पुस्तक–समीक्षा

‘तिमीविनाको म’ भित्र अंकित प्रकृति‍-प्रेमको स्वर

पृथ्वीका जल र थलचर प्राणीहरूप्रति उसको कठोर रवैया रहँदै आयो। आफूलाई सर्वश्रेष्ठ ठाने पनि बेला–बखत देखिने कैयौँ महाव्याधीबाट बँच्न हम्मेहम्मे पर्दै आएको छ, मानव जातिलाई। पछिल्लो दृष्टान्त हो– कोभिड–१९। कोभिड–१९ ले थिल्थिलो तुल्याएको मानव समुदायको बेहाल स्थितिलाई इंगित गर्दै लेखिएको कविता हो– ‘अन्योल समयको भीडबाट।’

नेपालभ्युज

‘तिमीविनाको म’ भित्र अंकित प्रकृति‍-प्रेमको स्वर

‘हरेक जीवनको अँध्यारोमा
बिहानीको मिर्मिरेजस्तै
हरेक साँझको गोधूलिमा
दीपकको उज्यालोजस्तै
आशा !
जीवन ज्युँदा रहने
आफ्नै छायाँजस्तै…।’

मानव जातिले आफ्नो लामो विकासक्रममा भौतिक एवं आध्यात्मिक क्षेत्रका जेजति प्रगति एवं उन्नतिका सोपानहरू उक्लिए, त्यसको पृष्ठभूमिमा जोडिएको एउटा महत्त्वपूर्ण पक्ष थियो– आशा\आशावाद। आफूभित्र आशा र अपेक्षाका अनगिन्ती टुसाहरू हुर्काएर नै मानव जाति÷समुदायले समुन्नति र समृद्धिका खुट्किलाहरू उक्लिँदै आए, आजपर्यन्त। कवि वसन्त चौधरीको नवीन काव्यकृति ‘तिमीविनाको म’ भित्रका अधिकांश कविताको गुदी पक्ष खोतल्ने हो भने आशावादका यस्तै–यस्तै सघन विम्बहरू सल्बलाएका पाइन्छन्।

प्रकृतिसँग निकटता

प्रकृतिसँग सहस्राब्दीदेखिको सघन निकटताकै कारण मानव जातिले यो वसुधामा आफूलाई बाँच्न अनुकूल तुल्याउँदै आए। ठिही–तुसारा, झरी–वर्षाजस्ता अनेक ऋतुचक्र झेल्दै प्रकृतिको काखमा रमाउँदै आए। एक हिसाबले प्रकृतिसँग कठोर रूपमा जुझ्दै र आफूलाई एकाकार तुल्याउँदै आए। ‘आऊ मेघा’ मा कविले खडेरीले निचोरेर थङ्थिलो तुल्याएको धर्तीलाई हराभरा र ताजगी तुल्याउन मेघालाई आमन्त्रण गरेका छन्। उष्णताको कारण भतभती पोलेको मनलाई मलहम लगाउन अनुरोध गरेका छन्, यी काव्यांशसँगै–
‘शिशिर उराठ आँगनमा
पतझड बनेको छ जीवन
तिमी मधुमास बोकेर आऊ
फुलाऊ सुन्दरसुन्दर फूलहरू…।’

प्रकृतिप्रतिको सरोकार र चिन्ताको स्पष्ट तस्बिर देख्न सकिन्छ– ‘आजको वर्तमान’ लाई पछ्याउँदा। आज प्रकृतिको परम शत्रु मानव जाति नै बनिरहेको छ। पृथ्वीको हरेक कुना–कुनातिर नियालौँ, प्रकृतिको अतिशय दोहन गर्न मानव समुदाय नै उद्यत देखिन्छ। वर्तमानमा जेजति प्राकृतिक प्रकोप निम्तिइरहेका छन्, ती सबैका कारण प्रकृतिमाथि मानिसको हस्तक्षेप र तीव्र दोहन नै हो। बाढी, पहिरो, डुबानजस्ता प्राकृतिक विपत्तिको पृष्ठभागमा प्राकृतिक दोहन नै अधिक जिम्मेवार छन्।

पछिल्ला दशकहरूमा जलवायु परिवर्तनको नकारात्मक असरका कारण पर्यावरणीय जगतमा तिखो संकट निम्तिँदै गएका छन्। यस्तो संकटप्रति सर्जकहरूले आफ्ना सिर्जनाको माध्यमद्वारा सरोकार र असहमतिका शब्द–स्वर प्रकट गर्दै आएका छन्। उक्त सरोकार पहिल्याउन यी पंक्ति काफी देखिन्छ–
‘आधुनिक विश्व र
मानवीय सभ्यताले
घुँडा टेकेको यो क्षण
मानव जातिले
आफ्नो धरातल चिन्ने समय हो।’

मानिसले आफूलाई यो भूधराको सर्वेसर्वा प्राणी ठान्दै आयो, युगौंदेखि। पृथ्वीका जल र थलचर प्राणीहरूप्रति उसको कठोर रवैया रहँदै आयो। आफूलाई सर्वश्रेष्ठ ठाने पनि बेला–बखत देखिने कैयौँ महाव्याधीबाट बँच्न हम्मेहम्मे पर्दै आएको छ, मानव जातिलाई। पछिल्लो दृष्टान्त हो– कोभिड–१९। कोभिड–१९ ले थिल्थिलो तुल्याएको मानव समुदायको बेहाल स्थितिलाई इंगित गर्दै लेखिएको कविता हो– ‘अन्योल समयको भीडबाट।’ जुन कवितामा कवि यसरी प्रकट भएका छन्:
‘झोक्राएको पृथ्वीमा
रोगाएको वर्तमान
चाँडै निको होस्
र,
स्वस्थ प्रकृतिको
मौलिक रङमा
फेरि सुचारु हुन्
सुन्दर जीवनका दैनिकी !’

प्रकृतिसितको आत्मीय संवाद उनको ‘सावन’ र ‘बादल’ लगायत कवितामा पनि भेट्न सकिन्छन्।

प्रेमका कवि

कवि वसन्तलाई मूलतः प्रेमभावमा डुबुल्की मारेर सिर्जना गर्ने कविका रूपमा चिन्न सकिन्छ। प्रेमप्रतिको गहन तन्मयता उनको कवि–व्यक्तित्वको वैशिष्ट्य हो। उदात्त प्रेम एवं अस्तित्वगत सार्थकता झल्किने यी काव्यपंक्तिबाटै यो कुराको सबुद प्रमाण मिल्छः
‘तिम्रो अनमोल स्पन्दन र
स्नेहले कुँदिकुँदि
बनाएको हो मलाई

तिम्रो कल्पनाको
साकार फूल
तिम्रो क्यानभासमा भरिएको
रङ्गिन चित्र !’

प्रेम, एउटा यस्तो तत्व हो जसबाट नै सत्य एवं सार्थक जीवन–स्थितिलाई बटुलबाटुल पार्न सकिन्छ। ‘तिम्रो साथले’ मा कवि यस्तो प्रेमिल भावले खुलेका छन्, जसरी खुल्ने गर्दछ शरद ऋतुकालमा वर्षाद्भरि अल्मलिएको मेघाच्छादित आकाश।
‘आहा !
प्रणयको एउटै स्पन्दनमा
तिमी र म
म र तिमी
यौटै, मात्र यौटै
संसारको सागरमा
तिमीभित्रै हराएर
तिमीभित्रै बिलाएर
बग्न चाहन्छु म।’

प्रेमभावलाई आफ्नो रचनात्मक धरातलमा प्रतिष्ठापित तुल्याउनु कविको मुख्य ध्येय देखिन्छ। उनको यात्रा पनि ऊध्र्वोन्मुख प्रेमको दिशातिर नै सोझिएका छन्। लेखेका छन्:
‘हामी छुट्ने छौँ प्रिय
अहिलेसम्म कस्सिएर समाएका
हातहरू छुट्ने छन्
अँगालोमा बेरिएका
साथहरू छुट्ने छन्
सहस्र चुम्बनका
मिठासहरूसँगै
न्यानो स्पर्शको
आभासहरू छुट्ने छन्।’

व्यक्तित्वको स्वत्वहरण

एक्काइसौँ शताब्दीको सुरुआतसँगै विश्वले नयाँ र उन्नत प्रविधिसँग साक्षात्कार हुने मौका पायो। सूचना र सञ्चारको क्षेत्रमा अकल्पनीय क्रान्ति देखियो। इन्टरनेट, फेसबुक, ट्वीटर, युट्युवलगायत सामाजिक सञ्जालहरूले मानिसलाई सूचना र ज्ञानको सहज पहुँचमा पुर्‍याइदियो। हरेकका हात–हातमा मोबाइल हुन थालेपछि संसारको जुनसुकै कुनामा रहेका मानिसबीच क्षणभरमै सम्पर्क–संवादको सेतु बाँधियो।

प्रविधिको उन्नत विकाससँगै मानिसहरूले अनेक सुविधा र सहजता प्राप्त गरे पनि त्यसका अँध्यारा पाटाहरू पनि सतहमा तैरिँदै गए। हुन थाल्यो– व्यक्तित्वको स्वत्वहरण। जसप्रति कविले ‘नशा साइबरको’ शीर्षक कवितामा गहिरो सरोकार व्यक्त गरेका छन्।
‘सञ्जालको भीडभाडबाट
गाह्रो छ मलाई निक्लन
म बेनाम खबर
भाइरल बनेको छ परिचय
संकटमा छ मेरो अस्तित्व
म आजको मान्छे…।’

कवि वसन्तलाई प्रकृति र प्रेममा डुबुल्की मारेर काव्य सिर्जना गर्ने सर्जक मात्र हुन् भन्ठान्नु गलत हुनेछ। एक स्रष्टा प्रकृति र प्रेममा रमाउन चाहन्छन् नै त्यसबाहेक उसका दृष्टि त्यसभन्दा पर पनि पुग्नु स्वाभाविकै हो। समकालीन सामाजिक÷राजनीतिक परिस्थितिको दंश झेल्न बाध्य स्रष्टाले ती पक्षप्रति आवाज उठाउनु सान्दर्भिक देखिन्छ। उनी लेख्छन्:
‘लोकतन्त्रको स्टिकर टाँसेर
गरिरहेछ तानाशाहतन्त्रको
खेती
उमार्दै छन्
भ्रष्टाचार, बेथिति र विकृति

हारिरहेछ देश !!’
अर्को दृष्टान्त पनि हेरौँ–
‘देखिरहेको छु माटो रोएको
भलभल बगाएर आँसु
चुपचाप–चुपचाप
आँसु बगाउने देशको कविता
लेख्न सकिनँ।’

अतः वसन्तका काव्य–क्षितिजमा विचरण गर्दा जीवनजस्तै रचनाकर्मको सार्थकता उनी संकीर्णतामा नभई विराटतामा खोज्छन्। यो नै उनको रचनाधर्मिताको मूल स्वर हो, मूल पाठ र ध्येयसमेत हो। उनको काव्यवृत्तिको संवेदनात्मक धार तेजिलो र प्रखर हुनुमा यिनै तत्त्वहरूले सघाएकामा दुईमत देखिँदैन।
–विवश वस्ती
००


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved