बिजुक्छे पत्नीसहित हजारौँका घरघरबाट निकालियो गाईजात्रा, घिन्ताङ घिसि नाचको रौनक

बिजुक्छे पत्नीसहित हजारौँका घरघरबाट निकालियो गाईजात्रा, घिन्ताङ घिसि नाचको रौनक

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विगत दुई वर्ष औपचारिकतामा मात्रै सीमिति गरिएको गाईजात्रा पर्व दुई वर्षपछि आज भव्यरूपमा मनाइएको छ ।

आज साँझ परालबाट बनेको ताहमचा र त्यससँगै भैरव नाचसमेत प्रदर्शन गरेसँगै आजको गाईजात्रा समापन भएको हो । भक्तपुरको तौमढीस्थित भैरव मन्दिरबाट निकालिएको ताहमचा, यसपछि सोही टोलभित्रभरिबाट निकालिएको अन्य ताहमचा र सबैभन्दा पछि नकिङजु अजिमाको तमाचा निकाली वंशगोपाल हुँदै विभिन्न ठाउँमा परिक्रमा गरी दरबार स्क्वायर चोकमा तीनपटक परिक्रमा गरेपछि जात्रा समापन गरिएको हो । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेकी दिवङ्गत पत्नी शोभा बिजुक्छेको पनि घरबाट निकालिएको गाईजात्रा प्रदर्शन गरिएको छ ।

‘घिनित्वाङ, घिनित्वाङ घिन्ताङ घिसि त्वाङ, ताहामचा गना ते ग्वाखँ प्वाले तय्, ग्वाङ प्वाले मन्ह्यसा खुसिङ चुइक छोय्’—आज भक्तपुरमा सुरु भएको सातदिने गाईजात्रा पर्वमा टोलटोलमा यही गीत गाएर घिन्ताङघिसी नाच नाच्दा गाईजात्रामा रौनक थपिएको छ ।

धार्मिक एवं ऐतिहासिक महत्व बोकेको गाईजात्राको प्रमुख आकर्षण एवं भक्तपुरमा मात्र नाचिने घिन्ताङघिसी नाच प्रदर्शनले गाईजात्राको रौनक थपिएको हो । घिन्ताङघिसी नाच जोडीजोडी बनेर लाठी जुधाएर नाच्ने गरिन्छ ।

आकर्षक नाचका रूपमा लिइने धार्मिक एवं ऐतिहासिक महत्व बोकेको घिन्ताङघिसी नाच गाईजात्राको दिन टोलटोलबाट निकालिएको हो । उपत्यकामा मनाइने गाईजात्रामध्ये भक्तपुरको जात्रा पृथक मनोरञ्जनात्मक एवं व्यङ्ग्यात्मक हुने हुँदा यो जात्रा हेर्न टाढाटाढाबाट लाखौँकोे सङ्ख्यामा मानिसहरु आएका थिए ।

भक्तपुर नेवार समुदायमा मृत्यु भएकाहरूको मृतात्माहरूको प्रतीक ताहामचा बनाई भक्तपुर नगर परिक्रममा गर्ने गरिन्छ । गाईजात्राका दिन वर्ष दिनभित्र मरेकामध्ये मृत्युसंस्कार गर्न नपर्ने अथवा उमेर नपुगेका बालबालिकाको साँचा बनाई देश परिक्रमा गर्ने संस्कृतकर्मी रामशेखर श्रेष्ठले बताउनुभयो । उमेर पुगेका ठूला व्यक्तिहरूको मृत्युमा १५ हात लामो बाँसको ताहमचा बनाई नगर परिक्रमा गर्ने परम्परा छ ।

जात्रामा करुण रस प्रधान गीतिलीला रामायणहरूसमेत प्रदर्शन गरिएको थियो भने केहीले कालोमाटोको साँढे बनाई शृङ्गारपटारसाथ खटमा राखी केटाकेटीहरूलाई आकर्षक तवरले सिँगारी बाजागाजासाथ बासा लुइके गरेर प्रदर्शन गरिएको थियो । जात्राको आकर्षणका रूपमा रहेको घिन्ताङघिसी नाचसँगै हनुमान नाच, भैरव नाच र माक प्याखं (बाँदर नाच), लाखे नाच, विभिन्न देवीदेवताको नाचसमेत टोलटोलमा प्रदर्शन गरिएको छ । जात्राकै क्रममा विभिन्न व्यङ्ग्य एवं कार्टुनसमेत प्रदर्शन गरिएको छ ।

विभिन्न घर तथा टोलबाट निकालिएको गाईजात्रा दरबार स्क्वायर, बालाखु गणेश, चोछेँ, भोलाछेँ, महालक्ष्मी, नागपोखरी, क्वाठण्डौ, नवदुर्गास्थान, सूर्यमढी, दत्तात्रय, सुकुलढोका, गोलमढी, तौमढी, पोटरीस्क्वायर, वंशगोपाल, इताछेँ, खौमाको परिक्रमा गराउने गरिन्छ । एक वर्षभित्र मरेका आफन्तको दिवङ्गत आत्माले मोक्ष प्राप्त गरून् भनी प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदाका दिनदेखि कृष्ण जन्माष्टमीसम्म सात दिन मनाइने गाईजात्राको पहिलो दिन समापन भए पनि सात दिनसम्म साँझ भक्तपुरमा मनाउने गरिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved