भारतीय इतिहासको रोचक प्रसंग

को थिइन् एडविना माउन्टबेटन, जसका लागि प्रधानमन्त्री नेहरू हुरुक्कै हुन्थे ?

एडविनाले एकपटक भनेकी थिइन– म प्रतिको स्नेहभन्दा ठूलो तिम्रो देशप्रतिको कर्तव्य हो । म सधै विश्वस्त छु कि तिमी मलाई संसारकै सर्वाधिक सुन्दर र गहिरो प्रेम गर्दछौँ । तिम्रा देशका जनतामा पनि त्यो विश्वास सधैँ रहनुपर्दछ कि तिमी देशप्रतिको कर्तव्यबाट कहिल्यै च्युत हुने छैनौं ।

नेपालभ्युज

को थिइन् एडविना माउन्टबेटन, जसका लागि प्रधानमन्त्री नेहरू हुरुक्कै हुन्थे ?

काडमाडौं । भारतीय स्वतन्त्रता आन्दोलनको अन्तिम चरणतिरको अवधिमा एक बेलायती महिलाको विशेष चर्चा भएको पाइन्छ–एडविना माउन्टबेटन। भारतीय स्वतन्त्रतापछि पनि प्रधानमन्त्री जवाहरलाल नेहरूसँग उनको विशेष सम्बन्ध कायमै थियो । यहाँसम्म कि प्रधानमन्त्री नेहरू राजकाजको कामबाट फुर्सद पाउँनेबित्तिकै अधिकांश सप्ताहन्त विशेष विमान प्रयोग गरी लेडी माउन्टबेटनलाई भेट्न दिल्लीबाट सीधै लन्डन जाने गर्थे ।

प्रधानमन्त्री जवाहरलाल नेहरू र लेडी माउन्टबेटनबीचको सम्बन्ध वा प्रेम कस्तो हो ? यसबारे इतिहासकारहरूले फरकफरक धारणा राख्ने गरेका छन्। स्वयं एडविना माउन्टबेटनकी छोरी पामेल हिक्सले आफ्नो आत्मकथा ‘डउटर अफ इम्पायरः लाइफ एज माउन्टबेटन’ मा यो कुरा स्वीकार गरेकी छन् कि उनकी आमा एडविना ‘पुरुषप्रेमी’ थिइन् ।

भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूसँग उनको ‘रोमान्टिक प्रेम’ थियो । कतिपय इतिहाकार भने लेडी माउन्टबेटन र नेहरूबीचको प्रेम सम्बन्धलाई ‘रोमान्टिक’ नभएर ‘प्लाटोनिक’ अर्थात् आत्मिक प्रेम मात्रै थियो भन्ने ठान्छन् । एकअर्काप्रतिको मोह, आशक्ति र घनिष्ठता उत्तिकै हुने तर यौनिक सम्बन्ध नहुने प्रेमलाई ‘प्लाटोनिक लभ’ भन्ने गरिन्छ । लेडी माउन्टबेटन भारतका लागि बेलायतका अन्तिम भाइसराय लुइस माउन्टबेटनकी पत्नी थिएन। जब भारतमा स्वतन्त्रता आन्दोलन उत्कर्षमा पुगेको थियो, माउन्टबेटनलाई भाइसराय बनाएर भारत पठाइएको थियो ।

लुइस माउन्टबेटन बेलाइती राजपरिवारका नातेदार तथा रुसी जारी निकोलसका भतिजा थिए । पति भाइसराय नियुक्त भएसँगै एडविना माउन्टबेटन पनि भारत आएकी थिएन् । नेहरूसँग पहिलो भेट हुँदा एडविना ४७ वर्षकी थिइन्, जबकि नेहरू त्यो बेला ५८ वर्षका भइसकेका थिए । नेहरूकी पत्नी कमला कौलको मृत्यु भएको करिब ११ वर्ष भइसकेको थियो । कमला सन् १९३६ मा स्वीट्जरल्यान्डमा उपचार गराउँदै गर्दा बितेकी थिइन् । नेहरू विधुर थिए ।

नेहरू र कमलाको दाम्पत्य जीवन अनेक प्रकारका व्यवधानमा उल्झेको थियो । स्वतन्त्र संग्रामका समयमा नेहरू र कमला आआफ्नो ठाउँबाट आन्दोलनमा लागिरहेका हुन्थे । नेहरूले बारम्बार जेल बस्नु पर्थ्यो । नेहरू र कमलाको बीच एक छोरी थिइन्– इन्दिरा, जो पछि भारतकी शक्तिशाली प्रधानमन्त्री भइन् ।

नेहरूसँग एडविनाको प्रेम सम्बन्धको चर्चा पहिलो थिएन । उनी आफ्ना शाही नातेदार तथा शक्तिशाली प्रशासक पतिसंगको दाम्पत्य जीवनबाट खासै सन्तुष्ट थिइनन । एडविनाका अन्य आधा दर्जन बढी पुरुषसँगको प्रेमसम्बन्धको चर्चा भएको थियो । भाइसराय लुइस माउन्टबेटन र एडविनाका सम्बन्ध औपचारिक प्रकारको थियो । लुइस माउन्टबेटनले एडविनाका निजी सम्बन्धहरूलाई लिएर मतलब राख्न छोडिसकेका थिए।

इतिहासकार फिलिप जिग्लरका अनुसार– एडविना र नेहरूबीचको प्रेम र स्नेहको गहिरोपनालाई नजिकबाट नियालेका लुुइस माउन्टबेटनमा जलन हुन छोडिसकेको थियो । बरु उनीहरूलाई अझ बढी सहयोग गर्ने भावना जाग्न थालेको थियो । माउन्टबेटनका दुई छोरीहरू थिए, पामेला र पेट्रिसिया । पामेला भारतमा मातापिता सँगसँगै थिइन् । पेट्रिसिया लन्डनमै थिइन् । पेट्रिसियालाई लेखेको एक पत्रमा माउन्टबेटनले यस्तो लेखेका थिए– तिम्री आमा र नेहरूबीचको स्नेह झन्झन् गहिरो हुँदै गएको म र पामेलाले नजिकबाट नियालिरहेका हुन्छौँ । उनीहरूको प्रेमलाई हामीले सहयोग गर्ने गरेका छौँ । मलाई विश्वास छ, तिम्री आमा यहाँ अवश्य खुशी छन् ।

भारतीय स्वतन्त्रतापछि नेहरू भारतको शक्तिशाली प्रधानमन्त्री भए । माउन्टबेटन परिवार लन्डन फर्कियो । तर, नेहरू एडविनालाई सुरुसुरुमा हप्ताको एउटा चिठ्ठी लेख्थे । पछि यो क्रम केही पातलो भयो । महिनाको एउटा चिठ्ठीमा बद्लियो । नेहरू एडविनासँग प्रशासनिक तथा राजनीतिक सल्लाहसमेत माग्थे । स्वतन्त्रता आन्दोलनको उत्कर्षका दिनमा हिन्दू–मुश्लिम साम्प्रदायिक दंगा व्यापक हुँदै गएका थिए । यसले नेहरूलाई व्याकुल र निरुपाय बनाउँथ्यो । इतिहासकारहरूका अनुसार भारत–पाक विभाजनको सल्लाह पहिलोपटक नेहरूलाई एडविनाले नै थिएकी थिइन । यसका लागि नेहरूलाई मनाउन उनले निक्कै मेहनत गरेकी थिइन ।

भारत–पाक विभाजन त्यतिखेर संभव भएको थियो, जब नेहरूले यसलाई समस्याको एक मात्र बाध्यात्मक समाधानका रूपमा स्वीकार गर्न माहत्मा गान्धीसँग अनुरोध गरेका थिए । माउन्टबेटन परिवार लण्डन फर्किनु अघिल्लो रात भारत सरकारले उनीहरूलाई बिदाइ रात्री भोज गरेको थियो । त्यसमा नेहरूले भाषण गरेका थिए । नेहरूले भाषणमा एडविनाको यसरी प्रसंशा गरे– एडविना समारोहबीच भक्कानिँदै रोइन । भाषणमा नेहरूले एडविनालाई लक्षित गर्दै भनेका थिए– तिम्रो सुन्दता, सौम्यता, बुद्धिमत्ता, उर्जा र आकर्षण ईश्वरले सृजना गरेको एक अद्धितीय उपहार हो ।

एडविनाको जीवन अनौठा उपक्रमहरूले भरिएको थियो । उनी मानवीय सेवामा उत्तिकै दत्तचित्त हुन्थिन जति उनलाई मानिस प्रेम र सौन्दर्यको प्रतिक मान्दथे । सन् १९२० तिर लण्डनको उच्च समाजमा उनी एक भरभराउँदी युवतिका रूपमा प्रवेश गरेकी थिइन । त्यसको दुई वर्षपछि उनी लुईस माउन्टबेटनसँग विवाह सूत्रमा बाँधिएकी थिएन् । उनी एक धनी र शक्तिशाली परिवारकी छोरी थिइन् । शाही नातेदारसँग विवाह भएर पनि उनले आफ्नो स्वतन्त्रता र स्वतत्वलाई कसैको अधिनमा कज्याएर राख्न चाहिनन् ।

दोस्रो विश्वयुद्ध ताका उनले ब्रिटिस रेडक्रसको लागि काम गरेकी थिइन् । माउन्टबेटन परिवार लन्डन फर्किएपछि पनि बेलायत जाँदा नेहरू माउन्टबेटन परिवारकै घरमा बस्ने गर्दथे । इतिहासकारहरू भन्छन कि नेहरू जब घर आउँथे एडविनाका पति लुइस उनीहरूका लागि एकान्तको वातावरण सृजना गर्दै अन्यत्र कतै लाग्थे ।

नेहरू र एडविनाको सम्बन्धलाई लिएर भारतीय राजनीतिमा अनेक हल्ला भइरहन्थे । नेहरू त्यस्ता हल्लालाई कुनै महत्त्व दिँदैनथे तर एडविनाले एकपटक भनेकी थिइन– म प्रतिको स्नेहभन्दा ठूलो तिम्रो देशप्रतिको कर्तव्य हो । म सधै विश्वस्त छु कि तिमी मलाई संसारकै सर्वाधिक सुन्दर र गहिरो प्रेम गर्दछौँ । तिम्रा देशका जनतामा पनि त्यो विश्वास सधैँ रहनुपर्दछ कि तिमी देशप्रतिको कर्तव्यबाट कहिल्यै च्युत हुने छैनौं ।

सन् १९६० फ्रेबुअरी २१ दिन हृदयाघात भई ५८ वर्षको उमेरमा एडविना बितिन् । उनको अन्त्यष्टिमा श्रद्धाञ्जलि लिने नेहरूले भारतबाट फूलले भरिएको जहाज पठाएका थिए । भारतीय स्वतन्त्रताको प्रक्रियालाई सहज बनाउँन नेहरू–एडविना सम्बन्धले विशेष भूमिका खेलेको इतिहासकारहरू स्वीकार गर्दछन। तर, कतिपय इतिहासकारहरू उनलाई यौनआशक्त र परपुरुषप्रेमी खान्दानीया महिलाका रूपमा चित्रण गर्दछन् ।

एडविनाले भने आफ्ना यथार्थहरूलाई कहिल्यै लुकाउन चाहिनन् । उनले माउन्टबेटनलाई बारम्बार भनेकी थिइन– ‘मेरो कारणले तिमीलाई कुनै असजिलो छ भने म जुनकुनै बेला डिभोर्स गर्न तयार छु ।’ तर, खै किन हो– सबै यथार्थहरू थाहा पाएर पनि माउन्टबेटनले एडविनासँगको सम्बन्ध तोड्न चाहेनन् । उनले भनेका थिए–‘तिमी मेरा छोरीहरूकी आमा हौ, यही पवित्र नाताको कारण मलाई तिम्रा सबै परिवन्दहरू स्वीकार्य छ ।’ एडविनाले कतै एकपटक लेखेकी थिइन्–‘मानिस स्त्री–पुरुष सम्बन्ध भन्नेबित्तिकै केवल सम्भोगलाई सम्झिन्छन् । सम्भोग नै सही तर त्यो केवल सम्भोग मात्रै हैन, त्यो मानवीय आत्माको सौन्दर्यलाई गहिराइमा गएर अनुभूत गर्ने एक विधि पनि हो ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved