काठमाडौँ, २३ साउन । सर्वोच्च अदालतले बर्खास्तमा परेकी उच्च अदालत तुल्सीपुरकी न्यायाधीश रेणुका साहको मुद्दामा सक्कल फाइल झिकाउने आदेश गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले सोमबार शाहलाई नियुक्ति दिने समयमा भएको निर्णय र पदबाट हटाउने निर्णय झिकाउन आदेश गरेको हो । आदेशमा भनिएको छ, ‘मिति २०७९ असार २४ मा न्यायपरिषद्बाट गरिएको सिफारिस निर्णयसम्बन्धी सक्कल फाइल तथा निजको व्यक्तिगत फाइल न्याय परिषद् सचिवालयबाट पेशीका दिन इजलाससमक्ष देखाई फिर्ता लैजाने गरी झिकाउनु ।’
आदेशमा अधिवक्ता सल्लु तिवारीविरुद्ध न्यायपरिषद्को मुद्दामा सर्वोच्चबाट २०७६ जेठ २६ मा निर्णय भएको निवेदनको सक्कल मिसिल अदालतको अभिलेखबाट झिकाउन समेत भनिएको छ । न्यायपरिषद्को गत असार २४ गते बसेको बैठकले न्यायाधीश साहलाई योग्यता नपुगेको उल्लेख गर्दे बर्खास्त गर्ने निर्णय गरेको थियो । सोही निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन साहले दायर गरेकी थिईन् । रिट निवेदनमा आफूले पाँच वर्ष काम गरिसकेपछि नियतबस हटाउने उल्लेख छ ।
साहमाथि पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद साहकी छोरी भएको नाताले लामो समय सिटिइभिटीमा कार्यरत रहेको भए पनि पहुँचका आधारमा उच्च अदालतको न्यायाधीश बनाएको आरोप लागेको छ । परिषद्ले उच्च अदालतको न्यायाधीश बन्ने योग्यता नपुगेको उल्लेख गर्दै न्यायाधीश पदबाट बर्खास्त गरेको थियो ।
Facebook Comment
Comment