ईश्वर : विष्णु नागरका केही लघुकथा

साँझ, रातमा बदलिन लाग्दै थियो। किसानको घरमा भोजन बनिसकेको थियो। अचानक किसानले भने, ‘आउनुस्, भोजन गरौं। मेरी पत्नीले थालमा खाना राखिसकिन्।’

नेपालभ्युज

ईश्वर : विष्णु नागरका केही लघुकथा

१.
एक पटक एक जना पागलसँग ईश्वरको भेट भयो। पागलले स्पष्टीकरण दिँदै भने, ‘म पागल होइन। मलाई लाग्छ, म ईश्वर हुँ। तर सबैले मलाई पागल सम्झिन्छन्, जबकि म ईश्वर हुँ।’

ईश्वरले भने, ‘तर ईश्वर त म हुँ, तिमी होइनौ।’

पागलले जवाफमा भने, ‘चुप लाग, चुप। कसैले सुने भने तिमीलाई पनि पागल भन्लान्।’

ईश्वरले वरिपरि हेरे, खुसीको कुरा वरिपरि कोही थिएनन् र उनीहरूका कुरा कसैले सुनेका थिएनन्।

ईश्वर चुपचाप अघि बढे।

०००

२.
एकदिन ईश्वर एकजना मजदुरकहाँ पुगे। ईश्वरलाई अतिथि सम्झेर मजदुरले खुबै स्वागत–सत्कार गरे। जेजस्तो खुवाउन सक्थे, खुवाए।

ईश्वर ती मजदुरप्रति धेरै हिसाबले खुसी भए। उनले चुपचाप ओछ्यानमुनि सुनको केही सिक्का छोडेर गए। मजदुरकी पत्नीले ओछ्यान मिलाउन खोज्दा सुनका सिक्काहरू भेटिन्। यो कुरा उनले आफ्ना पतिलाई बताइन्।

मजदुर सुनको सिक्का छाड्ने ईश्वरलाई खोज्न निस्किए। जहाँ–जहाँ ईश्वरलाई भेटिने सम्भावना थियो, उनी त्यहीं–त्यहीं पुगे। उनलाई के थाहा, सुनको सिक्का छाड्ने ईश्वर थिए !

थकित र हारेको मुन्द्रामा उनले सुनको सिक्का प्रहरी–चौकीमा लगेर बुझाइदिए। स्यावासी पाउनुको साटो प्रहरीबाट उनले हप्कीदप्की मात्रै पाए।

ईश्वरले मजदुरको यस्तो मुर्खताबारे थाहा पाए। र, मनमनै धेरै नै क्रोधित भए।

ईश्वरले भोलिपल्ट नै छँटनीको सूचना पठायो।

०००

३.
ईश्वर एउटा गाउँमा पुगे। उनले गाउँका एक जना किसानलाई भेटे र उसको दुःख–पीडाबारे सोध्न थाले। किसानले केही बताए, केही बताएनन्।

साँझ, रातमा बदलिन लाग्दै थियो। किसानको घरमा भोजन बनिसकेको थियो। अचानक किसानले भने, ‘आउनुस्, भोजन गरौं। मेरी पत्नीले थालमा खाना राखिसकिन्।’

मेथीको साग र गहुँको रोटीको सुगन्ध भोक बढाउने खालको थियो। तर ईश्वरले संकोचका कारण आफूलाई भोक नलागेको बहाना गरे। किसानले यस्तो आग्रह यस्तो गर्‍यो कि, ईश्वर पग्लिन पुगे। तर, पग्लिँदै–पग्लिँदै उनलाई सम्झना आयो कि, उनले स्वर्गमा किसान–मजदुरको घरमा खाना नखाने संकल्प लिएका थिए। उनीसँग भनिएको थियो– यदि उनले किसान–मजदुरको घरमा खाना खाए भने उनीमा संसार बदल्ने भावना जाग्दछ। यो निकै लामो कार्य हो र यो ईश्वरको काम पनि होइन। तसर्थ, उनी यो चक्करमा लाग्न चाहेनन्।

ईश्वरले फेरि खाना खान इन्कार गरे, तब किसानले भने, ‘अन्नलाई कहिल्यै अपमान नगर्नुस्। अन्नको अपमान ईश्वरको अपमान हो।’

ईश्वरले ‘ईश्वर’ को अपमान हुन दिए र खानाचाहिँ जमिनदारकहाँ गएर खाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved