शान्ति बहालीको कामानासहित राष्ट्रपतीय निर्वाचनमा केन्याली

शान्ति बहालीको कामानासहित  राष्ट्रपतीय निर्वाचनमा केन्याली

नैरोबी । देशमा स्थायीरूपमा शान्ति बहाल होस् भन्ने कामनाका साथ प्रार्थना गर्दै केन्यालीहरू राष्ट्रपतीय निर्वाचनमा सहभागी भएका छन् ।

भ्रष्टाचारमुक्त प्रशासन, आर्थिक उन्नयन र जातीय तनावबाट देशलाई मुक्त गर्ने नेतृत्व चाहेका उनीहरू मतदान गर्न लामबद्ध भएका छन् । गाँजालाई वैधानिकता प्रदान गर्नुपर्ने विषय उठाइरहेका राष्ट्रपति पदका उम्मेद्वार जर्ज वाजाकोया, लोकतान्त्रिक पद्धतिका पक्षधर रैला ओडिङ्गा र राजनीतिसँग बाल्यकालदेखि अभ्यस्त रहेका विलियम रुटोबीच प्रतिस्पर्धा हुँदैछ ।

इथियोपिया र सोमालियाजस्ता समस्याग्रस्त छिमेकीका कारण बेलाबखत हिंसाको दुश्चक्रमा फसेको केन्यालाई लोकतान्त्रिक प्रणाली भएको मुलुक मानिए पनि केही नेताहरूको दशकौंसम्म सत्तामा रहिरहने लिप्साका कारण विदेशी लगानीकर्ताहरू केन्याको राजनीतिक स्थायित्वलाई अधिक चासो र महत्वका साथ नियालीरहेका छन् ।

सयौँ मतदाता केही मतदानकेन्द्रमा मतदान सुरु हुनुअगावै लामबद्ध भएका छन् । उनीहरूलाई स्वयंसेवकहरूको सघाइरहेका छन् । केही स्थानमा विद्युतीय मतदान प्रणालीमा उत्पन्न समस्याबारे विवरणहरू सार्वजनिक भएका छन् । केन्याका जनताले लोकतान्त्रिक परिवर्तनको पक्षमा मतमार्फत चर्को स्वरमा बोल्ने उम्मेदवारहरूले बताएका छन् ।

असमानता, राज्यकोषबाट हुने अनियन्त्रित खर्च, खाद्यान्न र इन्धनको बढ्दो मूल्य, बेरोजगार युवाको जमात, भ्रष्टाचार नियन्त्रण र आर्थिक मुद्दालाई सम्बोधन गर्ने उम्मेदवारहरूका चुनावी प्रतिबद्धताप्रति मतदाता खासै आकर्षित भएका छैनन् । विकल्पविहीन मतदाता निर्वाचनप्रति त्यति उत्साहित छैनन् भने बुढा र अनुभवहीन उम्मेदवारलाई मतदान गर्नु आफ्नो बाध्यता भएको केही मतदाताले बताएका छन् । यद्यपि उनीहरूले शान्तिपूर्णरूपमा मतदान हुने विश्वास गरेका छन् । यो समाचार तयार पारिरहँदा हिंसाका घटना भएका छैनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved