बेइजिङ डायरी

नेपाली नेतालाई सधैँ जीवित बनाउने बेइजिङको सङ्ग्रहालय

यस आलेखमा नेपालका केही नेताहरूले चिनियाँ नेतालाई दिएका उपहारको चर्चा गरिएको छ। ती उपहार चीनले सङ्ग्रहालयमा राखेर इतिहासलाई जीवन्त बनाएको मात्र होइन नेपाली कला र संस्कृतिको पहिचानलाई नयाँ पुस्तासामु लाने काम पनि गरेको छ। अथवा भनौँ ती नेपाली नेताहरुलाई बेइजिङले सधैँ जीवित बनाइदिएको छ।

नेपाली नेतालाई सधैँ जीवित बनाउने बेइजिङको सङ्ग्रहालय

काठमाडौं। नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६७ वर्ष व्यतित भइसकेको छ। दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना हुनुअघि पनि हिमाल पार गर्ने सुमधुर सम्बन्ध युगौँदेखि कायम थियो। मञ्जुश्री, बुद्धभद्र, भृकुटी, अरनिकोजस्ता समयले जन्माएका सांस्कृतिक दूतहरूले दुई देशबीच न्यानो माया, सद्भाव, आदर र सम्मान बढाउने काम गरेका थिए।

विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको देश चीनको भौगोलिक सीमा १४ वटा मुलुकसँग जोडिएको छ। ती १४ मुलुकमध्ये सबैभन्दा सुमधुर सम्बन्ध पाकिस्तान र नेपालसँग रहेको चिनियाँहरू बताउने गर्छन्। चिनियाँहरूले नेपाललाई चिन्ने तरिका अलिक फरक छन्। चिनियाँ
नेताहरूले सधैँ भन्छन् चीन र नेपाललाई हिमाल, पहाड र नदीनालाले जोडेको छ। अनि चिनियाँ जनताचाहिँ भन्छन् हिमालको काखमा रहेको बिछट्टै सुन्दर छिमेकी मुलुक नै नेपाल हो।

विश्वले नेपालका हिमाल मनपराउँछ, प्राकृतिक सौन्दर्य मनपराउँछ, नेपाली माटोमा सुललित संस्कृति मन पराउँछ। हो, चिनियाँले पनि नेपालका यी सम्पति राम्ररी चिनेका छन् अनि उनीहरू पनि नेपालका यी पहिचानको खुब प्रशंसा गर्छन्। तर, चिनियाँले नेपाल र नेपाली चिन्ने
उल्लिखित पहिचानभन्दा अनौठो र फरक पहिचान पनि छ। त्यो हो नेपालीको हाँसो।

थाहा छैन चिनियाँहरूले नेपालीको मुस्कान, अनुहारको चमक र हाँसोलाई किन मनपराए,  कुन्नि!जो चिनियाँ नेपाल भ्रमणमा गएको छ, उसको मुखबाट सहजै सुनिन्छ नेपालीहरूको हाँसो
गज्जबको छ। यो स्तम्भकारले धेरै चिनियाँलाई किन नेपालीको हाँसो मनपरेको भनेर प्रश्न गर्दा पाएको जवाफ आफैँमा निक्कै गहन छ।

चिनियाँहरू भन्छन् ‘नेपाल भ्रमणमा गएका चिनियाँले कि नेपाली बालबालिकाको फोटो खिच्छन् कि पौढ व्यक्तिको। गालामा चाहुरी परे पनि उनीहरूसँग निस्फिक्री मुस्कान प्रस्फुटित भइरहेको हुन्छ। अनि बालबालिकाको निर्दोष अनुहारमा देखिएको चहक र हँसिलोपनले सबैलाई
लोभ्याउँछ र मोहित बनाउँछ।’

एकजना चिनियाँले दिएको जवाफ यस्तो छ ‘चिनियाँहरूमा तनाव, निराशा, दबाब धेरै
हुन्छ। यस्ता समस्यालाई दबाएर चिनियाँहरू कृतिम हाँसो र खुसी अनुहारमा ल्याउने प्रयत्न गर्छन्, तर नेपालीहरू हृदयदेखि नै हाँस्छन्। उनीहरू कुनै पनि कुरा लुकाउँदेनन्। त्यही भएर चिनियाँलाई नेपाली मुस्कान मनपर्छ।’

केही वर्ष अगाडि चाइना डेलीमा नेपालको एउटा फोटो प्रकाशन भएको थियो। पाटन दरबार स्क्वायरमा मध्यान्हमा घाम तापिरहेका बुढ्यौली मान्छेहरू थिए फोटोमा। क्याप्सनमा लेखिएको थियो ‘ढल्कदो उमेरमा पनि निस्फक्री हाँसो बोकेका मान्छेहरू।’ चिनियाँले नेपालीलाई चिन्ने यो अनौठो काइदा आजपर्यन्त मलाई पनि अनौठो लागेको छ। जनस्तरबाट मात्र होइन सरकारीस्तरबाट पनि चीनले नेपाललाई निकै महत्व दिएको कुरालाई विभिन्न तथ्यबाट पुष्टि गर्न सकिन्छ।

यस आलेखमा नेपालका केही नेताहरूले चिनियाँ नेतालाई दिएका उपहारको चर्चा गरिएको छ। ती उपहार चीनले सङ्ग्रहालयमा राखेर इतिहासलाई जीवन्त बनाएको मात्र होइन नेपाली कला र संस्कृतिको पहिचानलाई नयाँ पुस्तासामु लाने काम पनि गरेको छ। अथवा भनौँ ती नेपाली नेताहरुलाई बेइजिङले सधैँ जीवित बनाइदिएको छ।

बेइजिङस्थित राष्ट्रिय सङ्ग्रहालय

बेइजिङस्थित राष्ट्रिय सङ्ग्रहालयचीनको राजधानी बेइजिङको केन्द्र भाग थिआनआनमन स्क्वायर पूर्वपट्टि एउटा सङ्ग्रहालय छ। यो सङ्ग्रहालयको नाम राष्ट्रिय सङ्ग्रहालय हो। यो चीनको मात्र होइन विश्वकै सबैभन्दा ठूलो सङ्ग्रहालय पनि हो। चीन भ्रमण गर्ने निकै थोरै नेपालीहरू मात्र यो सङ्ग्रहालयमा पुग्ने गर्छन्। निःशुल्क प्रवेश पाइने यो सङ्ग्रहालय नेपाल र चीनबीचको सम्बन्धमा जिउँदो जाग्दो साक्षी पनि हो।

सन् १९१२ जुलाई ९ मा ‘चिनियाँ इतिहासको सङ्ग्रहालय’का नाममा यसको स्थापना भएको थियो। सन् १९४९ अक्टोबर १ मा नयाँ चीन स्थापना भएपछि यसको नाम ‘पैचिङ इतिहासको सग्रहालय’ राखियो। सन् १९५९ मा यसलाई पुनः न्वारान गर्दै ‘चिनियाँ इतिहासको राष्ट्रिय सङ्ग्रहालय’
राखियो। सन् २००३ मा ‘चिनियाँ क्रान्तिको सङ्ग्रहालय’ र ‘चिनियाँ इतिहासको राष्ट्रिय सङ्ग्रहालय’लाई जोडेर यसको नाम ‘चीनको राष्ट्रिय सङ्ग्रहालय’ राखियो। सन् २००७ को मार्चदेखि २०११ को डिसेम्बरसम्म विस्तार गरी बनाइएको ‘चीनको राष्ट्रिय संग्राहलय’ले एक लाख ९२ हजार वर्ग मिटर क्षेत्रफल ओगटेको छ। क्षेत्रफल र यसमा संग्रहित सामग्रीका आधारमा यो विश्वको सबैभन्दा ठूलो सङ्ग्रहालय पनि हो।

चीनको पाँच हजार वर्षको इतिहास र सभ्यतासँगै विश्वका विभिन्न ऐतिहासिक महत्त्वका सामग्री राखिएको यो सङ्ग्रहालयमा ४० भन्दा बढी ठूला हलहरू छन्। एकै दिनमा पूरा अवलोकन गर्न सम्भव छैन।

यो सङ्ग्रहालयमा अफ्रिकन कलादेखि पश्चिमा सभ्यताका पुरातात्विक वस्तुहरू पनि राखिएको छ। सङ्ग्रहालयको पाँचौं तलामा ‘मित्रता आदान-प्रदान प्रदर्शनीकक्ष’ रहेको छ। विभिन्न मुलुकका राज्य प्रमुख तथा सरकार प्रमुखहरूले चीनका समकक्षी नेताहरूलाई प्रदान गरेका महत्त्वपूर्ण उपहारहरू राखिएको छ। उपहारको मुनिपट्टि प्रदान गर्ने व्यक्ति अथवा संस्थाको नाम र मिति उल्लेख गर्दै ग्रहण गर्ने नेताको नाम लेखिएको छ।

 

सन् १९७२ मा कीर्तिनिधि बिष्टले माओलाई उपहार दिएको तामाको महाबुद्ध मन्दिर

प्राय: मुलुकबाट प्राप्त उपहारमा एउटा अथवा दुईवटा मात्र राखिएको छ। लगभग ५० मुलुकका नेताले प्रदान गरेका उपहारहरू संरक्षण गर्ने क्रममा नेपालका भने ६ वटाभन्दा बढी उपहारहरू राखिएको छ। सन् १९७२ देखि २००९ सम्म नेपालका विभिन्न नेताले चिनियाँ नेतालाई

उपहार दिएका आधा दर्जन सामग्री आज पनि नेपाल र चीनबीचको सम्बन्धका साक्षी बनिरहेका छन्।

सन् १९७२ को नोभेम्बरमा नेपालका तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले चिनियाँ नेता माओ चतोङलाई उपहार दिएको तामाको महाबुद्ध मन्दिर राखिएको छ। यस उपहारले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाएको अनुभूति हुन्छ। चीनमा ताओ धर्मपछि
सबैभन्दा धेरै व्यक्तिले बौद्ध धर्म मान्छन्।

 

चिनियाँ पर्यटकका लागि नेपाल भ्रमणसँग भगवान् बुद्धको जन्मस्थल लुम्बिनीप्रतिको आकर्षण पनि थपिँदै गएको छ। चीनले २४ वर्ष अगाडि लुम्बिनीमा चिनियाँ मन्दिर निर्माण गरेको छ। ५० वर्ष पहिले नेपालका तत्कालीन प्रधानमन्त्रीकीर्तिनिधि विष्टले चिनियाँ नेता माओलाई दिएको महाबुद्ध मन्दिरले नेपाली कला र संस्कृतिलाई चीनमा फैलाउने काम गरिरहेको छ।

त्यसैगरी, सन् १९७९ को अगष्टमा नेपालका तत्कालीन राजा वीरेन्द्रले चीनका खुला र सुधारका प्रवर्द्धक तङ स्याओफिङलाई उपहार दिएको काठको मयुर झ्याल राखिएको छ। मयुर झ्याल काठमाडौं उपत्यकामा रहेको परम्परागत नेवारी शैलीको द्योतक हो। अहिले पनि पाटन र
भक्तपुरका हस्तकला पसलमा सर्वाधिक बिक्री हुनेमा यस्तो झ्याल दरिएको छ। नेपाली कालीगडले हजारौँ वर्षदेखि अपनाएको पेसा र नेवार समुदायका परम्परागत घरमा कुँदिने यस्ता मयुर झ्याल यतिबेला नेपालमा पनि व्यावहारिक रूपमा अत्यन्त कम प्रयोगमा आएको देखिन्छ।

सन् १९७९ मा वीरेन्द्रले तङ स्याओफिङलाई उपहार दिएको काठको मयुर झ्याल

विश्वकै चर्चित सङ्ग्रहालयमा राखिएको नेपाली मयुर झ्यालले चिनियाँ पुस्तौँ पुस्तालाई नेपाली कला र शैलीका बारेमा बताउँदै छ। मयुरको झ्याल नै त होइन तर दुई सय वर्ष अगाडिको कलात्मक ढोका वरिष्ठ संस्कृतिविद तथा शताब्दीपुरुष सत्यमोहन जोशीको घरको द्वारमा रहेको
पाइन्छ। नेपालमा विभिन्न कालखण्डमा गएका विनासकारी भूकम्पले घर भत्काए पनि उक्त ढोकाचाहिँ संरक्षण गरिएको कुरा जोशीले उनको घरमा जाँदा सुनाएका थिए। सङ्ग्रहालयमा नेपाली नेताबाहेक नेपाली संस्थाका नाममा दिइएको एउटा उपहार पनि राखिएको छ।

सन् १९८४ को मार्चमा काठमाडौँ नगरपञ्चालयले चिनियाँ राष्ट्रपति ली सिआननियानलाई दिएको पशुपतिनाथ मन्दिर रहेको छ। सिसाको बट्टाभित्र राखिएको पित्तलको चिटिक्क परेको यो उपहार अन्य उपहारभन्दा पृथक छ।

सन् १९८४ मा काठमाडौं नगरपञ्चालयले ली सिआननियानलाई उपहार दिएको पशुपतिनाथ मन्दिर

सामान्यतः चिनियाँ नेतालाई नेपालबाट दिइने उपहारमा बुद्धको मूर्ति अथवा कलात्मक काठका झ्यालको वर्चश्व रहेको बेला पशुपतिनाथको मन्दिर आफैँमा अनौठो छ।

ली सिआननियान नेपाल भ्रमण गर्ने पहिलो चिनियाँ राष्ट्रपति हुन्। उनले सन् १९८४ को मार्चमा नेपाल भ्रमण गरेका थिए। सोही समयमा काठमाडौं नगरपञ्चालयको नगरपरिषद्ले उपहार दिएको हो। लीपछि च्याङचमिन र सी चिनफिङ दुईजना चिनियाँ राष्ट्रपतिले नेपालको भ्रमण
गरेका छन्।

सङ्ग्रहालयमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले चीनका तत्कालीन राष्ट्रपति याङ शाङखुनलाई सन् १९९२ को मार्चमा उपहार दिएको अर्को आकर्षक काठको मयुर झ्याल पनि राखिएको छ। वीरेन्द्रले चिनियाँ नेता तङ स्याओ फिङलाई दिएको उपहारभन्दा यो केही नयाँ र चम्किलो देखिन्छ। चिनियाँ नेता याङ शाङखुन सन् १९८८ देखि १९९२ सम्म चीनका राष्ट्रपति थिए।

सन् १९९२ मा गिरिजाप्रसाद कोइरालाले याङ शाङखुनलाई उपहार काठको मयुर झ्याल

त्यसैगरी, सन् १९९३ को सेप्टेम्बरमा नेपालका तत्कालीन राजा वीरेन्द्रले चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनका तत्कालीन अध्यक्ष ली रूइहुआनलाई दिएको काठको मयुरको झ्याल अघिल्ला दुईवटा झ्यालको तुलनामा बढी उचाइको छ।

अघिल्ला दुईवटा मयुर झ्यालहरू बढी चौडा आकारका छन् भने यो झ्याल चाहिँ कम चौडा र बढी उचाइको छ। चिनियाँ नेता ली सन् १९९३ देखि २००३ सम्म चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनको अध्यक्ष थिए।

सन् १९९३ मा वीरेन्द्रले ली रूइहुआनलाई उपहार दिएको काठको मयुर झ्याल

सङ्ग्रहालयमा राखिएको सबैभन्दा पछिल्लो उपहार माधवकुमार नेपालले तत्कालीन चिनियाँ राष्ट्रपति हु चिनथाओलाई दिएको तामाको बुद्धमूर्ति हो।

सन् २००९ मा माधवकुमार नेपालले हु चिनथावोलाई उपहार दिएको तामाको बुद्धमूर्ति

सन् २००९ को डिसेम्बरमा तत्कालीन प्रधानमन्त्रीका रूपमा नेता नेपालले चिनियाँ नेता हुलाई तामाको बुद्धमूर्ति दिएका हुन्। बुद्धमूर्तिलाई चीनमा निकै सम्मान गरिन्छ। सोही सङ्ग्रहालयमा एउटा ठूलो कक्षलाई भगवान बुद्धको प्रदर्शनी कक्षका रूपमा छुट्ट्याइएको छ। जहाँ बुद्धका विभिन्न आकृतिका दर्जनौँ मूर्तिहरू र बुद्धसम्बन्धी अनेकौँ वस्तुहरू राखिएका छन्।

चिनियाँ राष्ट्रपतिलाई दिइएको बुद्धको मूर्तिले नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धलाई पनि उजागर गरेको छ। अहिले पनि चीनमा नेपाली हस्तकलाका सामग्रीमा थांका र बुद्धमूर्ति अत्यन्त लोकप्रिय मानिन्छन्।

सङ्ग्रहालयमा नेपालका तीनवटै (पञ्चायती व्यवस्था, बहुदलीय राजतन्त्रात्मक व्यवस्था र गणतन्त्रात्मक व्यवस्था) राजनीतिक प्रणालीको समयका उपहारहरू राखिएको छ। नेपालमा भएका राजनीतिक परिवर्तन र जनताले रुचाएको राजनीतिक व्यवस्थालाई चीनले सहर्ष स्वीकार गर्दै आएको छ। सङ्ग्रहालयमा राखिएका उपहारले पनि यही कुरालाई संकेत गरेको पाइन्छ।


Comment

One thought on “नेपाली नेतालाई सधैँ जीवित बनाउने बेइजिङको सङ्ग्रहालय

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved