शिक्षामा तराई मधेश पछाडि पर्दै गएकोमा सरोकारवालाकाे चिन्ता

अधिकारकर्मी एवं अधिवक्ता मोहना अन्सारीले मधेशमा मुस्लिम समुदायको शिक्षाको स्तर दलित समुदायभन्दा पनि दयनीय रहेको बताइन ।

नेपालभ्युज

शिक्षामा तराई मधेश पछाडि पर्दै गएकोमा सरोकारवालाकाे चिन्ता

काठमान्डौं। सरोकारवालाहरुले तराई मधेस शिक्षामा पछि पर्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । मधेशी एकता समाजले काठमाडौंमा गरेको मधेशमा शिक्षा विषयक अन्तरक्रियामा सहभागिहरुले मधेस शिक्षामा पछि पर्दै जानु समग्र देशकै लागि चिन्ताको विषय भएको बताएका हुन् । कार्यक्रममा प्राध्यापक प्रमोद मिश्र, शिक्षाविद् विनय कुसियैत, अधिवक्ता मोहना अन्सारी, अनुसन्धानकर्ता डा. सोहन साह, अधिकारकर्मी रामसुफल सदाय, दलित अभियन्ता संजय पासी र लेखिका रीता साह वक्ताको रुपमा सहभागी थिए ।
वक्ताहरुले जनक, बुद्ध र गार्गीको भूमि भनेर चिनिने तराई मधेश शिक्षामा पछाडि पर्दै जानु चिन्ताको विषय रहेको बताए । शिक्षाको अवस्था चिन्ताजनक हुनुमा राज्य र समाज दुबै दोषी रहेको उनीहरुको भनाइ थियो ।
प्राध्यापक प्रमोद मिश्रले मधेशमा शिक्षाको अवस्था सहरभन्दा ग्रामीण भेगमा भयावह रहेको बताए । उनले कथित तल्लो जातिहरु अर्थात् दलित समुदायको बसोवास भएको ठाउँमा शिक्षाको अवस्था झनै खराब रहेको जनाएका छन् ।
भाषा र जातिले पनि शिक्षाको स्तरमा निकै प्रभाव पार्ने भएकोले दलित समुदायको बसोवास भएको ठाउँमा अम्बेडकर पाउनुपर्ने उनको भनाइ छ ।
यस्तै, शिक्षाविद् कुसियैतले मधेशमा शिक्षाको स्तर उकास्न प्राथमिक शिक्षामा सुधार आवश्यक रहेको बताए । संघीय सरकारले मधेशको शिक्षामा अझ सकारात्मक भूमिका खेल्न सक्ने भन्दै उनले देशैभरि शिक्षामा क्रान्ति ल्याउन प्रदेश सरकारलाई थप अधिकारसम्पन्न बनाउनुपर्ने बताए ।
अधिकारकर्मी एवं अधिवक्ता मोहना अन्सारीले मधेशमा मुस्लिम समुदायको शिक्षाको स्तर दलित समुदायभन्दा पनि दयनीय रहेको बताइन । अन्सारीले मदरसामा पढेकालाई क्याम्पस भर्ना हुन र जागिर पाउन समस्या रहेको भन्दै मदरसा शिक्षालाई आधुनिकीकरण गर्दै सरकारी मान्यता दिनुपर्ने धारणा राखिन ।
त्यसैगरी लेखिका एवं महिला अधिकारकर्मी रीता साहले मधेशमा महिला, दलित र मुस्लिम समुदायको साक्षरता दर एकदमै कम रहेको बताइन । उनले मधेश प्रदेशले प्राविधिक शिक्षाको व्यवस्था गर्नुका साथै बेटी पढाउ, बेढी बचाउ अभियान सञ्चालन गरेपनि कार्यान्वयन पक्ष फितलो रहेको बताइन ।
यस्तै अनुसन्धानकर्ता डा. सोहन साहले मधेश प्रदेशको शिक्षाको स्तर सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको हाराहारीमा रहेको बताएका छन् । मधेश आन्दोलनपछि मधेशमा शिक्षाको अवस्था झनै खराब भएको बताउँदै उनले मधेश प्रदेशमा रहेका त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरुको अवस्था दर्दनाक रहेको जनाए ।
दलित अभियन्ता संजय पासीले मधेशमा शिक्षाको अवस्था नाजुक हुनुपछाडिका दोषी राज्यका साथै समाज पनि रहेको आरोप लगाए । मधेशका गाउँमा समुदाय र जातिको आधारमा शिक्षाको अवस्था फरक रहेको उनको भनाइ छ । उनले शिक्षामा जातपात र छुवाछुतजस्ता भेद्भावले नराम्रो प्रभाव पारेको बताए ।
दलित अधिकारकर्मी रामसुफल सदाले विद्यालयभन्दा धेरै बालबालिका बाहिर रहेपनि त्यसबारे प्रदेश सरकार र केन्द्र सरकार बेखबर रहेकोमा चिन्ता व्यक्त गरे । विद्यालयभन्दा बाहिर रहेका बालबालिकामध्ये अधिकांश दलित समुदायका रहेको भन्दै उनले सांस्कृतिक सोँच, जीवन शैली र आर्थिक अवस्थाका कारण बालबालिका विद्यालयबाहिर रहेको तर्क गरे । सदायले बालबालिकालाई शिक्षित गर्नुभन्दा पहिले अभिभावकलाई शिक्षित गर्नुपर्ने धारणा राखे ।
मधेशी एकता समाजका संस्थापक डा. रविन्द्र कुमार यादवले मधेशमा शिक्षाको खस्कदो अवस्था सुधार्न सामाजिक स्तरमा मधेशीहरु एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved