कल सेन्टरबाट ठगी प्रकरण- पक्राउ परेकालाई चलाइयो ठगी मुद्दा

नेपालभ्युज

कल सेन्टरबाट ठगी प्रकरण- पक्राउ परेकालाई चलाइयो ठगी मुद्दा

काठमाडौं। रुपन्देहीको तिलोत्तमामा कल सेन्टर सञ्चालन गरी ठगी गरेको आरोपमा पक्राउ परेकामध्ये दुईजनालाई प्रहरीले ठगी मुद्दा अघि बढाएको छ। ब्लुस्काई बिजनेस सोलुसन प्रालिको नाममा कल सेन्टर सञ्चालन गरी अनलाइनमार्फत ठगी गरेको भन्दै मुद्दा चलाइएको प्रहरीले जनाएको छ।

दाङ घोराही– १३ का हिमाल बाठामगर र भारत बिहार प्रदेश गायविद्या पञ्चायत मचारीका जिसाद दबांगे भनिने निरञ्जन कुमारविरुद्ध ठगी मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए।

तिलोत्तमा नगरपालिका– २ जानकीनगरस्थित प्रेमराज गुरुङको घरमा सञ्चालित ब्लुस्काई बिजनेस सोलुसन प्रालिबाट विद्युतीय अपराध भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीले आइतबार खानतलासी गरेको थियो। तीनवटा तला भाडामा लिएर विभिन्न सामाजिक संजाल र एप्सहरूमार्फत दुई सयभन्दा बढी युवायुवतीलाई काममा लगाई अनलाइनमार्फत ठगी हुँदै आएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।

अनुसन्धानको क्रममा विभिन्न व्यक्तिहरूलाई म्यासेज गरी बैंक लोन अफर गर्ने भनी प्रलोभन देखाउने, धम्की हैरानी दिने र अश्लिल सामग्रीहरूसमेत पठाई ठगी गर्ने गरेको पाइएको थियो। प्रहरीले आइतबार १ सय १५ जना पुरुष र ९८ जना महिला कर्मचारीसमेत २ सय १३ जनालाई निगरानीमा राखी अनुसन्धान अगाडि बढाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved