मौद्रिक नीति तयार, बोर्डबाट पास भए आजै सार्वजनिक हुने

नेपालभ्युज

मौद्रिक नीति तयार, बोर्डबाट पास भए आजै सार्वजनिक हुने

काठमाडौं। ६ असार। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति आज (शुक्रबार) ल्याउने अन्तिम तयारी गरेको छ । शुक्रबार बिहान बस्ने बोर्ड बैठकले मौद्रिक नीति ल्याउने निर्णय गर्न सक्ने  राष्ट्र बैंकका प्रवक्ता गुणाकार भट्टले बताए । बोर्डबाट पारित भए, शुक्रबार नै मौद्रिक नीति सार्वजनिक हुने जनाइएको छ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई बिहीबार मौद्रिक नीतिको ब्रिफिङ गरेका थिए ।
बिहीबार साँझ प्रधानमन्त्रीसमक्ष मौद्रिक नीतिको ब्रिफ गरेका कारण अब नीति ल्याउन शुक्रबार बिहान सञ्चालक समितिको बैठक बोलाएको राष्ट्र बैंकले जनाएको छ ।

जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएपछि प्रधानमन्त्री देउवाले नै अहिले अर्थ मन्त्रालयको जिम्मा लिएका छन्। सोही कारण सिधै प्रधानमन्त्रीलाई ब्रिफिङ गरिएको हो ।

आर्थिक अनुसन्धान विभागले अन्य विभागसँग छलफल गरी तयार पारेको मस्यौदाउपर छलफल सकेर ड्राफ्ट तयार पार्ने र सो ड्राफ्ट राष्ट्र बैकको बोर्ड बैठकमा छलफल हुने बताइएको छ ।

बोर्ड बैठकले स्वीकृत गरेपछि गभर्नरले आगामी वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने व्यवस्था छ । तर, बोर्ड बैंठकमा सहमति नजुटे पुनः अर्को पटक बैठक बस्नेछ । राष्ट्र बैकका अनुसार बोर्ड बैठकमा एक पटकमा सहमति नभए दोस्रो, तेस्रो बैठक बस्दै जान्छ, विगतमा तीनचार पटकसम्म पनि बोर्ड बैठक बस्ने परम्परा छ । स्वीकृत नभएसम्म छलफल भइरहन्छ । बोर्ड बैठकले बिहान स्वीकृत गरेमा शुक्रबार बेलुका मौद्रिक नीति सार्वजनिक गर्ने योजनामा राष्ट्र बैंक छ ।

यस्तो आउँदै छ मौद्रिक नीति

अहिलेको मुलुकको आर्थिक समस्याको समाधान गर्ने गरी मौद्रिक नीति ल्याउने तयारी भएको राष्ट्र बैंकका अधिकारीहरूको दाबी छ। आन्तरिकसँगै बाह्य कारणले आकासिएको मूल्य वृद्धि, असमान व्यापार घाटा, विदेशी मुद्राको सञ्चितिमा परेको दबाब लगायत उत्पादन केन्द्रित अर्थतन्त्रका लागि मौद्रिक नीति केन्द्रित हुने बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved