मनसुनी वर्षा : अहिलेसम्म कहाँ कति पानी पर्‍यो ?

मनसुनी वर्षा : अहिलेसम्म कहाँ कति पानी पर्‍यो ?
सांकेतिक तस्बिर

काठमाडाैं ।  जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी मनसुनी वर्षा हुने प्रक्षेपण गरेको छ । विभागको तथ्याङ्ककअनुसार देशका अधिकांश स्थानमा हालसम्म सरदर वर्षा भएको छ । यो वर्ष जेठ १८ देखि साउन २६ (जुन १ देखि अगष्ट ११)सम्म जम्मा आठ सय ५८ दशमलव पाँच मिलिमिटर वर्षा भएको छ ।

विभागअन्तर्गतको हावापानी विश्लेषण शाखाका अनुसार कूल ७७ वटा केन्द्रको तथ्याङ्कमा सोही अवधिको सरदर वर्षा आठ सय ६८ दशमलव सात मिलिमिटर भएको छ । जसअनुसार साउन २६ सम्म सरदरको ९८ दशमलव नौ प्रतिशत वर्षा भएको हो । यो वर्ष सरदरभन्दा बढी मनसुनी वर्षा हुने हावापानी शाखाले आकलन गरेको छ । सरदर भन्नाले सन् १९९१ देखि २०२० सम्मको जुन १ देखि अगष्ट ११ सम्मको जम्मा वर्षाको वार्षिक औसत जनाउँदछ ।

हावापानी शाखाका मौसमविद् सुदर्शन हुमागाईंले मनसुन सुरु भएयता हालसम्म आठ सय ३५ दशमलव तीन मिलिमिटर अर्थात ५६ दशमलव सात प्रतिशत वर्षा भएको जानकारी दिए । यो वर्षको मनसुनको औसत सरदर वर्षा एक हजार चार सय ६२ मिलिमिटर हुने प्रक्षेपण गरिएको छ । उनले अझै दुई महिना वर्षा हुने भएकाले बढी वर्षा हुने आँकलन गरिएको बताए ।

प्रदेश नं १ र बागमती प्रदेशका साथै गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरैजसो भू–भागमा सरदरभन्दा बढी वर्षा भएको छ । मधेश प्रदेश र लुम्बिनी प्रदेशका धेरैजसो भू–भागमा सरदरभन्दा कम वर्षा भएको छ ।

नेपालमा यो वर्ष गत जेठ २२ गतेदेखि मनसुन प्रवेश गरेको थियो । जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एशियाली क्षेत्रमा मनसुनको अवधि मानिन्छ । नेपालमा पूर्वी भेग भएर मनसुन भित्रिने गर्दछ । मनसुन अवधिमा एक हजार पाँच सय मिलिमिटर हाराहारी वर्षा हुने जनाइन्छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनले जारी मनसुनमा विशेषगरी देशका पहाडी भेगमा बढी वर्षा भएको तथा तुलनात्मकरूपमा तराई क्षेत्रमा कम वर्षा भएको बताए ।

महाशाखाको पछिल्लो विवरणमा हाल मनसुन न्यून चापीय रेखा नेपालको तराई पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको छ ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । देशका थोरै स्थानमा मेघ/गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ । देशको पहाडी भू–भागका थोरै स्थानमा मेघ/गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

भोलि आइतबार र सोमबार मौसम बदली भई देशका धेरेजसो स्थानमा मेघ/गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् महर्जनले जानकारी दिनुभयो । आज काठमाडौँको अधिकतम ३० दशमलव पाँच र न्यूनतम तापक्रम २० डिग्री सेल्सियस रहेको छ । वीरेन्द्रनगरमा १४ र पोखरामा १० मिलिमिटर वर्षा भएको छ । राजधानी काठमाडौँमा गए रातिदेखि वर्षा भएकाले छैन । बिहान मौसम खुले पनि अहिले उपत्यकाको आकाश आंशिक बदली रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved