मौद्रिक नीतिप्रति निजी क्षेत्रको धारणा- तरलता समस्यासँगै महँगी बढाउँछ

नेपालभ्युज

मौद्रिक नीतिप्रति निजी क्षेत्रको धारणा- तरलता समस्यासँगै महँगी बढाउँछ

काठमाडौं। मौद्रिक नीतिबाट मुलुकमा लगानीयोग्य रकमको अभाव बढाउने र यसले महँगी समेत बढ्न जाने निजी क्षेत्रले बताएको छ। उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेपाल चेम्बर अफ कमर्सले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो।

महासंघले भनेको छ, ‘‘८ महिनादेखि बजारमा देखिएको तरलता अवस्थामा थप दबाब सिर्जना गर्ने देखिएको छ। गत वर्षभन्दा करिब ७ प्रतिशत विन्दुले कम कर्जा प्रवाह हुने प्रक्षेपण गरेको केन्द्रीय बैंकले कर्जाको ब्याजदर बढाउने नीति लिएको देखिन्छ।’’

उत्पादनमूलक क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याजदर अन्य व्यवसायभन्दा कम गर्ने, कोभिड १९ बाट अति प्रभावित व्यवसायलाई पुनर्कर्जा सुविधा कायम राख्ने, साना उद्यमीलाई कर्जा पुनर्तालिकीकरणको सुविधा लगायतका प्रावधान स्वागतयोग्य रहेको महासंघले जनाएको छ।

त्यस्तै चेम्बर अफ कमर्सले पनि मौद्रिक नीतिले समग्र आर्थिक गतिविधि घटाउने र महँगी बढाउने प्रतिक्रिया दिएको छ। चेम्बरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘गत वर्ष १९ प्रतिशतको कर्जा विस्तारको लक्ष्य लिइएकोमा त्यसलाई घटाएर चालु वर्षका लागि १२ प्रतिशतमा सीमित गर्न खोजिएको छ, अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपात पनि बढाइएको छ । यसले आर्थिक गतिविधिलाई थप संकुचित पार्नेछ।’’

नगद प्रवाहलाई संकुचन एवम् कर्जा प्रवाहको लक्ष्यलाई सीमित गरेर ब्याजदर बढाउँदा बजेटले लिएको ८ प्रतिशतको लक्ष्य र मूल्य वृद्धि ७ प्रतिशतमा सीमित हुन कठिन हुने चेम्बरको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved