भेडेटार : उपेन्द्र सुब्बा र अच्युत वाग्लेको कविता

र थपिएका केही नयाँ महलहरूसँगै
द्रुत द्रुत आधुनिक हुँदै छ
भेडेटार।

नेपालभ्युज

भेडेटार : उपेन्द्र सुब्बा र अच्युत वाग्लेको कविता

भेडेटारको पिकनिक

-उपेन्द्र सुब्बा

बाजे !
हजुरको भक्ति-प्रताप
प्रचण्ड गर्मी छ भानुचोकमा
सडक तातेको छ नारा-जुलुसले
उफ् !
घाँटी सुकेर हैरान छ, पानी छैन।

चिसो बियरले तालु छम्काउँदै
रामायणले मुख हम्काउँदै
कति बस्नुहुन्छ यो चोकमा ?
छाड्दिनुस् बाजे भक्तिशक्ति !
जाऊँ आज पिकनिक माथि
भेडेटारमा यतिखेर कति शीतल होला ?

कति खानु धरानको कालो बंगुर मात्र
आज-
बिन लादेनको मुटुसँग
जर्ज बुसको कलेजो भुटेको अलिकति
सद्दामको कान पोलेर
अकबरे खुर्सानीमा मोलेको अलिकति
मार्क्सको अण्डा
हिटलरको गिदी र जिब्रो
ब्रिटनी स्पेयरको मुत फुल बोतल
बाजेलाई विशेष
पक्चाना* को आलो दूध
तात्तातो, एक गिलास…
भेडेटारमा पिकनिक कति रमाइलो होला !

यो मोटरहरूको प्वँ..प्वँ
यी रिक्सा, साइकिलहरूको किरिङकिरिङ…
यी खलासी भाइहरूको उपद्रो चिच्याइ…
दिक्क लाग्दैन ?
जाऊँ !
चाल्र्स टावरको माथिल्लो छतमा बसेर
तल मधेसका नीला फाँटहरू हेर्नु
माथि लहरै जोल्ठेर बसेका पहाड र हिमालहरू हेर्नु
अल्छी लाग्यो भने
तरुनीको फिला सिरानी लाएर
माथि…आकाशको लाज हेर्नु
र खुसुक्क तरुनीको कानमा भन्नु
‘हेर त, आकाशले कट्टु नलाएको !’
साँच्ची बाजे,
भेडेटारमा पिकनिक कति रमाइलो होला ?

एकै छिनलाई मागेको साथीको भट्भटे
पछाडि राखेर आफ्नो नपर्ने भाउजू
घ्याच्चघ्याच्च घरिघरि ब्रेक
बारबार हम्प्स नहुँदाको रिस
भेडेटारको ओरालो कति रमाइलो होला ?

हजुरको भक्ति-प्रताप बाजे !
प्रचण्ड गर्मी छ भानुचोकमा
सडकको अलकत्रा पग्लिएर बग्ला जस्तो
उफ् !
भेडेटारमा यतिखेर कति शीतल होला ?

* पक्चानाः मुन्धुमअनुसार उहिले आदिकालमा लोग्नेमान्छेहरू पनि पिडौंलामा गर्भधारण गर्थे अरे ! ‘आप्चारा पक्चाना’ नाम गरेको लोग्नेमान्छे पनि पिडौंलामा गर्भधारण भएपछि दोबाटोमा मागिखाँदै बस्थ्यो। अरूले दिएको खानेकुरा भकीअमिलोको दाबिलोले पकाइखान्थ्यो र दोबाटो हिँड्ने गर्भवती महिलाहरूलाई सकेसम्म सहयोग गर्थ्यो। मरेपछि आप्चारा पक्चाना देवता भए। अहिले पनि लिम्बूहरूको कोख पूजामा यो देवताको पूजा गर्ने गरिन्छ।

000

भेडेटार

-अच्युत वाग्ले

बाक्लो कुहिरोको सेताम्य क्यानभासमा
तोङ्वा र सेकुवाको गन्ध
स्यान्डविच, सेमिनार र समागमको
रंगीन घोला पोतिएका
कंक्रिट महलहरू उमार्दै
शहर बन्ने दौडमा सामेल हुँदै छ
भेडेटार।

नागबेली सडकको सिउँदोमा
धरानतर्फबाट नयाँ गाडी चढेर
अत्तरको सुवास छर्दै उकालो लाग्छ आधुनिकता
त्यसको खेती भित्र्याउने लालसामा
धनकुटा वा राजारानीतिरबाट
मटमैलो लुंगीमा बेरिएका शशिकलाहरू
ओह्रालो लाग्छन्
डोको बोकेर भेडेटारतर्फ।

अर्को बिहान
क्षतविक्षत अस्मितालाई
कुपोषित नितम्बहरूका बीचमा
बलजफ्ती च्यापेर शशिकला
गुडेर पहाडको फेदीमा पुगेको
आफ्नो डोको हो या मन
भ्यूटावरबाट नियाल्छे।

अलि पर मैदानतर्फ
तुवाँलोले धमिल्याएको दृष्टिमा ऊ
आधुनिक घरका धुरीहरू अड्कल्छे
र, कल्पना गर्छे
सायद तिनैमध्ये कुनै धुरीमुनि
उसले आफ्नो शरीरलाई
आधुनिकताको साँचोमा कुँदिन छोडिदिनेछे

फेरि भेडेटार
कुहिरोले ढपक्क ढाकिन्छ
तलबाट अर्को गाडी आउँछ
परिचय लुकाउनेहरू बोकेर
माथिबाट रामकला, हरिकला
वा परिचयविहीन यस्तै कोही ओर्लन्छ

उही कुहिरो, उही डोको
उही पीडा, उही भ्यूटावर
उही भूमिकामा
केही नयाँ पात्रहरू
र थपिएका केही नयाँ महलहरूसँगै
द्रुत द्रुत आधुनिक हुँदै छ
भेडेटार।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved