डा. मनीषको शब्दमा सजल र बानिकाले ल्याए ‘ननिदाई ननिदाई’
नेपालभ्युज
काठमाडौं । श्रावण महिनामा वर्षाको बाढी आएसरी गीत–संगीतको बाढी आउने क्रम जारी छ। यसैबीच, शास्त्रीय धारमा आधारित युगल गीत ‘ननिदाई ननिदाई’ गत आइतबार सार्वजनिक भएको छ।
गीतकार डा. मनीष वशिष्ठद्वारा रचित एक फरक स्वादको सेमी क्लासिकल गीतमा गायक तथा संगीतकार सजल न्यौपानेको संगीत तथा गायिका बानिका प्रधानको स्वर रहेको छ।
‘हिजोआज मान्छेलाई गीत सुन्ने संस्कार हराउँदै गएको छ, त्यही प्रयासस्वरूप यो गीत बजारमा ल्याएका छौँ,’ गीतकार मनीष वशिष्ठले भने, ‘हरेक विधाको गीत गाए पनि आफूलाई यस्ता सेमी क्लासिकल गीत सिर्जना गर्न अझै आनन्द आउँछ।’
गीतमा गायिका बानिका प्रधान तथा गायक सजलको स्वरमा सफ्ट क्लासिकल म्युजिकको छनक अनि स्वाद पाइन्छ। ‘उचित रियाज र साधनाबिना यस्तो गीत गाउन निकै कठिन हुन्छ। संगीत बुझेर मात्र यस्तो गीत गाउन सकिन्छ’ गायक सजल भन्छन्।
गीतमा संगीत संयोजन गरेका सुमित विश्वकर्माले वेस्टर्न पियानोसंग सितार अनि तबलाको राम्रो फ्युजन गराएको सुन्न पाइने बताउँछन्।
उक्त गीतको म्युजिक भिडियोमा गायक सजल, अभिनेत्री साक्षी लम्साल र बानिका प्रधानको भूमिका रहेको छ भने यसको छायांकन सलिल न्यौपाने अनि निर्देशन सजल न्यौपानेले गरेका छन्। नाच्ने गाउने गीतहरुको भीड हुने श्रावण महिनामा सुन्ने गीतले कस्तो स्थान पाउँछ त्यो आफैँमा एउटा प्रश्न छ।
Facebook Comment
Comment