन् । बर्दिवासस्थित सोनार जातिका ‘मान्यजन’ (जातीय अगुवा) इनरजित साह सोनार मृतकको आफ्नै ज्वाइँ हुन् । उनले नै यस्तो माग गरेर लासको सौदाबाजी गरेका हुन् ।

लामो समयदेखि पक्षघातको बिरामी बर्दिवास १४ का ७० वर्षीय फकिरा साह सोनारको साउन २४ गते अपराह्न ४ बजे घर मै मृत्यु भएको थियो। दुई श्रीमती रहेका मृतकका छोरा छैन,आठ छोरी मात्र छन्। जेठी श्रीमती मनतोडिया तर्फका पाँच छोरी र कान्छी श्रीमति फूलोदेवी तर्फका ३ छोरी छन् ।

मृतक फकिरा जेठी श्रीमतीको मृत्यु भएपछि कान्छी फूलोदेवीसँग बस्दै आएका थिए। जेठीपट्टिका सबै छोरीको बिहे भइसकेको छ भने कान्छी फूलोदेवीपट्टिकी माहिली रूपा र कान्छी सविता नाबालिग छन्।

छोरा नभएकै कारण दाहसंस्कारका लागि विवाद सुरु भयो। दागबत्ती पुरुषको हातबाटै दिइनुपर्ने पराम्पराअनुसार जातीय सभाको बैठक बस्यो । बर्दिबासस्थित सोनार जातिका ‘माइजन’ (अगुवा) इनरजित साह सोनार मृतक फकिराकै जेठी श्रीमती तर्फका साइँली छोरीका श्रीमान् अर्थात् ज्वाईं हुन्।

इनरजितकै अगुवाइमा बसेको सभाले मृतककी जेठी श्रीमती (मनतोडिया)तर्फकी जेठी छोरीका छोरा अर्थात् मृतकका नाति शम्भु साहले दागबत्ती दिने र काजकिरिया उसैले गर्ने निर्णय गर्‍यो । तर, यसका रकम दिनुपर्ने शर्त राखियो । मृतककी कान्छी श्रीमतीले दागबत्तीबापत पाँच लाख रुपियाँ तिर्नुपर्ने जातिय सभाले निर्णय गर्दै “ सो रकम नदिए दाहसंस्कार पनि हुन नदिने र जातबाट पनि निकाल्ने धम्की दिए,” मृतककी कान्छी श्रीमती फूलोदेवीले रुँदै सुनाइन्, “मैले त्यत्रो पैसा मसँग छैन , कहाँबाट ल्याएर दिनु ? खोजखाज गरेर ऋण सापट गरेर दुई लाखजति दिन्छु त भने तर मान्दै मानेनन्।”

दागबत्तीका लागि पाँच लाख माग गर्ने ‘माइजन’ (जातिय अगुवा) तथा मृतकका ज्वाइँ इनरजित साह सोनार ।

त्यो दिन मागेजति रकम दिन नसकेपछि मृतकको दाहसंस्कार हुन सकेन। दोस्रो दिन मात्र अविवाहित छोरीले दागबत्ती दिएर आफैँ किरिया बसिन् । छिमेकी प्रत्यक्षदर्शी गीता श्रेष्ठ र सीता नेपाल भन्छन् , “त्यो रात पैसामा कुरा नमिलेपछि मलामी पनि जाँदैनौँ, हेरौँ कसरी दाहसंस्कार गर्दा रहेछौ ? भन्दै  ज्वाईं समेत सबैले भेला छाडेर हिँडे।”

भोलिपल्ट पनि इनरजितले पाँच लाख रुपियाँ नदिए दाहसंस्कार हुन नदिने अडान छाडेनन्।

पीडित फूलोदेवीका अनुसार त्यसपछि हाम्री १५ वर्षीया छोरी रूपाले आँट गरेर आफैँ दागबत्ती दिने भनिन् । फुलोदेवीले पीडा पोख्दै भनिन्, “न रुनुस् मम्मी कसैले नगरे मेरो बुबालाई म आफैँ दागबती दिन्छु भनी छोरीले हिम्मत गरी, त्यसपछि सबै तयारी गर्‍यौँ र भोलिपल्ट अपराह्नतिर छोरीहरूले नै शव बोकेर भब्सीखोलामा लगेर दाहसंस्कार भयो।”

‘पैसाको लागि यति तल झर्न सक्ने पनि हुँदो रहेछ भनेर हामी अच्चमितत छौं । घरमा मान्छे मरेको भन्दा पनि लासको सौदाबाजीमा उत्रेको देखेर असहाय मृतक परिवारलाई थप पीडा दियो’ छिमेकी सीता नेपालले भनिन्, “असहाय मृतक परिवारले शवको अगाडि रुँदै रात काटे। ”

बर्दिवासस्थित देउराली माविको कक्षा ९ मा अध्ययनरत रूपा अहिले बुवाको किरिया बसेकी छिन् । रूपाले छोराले गर्न सक्ने काम छोरीले पनि गर्न सक्छिन् भनेर आफूले छोरीप्रतिको सामाजिक अन्धविश्वास तोड्न पाएकीमा आफू खुसी भएको बताइन् । उनले भनिन्, “बुबाले पनि भन्नुहुन्थ्यो कि ‘मेरो छोरा छैन, तिमीहरूले नै मेरो दाहसंस्कार गर्नू’ त्यसैले बुबाको अन्तिम संस्कार गर्न पाएकोमा मलाई सन्तोष लागेको छ।”

तर, यता दाहसंस्कारपछि जातीय अगुवासमेत रहेका सौतेनी ज्वाइँ इनरजितले फेरि पनि पाँच लाख रुपियाँ मागेर दु:ख दिन थालेको पीडित फुलोदेवीले बताइन्।

घटनाको सन्दर्भमा महोत्तरीका एसपी कृष्णप्रसाद पङ्गेनीले पीडित मृतक परिवारसँग कुनै पनि बहानामा रुपियाँ माग्नु र मानसिक पीडा दिनु दण्डनीय अपराध भएको बताए । उनले यदि यस्तो अवस्था आए घटनालाई कानुनी दायरामा ल्याउनेतर्फ आफूले कारबाही अघि बढाउने बताए।

मृतक फकिरा साहकी श्रीमती फूलोदेवी (बायाँ), कान्छी छोरी सविता (बीचमा) र बाबुको दाहसंस्कार गरी किरिया बसेकी माइली छोरी रुपा (दायाँ)

इलाका प्रहरीका कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक रवि रावलले घटनाबारे बुझेर कारबाही अघि बढाउने बताए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved