पाटनः दुई कविता

आँखाको तरल आँसु ध्वंसात्मक कारबाही
र स्थिर पीडा उग्रवाद
रगताम्ये विश्वास राज्यविप्लव
चेतना असंवैधानिक शब्द हो
सहन गरिनेछैन अब
कुनै पनि प्रकारको छटपटी

नेपालभ्युज

पाटनः दुई कविता

पाटन

–विमल निभा

यो कानुनी गोली हो

असह्य दुःख, भयावह वेदना
निरन्तर चीत्कार,
र विह्वल मन
सबै जनहिंसा हुन्

जोस, आक्रोश, विद्रोह
र अन्यायको विरोध रोक्का गरिएको छ
आज्ञापत्रमा
हत्या नियमबमोजिम भएको छ
तिमीहरूको छातीबाट बगिरहेको
रातो रगत
अराजकता हो

आँखाको तरल आँसु ध्वंसात्मक कारबाही
र स्थिर पीडा उग्रवाद
रगताम्ये विश्वास राज्यविप्लव
चेतना असंवैधानिक शब्द हो
सहन गरिनेछैन अब
कुनै पनि प्रकारको छटपटी

पाटनवासी हो !
तिमीहरूको जीवनलाई गैरकानुनी
घोषित गरिन्छ ।

घर फर्कन हतारिएको पाटन

–महेश मास्के

हिजो मंगलबजारको डबलीमा बसेर पाटन रोयो
असह्य वेदनाले छटपटिएर भक्कानो फुटाउँदै पाटन रोयो
जब शहीदको रगत आमाको आँसु बनेर
मन्दिरको प्रांगणलाई थोपा थोपा भिजाउन थाल्यो
त्यो क्षणको साक्षी बनेका मान्छेहरूका सुस्केरा समेटेर
पाटन डाँको छाडेर रोयो
हिजो पाटन मंगलबजारको डबलीमा बसेर रोयो ।

आज एका बिहानै
पाटनलाई मान्छेहरूले मन्दिरको घण्टा बजाउँदै गरेको देखे
अनेकौं हातहरूले घण्टाहरू बजाएर
जागरणको सन्देश फिजाउँदै गरेको देखे
मन्दिरका शान्त घण्टाहरूमा
आज एका बिहानै
विद्रोहको हुँकार भरिरहेको पाटनलाई
थुप्रै थुप्रै मान्छेहरूले देखे ।

अहिले यतै कतै भीडमा
पाटन चुपचाप उभिएको होला
कविका कविताहरूमा, गीत संगीतहरूमा
उसको घाउ दुख्छ कि दुख्दैन ?
कान थापेर सुनिरहेको होला,
कवि कलाकारका मुटुमा बगिरहेको पीडाको लहर
र उसको पीडाको आवेग एउटै हो कि होइन ?
दाँज्न खोजिरहेको होला,
हेर्न खोजिरहेको होला
अबोध बालकका हत्याहरू विरुद्ध जन्मिने आक्रोशले
गितारको तारलाई धनुषको ताँदो बनाउँछ कि बनाउँदैन
र कलमको निब हत्याराहरूको छाती ताक्ने तिर बन्छ कि
बन्दैन ?
यी नै यस्तै कुराहरू सोच्दै गम्दै
अहिले यो भीडमा कतै पाटन चुपचाप उभिएको होला ।

तर मान्छेहरू भन्थे
आज पाटनलाई अलि हतार छ अरे
उसले सुनेको रहेछ
आउने ‘नेपाल बन्द’ मा फेरि गोली चल्ने हल्लाहरू
फेरि रगत बग्ने आशंकाहरू
त्यसैले आज पाटनलाई घर फर्कन हतार छ अरे
केटाकेटीहरूको छातीलाई गोलीको पर्राबाट जोगाउने
उसको ढाल
घरभित्र कतै थन्किएको छ, त्यसलाई खोज्नु छ अरे
दुई वर्षअघि साँघ लगाएर निकालेको खुकुरी
घरभित्र फेरि फेरि थन्क्याएर राखेकोले खिया परेको छ अरे
त्यसमा साँध लगाउन पाटनलाई छिटै घर जानुछ अरे

त्यसैले मान्छेहरू भन्थे
नानीहरूलाई जोगाउने ढाल खोज्न र खुकुरीमा साँध लगाउन
आज पाटनलाई घर फर्कन हतार छ अरे
आज पाटनलाई घर फर्कन हतार छ अरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved