संसारलाई प्यालेस्टिनीको प्रश्न : ‘हामी युक्रेनजस्तो मायालाग्दो छैनौं हो ?’

प्यालेस्टिनीहरु मायालाग्दो छैनन् । हामीलाई थाहा छ हामी युक्रेनका होइनौं । युक्रेनीले जसरी नै समर्थन पाउँदैनौं भन्ने हामीलाई थाहा छ । आक्रमणकारी दस्तामाथि प्रतिरोध गर्ने हाम्रो अधिकारको रक्षा कसैले गर्नेछैन । हाम्रा सहिदहरुलाई सम्मानित गरेर अन्तर्राष्ट्रिय मिडियाले फोटो हाल्ने छैनन् ।

संसारलाई प्यालेस्टिनीको प्रश्न : ‘हामी युक्रेनजस्तो मायालाग्दो छैनौं हो ?’

पश्चिमाको नजरमा प्यालेस्टिनी निर्दोष र मायालाग्दो छैनन् । किनकी, हामी युक्रेन होइनौं । यस साता फेरि इजरायली सत्ताले गाजापट्टीमा बम वर्षा गर्‍यो । ‘ट्रुथफुल डन’ नाम दिइएको यस अपरेशनका दौरान तीन दिनसम्म बम खसालियोे, १५ जना बालबालिकासहित कम्तिमा ४४ जना प्यालेस्टाइनी मारिए, सयौं घाइते भए ।

१५ वर्षदेखिको कब्जा पर्याप्त नभएजसरी हरेक वर्ष यो क्षेत्रमा इजरायलले दर्दनाक आक्रमण गर्छ, जसमा परेर अहिलेसम्म आइपुग्दा हजारौंले ज्यान गुमाएका छन् । लाखौं घाइते भएका छन् र महत्वपूर्ण पूर्वाधार ध्वस्त भएका छन् ।
२०२० सम्म गाजा बस्नलायक शहर बन्दैन भन्ने पूर्वानुमान संयुक्त राष्ट्रसंघले २०१२ मै गरेको थियो । धेरै आधारमा यो पूर्वानुमान सही प्रमाणित भएको छ । र, पनि अझै २० लाखभन्दा बढी प्यालेस्टिनी यो शहरमा बसिरहेका छन् ।

धेरैजसो मानिस रहरले होइन, बाध्यताले बस्छन् । पछिल्लो मतसर्वेक्षणको अनुमान अनुसार गाजामा बस्ने ४० प्रतिशत जनसंख्याले अवसर पाए अन्यत्र सर्ने चाहना राखेको थियो । धेरैले यहाँ भविष्य नदेख्नु कुनै नौलो होइन । वर्षौंदेखि गाजामा प्यालेस्टिनीको जीवन सहज छैन । बिडम्बनाको कुरा, इजरायली नेताले मनपरी ढंगले थाल्ने हरेक युद्ध, अपरेशन र आक्रमणपछि यहाँको अवस्था अझै खराब बन्दै जाने गरेको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयको अनुमानअनुसार लामो समयदेखि नाकाबन्दीबाट प्रताडित बनेको यहाँको स्वास्थ सेवा छिट्टै नै विद्युत अभाव र जेनेरेटरमा इन्धन अभावका कारण ठप्प हुनेवाला छ । पछिल्लो आक्रमणसँगै इजरायली सत्ताले गाजा जाने सबै बाटो बन्द गरेको छ, इन्धन र आधारभूत आवश्यकताको आपूर्ति पनि ठप्प छ ।

कहिल्यै अन्त्य नहुने चोट

आइतबार साँझ इजिप्टको मध्यस्थतामा इजरायल र प्यालेस्टाइनको इस्लामिक जिहादीबीच युद्धविराम गर्ने सहमति भएको छ । र, यसअघिका सबै इजरायली आक्रमणपछि जे भएको थियो, अहिलेकोे अवस्था पनि त्यही नै छ । गाजाका मानिसहरु पछिल्लो आक्रमणको झट्काबाट मुक्त हुने प्रयासमा छन्, सँगसँगै उनीहरुलाई नयाँ आक्रमणको डर पनि हुनेछ । र, उनीहरुले खपेको मानसिक र शारीरिक चोटबाट मुक्त हुने कुनै उपाय छैन ।

गाजामा धेरै आईएनजिओे र संयुक्त राष्ट्रसंघका एजेन्सीहरु सक्रिय छन् । उनीहरुले कहिल्यै समाप्त नहुने यो मानसिक रोगको रेकर्ड राख्ने प्रयास गरिरहेका छन् । तर, उनीहरुले प्रयोग गर्ने सिद्धान्त र पद्धती पर्याप्त छैन । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयको मानसिक स्वास्थ युनिटका अध्यक्ष डा. समाह जाब्रका अनुसार यी संस्थानहरुले पश्चिमा सोचको प्रयोग गरेर गाजाको समस्या बुझ्ने र समाधान गर्ने प्रयास गर्छन्, जो गाजाको जमिनी यर्थाथसँग मिल्दैन । उदाहरणका लागि ‘पोस्ट ट्रमेटिक स्ट्रेस डिसअर्डर (पिटिएसडी)’ को अवधारणा प्यालेस्टिनीहरुको अनुभवमा लागु हुँदैन । किनकी, उपनिवेशकालदेखि उनीहरुले भोग्दै बारम्बार चोट खेप्दै आएका छन् । र, यस्तो मानसिक चोट र ‘ट्रमा’ पुस्तान्तरणसँगै बढ्दै र फैलदैं गएको छ ।

खासमा गाजाका प्यालेस्टिनीले अनुभव गरेको चोट गत साता शुरु भएको होइन वा गत वर्ष पनि सुरु भएको होइन । वा २००६ मा पनि होइन जतिबेला आफूले मन नपराएको सरकारलाई निर्वाचित गरेको भन्दै इजरायलले गाजापट्टी कब्जा गरेको थियो । यो त दशकौंअघि सुरु भएको थियो, जतिबेला जियोनिस्ट अभियानको नजर प्यालेस्टिनीको भूमिमा पुग्यो । यस परियोजनाअन्तर्गत उनीहरुले बाहिरबाट मानिस ल्याएर उपनिवेश खडा गरे । यो त्यस्तो परियोजना हो, जसले ठूलो संख्यामा प्यालेस्टिनीलाई निरन्तर उनीहरुकै जमिनबाट लखेट्न थाल्यो । नतिजा, यसले खुला हावासहितको जेल बनायो, जो अहिलेको गाजा हो ।

गाजामा बस्ने २० लाख मानिसमध्ये १४ लाख शरणार्थी हुन्, उनीहरु अन्य प्यालेस्टिनी भूभागबाट खेदिएपछि आश्रय खोज्दै यहाँ आउन बाध्य भएका हुन् । त्यहीकारण, २०१८ मा गाजाका प्यालेस्टाइनीहरुले ‘द ग्रेट मार्च अफ रिटर्न’ अभियान चलाए । यस अभियानअन्तर्गत दशौं हजारले इजरायली सत्ताको पर्खाल अगाडि गएर आफ्नो मुलघर फर्कन पाउनुपर्ने माग राख्दै प्रदर्शन गरे । इजरायली सत्ताले स्निपर्स हानेर सयौंलाई मार्‍यो । धेरै घाइते भए ।

‘हामी युक्रेन होइनौं’

यो निरन्तरको चोट र फेरि नयाँ आक्रमणपछि अन्तर्राष्ट्रिय समुदायले त्यही गर्‍यो, जे गर्दा इजरायललाई पूर्ण उन्मुक्ती मिल्थ्यो ।
असंख्य राजनीतिज्ञ र कुटनीतिज्ञले तदाकथित ‘द्वन्द्वको सुरुवात’ माथि चिन्ता जताउँदै विज्ञप्ति निकाले, तनाव कम गर्न र शान्त रहन आग्रह गरे । प्यालेस्टिनीले पाएको पीडामा इजरायललाई दोषी देखाउन हुन्न भन्ने विषयमा उनीहरु सतर्क रहेको देखियो । उनीहरुका विज्ञप्ति पढ्दा यस्तो लाग्थ्यों कि ५ वर्षका अला क्वादुम, ११ वर्षका अहमद र मोमेन अल नैरवी इजरायलको बमले नभएर प्राकृतिक विपद्ले मरेका हुन् ।

कतिपयले त विज्ञप्ति निकालेर इजरायली हिंसाको खुलेयाम समर्थन नै गरे । जस्तो, बेलायती विदेश मन्त्री लिज ट्रसले अपरेशन ‘ट्रुथफुल डन’ सुरु हुनासाथ विज्ञप्ति निकालेर इजरायलको समर्थन गरिन् । उनले यस अपरेशनमा मारिएका प्यालेस्टिनीलाई देखेनन् । ‘बेलायत इजरायलको पक्षमा छ र आफ्नो आत्मरक्षा गर्न पाउनुपर्छ,’ उनले भनिन् । बेलायतले इजरायल स्थापना भएदेखि नै जसरी अटूट साथ र समर्थन दिएको छ, त्यसलाई हेर्दा यो कुनै आश्चर्यजनक कदम भने होइन ।

प्यालेस्टिनीहरु मायालाग्दो छैनन् । हामीलाई थाहा छ हामी युक्रेन होइनौं । युक्रेनीले जसरी नै समर्थन पाउँदैनौं भन्ने हामीलाई थाहा छ । आक्रमणकारी दस्तामाथि प्रतिरोध गर्ने हाम्रो अधिकारको रक्षा कसैले गर्नेछैन । हाम्रा सहिदहरुलाई सम्मानित गरेर अन्तर्राष्ट्रिय मिडियाले फोटो हाल्ने छैन । पप स्टार, हलिउड अभिनेता र विभिन्न देशका परिवारहरु गाजाको भग्नावशेषमा फसेका परिवारका सदस्यलाई भेट्न आउनेछैनन् । कुनै कम्पनले विश्वाव्यापी राजनीतिक परिदृश्य नफेरेसम्म इजरायली सत्ताले उन्मुक्त रुपमा बम खसाल्न र प्यालेस्टिनीहरुलाई मार्न पाइरहनेछ । यथार्थ यही नै हो ।

लेखक हावारी प्यालेस्टाइनी पोलिसी नेटवर्क अल साबाकामा फेलो हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved