समाचार वाचन छाडेर शरणार्थी : तालिबानका कारण बदलिएको अफगानी पत्रकारको जीवन

१४ अगस्ट २०२१, तालिबानले काबुल कब्जा लिनुभन्दा अघिल्लो रात, सबनम दाव्रान रेडियो टेलिभिजन अफगानिस्तानका लागि समाचार बनाउँदै थिइन् । ती दिनहरूमा देशका विभिन्न भूभाग कब्जा गरिसकेको तालिबान काबुलतर्फ अघि बढिरहेको थियो। २४ वर्षीया सबनम त्यतिबेला निकै चर्चामा थिइन् । हरेक दिन तातो खबरहरू प्रसारण हुन्थे । त्यही कारण टेलिभिजन हेर्ने दर्शकको संख्या निकै बढेर नयाँ कीर्तिमान बनिरहेको थियो । जब, उनी अर्को बिहान उठिन्, त्यतिबेला काबुल सैन्य समूहको कब्जामा गइसकेको थियो ।

नेपालभ्युज

समाचार वाचन छाडेर शरणार्थी : तालिबानका कारण बदलिएको अफगानी पत्रकारको जीवन

काबुल । गत अगस्टमा तालिबानले अफगानिस्तान कब्जा गरेयता यस देशमा महिलाहरूको जीवन एकाएक बदलिएको छ । एक टेलिभिजन समाचार वाचिकाले आफ्नो जागिरलाई तिलाञ्जलि नै दिनुपर्‍यो । अहिले शरणार्थीका रूपमा बेलायत बसेर उनी आफ्नो नयाँ जीवनको बाटो खन्दै छिन् ।

तालिवानको कब्जापछि शरणार्थी बनेकी पत्रकार

१४ अगस्ट २०२१, तालिबानले काबुल कब्जा लिनुभन्दा अघिल्लो रात, सबनम दाव्रान रेडियो टेलिभिजन अफगानिस्तानका लागि समाचार बनाउँदै थिइन् । ती दिनहरूमा देशका विभिन्न भूभाग कब्जा गरिसकेको तालिबान काबुलतर्फ अघि बढिरहेको थियो। २४ वर्षीया सबनम त्यतिबेला निकै चर्चामा थिइन् ।

हरेक दिन तातो खबरहरू प्रसारण हुन्थे । त्यही कारण टेलिभिजन हेर्ने दर्शकको संख्या निकै बढेर नयाँ कीर्तिमान बनिरहेको थियो ।
‘म निकै भावुक थिएँ र कहिलेकाँही लिड स्टोरी पढ्न पनि गाह्रो हुन्थ्यो । मलाई घरमा हेर्ने मानिसहरूले देशमा के हुँदैछ भनेर सोधेका कुरा बताउन सक्थेँ,’ उनले भनिन् ।

जब, उनी अर्को बिहान उठिन्, त्यतिबेला काबुल सैन्य समूहको कब्जामा गइसकेको थियो । तालिबानको कालो र सेतो झन्डालाई पृष्ठभूमिमा राखेर एक तालिबानी सदस्य स्टुडियोको त्यो सिटमा बसिरहेका थिएँ, जहाँ बसेर अघिल्लो रात सबनमले समाचार पढेकी थिइन् । यसले एउटा युग अन्त्य भएको संकेत गरेको थियो ।

अहिले (माथिको) र पहिले (तलको) समाचार कक्ष

आफ्नो पहिलो आधिकारिक पत्रकार सम्मेलनमा तालिबानका प्रवक्ताले भनेका थिएँ, ‘अफगानी महिलाहरुले काँधमा काँध मिलाएर पुरुषसँगै काम गर्नसक्छन् ।’ यस पत्रकार सम्मेलनमा खचाखच पत्रकार उपस्थित थिए । तर, व्यवहारिक पक्ष फरक रह्यो । अर्को दिन केही नर्भस अवस्थामा सबनम अफिसतर्फ लागिन् । उनले बाटोमा तालिबानी लडाकुहरू भेटिन् । सबनमका अनुसार यी लडाकुहरूले नै उनको कार्यालयमा सुरक्षा दिइरहेका थिए र उनीहरूले पुरुषलाई मात्रै भित्र छिर्ने अनुमति दिए ।

सबनमलाई रोकेर एक सिपाहीले भने, “इस्लामिक इमिरेट्स अफगानिस्तानमा हामीले महिलाको बारेमा अझै निर्णय गरेका छैन् ।’’ अर्को एक सिपाहीले उनलाई भने, ‘ तपाईंले पर्याप्त काम गर्नुभयो, अब हामी गर्छौं ।’ महिलासँग पनि काम गर्ने अधिकार छ भनेर उनीहरूलाई सम्झाउने प्रयास सबनमले गरिन् । तर, त्यति नै बेला एक एक सिपाहीले आफ्नो राइफल उनीतिर ताक्यो, ट्रिगरमा आफ्नो औंला राख्दै भन्यो, ‘एउटै गोली तिम्रा लागि पर्याप्त हुनेछ, तिमी यहाँबाट जान्छौ कि म गोली चलाऊँ ?’

त्यसपछि उनी गइन्, तर सामाजिक सञ्जालमा यस घटनाको वर्णन गर्दै एउटा भिडियो पोस्ट गरिन् । उक्त पोस्ट भाइरल भयो, उनको र उनको परिवारको जीवन थप जोखिममा पर्‍यो । केही दिनपछि उनले एउटा सानो झोला बोकिन् र आफ्नी बहिनी मीना र भाइ हेमतलाई लिएर देशबाट हिँडिन् ।

नयाँ जीवन
सबनम र उनका भाइबहिनीहरू हजारौँ अन्य अफगान शरणार्थीहरूझैँ बेलायत पुगे । उनीहरूले यहाँ सेटल हुन लामो प्रतीक्षा गर्नुपर्‍यो ।
अङ्ग्रेजी भाषाको पर्याप्त ज्ञान नहुँदा र जागिरको अवसर सीमित मात्रै भएकाले सबनमलाई नयाँ परिवेशमा घुममिल हुन गाह्रो भयो । “मलाई लाग्छ कि मैले अफगानिस्तानमा काम गरेर जीवनको ६ वर्ष गुमाएछु । अब मैले अंग्रेजी सिक्नुपर्छ र विश्वविद्यालय जानुपर्छ । सुरुका दिनहरूमा हामी किनमेलमा पनि जान सकेनौँ । हामीलाई केही आवश्यक चीजहरू चाहिएमा व्यक्त गर्न पनि गाह्रो हुन्थ्यो । यो अति नै गाह्रो र पीडादायी थियो।’

लगभग एक वर्षपछि सबनमको जीवन सहज हुँदै गएको छ । बेलायतमा अधिकांश अफगान शरणार्थीहरू होटलहरूमा बस्छन्। यस मामिलामा सबनम र उनका भाइबहिनीहरू भाग्यमानी ठहरिएका छन्, उनीहरूलाई बस्नका लागि यस वर्षको सुरुमा काउन्सिल हाउस प्रदान गरिएको थियो । आफ्नी बहिनी मीनालाई केत्लीमा ‘चाई सब्ज’ बनाउन निर्देशन दिँदै उनले भनिन्, “अब हाम्रो जीवन सुरु हुन्छ । हामी एउटा नयाँ बच्चाजस्तै हौँ, जसले शून्यदेखि सुरु गर्नुपर्छ ।’

चाइ सब्ज परम्परागत अफगान ग्रिन टी हो, जसमा अलैँची राखिएको हुन्छ । उनीहरू लन्डनमा आफ्नो पहिलो वसन्तको मज्जा लिँदैछन्, विस्तारै बानी पर्दैछ । तथापि, आफ्नो घरको याद आइरहन्छ । ‘ म अहिले यहाँको स्थानीय भइसकेँ,’ सबनमले हाँस्दै भनिन् ।अफगानिस्तानमा पाइने रोटीजस्तै वास्ना आउने रोटी भएको बेकरी कहाँ फेला पर्ने, आफूलाई सबैभन्दा धेरै मनपर्ने ड्राइ फ्रुट र ग्रिन टी कहाँ पाइन्छ भन्ने उनलाई राम्रोसँग थाहा छ।

उनी र उनकी बहिनी अहिले कलेजमा अंग्रेजी पढ्दै छन् र भाइ माध्यमिक विद्यालयमा पढ्छन् । आफ्नो परिवारलाई बेलायत सरकारले राम्रोसँग सहयोग गरेको उनी बताउँछिन्, तर आफूजस्तै अन्य अफगान शरणार्थीहरूको चिन्ता उनलाई छ । युक्रेन युद्धले अफगानी शरणार्थीको मुद्दा ओझेलमा परेको उनले बताइन् । ‘युक्रेनी शरणार्थीहरूको कारणले गर्दा विशेषगरी होटलमा फसेकाहरूमा उद्धारमा व्यापक रूपमा ढिलाइ भएको छ । ब्रिटिस सरकारले बेलायत आउने अफगानीका हकमा निश्चित कोटा तोकेको छ । तर, युक्रेनीहरू निर्बाध आउन पाउँछन् । अफगानीहरूलाई यस्तो व्यवहार गर्न हुँदैन थियो,’ उनले भनिन् ।

यस विषयमा बेलायतको गृह कार्यालयले बीबीसीसँग भनेको छ, ‘यी दुई समूहलाई एक-अर्काविरुद्ध दाज्नु गलत हो । हाम्रो अफगान नागरिक पुनर्वास योजनाले २० हजार महिला, बालबालिका र जोखिममा रहेका अन्य समूहहरूलाई बेलायतमा पुनर्वासका लागि सुरक्षित कानुनी मार्ग प्रदान गर्नेछ ।’

‘अफगानी व्यक्ति र परिवारहरूको पुनर्वास एक जटिल प्रक्रिया हुन सक्छ । हामी उनीहरूका माग पूरा गर्न बेलायतभर तीन सयभन्दा बढी स्थानीय अधिकारीहरूसँग मिलेर काम गर्दै छौँ र जुन २०२१ यता ६ हजारभन्दा बढी मानिसहरूलाई घरमा सार्ने प्रक्रिया अघि बढाइरहेका छौँ ।’
सबनमले छोडेपछि अफगानिस्तानमा धेरै परिवर्तन भएको छ । देशका अधिकांश ठाउँमा छात्राहरूलाई माध्यमिक विद्यालय जान प्रतिबन्ध लगाइएको छ, महिला र पुरुषका लागि पार्कहरू छुट्याइएको छ र महिलाहरूलाई अनुहार छोप्न आदेश दिइएको छ ।

यो नियमले विशेषगरी, महिला टिभी प्रस्तोताहरूलाई पनि असर गरेको छ, उनीहरू अनुहार ढाकेर कार्यक्रम चलाउन बाध्य छन् । जागिरलाई निरन्तरता दिनका लागि कठोर आदेशहरू पालना गर्न बाध्य आफ्ना सहकर्मीहरूप्रति सबनमको सहानूभूति कायम छ । ‘आफैँले काममा आउन सक्दैनौँ, घरमा बस्न चाहन्छौँ भनेर हात उठाएको हेर्ने इच्छा उनीहरूको (तालिबान) छ,’ उनले भनिन्, “जबसम्म उनीहरूले सोच्ने शैली परिवर्तन गर्दैनन्, तबसम्म उनीहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्दैनन्।’’

एक दिन अफगानिस्तान फर्कने आशा अझै उनीसँग छ । “मेरो आशा, योजना र सपनाहरू पनि भुइँमा खसेर टुक्रा टुक्रा हुने सिसाजस्तै भयो,“ उनले भनिन्, “म त्यस्तो दिनको आशमा छु, जब अफगानीहरू जसोतसो बाँच्ने होइन, समृद्ध हुनेछन् । त्यतिबेला अफगान फर्कनेछ, कुनै दुविधा छैन ।’’

बीबीसीको सहयोगमा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved