‘हजारौँ वर्षदेखि बाढीले बगाउन नसकेको, हजारौँ–हजार वर्षदेखि छालले ढलाउन नसकेको, तिमीजस्तै अडिग, अचल सन्तानहरू छौँ। ढलपल हुने छैनौँ, ढलपल हुन दिने छैनौँ। तिम्रो शिर ढल्न दिने छैनौँ, सत्य ढल्न दिने छैनौँ। सधैँ–सधैँ तिम्रो शिर उच्च राख्ने छौँ…।’
यही उद्घोष कोरिएको र मिथकीय विम्ब, ऐतिहासिक प्रसंग एवं समकालीन अजेण्डाहरू बोकेको नाटक ‘खुवालुङ’ को केन्द्रीय सार यही नै हो, गुदी–तत्व पनि यही हो।
चालु साउन महिना काठमाडौं पूरै नाटकमय रह्यो\रहँदै पनि छ। मण्डला थिएटरमा ‘खुवालुङ’ चलिरहेको छ, पूरै ‘हाउसफुल’। सर्वनाममा ‘सपना अनेक–अनेक’। नाटकप्रति गहन अभिरुचि राख्ने दर्शकको संख्या बाक्लिँदै गएपछि यी दुवै नाटकको प्रदर्शन–समयसीमा बढाइयो। पूरै महिनाभर नै। शिल्पी थिएटरमा चलिरहेको ‘हिउँको पृथ्वी यात्रा’ भने साउनको तेस्रो सातासम्म चल्यो, उत्साहप्रद।
नेपाली रङ्गकर्ममा लामो समयदेखि रुझ्दै–भिज्दै आएका अशेष मल्ल, घिमिरे युवराजका साथै पछिल्लो पुस्ताका निर्देशक किरण चाम्लिङ राईको अथक मिहिनेतस्वरुप यी तीन नाट्यघरमा दर्शकहरू अपेक्षाकृत रूपमा तानिए। लाग्छ, सक्दो मनोरञ्जन पनि लिए नाटक हेर्नेहरूले। संस्कृति र प्रकृतिका भित्री कुरा पनि बुझे। र, उम्दा नाटक प्रदर्शन भए नाटकघरका कुर्सीहरू खाली नहुने रहेछन् भन्ने दृष्टान्त पनि दिए।
अब ‘खुवालुङ’ मा केन्द्रित केही कुरा।
केही वर्षपूर्व एकाएक राज्यको बक्रदृष्टिमा पर्यो– पूर्वी र पश्चिमी रेखाबाट बग्दै आएका दूधकोसी, अरूण र तमोर नदीको त्रिवेणीस्थलमा अवस्थित एउटा ढुङ्गा। ‘खुवालुङ’ अर्थात् बग्दो खोला\ नदीबीचको ढुङ्गा। कोसी तर्दै मधेस–पहाड ओहोरदोहोर गर्ने पूर्वी पहाडका बासिन्दाहरूले वर्षौँदेखि देख्दै र अभ्यर्थना गर्दै आइरहेको ढुङ्गा। अर्थात्, ढुङ्गाहरूको बाटो।
त्यो केवल एउटा निर्जीव ढुङ्गा मात्र थिएन। तामाकोसीपूर्वका लिखु, दूधकोसी, अरूण र तमोरजस्ता जीवन्त नदीहरूलाई साक्षी राख्दै बसेका पूर्वी भेगका राई, लिम्बु, याक्खा, सुनुवार, थामी, जिरेल, सुरेलजस्ता जातीय समुदायको संस्कृति, संस्कार र आस्थासँग युगौँदेखि जोडिएको धरोहरसमेत थियो।
समृद्धिको सोपान उक्लिने उद्घोषसहित राज्यले त्यो डुङ्गालाई प्रवाहमय नदीबीचबाट पन्छाउने निधो गर्यो। चतरादेखि भोजपुर जिल्लाको कोप्चेसम्म जेटबोट चलाउने टुंगोमा पुगेको राज्यले त्यो डुङ्गालाई बाधक ठानेपछि घोषणा गरियो, ‘हामी त्यो डुङ्गालाई पन्छाएर जेटबोट चलाउँछौँ।’ एउटा ढुङ्गामाथि राज्यको बक्रदृष्टि परेलगत्तै विरोधका स्वरहरू निस्किन थाले। के चुप लाग्थे र सचेत सांस्कृतिक अभियन्ताहरू? तत्काल उनीहरूले ‘खुवालुङ बचाऔँ अभियान’ को थालनी गरे। राज्यले प्रतिरोधी स्वरलाई मत्थर पार्न सकेन। पछि भने राज्य निर्णय सच्चाउन बाध्य भयो।
कुनै पनि जाति\समुदायले अपनाउँदै आएको संस्कृतिको दीर्घ एवं समृद्ध परम्परा रहने कुरामा शायदै दुईमत होला। संस्कृति, रातारात निर्माण हुने चिज हुँदै होइन। युगौँदेखि मानव जातिले भोग्दै\झेल्दै आएका अनेक उतारचढावको पृष्ठभूमिको गर्भबाट नै सार्थक र समृद्ध संस्कृतिले जन्म लिएको हुन्छ। त्यहीअनुरूप निर्माण हुन्छन्– आस्था–प्रथा पनि। एउटा ढुङ्गा वा थुम्काथुम्की नै सही, त्यसलाई सांस्कृतिक धरोहर र आस्थाको रूपमा स्वीकारेपछि मानिसको मन–मस्तिष्कमा प्रगाढ रूपले, वर्षौंसम्म नपुरिने खतजस्तै गढेर बसेका हुन्छन्, युग–युगान्तरदेखि।

मिथकको मीठो स्वाद
अनादिकालदेखि नै मानव जातिले अनेकन् उबडखाबड यात्रा पार गर्दै आएको विदितै छ। मिथकले होस् वा इतिहासले, भन्छन् त्यहीँ नै। सहज र प्रकोप–विहीन जीवन निर्वाहका निम्ति प्रकृतिसँगै आत्मीय साहचर्य गर्दै आए, मानिसले। प्रकृतिलाई कसले चिन्न सक्ने ? समय सदैव मानिसका निम्ति कहाँ अनुकूल नै रह्यो र ? कहिलेकाहीँ ताण्डवनृत्य देखाउँथ्यो प्रकृतिले। बगाउँथ्यो बाढीले। पुथ्र्यो पहिरोले। सामुद्रिक आँधी, लू, भूकम्प त नआउने कुरै भएन। प्रकृतिको रौद्र एवं विनाशकारी रूपलाई ‘दैवी विपत्ति’ का रूपमा अर्थ्याउन थालेका मानिसले आकाशलाई पूजा गर्न थाले, धर्तीको अर्चनामा समय दिन थाले र वायु, जल, वृक्षादिलाई पूजा–अभ्यर्थना गर्न थाले।
आजको समय–विन्दुसम्म आइपुग्दा मानव जातिले दुःखद र सुखद्, दुवै प्रकारको यात्रा गरे। ‘खुवालुङ’ले भने धेरैजसो आदिमकालीन समयका प्रकृतिपूजक मानिसहरूको दुःखान्त कथा कहेको छ। कताकता सुखान्त पनि देखिन्छ, जहाँ मानिसहरूले सामूहिक रूपमा आफ्नो जीवन–प्रवाहका निम्ति अथक संघर्ष–गाथा कोरेका थिए।
हुन त नाटकले एउटा मात्र होइन, अनेक कथा भन्ने आयाम पनि बोकेको हुन्छ। ‘खुवालुङ’ ले पनि त्यही गरेको छ। अर्थात् मिथक, इतिहास र वर्तमानलाई घालमेल गरेर एउटा सुन्दर नाट्य–सिर्जना जन्मिएको छ।
हुन त नाटकले एउटा मात्र होइन, अनेक कथा भन्ने आयाम पनि बोकेको हुन्छ। ‘खुवालुङ’ ले पनि त्यही गरेको छ। अर्थात् मिथक, इतिहास र वर्तमानलाई घालमेल गरेर एउटा सुन्दर नाट्य–सिर्जना जन्मिएको छ।
जीव तथा जीवात्मा–वैज्ञानिकहरूको भनाइलाई पछ्याउँदा आधुनिक मानवको पहिलो विकासले करिब २५ हजार वर्षको यात्रा पार गरेको छ। यस क्रममा विभिन्न युग पार गर्दै आयो मानव जातिले। त्यसमध्ये एउटा युग थियो– शिकारी युग। जतिबेला मानिसहरू शिकार गरेरै जीवन धान्दथे। शिकारले मात्र जीवन निर्वाह हुने अवस्थामा संकटका रेखाहरू बाक्लिँदै गएपछि भने अन्न उत्पादनतिर मानव जातिले पाइला चाले। मैदानमा बस्नेहरूले मैदानी भूभागलाई खेतीयोग्य तुल्याए, विकट पहाडी इलाकामा बस्नेहरूले खोरिया फाँडे, भीमकाय भष्मेलाई उब्जाउयोग्य बनाए। तिनै शिकारी युगमा बाँचेका आदिवासी\जनजाति समुदायको संघर्षशील जीवन–विम्बहरू ‘खुवालुङ’लाई साजसज्जा तुल्याउने दरिला आधार बनेका छन्।
कुनै मतभिन्नता छैन, हाम्रा पुर्खाहरू दुर्धर्ष रेखाहरू पार गर्दै आजको विन्दुसम्म आइपुगेका हुन्। नदी तर्दा कति बगे। धर्तीलाई आवाद तुल्याउन खोरिया फाँड्दा सर्प, बिच्छी र अरू कति विषालु जीवहरूको टोकाइ खेपे। कति बाघ, भालु, चितुवाजस्ता हिंस्रक जन्तुका सिकार बने। छैनन् कुनै लेखाजोखा। तर पनि संघर्षशील नै रहे, मानव जाति। यस्ता मिहीन विम्बहरूलाई देखाउन र केलाउन पनि ‘खुवालुङ’ धेरै हिसाबले सफल देखिन्छ।
ऐतिहासिक विम्बहरू पनि
लडाइँ। एउटा शासकले अर्का शासक–शासित राज्य हडप्ने प्रतिस्पर्धा। निम्छरो समुदायमाथि शक्तिशालीहरूको आक्रमण– परापूर्वकालीन शताब्दीहरूमा यस्ता पक्ष आम चलनजस्तै थिए। मूलतः आफ्नो राज्य वा इलाका विस्तार गर्ने क्रममा शक्तिशाली तप्काले हस्तक्षेपकारी नीति–निर्देशनलाई प्राथमिकताको पहिलो सूचीमा राख्ने गर्दथे।
धेरैलाई सिकन्दरको कथा थाहा छ। विश्व जित्न हिँडेका थिए उनी। तात्कालिक समयमा हामीकहाँ पनि प्रशस्तै साना–साना सिकन्दरहरू नभएका होइनन्। उनीहरूका ध्येय विश्व जित्ने नभए पनि कुनै जातीय समुदायले आवाद गरेको बस्तीमा कब्जा जमाउनु पर्दछ भने अवश्य नै हुन्थ्यो। कुँवर राजाले राई, लिम्बुलगायत पूर्वी भेगका जातीय समुदायले वर्षौँदेखि भोगचलन गर्दै आएको जमिन र बस्ती हडप्ने प्रयोजनस्वरुप आक्रमण गरेको कुरा इतिहासले भन्छ। यो करिब ईशा पूर्व ३ हजारदेखि ३५ सय वर्षपूर्वको कथा हो, जुन बेला नाटकमा उल्लेखित भूभागलाई ‘बेलका क्षेत्र’ भनिन्थ्यो।
धेरैलाई सिकन्दरको कथा थाहा छ। विश्व जित्न हिँडेका थिए उनी। तात्कालिक समयमा हामीकहाँ पनि प्रशस्तै साना–साना सिकन्दरहरू नभएका होइनन्। उनीहरूका ध्येय विश्व जित्ने नभए पनि कुनै जातीय समुदायले आवाद गरेको बस्तीमा कब्जा जमाउनु पर्दछ भने अवश्य नै हुन्थ्यो।
‘खुवालुङ’ मा इतिहासको यस्ता अँध्यारा पाटा पनि मञ्चित छन्। सान, रवाफ र विजेता–भावद्वारा निर्देशित तत्कालीन शासक वा छोटे शासकहरूले आफ्नो इलाका विस्तारका निम्ति निम्छरा समुदायको इलाकामा आक्रमण गर्नु सामान्य नियमजस्तै मानिन्थ्यो। खोरिया होस् वा पाखा बारी नै, त्यसमा कब्जा जमाएर रजाइँ गर्नु सानको विषय ठानिन्थ्यो। त्यसलाई शूक्ष्म रूपले नाटकमा देखाउन खोजिएको छ।
त्यही युद्धको बेला बन्दी बनाइएका एउटा कुँवर ‘बैरी’ ले अनुनयको भाषामा भन्छन्, ‘ज्यान बचाइपाऊ, हजुर।’
युद्ध–बन्दीको रक्षार्थ उभिएकी एउटी पात्र भन्छिन्, ‘हाम्रो जाति÷समुदायमा शरणमा पर्न आउनेलाई मरण दिने चलन छैन। यो हाम्रो संस्कार हो, संस्कृतिको एउटा अभिन्न पाटो हो।’
किरात समुदायको ऐतिहासिक र सांस्कृतिक पक्ष मात्र होइन, किरातहरूको हृदयको व्याख्यान पनि छ, ‘खुवालुङ’मा। अर्थात्, किरातहरूको संस्कृति, संस्कार र रीतिरिवाजमा मानवीयताका प्रशस्तै अंशहरू रहेको संकेतबोधसमेत दिलाउँछ।

महामारीको कथन
‘सबै मानिस बिरामी भइसके। सबैतिर महामारी फैलिइसक्यो।’
‘के पो भन्छौ, हिँड त।’
अभिनीत दुई पात्रबीचको यस्तो संवादले मानव जातिले महाव्याधिको सामना अहिले मात्र गर्नुपरेको होइन, अनादिकालदेखि नै महामारीको लामो ‘एपिसोड’ चल्दै आएको छ भन्ने पनि देखाएको छ। पछिल्लो समय सिङ्गो विश्वले कोभिड–१९ को तिखो चपेटा खेप्नुप¥यो। लाखौँ मानिसले अमूल्य जीवन गुमाए। करोडौँ संक्रमणमा परे। द्वितीय विश्वयुद्धको बेला मानव जातिले जुन राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिकलगायत क्षेत्रका गहिरो संकट झेल्न बाध्य भएका थिए, त्यसपश्चात् कोभिड–१९ को बेला झेल्नुपर्यो। एउटा युद्धले, एउटा महामारीले।
पूर्ववर्ती पुस्ताहरूले महामारीको कहर झेल्नु परेको दृश्यांश देखाइएको छ– ‘खुवालुङ’मा पनि। फैलिन्थ्यो महामारी। कसरी फैलियो र त्यस्ता महामारीको नाम के थियो ? घुमन्ते जीवन बाँचिरहेका मानिसहरूलाई के पत्तो त्यस समयमा ? युगौँपछि भने प्लेग, हैजा, विफरजस्ता महामारी अंकित भए। पछिल्लो समय कोभिड–१९ ले विश्वको कुनाकाप्चामा बसोवास गर्दै आएको मानव जातिलाई नराम्ररी गाँजेपछि महामारीले ‘विश्व–यात्रा’ गरेको करिब एक वर्षपश्चात् नै खोपको आविष्कार भयो। एकछिन कल्पना गरौँ त ! पूर्ववर्ती समयमा भने न तत्काल खोपको आविष्कार हुन्थ्यो, न त रोगको पहिचान नै। मानिसहरू सोत्तर हुनुको विकल्प थिएन।
००
केही मिथकीय कुरा। केही इतिहासका कुरा। ‘खुवालुङ’मा यस्ता पक्षहरूको सघन प्रस्तुति त छन् नै। यसभन्दा पनि धेरैचाहिँ सांस्कृतिक धरोहरलाई बचाउने प्रण छ\आवाज छ, प्रखर एवं तेजिलो रूपमा। सांकेतिक रूपमै सही, ‘खुवालुङ’लाई मास्न उद्यत राज्यका सञ्चालकहरूप्रति अधिक कठोर असहमति छ। उनीहरूको कदमप्रति तीव्र विरोध छ। कुनै जातीय समुदायले युगौँदेखि स्वीकार्दै आएको संस्कृतिलाई ‘समृद्धिको नाम’मा मास्न चाहनेहरूप्रति रोष छ, क्षोभ छ।
‘खुवालुङ’ हेरेपछि यति भन्न मनै लाग्छ– रंगकर्ममा निष्ठा र समर्पण भावसहित लागेका नयाँ पुस्ताका नाट्यकर्मीहरूले नै अबको नेपाली रंगमञ्चलाई गतिशीलता दिने हो, समृद्धपन र सुशोभित तुल्याउने हो।
आख्यान–शिल्पी राजन मुकारुङको लेखन र किरण चाम्लिङ राईको निर्देशन\परिकल्पनामा सजिएको ‘खुवालुङ’ले केही स्थापितका साथै अधिकांश नव र उत्साही रंगकर्मीहरूको उम्दा अभिनय कौशलका कारण विशिष्ट र फराकिलो मैदान पाएको छ। नाटकलाई शृंगारपटार तुल्याउन केवल संवाद र अभिनयले मात्र सघाउ पुर्याउँदैन, त्यही भएर पूर्वेली स्वादका लोकसंगीतका साथै नृत्यादिले पनि नाटकलाई पकाउन र खँदिलो तुल्याउन उत्तिकै अहम् भूमिका निर्वाह गरेका छन्।
रंगकर्मीहरूले त गर्व गर्ने प्रशस्तै आधार दिएका छन्। रङ्गमञ्चबाटै उठेर सिनेमामा समेत चम्किएकी पशुपति राईदेखि संयोग गुरागाईँ, मणिहाङ लावती, इग्नी होपो कोइच सुनुवार, रोशनी स्याङ्वो, दीपा सुहाङ राई, संयोक मुकारुङ, प्रशंसा गुरुङ, वेदना राईको कालजयी अभिनयले दर्शकलाई करिब दुई घण्टासम्म बाँधेर राख्ने क्षमता राख्दछ।
‘खुवालुङ’ हेरेपछि यति भन्न मनै लाग्छ– रंगकर्ममा निष्ठा र समर्पण भावसहित लागेका नयाँ पुस्ताका नाट्यकर्मीहरूले नै अबको नेपाली रंगमञ्चलाई गतिशीलता दिने हो, समृद्धपन र सुशोभित तुल्याउने हो। ‘खुवालुङ’मा अभिनयरत नयाँ पुस्ताका नाट्यकर्मीहरूमा यस्तो सम्भावना रहनुका साथै आशा र अपेक्षा गर्न सकिने प्रशस्तै आधार भेटिन्छन्।
अन्त्यमा यति मात्र–
आफू बाँचेको समय र राजनीतिक परिदृश्यमा व्याप्त विसंगत तस्बिरहरूप्रति चिन्ता जाहेर गर्दै सांस्कृतिक धरोहरको रक्षार्थ शक्तिशाली आवाज बन्न पुगेको छ– ‘खुवालुङ’। मिथक, इतिहास र वर्तमानका जल्दाबल्दा मुद्धाहरूलाई नयाँ रंगभाषामा अभिव्यक्त गर्न सफल देखिएको छ– ‘खुवालुङ’।
जसरी, ‘खुवालुङ’ तीन नदीको त्रिवेणी हो, यो नाटक पनि मिथक, इतिहास र वर्तमानका घटना–प्रसंगको त्रिवेणी–कथा बन्न पुगेको छ। त्रिवेणीको कथा भन्नका निम्ति तीन युगको कथा–सारलाई मसिनो ढङ्गले उतारिएको छ। यति भनेपछि भन्नै परेन, जसमा मिथक छ, इतिहास छ र वर्तमान पनि।
००
Facebook Comment
Comment