यस्ता छन् यो आर्थिक वर्षको मौद्रिक नीतिका मूख्य विशेषता

नेपालभ्युज

यस्ता छन् यो आर्थिक वर्षको मौद्रिक नीतिका मूख्य विशेषता

काठमाडौं। नेपाल राष्ट्र बैंकले शुक्रबार आर्थिक वर्ष २०७९\८० को मौद्रिक नीति सार्वजनिक गरेको छ। शुक्रबार गभर्नर महाप्रसाद अधिकारीले ल्याएको मौद्रिक नीतिका मूख्य विशेषता यस्ता छन्।

घरजग्गा धितोमा कर्जामा कडाइ

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले घर\जग्गा धितो राखी प्रयोग नखुलेका ओभर ड्राफ्ट, धितो कर्जा सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा प्रवाह गर्दा कडाइ गरेको छ। यस्तो कर्जा लिँदा राखिने घरजग्गा धितोको मूल्यको अनुपात काठमाडौं उपत्यकाभित्र बढीमा ३० प्रतिशत र अन्य स्थानको हकमा बढीमा ४० प्रतिशतसम्म कायम गरेको छ। यसअघि काठमाडौं उपत्यकाभित्र बढीमा ४० प्रतिशत र अन्य स्थानको हकमा बढीमा ५० प्रतिशतसम्म थियो।

मर्जरको समय सेयर कारोबार नरोकिने

अब मर्जरको समयमा बैंक तथा वित्तीय संस्थाको सेयर कारोबार रोक्का नहुने भएको छ। मौद्रिक नीतिमा मर्जर तथा प्राप्तिको समय धितोपत्र कारोबार रोक्ने सम्बन्धमा यस बैंकले जारी गरेको विद्यमान नियमावली खारेज गरी धितोपत्र बोर्डको नियमावलीबमोजिम हुने व्यवस्था मिलाइने उल्लेख छ।

पुनर्कर्जा सुविधा २०८१ असार मसान्तसम्म क्रमशः घटाइने

कृषि लगायतका उत्पादनशील क्षेत्र, लघु उद्यम, निर्यात र कोभिड महामारीबाट पुनरुत्थान हुन बाँकी अति–प्रभावित क्षेत्रमा प्रवाहित कर्जालाई पुनर्कर्जा सुविधा उपलब्ध गराउने गरी निरन्तरता दिइने बताएको छ।

पुनर्कर्जा सुविधालाई २०८१ असार मसान्तसम्म क्रमशः घटाउँदै लैजाने उल्लेख गरेको छ। राष्ट्र बैंकले तीन शीर्षकमा पुनर्कर्जा जारी गर्छ। लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा, विशेष र साधारण पुनर्कर्जाको रूपमा बैङ्कहरूमार्फत लगानी भइरहेको छ।

उत्पादनमूलक र व्यापारिक क्षेत्रमा जाने कर्जाको ब्याजदर अलग हुने

राष्ट्र बैंकले उत्पादनशील र व्यापारिक क्षेत्रमा जाने कर्जाको ब्याजदरमा भिन्नता ल्याउने बताएको छ। हाललाई बैंक तथा वित्तीय संस्थाले खाद्यान्न उत्पादन, पशुपक्षी, मत्स्य पालन, निर्यातजन्य र शतप्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगका लागि २ करोड रुपैयाँसम्मको कर्जा प्रवाह गर्दा आधार दरमा अधिकतम २ प्रतिशत बिन्दुसम्म प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्न पाउने व्यवस्था गरिने भएको छ।

मूल्य वृद्धिदरभन्दा कम नहुने गरी बैङ्कहरूले राष्ट्र बैंकबाट कर्जा पाउने

विदेशी विनिमय सञ्चिति र मूल्य वृद्धिलाई नीतिगत दर निर्धारणको आधार लिइने बताइएको छ। अर्थात् बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकबाट सापटी लिने रकम यी दुईमा आधारित भएर हुनेछ।

मर्जरमा जाने बैंकले पुससम्म सुविधा पाउने

वाणिज्य बैंक र लघुवित्त वित्तीय संस्थाहरू एक आपसमा आफ्नै वर्गभित्र गाभिई वा प्राप्तिमा भएर २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार गरेमा मर्जर तथा प्राप्तिसम्बन्धी छुट तथा सुविधा प्राप्त हुने भएको छ।

यो सुविधा गत असारसम्मको लागि मात्रै दिइएको थियो। राष्ट्र बैंकले वाणिज्य बैङ्कहरूको मर्जर तथा प्राप्ति प्रक्रियालाई प्रोत्साहन गर्न ल्याएको सहुलियत कार्यक्रमले पुससम्म निरन्तरता पाएको हो।

एउटै बैंकबाट १२ करोडसम्म सेयर कर्जा पाइने

यसअघि सेयर धितो कर्जामा गरेको कडाइलाई केही सहज बनाइको छ। अब ग्राहकले एउटै बैंकबाट १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने भएका छन्।

यसअघि राष्ट्र बैंकले साउनबाट एउटै बैंकबाट ग्राहकले अधिकतम चार करोड र सबै बैंकिङ प्रणालीबाट १२ करोड रुपैयाँ मात्र कर्जा लिन पाउने व्यवस्था गरेको थियो।

मूल्य वृद्धिदर १२ प्रतिशत पुग्ने, कर्जा विस्तार १२ दशमलव ६ प्रतिशत

राष्ट्र बैंकले चालु आर्थिक वर्षमा मूल्य वृद्धिदर १२ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ। आर्थिक वर्ष २०७८\७९ मा उपभोक्ता मुद्रास्फिति औसत ६ दशमलव ५ प्रतिशतभित्र सीमित राख्ने लक्ष्य लिइएको थियो।

तर, २०७९ जेठ महिनामै वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फिति ८ दशमलव ५६ प्रतिशत छ। फागुनदेखि मूल्यवृद्धि दर सात प्रतिशत माथि छ। वार्षिक औसत मूल्य वृद्धिदर भने ६ दशमलव ०९ प्रतिशत छ। त्यस्तै निजी क्षेत्रतर्फ जाने कर्जाको वृद्धिदर १२.६ प्रतिशत रहने लक्ष्य लिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved