प्रिय कथा

सपनाको चिहानबाट

त्यसको भोलिपल्ट दिदी एक्लै घरबाट निस्किनु भएछ एकैक्षणका लागि। दिदीलाई ननिको लाग्ला भनेर हामी कसैले पनि किन र कसो भनेर सोधेनौ बरु एक दिन दिदीले एउटा खाम दिएर संयमलाई कतै पठाउनुभयो।

सपनाको चिहानबाट

(रचनागर्भ– कुनै पनि विधाको सिर्जना गर्दा म कर्मचारीले टिप्पणी उठाएजस्तो टेबुलमा घोत्लिएर मात्र गर्न सक्दिन। त्यसमा पनि विशेषतः कथा लेखन मेरा लागि प्रथम रहर र जिम्मेवारी दुवै हुन्। त्यसैले कथाका पात्रहरू, घटनाक्रमहरू, कथाको शुरुआत, मध्य र अन्त्य मेरो मनमस्तिष्कमा पूर्ण रुपले तयार नहोउञ्जेलसम्म म कथा लेख्न सुरु नै गर्दिन। किनकि मेरा अधिकांश रचनाको धरातल यथार्थ नै हुन्छ। समाजमा देखिने सामान्य–असमान्य चरित्र, घटेका घटना, दूर्घटना वा प्रसङ्गले मेरो मनमस्तिष्कलाई छोएपछि मात्र म विधागत सचेतताका साथ त्यसलाई मनमस्तिष्कमा खार्न थाल्छु। यो क्रम महिनौंसम्म चल्न सक्छ। कथा लेख्न मलाई समय लाग्दैन तर कथाको स्वरुप मेरो मनमस्तिष्कमा तयार हुन हप्तौं वा महिनौं पनि लाग्न सक्छ। त्यसैले कथा लेखिसकेपछि म ज्वरोमुक्त भएको अवस्थामा हुन्छु अर्थात् लामो यात्राको दौरानमा एउटा गह्रौँ भारी बिसाएको आनन्दानुभूति हुन्छ मलाई।

‘सपनाको चिहान’ कथाको रचना गर्दा कथाकी मुख्य पात्र प्रतिमा दिदीको रुपमा मैले दसौं वर्षदेखि देखिरहेको र बोलिरहेको एक जना दिदीको आकृति मेरो आँखा अगाडि थियो। उमेरले करिब–करिब सत्तरी नाघिसकेकी ती दिदीको सक्रियता, जाँगर, भाषा र साहित्यप्रतिको उनको लगाव लोभलाग्दो देख्थेँ म। त्यसका अतिरिक्त उनी कुनै राजनीतिक पार्टीको सक्रिय कार्यकर्ता भएको पनि मैले बुझेको थिएँ। विद्यार्थी कालदेखि नै पार्टीगत राजनीतिमा सक्रिय रहँदै आएकी ती दिदीले आफ्नो जीवनभरिको त्याग, तपस्या र समर्पणको बदलामा पार्टीबाट कहिल्यै कुनै लाभको पद पाएकी थिइनन्। तैपनि विचारको नाममा आपूm आवद्ध पार्टीप्रति उनको माया, मोह, श्रद्धा र समर्पण थियो। कुनै समयमा निकै लामो समयसम्म प्रज्ञा–प्रतिष्ठानहरू खाली रहे तर ती खालि कुर्सीहरू भरिँदा पनि ती दिदीजस्ता समर्पित कार्यकर्ता र क्षमतावान प्रतिभा ती कुर्सीसम्म पुग्न सकेनन्।

यथार्थको त्यही धरातलमा मैले कथाको तानाबाना बुनेर ‘सपनाको चिहानबाट’ कथा तयार पारेको हुँ। कतिलाई लाग्ला, कथा निराशावादी भयो, कतिलाई लाग्ला कथा प्रगतिवादी हुन सकेन भनेर। अथवा, यो वा त्यो लाग्ला, लाग्न सक्छ पनि। अधिकांश राजनीतिक पार्टीमा यो विसंगति देखिएकै छ। तर मलाई थाहा छ, मैले जे देखेँ त्यो कथामा लेखेको हुँ। कथामार्पmत् अभिव्यक्त गरेको हुँ। किनकि आशावादिता र प्रगतिवादको नाममा आफैँलाई ठगेर जीवनभरि भोगेको पीडालाई रातो ध्वजापताकाले सिँगारेर विरुप बनाउनुको कुनै अर्थ छैन। आफ्नै चेतनामाथि भ्रमको छारकाप्रो हाल्नुको कुनै अर्थ छैन। यो संसारमा जीवनभन्दा ठूलो न कुनै वाद छ, न त विचार नै छ। त्यसैले मेरो कथा पाठकको मनमस्तिष्कमा बस्न सफल भयो भने मेरो लागि त्यही नै सन्तुष्टि र त्यही नै प्राप्ति हो।)

प्रतिमा दिदीको दुःख र हैरानी देखेर म आफैँ हैरान र दिक्क भएको छु। यो उमेरमा आएर पनि अब यत्तिको भागदौड गर्न छाडिदिनुस् भनेको दिदीलाई पटक्कै लाग्दैन। दिदी आफ्नै जिद्दीमा अडिनु हुन्छ। कहिले बिहानको चार बजे घरबाट निस्केको मान्छे राति गाडी नपाएर अलपत्र परेपछि केटाहरू बाइक लिएर लिन जानु पर्छ. कहिले भोकै, कहिले प्यासै हिँडेको हिँड्यै। तैपनि चेत आएको हैन.। आफू हिँडिरहेको बाटोलाई बदल्ने सोच आएकै हैन, उहाँले प्रयास पनि गरेकै हैन।

यो भागदौड, यो समर्पण र यो योगदानले दिदीलाई के नै दियो र ? रातोदिनको हण्डर, जीवनभरिको ठक्कर र एक्लोपनको पीडा बाहेक केही पनि त दिएन। कति भनिसके, घरैमा बसेर लेख्नुहोस्, साथीभाइहरूसँग भेटघाट गर्न मन लाग्यो भने मिलेसम्म घरैमा बोलाउनुस्, आउने साथीभाइहरूलाई के खुवाउन मन लाग्छ, भन्नुस्, बुहारीहरूले पकाई दिइहाल्छन्। कहिलेकाहीं बाहिर जान मन लागे भदाहरूले बाइकमा राखेर लगिदिहाल्छन् भन्यो दिदीले सुने पो। विचार, सिद्धान्त, पार्टी र देशको मुहार फेर्ने सपना बोकेर हिँडेको मान्छे उहाँ, साँच्चै भन्ने हो भने उहाँले सपना पनि यिनै कुरा देख्नु हुन्छ भन्ने लाग्छ। एक डेढ महिना भयो दिदीलाई झन् असारको पन्ध्र आएजस्तो भएको छ। खै, कहाँ जाने हो, के गर्ने हो बिहानै हिँडेको मान्छे रात नपरी घर फर्किने हैन। दिनभरि न राम्रोसँग खानु छ, न पानी पिउनु। घर आइसकेपछि अनि यो भयो, त्यो भयो, यहाँ दुख्यो, त्यहाँ दुख्यो भन्यो, स्याहार गर्ने बुहारीहरूलाई हैरान। तैपनि भाइबुहारी र भदाबुहारीहरूले सासु हैन आमालाई झैं स्याहारेकै छन्।

“के काममा दौडिरहनु भएको छ, दिदी , रात दिन ?’’ आज बिहान दिदी घरैमा भएकोले चिया पिउने बेलामा मैले सोधेँ। मेरो प्रश्नको जवाफ दिनलाई दिदीले आनाकानी गरे पनि मैले कर गरेपछि भन्नुभयो, ‘हेर्न, त्यै’ पार्टीको लागि काम गर्दागर्दै तेरो भिनाजुको ज्यान गयो, पार्टीकै काम गर्दा एउटा भएको मेरो जवान छोरो पनि रहेन। म रातदिन पार्टीकै लागि खटिरहेकी छु तर अहिले आएर सत्तामा भएको पार्टीले वास्तै गर्दैन। नेताहरूले पनि अचेल त नचिनेजस्तो पो गर्छन, भेट दिनै गाह्रो मान्छन। पार्टी सत्तामा गएको बेलामा पनि मजस्तो कार्यकर्तालाई पार्टीले नसम्झिने हो भने कहिले सम्झिने हो त भनेर नेताहरूलाई कराउँदै हिँडेकी नि।’

“ह्या दिदी पनि, पार्टी नै अर्कालाई लगेर बुझाउनेहरूले अब तपाईंका लागि केही गर्लान् भनेर नसोचे हुन्छ। देश र जनताका लागि देखाएको सपनाबाट आफैँ भाग्नेहरूले आफ्नो स्वार्थपूर्ति गर्छन्, अरू केही गर्दैनन्। भो, दौडिन पर्दैन, तपाईं लेख्न–पढ्न रुचाउने मान्छे, लेख्नुस्, पढ्नुस्, किताब निकाल्नुस्। बुहारीलाई मन परेको खानेकुरा पकाउन लाएर खानुस्, साथीभाइ बोलाएर ख्वाउनुस्, भो अरू व्यर्थैको दुःख नगर्नुस्, दिदी।’’ मेरो कुरालाई दिदीले चुपचाप सुनिरहनुभयो। निकै बेरसम्म केही बोल्नु भएन। त्यसैले मैले नै भनेँ, “हेर्नुस्, अब तपाईं सत्तरी वर्ष पुगिसक्नुभयो, दिनभरि भोकै–प्यासै हिँड्नु हुन्छ, कतै भ्वाक्कै लड्नुभयो भने, तपाईंको पार्टीका मान्छेले तपाईलाई हेर्छन्, हेर्दैनन्। आफ्नो स्वास्थ्य र उमेरको पनि ख्याल गर्नुस्, दिदी, मैले भनेको मान्नुस्।’’ मेरो कुरामा दिदीले कुनै प्रतिक्रिया जनाउनु भएन।

म बुझ्छु दिदीको इच्छा, चाहना र रहरका कुरा। दुई दर्जनभन्दा बढी साहित्यका पुस्तक लेखिसकेको मात्र दिदीको योग्यता र क्षमता हैन। कथा, कविता, उपन्यास लेखनमा मात्र नभएर दिदीले पार्टीको सांस्कृतिक फाँटमा रहेर गीत–संगीतको माध्यमबाट पनि सेवा गरेको ती नेता भनाउँदोहरूलाई कसो थाहा नहोला त ? पार्टीमा प्रतिमा दिदी, भिनाजु र भान्जाको ठूलो लगानी छ। एउटा पार्टीका लागि भिनाजु र भान्जाले आफ्नो जीवनको बलिदान दिएका छन्। कसका लागि ? हिजोका दिनमा फाटेको चप्पल लगाउने नेताहरूले आज प्राडो चढुन् भनेर हो ? जनतालाई देखाइएको सपनालाई रातारात कुल्चिएर जनताले गरेको बलिदानको बेदीमा आफ्नो शीशमहल ठड्याउन् भनेर हो ? देशको मुहार फेरिनेछ, जनताले सुखको सास फेर्न पाउनेछन् भनेर गरिएको संघर्ष, बलिदान र सहादत आजको मतिभ्रष्ट दिन देख्नकै लागि हो त ? जताततै लुट, भ्रष्टाचार र बेथिति मौलाएको छ. देश र जनताका लागि भनेर गरिएको युद्ध र आन्दोलन त अब एकादेशको कथाजस्तो लाग्न थालिसक्यो। हजारौं सहिदको अवदान सम्झिँदा पनि हुने पीडाको वर्णन गरेर साध्य छैन। उमेरमै श्रीमान र जवान छोरो गुमाएकी प्रतिमा दिदीलाई अझै पनि यिनै नेताप्रति भर छ. त्यही पार्टीप्रति विश्वास छ, जसले आफ्नो पार्टी लगेर विरोधी कित्तामा बुझाएर ऊ चाहिँ सत्ताको नजिकबाट आउने मुतको न्यानो तापेर कहीं केही नभएझैँ मुस्कुराइरहेको छ।

“कमरेड, पार्टी सरकारमा छ. मेरो र मेरो परिवारले यो पार्टीका लागि गरेको योगदानको पनि मूल्यांकन हुनुपर्यो। म सत्तरी वर्षको भइसकेँ, म पचास पचपन्नको मात्रै भए पनि यत्ति हत्ते गर्ने थिइन्। मेरो योगदान, योग्यता र क्षमता हुँदाहुँदै पनि, अब पनि मलाई पार्टीले सम्झिएन भने कहिले सम्झिने ? मैले सभासद, मन्त्री, राजदूत खोजेकी हैन। तर प्राज्ञ सदस्यका लागि चाहिँ यसपटक मलाई पार्टीले सम्झिनु पर्छ भन्ने हो, कमरेडको के विचार छ ? संस्कृति विभाग प्रमुख हरिरामसँग मैले स्पष्ट भनेकी छु, भाइ। उनले हुन्छ पनि भनेका छन्।’’ आज पो दिदीले कुरो खोल्नुभयो। तर मलाई पटक्कै विश्वास छैन, जनतालाई धोका दिने पार्टी र त्यो पार्टीको नेताले मेरी सोझी दिदीलाई न्याय गर्ला भनेर।

पार्टीमै नलागे पनि लाग्नेहरूको कुरा सुनेर र पत्रपत्रिका पढेर पनि कुन पार्टी कस्तो भन्ने कुरा सामान्य सचेत नागरिक सबैलाई थाहा छ। दिदी आवद्ध पार्टीले त असल कार्यकर्तालाई चिन्नै छाडिसक्यो भनेर पत्रपत्रिका र सामाजिक सञ्जालमा जताततै व्याप्त छ। यस्तो अवस्थामा कुन चाहिँ कमरेड हो त्यो दिदीलाई आश्वासन दिने, बरु उसले दिदीलाई आश्वासन नदिएको भए हुने थियो। किनकि त्यो आश्वासन पूरा हुन्छ जस्तो मलाई चाहिँ लाग्दैन। आशा पाएर निराश हुनुजत्तिको पीडा अर्को के हुनसक्छ र ?

व्यापारको काममा भएको चापले थुप्रै दिन भयो दिदीसँग बसेर कुरा पनि गर्न पाएको छैन। केही काम पर्यो भने दिदी पनि भदा संयमलाई भन्न रुचाउनु हुन्छ, बुहारी स्वस्तिकासँग पनि दिदीकी मिल्ती नै छ, तर उहाँको कुरा भदा संयमसँग नै बढी मिल्छ। दुईजना फुपू भदाभन्दा पनि आमाछोरा जस्ता छन्। हुन त प्रतिमा दिदीमा सबैसँग मिलेर बस्नसक्ने क्षमता र गुण पनि छ।

“दिदी, त्यै कामका लागि दौडिरहनु भएको हो ?’’ मेरो प्रश्नको जवाफमा हो भन्ने इशारा गर्दै दिदी संयमसँग बाइकमा घरबाट निस्किनुभयो। आँखामा पावरको सेतो चस्मा, सुतीको सारी र तानमा बुनेको एउटा बुट्टे झोला यही नै दिदीको परिचय हो। भिनाजु र भान्जा बितेपछि दिदीले रमाएर रंगीन लुगा लगाएको, गीत गुनगुनाएको वा रहर मानेर मिठो भोजन गरेको कम्तीमा मलाई थाहा छैन। उनको श्रद्धा, समर्पण र केन्द्रबिन्दु भन्नु नै पार्टी नै हो। खै, यतिको समर्पित कार्यकर्तालाई दिदीको पार्टीले कतिको न्याय गर्ने हो, हेर्न बाँकी नै छ।

तीनवटा एकेडेमी प्राज्ञविहीन भएर महिनौं खाली बसेको कुरा पत्रपत्रिकाले लेखेको लेख्यै छ। खै कहिले सदस्यहरूको पूर्ति गर्ने हो ? दिदीको हण्डर कहिले सकिने हो ? पार्टीका लागि जिउज्यान दिने कार्यकर्ताहरूलाई पाखा लगाएर पार्टीमा नवप्रवेशीहरूकै हालीमुहाली छ भन्ने सुन्छु। दुई तिहाइको सरकारले न त महँगी नियन्त्रण गर्न सकेको छ न त भ्रष्ट भनेर स्पष्ट चिनिएकाहरूलाई कारवाही नै गर्न सकेको छ। दुई तिहाइ बहुमतको सरकारबाट जनताले जुन अपेक्षा राखेका थिए, त्यो पूरा हुने लक्षण पटक्कै देखिएन। सत्तामा बस्नेहरूले गफ गरेजस्तो काम पनि गरेर देखाउन सकेको भए जनताको चित्त बुझ्थ्यो होला, तर उखानटुक्का भनेर मात्रका देश कसरी समृद्ध र जनता कसरी सुखी हुन् सक्छन् र ? कतै सरकार होली वाइनको रसमा नब्युँझिने गरी निदाएको त हैन ?

“दिदी, कति चिन्ता गर्नु हुन्छ ? भो, आशा नगर्नुस्, देश बनाउछौँ, जनतालाई सुखी बनाउछौँ भन्नेहरू आफैँ समृद्ध र सुखी हुने बाटोमा हिँडिसकेपछि अब पनि तिनले तपाईं हाम्रा लागि केही राम्रा काम गरिदेलान् भन्ने आशै नगर्नुस्, आशा नै नगरेपछि निराश हुनु पनि पर्दैन।’’ राजनीतिमा खासै चासो नराख्ने मेरी श्रीमती स्वस्तिकाले पनि आज खै किन हो दिदीलाई राम्रैसँग पो सम्झाइन्। मलाई अचम्म र खुसी सिस्नुको पोलाइमा झ्याम्मै लाग्यो।

“स्वस्तिका, हन आज त तिमीले पनि दिदीलाई सम्झाउन पो थाल्यौ त।’’ मैले ठट्टा गर्दै भनेँ।

“दिदीको धपेडी देखेर मलाई नै गाह्रो भैसक्यो, तेसैले दिदीलाई सम्झाकी नि।’’ प्रतिमा दिदीलाई चियाखाजा खान आग्रह गर्दै स्वस्तिकाले भनिन्।

“खै, अब दिदीको जे विचार. अनि दिदी यो प्राज्ञहरूको निर्णय कहिलेसम्म हुने हल्ला छ त ?’’

“आज भोलि नै हुन्छ भन्छन्।’’ यो विषयमा दिदीले अरू कुरा गर्न नचाहेको बुझेपछि हामी आ–आफ्नो कामतिर लाग्यौँ। ठुलो छोरा सूचक र बुहारी तृष्णा पनि दिदीको वरिपरि बसेर खै के कुरा गर्दै हाँसिरहेका थिए। म चामलको आफ्नै होलसेल पसलतिर लागेँ। खाना पनि म पसलमै खान्थेँ। पसलमा काम गर्ने केटोको हातमा स्वस्तिकाले नियमित रुपमा पठाउने गरेकोले खाना खानै भनेर म दिउँसो घरमा आइरहन्न।

“ए संयम, फुपुको सदस्य बन्ने कुरा टुंगो लाग्ने त आज हैन र ?’’ कलेजपछि सिधै पसलमा आइपुगेको संयमलाई मैले सोधेँ।
“खै बाबा, फुपूले केइ भन्नु भा’ छैन।’’

हामी बाउछोरा राति घर पुग्दा दिदी खाना खाएर सुतिसक्नुभएको रहेछ। हनहनी ज्वरो आएकोले स्वस्तिकाले जचाएर औषधि पनि खुवाई सकिछिन्। भोलि बिहान पो दिदीको सन्चो–बिसन्चो सोध्न उनको कोठामा पसेको त दिदी चिया पिउँदै हुनुहुँदो रहेछ।

“बर्बाद भैहाल्यो नि संगम। हाम्रो पूरै परिवारको लगानी र योगदानको पार्टीले रौँ बराबर पनि कदर गरेन।’’ दिदीले दिक्क मान्दै भन्नुभयो।

“किन दिदी, के भयो र ?’’

“प्रज्ञामा प्राज्ञहरूको नियुक्ति भयो तर तीनवटै प्रतिष्ठानमा मेरो कतै नाम छैन।’’

“यिनले यही गर्छन् भन्ने थाहा नै थियो नि दिदी, भो आशा नगर्नुस्, भागदौड नगर्नुस् भन्दा तपाईं मान्नुहुन्न, दिदी।’’

“कुरा सुन्न संगम, म भन्दा योग्यहरू आएको वा ल्याएको भए त ठिकै थियो तर म जस्तो जिन्दगीभरि कलम चलाएको, विचारको खेती गर्दै पार्टीमा अथक योगदान गरेको मान्छेलाई लत्याएर प्राज्ञ कस्तालाई बनाएका छन् भन्दा आफ्नो फरियाका साइनो पर्नेलाई, पार्टीको हण्डी खानेलाई र जिन्दगीभरि बोर्डिङ स्कुल चलाएर बस्नेहरू पो प्राज्ञ बनेर आएका छन्, गाइड लेख्नेहरू आएका छन्। अझ त्योभन्दा पनि विडम्बना त जिन्दगीमा केके लेखेको छ भनेर अत्तोपत्तो नभाको मान्छे समेत प्राज्ञ बनाएर ल्याइएछ, कोही तीन–तीन पटक प्राज्ञ भएर दोहोरिएका हैनन्, तेहोरिएका छन् भाइ, म प्राज्ञ नभएकोमा चिन्ता वा दुःख मनाउ छैन, तर यिनले मेरो परिवारको योगदानसमेत बिर्सिएछन, यसमा साह्रै दुःख लागेको छ।’’

दिदीलाई सम्झाएर म र स्वस्तिका आ–आफ्नो कामतिर लाग्यौँ। दुईचार दिन दिदी कतै पनि जानु भएन। पार्टीले थुप्रै साहित्यकार–कलाकारहरूलाई सम्मान गर्ने क्रममा प्रतिमा दिदीलाई पनि सम्मान गर्ने भयो, त्यही व्यहोराको चिट्ठी पनि आयो। तर दिदी जानु भएन। उहाँ घरैमा बसिरहनुभयो। त्यसको भोलिपल्ट दिदी एक्लै घरबाट निस्किनु भएछ एकैक्षणका लागि। दिदीलाई ननिको लाग्ला भनेर हामी कसैले पनि किन र कसो भनेर सोधेनौ बरु एक दिन दिदीले एउटा खाम दिएर संयमलाई कतै पठाउनुभयो। हामीले नसोधी दिदीले नै भन्नुभयो, “भाइबुहारी, तिमीहरूसँग लुकाउनुपर्ने केही कुरा छैन। हिजो म पार्टी कार्यालय गएकी थिएँ। मेरो कुरा सुन्ने बित्तिकै सांस्कृतिक फाँट हेर्नेले लाजै नमानी भने– तपाईंको कुरा मैले र पार्टीले बुझेका छौं तर पार्टीले कति जनालाई प्राज्ञ बनाएर सक्छ।

द्वन्द्व चर्केको बेलामा धेरैले पार्टीलाई सहयोग गरे, त्यसमा तपाईं पनि पर्नु होला। तर अहिले पार्टीले केही गर्न सक्दैन भनेपछि मैले पनि भनिदिएँ– ठीकै छ, पार्टीले मेरो लागि केही गर्न नसके पनि विचार, युद्ध र आन्दोलनसँगै देखेका परिवर्तन र मुक्तिका सबै सपनाहरूबाट म आज मुक्त भएँ, ती सबै कुराहरूसँग मेरो मोहभंग भयो। हेर भाइबुहारी हो, त्यसैले मैले पार्टीको साधारण सदस्यसमेत नरहनेगरी आज राजीनामा पठाएँ। अब अमुक पार्टीको म भोटर मात्रै रहन्छु। मैले मरेर लानुपर्ने केही छैन, मेरो श्रीमान, छोरो र मैले अँगालेको विचार त म मरेपछि पनि मसँगै जान्छ। ल अब तिमीहरू पनि जाओ र मलाई एक्लै रुन देउ, तिमीहरूको भिनाजु र भान्जा अर्थात् मेरो लोग्ने र मेरो एक्लो छोरो मारिँदा पनि मैले विचार र पार्टी भनेर रोकेको आँसुलाई आज म बगाइदिन्छु। तिमीहरू जाओ, मलाई निर्विघ्न रुन देओ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved