आप्रवासीमा सम्भावनाको दियो सल्काउने ऋषि सुनक बेलायतको प्रधानमन्त्री बन्लान ?

ऋषिको पारिवारिक र राजनीतिक यात्राको विवेचना

सेप्टेम्बरको पहिलो हप्ता सुनक टोरी दलको नेता तथा बेलायतको प्रधानमन्त्री निर्वाचित भए भने पक्कै पनि नयाँ इतिहास बन्नेछ । तर यो काम त्यति सहज भने देखिदैछ । निर्वाचित हुन सकेनन नै भने पनि बेलायतमा आप्रबासीको सन्तानका लागि संभावना र आत्मसम्मानको दियो भने सुनकले नै सल्काएको मानिनेछ ।

आप्रवासीमा सम्भावनाको दियो सल्काउने ऋषि सुनक बेलायतको प्रधानमन्त्री बन्लान ?

भारतीय मूलका बेलायती नागरिक ऋषी सुनक यतिखेर विश्व संचार माध्यममा छाएका छन । कारण हो– प्रधानमन्त्री बोरिस जोनसनलाई प्रतिस्थापन गर्ने नयाँ कन्जर्भेटिभ पार्टी नेताको दौडमा उनी अघि छन् ।

बोरिस सरकारमा सुनक अर्थमन्त्री थिए । कोरोना महामारीको प्रतिशोध र आर्थिक राहतका लागि उनले प्रस्तुत गरेका बजेट लोकप्रिय भएका थिए । प्रधानमन्त्री जोनसनको कार्यशैलीप्रति विमति भएपछि उनले गत जुलाई ५ मा सरकार छोडेका थिए ।
सुनकपछि जोनसनको सरकारबाट थप मन्त्रीले राजीनामा गरे । नयाँ नेता निर्वाचनका लागि भएको टोरी संसदीय दलभित्रको चुनावको अन्तिम चरणमा उनले १३७ मत पाए जबकी उनी प्रमुख प्रतिस्पर्धी विदेशमन्त्री लिज ट्रसले ११३ मत पाइन ।

तर यसको अन्तिम निर्णय भने पार्टी सदस्यले गर्ने मतदानबाट हुनेछ । पार्टी सदस्यमा भने ऋषि फराकिलो अन्तरले पछि रहेको मत सर्वेक्षणमा दाबी गरिएको छ । सुनक बेलायतको प्रधानमन्त्री बने पनि नबने पनि अहिले नै विश्वभर चर्चित भने भैसकेका छन् ।

को हुन् ऋषि सुनक ? 

४२ बर्षीय सुनक भारतीय मूलका मातापिताका सन्तान हुन् । सुनकको परिवार भारतको पञ्जाबबाट हजुरबाको पालमा अफ्रिका हुँदै बेलायत पुगेको थियो । सन् १९६० देखि उनको परिवार बेलायतमा छ। रमाइलो कुरा के छ भने उनका पिता यसबीर सुनकको जन्म केन्यामा भएको  थियो भने माता उषा भारतीय मूलकी तान्जानीयाली नागरिक हुन् । वैदेशिक आप्रवासनको क्रममा सुनक परिवारले अनेकौ उतारचढाव भोगेको छ ।

ऋषि सुनकको जन्म सन् १९८० मा वेलायतको साउथहेम्पटनमा भएको थियो । उनकी पत्नी अक्षता मूर्तिको अहिले पनि भारतीय नागरिकता छ । उनी भारतीय खर्बपति नारायण मुर्तिकी छोरी हुन्।  उनले लिंकन र अक्सफोर्ड कलेजमा दर्शन, राजनीतिशास्त्र र अर्थशास्त्र पढेका थिए ।

सन् २०१४ को आम चुनावमा उनी पहिलो पटक बेलायती तल्लो सभाको सांसद निर्वाचित भए । उनी ब्रेक्जिटका समर्थक थिए । यही अभियानका क्रममा उनी टोरी दलको आँखामा परे र पार्टीका समर्थकले विश्वास गर्न थाले । तत्कालिन प्रधानमन्त्री थेरेसा मेको सरकारमा उनको स्थान जुनियर मन्त्रीको थियो । तर, ब्रेक्जिट अभियानकर्ता बोरिस जोनसन प्रधानमन्त्री भएपछि सुनक तेस्रो बरियताका मन्त्री बने ।

ब्रेक्जिट अभियानकर्ताका रुपमा बेलायती राजनीतिमा सुनकको परिचय स्थापित भइरहँदा कोरोना महामारीकालमा उनले ल्याएको ३५० विलियन पाउण्डको राहत कार्यक्रमले लोकप्रियता झनै बढायो । त्यसो त उनको आलोचना नभएको पनि हैन । उनको कार्यकालमा मुद्रास्फिती बेलायती अर्थतन्त्रको इतिहासमा पछिल्लो ४० बर्षकै बढी ११ प्रतिशतसम्म पुगेको थियो।

त्यसो त पत्नी अक्षताको कानुनी हैसियत र उनको आम्दानीमा लाग्ने करको बिषयलाई लिएर समेत ऋषि सुनकको आलोचना हुने गरेको छ । उनको भारतीय नागरिकता भएकाले अन्य देशको आम्दानीमा कर तिर्न नपर्ने सुविधा उनले पाउँदै आएकी छन । तर, विपक्षी लेबर पार्टीले भने देशको अर्थमन्त्रीकी पत्नीको हैसियत कानुनी मात्र नभएर नैतिक समेत हुने तर्क गर्दै प्रश्न उठाउने गरेको छ।

यो विवादपछि अक्षताले आफूले बेलायतमा कर तिर्ने गरेको स्पष्टिकरण दिएकी थिएन । अक्षताको इन्फोसिस कम्पनीको शेयर मूल्य हेर्दा  उनी बेलायतकी महारानीभन्दा पनि धनी महिला भएको स्थानीय समाचार पत्रले लेख्ने गरेका छन्।

ऋषि सुनक प्रधानमन्त्री बन्लान ?

ऋषि सुनक र लिज ट्रस बीचको अन्तिम चुनाव सेप्टेम्बर २ मा शुरु हुनेछ । ४ तारिखसम्म देशभरिका करिब १ लाख ६० हज्जार कन्जरभेटिभ  पार्टी सदस्यले मतदान गर्ने छन्। बीबीसीका अनुसार अनलाइन तथा पोष्टल भोटिङ समेत हुने हुँदा अन्तिम परिणामका लागि सेप्टेम्बर ५ सम्म पर्खिन पर्ने पनि हुन सक्छ । पछिल्लो मत सर्वेक्षणमा सुनक २४ प्रतिशतले पछि छन् । यो अन्तर कम गर्दै लैजान सके मात्रै उनको संभावना हुनेछ ।

टोरी नेता तथा भावी प्रधानमन्त्रीका लागि ऋषि सुनकको अन्तिम चरणको चुनावी दौडलाई विश्वले नै उत्सुकतापूर्वक हेरिरहेको छ। यदि यो चुनाव जितेमा उनी बेलायतका लागि पहिलो भारतीय मूलको प्रधानमन्त्री हुने छन् । यता भारतमा पनि ऋषिको राजनीतिक भबिष्यलाई लिएर झनै ठूलो उत्सुकता देखिन्छ ।

भारत त्यो देश हो जहाँ कुनै बेला वेलायतले करिब २०० बर्ष उपनिवेशिक शासन गरेको थियो । एक भारतीय राजनीतिक विश्लेषक सुधिर कुमार झाले यसबारे लेखेका छन, ‘कुनै बेला अंग्रेजहरु भारतलाई असभ्य र सपेराहरुको देश ठान्थे । तिनै भारतीय मूलका सन्तान ऋषि सुनक बेलायतको राजनेता तथा प्रधानमन्त्री हुनु इतिहास एक नयाँ शिराबाट उल्टिनु र नयाँ अध्यायको शुरुवात हुनु सरह हुनेछ ।’

सुनक प्रधानमन्त्री भएमा उनले भारतसँगको बेलायतको सम्बन्धलाई के कसरी लिन्छन् ? त्यसले भारतलाई फाईदा हुन्छ वा बेफाईदा ? त्यो भिन्नै कुरा हो । तर, सुनक बेलायतको प्रधानमन्त्री भए भने भारतीयहरु अंग्रेजबाट शासित थिए भन्ने इतिहासको प्रति भाष्य समेत तयार हुनेछ । त्यो हो– अंग्रेज पनि भारतीयबाट शासित भए ।

तर, यो प्रतिभाष्य यथार्थमा परिणत हुन्छ वा संभावनामा नै सीमित भएर मर्छ, अझै भन्न सकिने अवस्था छैन । टोरी दलका उच्च पदस्थ अधिकांश लिज ट्रुसकै पक्षमा देखिन्छन। तर, सामान्य पार्टी सदस्यको समर्थन भने सुनकको पक्षमा हुन सक्ने अपेक्षा गरिएको छ ।
बोरिस सरकारको अर्थमन्त्रीबाट राजीनामा दिँदा सुनकले भनेका थिए, ‘सरकारले राम्रो काम गरोस भन्ने नागरिकको अपेक्षा स्वभाविक छ । सरकार त्यसो गर्न असमर्थ हुँदै गएको छ भने त्यस्तो सरकारमा बसिरहन उचित हुँदैन ।’

राजीनामा पछि सुनकको यो भनाईले बेलायती जनताको मन छोएको थियो र उनी निक्कै लोकप्रिय पनि भएका थिए । ४२ बर्षको सानो उमेर मै यो स्तरको राजनीतिक सफलता हासिल गरेको कारणले उनलाई बेलायती राजनीतिको ‘गोल्डेन ब्वाई’ पनि भन्ने गरिन्छ।

सेप्टेम्बरको पहिलो हप्ता सुनक टोरी दलको नेता तथा बेलायतको प्रधानमन्त्री निर्वाचित भए भने पक्कै पनि नयाँ इतिहास बन्नेछ । तर यो काम त्यति सहज भने देखिदैछ । निर्वाचित हुन सकेनन नै भने पनि बेलायतमा आप्रबासीको सन्तानका लागि संभावना र आत्मसम्मानको दियो भने सुनकले नै सल्काएको मानिनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved