स्थानीय तहलाई अधिकार सम्पन्न बनाइनुपर्छ : मुख्यमन्त्री शाही

नेपालभ्युज

स्थानीय तहलाई अधिकार सम्पन्न बनाइनुपर्छ : मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले स्थानीय तहलाई अधिकार सम्पन्न बनाइनुपर्ने बताएका छन् । उनले संघ र प्रदेशका योजना तथा कार्यक्रमहरू कार्यान्वयनको जिम्मेवारी पनि स्थानीय तहलाई दिइनुपर्ने बताए ।

नेपाल नगरपालिका संघले बुधबार वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री शाहीले जनताको सुख, दु:खसँग सबैभन्दा नजिकको सरकार स्थानीय तहलाई अधिकार सम्पन्न बनाइनुपर्ने बताए ।

उनले प्रदेश सरकारलाई देखिने र संघीय सरकारलाई सुनिने सरकार भएको बताए । ‘देखिने र सुनिने सरकारबाट सञ्चालन हुने योजनाहरूको कार्यान्वयन जनताको चुल्होको सरकारलाई दिइनुपर्छ,’ उनले भने, ‘कर्णाली प्रदेश सरकार जहिल्यै स्थानीय तहलाई सँगसँगै लिएर काम गरिरहेको छ ।’

उनले स्थानीय तह घरको जग भएकाले पहिलो बजेट स्थानीय तहले ल्याउनुपर्ने समेत बताए । ‘स्थानीय, प्रदेश हुँदै संघले बजेट ल्याउँदा आवश्यकता र औचित्यताका आधारमा काम हुन्थ्यो,’ उनले भने, ‘माथिबाट बजेट सार्वजनिक गर्ने परिपाटीको अन्त्य गरिनुपर्छ ।’

मुख्यमन्त्री शाहीले साउनबाटै बजेट कार्यान्वयन गर्ने बानीको विकास हुनुपर्ने बताउँदै कर्णालीबासीको दीर्घकालीन सोचलाई पूरा गर्नका लागि प्रदेश सरकारले ‘६ब’ (बाटो, बिजुली, बजार, वन, व्यवस्थापन र विचार) को नीति लिएको बताए ।

उनले स्थानीय तहका जनप्रतिनिधिहरूले ‘सरकार’ को अर्थ बुझ्न आवश्यक रहेको बताए । सकारात्मक, रचनात्मक कार्य गर्दै रणनीति बनाउने भएकाले सरकार भनिएको उनको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved