पार्किङका लागि अन्डरग्राउन्डका सटर खाली गराउँदै महानगर

रोकिएला अस्तव्यस्त पार्किङ र अवैध असुली ?

पार्किङको समस्या कम गर्न भन्दै महानगरले अन्डरग्राउन्ड पार्किङलाई पूर्ण रूपमा कार्यान्वयन गराउने तयारी थालेको छ। सूचना नै निकालेर अन्डरग्राउन्ड पार्किङलाई अन्य प्रयोजनका लागि प्रयोग नगर्न आग्रह गरिसकेको छ। घर तथा भवन बनाउँदा पार्किङको नक्सा पास गरेर संरचना बनाइएको ठाउँमा सटर राखेर व्यापार गर्नेहरू बढेपछि महानगरले कारबाही थालेको छ।

नेपालभ्युज

पार्किङका लागि अन्डरग्राउन्डका सटर खाली गराउँदै महानगर

काठमाडौं। तत्कालीन नेकपा नेता रघुवीर महासेठ भौतिक पूर्वाधार तथा यातायातमन्त्री हुँदा उनले प्रयोग गर्ने सरकारी झण्डावाल गाडीमा ट्राफिक प्रहरीले ‘ह्विल लक’ लगायो। कारण थियो, फुटपाथमा पार्किङ।

पर्किङस्थलमा राख्नुपर्नेमा सडकको किनारामा पार्क गरिराखेको पाइएपछि बा.२ झ ४८६२ नम्बरको गाडीमा ट्राफिकले ‘ह्विल लक’ मात्र लगाएन पाँच सय रुपैयाँ जरिवानासमेत तिराएरै छाड्यो।

मन्त्री वा उच्चपदस्थ व्यक्तिका सवारीसाधन सडकमै पार्किङ गर्दा ट्राफिकले कारबाही गरेको घटना निकै कम छन्। काठमाडौं उपत्यकामा कतिपय मानिसहरू गाडी चढ्न नै दिक्क मान्छन्, कारण हो, पाकिङको सहज व्यवस्था नहुनु। मोटरसाइकलका लागि पार्किङ केही सहज भए पनि गाडी चढ्नेको दुख कम छैन। हतपति पार्किङ नै भेटिँदैन।

काठमाडौंका विभिन्न सपिङ मलमै जानुपरेमा पनि सडकमा सवारी पार्किङ गरेर जानुपर्ने बाध्यता छ। ‘पार्किङ गर्ने ठाउँ छैन, सडकमा पार्किङ गर्न पाइँदैन, अनि कहाँ लगेर राख्नु?’’ गाडी चढ्नेहरूले सास्ती सुनाउँछन्।

अनुगमनमा निस्किए बालेन, कार्यान्वयन गर्दै कर्मचारी

पार्किङको समस्या कम गर्न भन्दै काठमाडौं महानगरले अन्डरग्राउन्ड पार्किङलाई पूर्णरूपमा कार्यान्वयन गराउने तयारी थालेको छ। काठमाडौं महानगरपालिकाले सूचना नै निकालेर अन्डरग्राउन्ड पार्किङलाई अन्य प्रयोजनका लागि प्रयोग नगर्न आग्रह गरिसकेको छ।

घर तथा भवन बनाउँदा पार्किङको नक्सा पास गरेर संरचना बनाइएको ठाउँमा सटर राखेर व्यापार गर्नेहरू बढेपछि महानगरले कारबाही थालेको छ। खासगरी अन्डरग्राउन्ड पार्किङको लागि नक्सापास भएका छन्।

कतिपय अन्डरग्राउन्डमा होटेल तथा रेस्टुरेन्टसमेत छन्। काठमाडौं उपत्यकामा हजारौँ घरधनीले घर बनाउँदा पार्किङका लागि अन्डर ग्राउन्ड बनाउने अनुमति लिएका छन्। तर, पार्किङको लागि प्रयोग भने झन्डै ३० प्रतिशतले नगरेको महानगरको अनुमान छ।

जसकारण अन्डरग्राउन्ड पार्किङमा पनि सटर राखेर गरिएका व्यापार समेत हटाउन महानगरले निर्देशन दिइसकेको छ। मेयर बालेन शाहको निर्देशनअनुसार अहिले महानगर प्रहरी र कर्मचारीहरूले कार्यान्वयन गरिरहेका छन्।

कार्यान्वयन भए नभएको सम्बन्धमा काठमाडौं महानगरपालिकाका मेयर शाह मंगलबार नयाँबानेश्वर क्षेत्रको फुटपाथ अवलोकन गरेका छन्। यसअघि, फुटपाथमा गरिएका व्यापार हटाएका उनले अन्डरग्राउन्ड पार्किङ कार्यान्वयन प्रगतिबारे अवलोकन गरेका हुन्।

स्थानीय घर धनी र व्यापारीहरूको सहयोग लिएर मेयर साहले फुटपाथको अवस्थाबारे अवलोकन गरेको नयाँबानेश्वर व्यापार व्यवसायी संघका अध्यक्ष नवीन लुइँटेलले जानकारी दिए। उनले भने, ‘‘मेयर शाहले अन्डरग्राउन्ड पार्किङमा पनि सटर राखेर व्यापार गर्नेलाई तत्काल हटाउन निर्देशन दिनुभयो। उहाँको निर्देशन अनुसार अहिले महानगर प्रहरी र कर्मचारीले काम गरिरहेका छन्।’’

नयाँबानेश्वर व्यापार व्यवसायी संघका अध्यक्ष लुइँटेलका अनुसार बानेश्वर क्षेत्रमा करिब २२ वटा भवनमा अन्डरग्राउन्ड पार्किङको नक्सा पास गरेर संरचना बनाइएको छ। तर, अधिकांशले पार्किङको लागि प्रयोग गरेका छैनन्।

फाइल तस्वीर ।

बन्द होला अस्तव्यस्त पार्किङ र अवैध असुली ?

अति व्यस्त विभिन्न चोक तथा सडकपेटीमा दुई लहरमा पार्क गरिएका मोटरसाइकलले ढाकेको हुन्छ। अलिक चौडा ठाउँ र सडक किनारमा कार–जीप पार्किङमा कोचिएका हुन्छन्।

यसरी अहिले महानगरले ठमेल, विशाल बजार, न्युरोड, दरबारमार्ग, बानेश्वरलगायतका व्यापारिक केन्द्रमा रहेको सडक लाइनलाई अतिक्रमण गरी पार्किङ शुल्क संकलन गर्दै आएको छ।

महानगरपालिकाले पार्किङ समस्या समाधानको लागि भन्दै अन्डरग्राउन्ड अनिवार्य पार्किङ बनाउने मापदण्ड बनाएको छ। तर, आफ्नै नियम लागू गर्न सकेको छैन।

जसकारण विभिन्न सपिङ मलमा जानुपरेमा सडकमा सवारी पार्किङ गरेर जानुपर्ने बाध्यता छ। ‘‘अब अन्डरग्राउन्ड सञ्चालित सटर बन्द भएपछि अस्तव्यस्त पार्किङ र अवैध असुली बन्द होला?’’ धेरैको जिज्ञासा छ।

अन्डरग्राउन्ड पार्किङमा व्यापार

पार्किङका लागि अनुमति लिएर बनाइएको ‘अन्डरग्राउन्ड’ लाई पार्किङ स्थलको रूपमा प्रयोग गरिएको पाइँदैन। धेरै भवनका ‘अन्डरग्राउन्ड’लाई बिजनेस प्रयोजनमा प्रयोग भइरहेका छन्।

ठूलो व्यापारिक घरानाले चलाएका भाटभटेनीका कोटेश्वरलगायत कतिपय भवनका ‘अन्डरग्राउन्ड’ भाडामा व्यापार गर्न दिइएको छ। नेपालकै ठूलो क्लब ‘एलओडी’समेत अन्डरग्राउन्डमै सञ्चालित छ।

ठमेलको अधिकांश ‘अन्डरग्राउन्ड’मा दोहोरी साँझ, क्लब, डान्सबार, रेस्टुरेन्ट र पसलहरू सञ्चालन हुँदै आएको छ। न्युरोडको ठूलाठूला भवनहरूको हालत पनि त्यस्तै छ।

जस्तै ताम्राकार हाउसमा ‘अन्डरग्राउन्ड’मा दर्जनौँ मोबाइल पसलहरू छन्।गोगंबुको बिजी मलमा पनि अन्डरग्राउन्डमा थुप्रै पसलहरू छन्। दरबार स्क्वायर मलको ‘अन्डरग्राउन्ड’मा ‘नाइट क्लब’ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved