काठमाडौं। यदि, भारतसँगको एक खेलमा नचुकेको भए नेपाल आज भुवनेश्वरमा भइरहेको यू–२० साफ च्याम्पियनसिपको फाइनल खेलिरहेको हुन्थ्यो।
समूह चरणको खेलमा आयोजक भारतसँगको ८–० को लज्जास्पद हारले नेपाललाई यो प्रतियोगिताको फाइनलबाट मात्र वञ्चित गराएन। नेपालको फुटबल संरचनामा भएको कमजोरीलाई पनि उजागर गरेको छ।
समूह चरणको पहिलो २ खेलमा नेपालले माल्दिभ्स्लाई ४–० र श्रीलंकालाई ३–० पराजित गर्यो। दुवै खेलमा भारी गोल अन्तरको जित निकाल्दा नेपालले एक गोल पनि नखानु अर्को प्रभावशाली पक्ष थियो।
यता नेपाली फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) भित्रको राजनीतिक खिचातानीले गर्दा कार्यसमितिको बैठक पनि निर्धारित समयमा हुन सकिरहेको छैन। त्यसैगरी, राष्ट्रिय टिमका प्रमुख प्रशिक्षक अब्दुल्ला अल्मुताइरी र प्रमुख खेलाडीहरूको विवाद समाधान हुन नसक्दा नेपाली राष्ट्रिय टिम भित्रको अन्योलता पनि कायमै छ।
यस्तो अवस्थामा युवा टिमको सुरुआती दुई खेलको प्रदर्शनले नेपाली फुटबलमा राम्रो आशा देखाएको थियो।
तर, आयोजक भारतसँगको तेस्रो खेलमा नेपालले आठ गोल खान पुग्यो। खेलकुदमा एउटा भनाइ छ, “जितमा सबै गल्ती छोपिन्छ, तर एक हारले कमजोरीहरू उजागर गरिदिन्छ।” अगिल्ला दुई खेलमा नदेखिएको नेपाली टिमको कमजोरी यो खेलमा एकै पटकमा छरपस्ट भए।
भारतको भूत
अघिल्लो खेलसम्म प्रतियोगिताकै उत्कृष्ट टिमको रूपमा आंकलन गरिएको नेपाली टिम भारतसँगको खेलमा निरीह बन्नुको सबैभन्दा ठूलो कारण थियो मानसिक दबाब।
नेपाली फुटबलको स्तर यसै पनि दक्षिण एसियाभन्दा माथि उठ्न सकेको छैन। त्यसमा पनि सिनियर टिम होस् या महिला टिम अथवा जुनियर टिम नेपाली फुटबललाई प्रमुख टाउको दुखाउने टिम भनेको भारत नै हो।
राष्ट्रिय टिममा पनि नेपालले भारतलाई सन् २०१३ यता हराउन सकेको छैन। गत वर्ष मात्र राष्ट्रिय टिमले भारतसँग खेलेको चार खेलमा एक मात्र बराबरी नतिजा निकाल्दा तीनमा हार भोगेको थियो। जसमध्ये एक माल्दिभ्समा भएको साफ च्याम्पियनसिपको फाइनलको ३–० को हार पनि थियो।
महिला फुटबलमा त झन् दक्षिण एसियाका दुई शक्तिशाली राष्ट्र भनेको नै नेपाल र भारत हुन्। तर, अधिकांश प्रतियोगिताको फाइनलमा भारतसँग पराजित हुँदै नेपालले उपविजेतामा चित्त बुझाउनुपरेको छ।
कुनै पनि नेपाली टिमले भारतविरुद्ध खेल्दा सधैँ बलियो टिमसँगको प्रतिस्पर्धाको रूपमा एक खालको मानसिक दबाब लिने गर्छ। यही भारतीय टिमको भूतले युवा खेलाडीको दिमागमा खेल अगाडी नै तनाव दियो।
जसको असर खेलमा पर्यो। पहलो हाफमा एक शून्यले पछि परेको नेपाली टिमले दोस्रो हाफको सुरुआती समयमा नै दुई गोल खायो। यसपछि झन् दबाब महसुस गरेका युवा खेलाडीहरूबीचको तालमेल नै बिग्रियो र लगातार गोल खान पुगे।
छोटो समयको तयारी
नेपाली टिम मात्र करिब डेढ महिनाको तयारी पछि यू–२० साफ च्याम्पियनसिपमा सहभागिता जनाउन भारत प्रस्थान गरेको थियो। अनुभवी प्रशिक्षक मेघराज केसीको नेतृत्वमा रहेको टिमले देशभरिबाट आएका खेलाडीबाट छोटो समयमा नेपाली टिमको निर्माण र बन्द प्रशिक्षण गरेको थियो।
भारतसँगको नेपाली टिमको प्रदर्शन बिग्रनुमा यो पनि एउटा कमजोरी हो। जसलाई बिहीबार नेपाल फर्किएको नेपाली टिमलाई स्वागत गर्न अन्तर्राष्ट्रिय विमानस्थल पुगेका एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले पनि स्विकारे, “हामीले धेरै अगिदेखि बन्द प्रशिक्षण राख्नुपर्ने थियो। त्यसमा हामी पक्कै चुकेका हौँ। ६ हप्तामा देशैभरिबाट खेलाडी निकालेर खेल्न पठाउनु हाम्रो कमजोरी हो।”
अन्तर्राष्ट्रिय खेलको अनुभव नहुनु
अन्य क्षेत्र जस्तै कोभिडका कारण करिब तीन वर्ष नेपाली फुटबल पनि थला परेको थियो। जसको कारण केही हदसम्म सिजियर टिमको खेल भए पनि जुनियर लेभलको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता नै हुन सकेन।
भारत पुगेको यस युवा टिममा अन्तर्राष्ट्रिय खेलको अनुभव कप्तान आयुष घलानसँग मात्र थियो। आयुषले नेपालको राष्ट्रिय टिमबाट पनि खेलिसकेका छन्। यसबाहेक आयुषसँगै चार खेलाडी मात्र सहिद स्मारक ‘ए’ डिभिजन लिगको अनुभव छ। यसमा पनि नियमित खेल्ने आयुष मात्र हुन्।
बाँकी सबै खेलाडीहरूले खेलेका भनेको मोफसलको गोल्ड कप प्रतियोगिताहरू मात्र हो।
उता अहिलेको भारतको यू–२० को टोलीका अधिकांश खेलाडीहरू व्यावसायिक खेलाडी हुन्। टिमका करिब ९० प्रतिशत खेलाडीहरूले भारतको दुई ठूला लिग ‘आईएसएल’ र ‘आईलिग’ मा खेलिरहेका भारतका प्रशिक्षकले बताएका थिए।
ग्रासरुट लेभलमा कमजोरी
भारतले युवा फुटबल खेलाडी उत्पादनका लागि सन् २०१० बाट ‘एरो प्रोजेक्ट’ सुरु गरेको थियो। जुन प्राजेक्टले बलियो युवा टिम बनाउन मद्दत गरिरहेको छ। सन् २०१८ मा भारतिया युवा टोलीले अर्जेन्टिनालाई पनि पराजित गरेको थियो।
सोहि ‘एरो प्रोजेक्ट’ मार्फत आएका खेलाडीहरू यो टिममा पनि थिए। यता नेपालले भने करिब ६ हप्तामा खेलाडी छानेर टिम बनाएको थियो।
भारतसँगको हारपछि प्रशिक्षक मेघराज केसीले भनेका थिए, “नेपाली फुटबलको सिस्टम कस्तो छ भने परीक्षा दिने अघिल्लो रातभरि पढेर भोलिपल्ट परीक्षा दिएजस्तो। जब-जब प्रतियोगिता आउँछ अनि हामी टिम बनाउन थाल्छौँ। लामो योजनासहित कहिले टिम निर्माण हुँदैन। प्रतियोगिता सकिएपछि खेलाडीहरू नियमित प्रशिक्षण हुन सक्दैन। छोटो समयको बन्द प्रशिक्षणले मात्र सधैँ राम्रो नतिजा निस्कन सक्दैन।”
अहिले तल्लो तहदेखि फुटबल खेलाडीलाई विकास गर्ने योजनाहरू एन्फाले अघि सार्न सकेको छैन। कुनै समय राम्रो खेलाडी उत्पादन गरिरहेको एन्फा एकेडेमी पनि हाल संघभित्रको राजनीतिका कारण भताभुंग अवस्थामा छ।
केही जिल्लामा सञ्चालन भएका राम्रा फुटबल एकेडेमीबाट उत्पादित खेलाडीहरू जन्मजात फुटबल कौशल लिएर आएका खेलाडीले मात्र हाल युवा टिम धानिरहेका छन्।