चाडबाड लागेसँगै बढ्यो कोरोना संक्रमण, २ हप्तामा २० भन्दा बढीको मृत्यु

कोरोना लागेमा कहाँ उपचार गराउन जाने?

पछिल्लो दुई हप्तामा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या २० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा धेरैजसो ज्येष्ठ नागरिक र खोप नलगाएका छन् । पछिल्लो पटक सबैभन्दा धेरैको मृत्यु बिहीबार पाँच जनाको भएको थियो।

नेपालभ्युज

चाडबाड लागेसँगै बढ्यो कोरोना संक्रमण, २ हप्तामा २० भन्दा बढीको मृत्यु

काठमाडौं।  नेपालमा कोरोना संक्रमणको रफ्तार बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा थप ७८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै सक्रिय संक्रमितको सङ्ख्या ५ हजार ७७५ पुगेको छ। पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने ५११ जना संक्रमणमुक्त भएका छन्। बिहीबार भने एकै दिन पाँच जनाको मृत्यु भएको थियो।

साउन १ देखि १६ गतेसम्म ७ हजार ९२३ कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन्। साउन १ गते संक्रमण दर ४ दशमलव ४३ प्रतिशत रहेकोमा साउन १६ गते संक्रमण दर बढेर १५ दशमलव १४ प्रतिशत पुगेको छ। त्यसयता अहिलेसम्म २० प्रतिशतभन्दा बढीले सक्रमित थपिइरहेका छन्। देशभर कोरोनाको सक्रिय सङ्क्रमित पाँच हजार ७ सयमध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकामा छन्।

पछिल्लो दुई हप्तामा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या २० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा धेरैजसो ज्येष्ठ नागरिक र खोप नलगाएका छन् । पछिल्लो पटक सबैभन्दा धेरैको मृत्यु बिहीबार पाँच जनाको भएको थियो।

पछिल्लो २४ घण्टामा ५११ जना संक्रमणमुक्त भएका छन्। जसमध्ये ५ हजार ५६५ जना होम आइसोलेसनमा रहेका छन् भने २१० जना संस्थागत आइसोलेसन र ६३ जना आईसीयूमा छन्। यस्तै, ८ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ। शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल सङ्ख्या ११ लाख ३९ हजार २२६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार देशभरमा १०२ वटा ल्याब छन् । तर, दैनिक ३ हजारभन्दा कम पीसीआर टेस्ट हुने गरेको छ । यही प्रयोगशालाबाट दोस्रो लहरमा करिब २२–२३ हजार नमुनाको परीक्षण हुने गरेको थियो । मंगलबार मन्त्रालयले जारी गरेको तथ्यांक हेर्दा ५० वटा प्रयोगशालाबाट मात्रै परीक्षण भएको छ ।

परीक्षणलाई तीव्रता दिन सुझाव

जनस्वास्थ्यविद्हरू पीसीआरको क्षमता विस्तारसँगै एन्टिजेनको परीक्षणलाई तीव्रता दिनुपर्ने सुझाव दिन्छन्। सरकारले गरेको परीक्षण अत्यन्तै न्युन भएको भन्दै संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी भन्छन्, ‘‘दैनिक एक हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको देखिन्छ । तर, पर्याप्त परीक्षण नभएकाले थोरै संक्रमण देखिएको हो।’’

यता सरकारले भने कोरोनाको चौथो लहरको पूर्वाअनुमान गरेर त्यसअनुसारको तयारी थालेको दाबी गरेको छ। मन्त्रालयका प्रवक्ता डा. समीर अधिकारी भनछन्, ‘‘कोरोना संक्रमण दर बढिरहेको छ। चौथो लहर आउनसक्ने भन्दै जनस्वास्थ्यको मापदण्ड पालना गर्न गराउने र घटाउने प्रयासमा छौं।’’

चाडबाड नजिकिएसँगै संक्रमण बढ्यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर ३६ जना आइसोलेसनमा र ५ जना भेन्टिलेटरमा उपचाररत छन्। उपत्यकाका विभिन्न अस्पतालमा ३५ जना जनरल वार्डमा, ३१ जना एचडीयूमा, ३२ जना आईसीयूमा र ५ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन्।

चाडबाड नजिकिएसँगै संक्रमण बढ्दै जानसक्ने भएकाले सजगता अपाउनुपर्ने विज्ञहरूको सुझाव छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालकी निर्देशक डा. मनीषा रावल भन्छिन्, ‘‘अस्पतालमा भर्ना भएका धेरैले खोपको पहिलो मात्रा लगाएका छन्। कतिपय खोप नै नलगाएका छन्। चाडबाड लागेसँगै भीडभाड बढेकाले संक्रमण बढेको हुनसक्छ।’’

कोरोना लागेमा कहाँ उपचार गराउन जाने?

सरकारले कोरोना संक्रमतिको उपचारका लगि विभिन्न अस्पताल तोकेको छ। कोभिड-१९ संक्रमितको उपचारबापत ती अस्पताललाई बिरामीको अवस्थाका आधारमा अनुदान दिने व्यवस्था मिलाइएको छ।

प्रदेश १ मा कोसी अस्पताल (विराटनगर) र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान) लाई तोकिएको छ। त्यसैगरी, मधेस प्रदेशमा जनकपुर प्रादेशिक अस्पताल (जनकपुर) र नारायणी अस्पताल (वीरगञ्ज) रहेको छ । वाग्मती प्रदेशमा शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल (टेकु), भरतपुर अस्पताल (चितवन), वीर अस्पताल (महाबौद्ध), त्रिवि शिक्षण अस्पताल (महाराजञ्ज), पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (लगनखेल) लाई तोकिएको छ।

त्यसैगरी, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पोखरा) र धौलागिरी अस्पताल –बागलुङ), लुम्बिनी प्रदेशमा लुम्बिनी प्रादेशिक अस्पताल (बुटवल) र भेरी अस्पताल (नेपालगञ्ज) लाई तोकिएको छ । कर्णाली प्रदेशमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (जुम्ला) र सुर्खेत प्रार्देशिक अस्पताल (वीरन्द्रनगर) र सुदूरपश्चिम प्रदेशमा डडेलधुरा अस्पताल (डडेलधुरा) र सेती प्रादेशिक अस्पताल (कैलाली) लाई निःशुल्क कोभिड संक्रमितको उपचार गरिने अस्पतालको रूपमा तोकिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved