छोराको कविता, जवाफ आमाको : ‘यो मृत्यु-उपत्यका मेरो देश हो’

हामी जो त्यहाँ छैनौं, हामीले पनि सोच्नुपर्दछ– हामी कसरी विरोध गर्छौं ? मृत्युको यो उपत्यका हाम्रो देश हो। यो तिमी–हामी सबैको जिम्मेवारी हो, हामीले यस धर्तीको छातीमा बगेको रगतलाई धोऔं। यो रगतलाई हत्याराको रगतले मात्र पखाल्न सकिन्छ।

नेपालभ्युज

छोराको कविता, जवाफ आमाको : ‘यो मृत्यु-उपत्यका मेरो देश हो’

(भारतको आदिवासी/जनजाति समुदायका संघर्षशील जीवन–कथालाई बाँचुन्जेल (सन् १९२६–२०१६) केन्द्रमा राखेर लेख्ने महाश्वेता देवीका सुपुत्र थिए– प्रखर कवि नवारुण भट्टाचार्य। सन् १९७० को दशकमा पूर्वोत्तर भारतमा नक्सलवादी आन्दोलनले उत्कर्ष रुप लिएपछि भट्टाचार्यले एक शक्तिशाली कविता लेखे, ‘यह मृत्यु–उपत्यका नही है मेरा देश’। जुन कविता आजपर्यन्त चर्चित छ। त्यही कविताको एउटा शक्तिशाली हरफः

‘यो मृत्यु–उपत्यका होइन मेरो देश
यो जल्लादहरुको उल्लास–मञ्च होइन मेरो देश
यो विस्तीर्ण श्मशान घाट होइन मेरो देश
यो रक्तरञ्जीत कसाइघर होइन मेरो देश…’

सुपुत्र नवारुणले उक्त कविता लेखेको २७ वर्षपछि सन् १९९८ को आसपास लेखिका महाश्वेता देवीले प्रत्युत्तरमा एउटा लेख लेखिन्, ‘यह मृत्यु–उपत्यका मेरा देश है’। यो चर्चित लेख सन् १९९८ को ‘आमुख’ बाट अनुवाद गरिएको हो।)

पिपरा, बेलछी, बाँझी, अरवल, जहानावादका बारेमा म जति जान्दछु, त्यति नै स्वयं म आफू प्रताडित भएको महसुस हुन्छ। बिहारको पलामू जिल्लालाई आधार बनाएर जाति एवं वर्गीय उत्पीडन र शोषणबारे मैले कैयौं कथा लेखेको थिएँ। वास्तवमा, पलामू भारतको प्रतिनिधि ठाउँ हो, प्रतिनिधि हो। आज पनि भारतभरिका जमिनदारहरू आफ्ना (कु) कर्मका कारण ती कथाहरूलाई संगत एवं प्रासंगिक बनाइरहेका छन्। ती दिनहरूमा मैले ‘क्षुधा’, ‘गान्धी मैदान’, ‘पलामू, ‘दौलती’ र ‘टेराडक्सटाइल’ जस्ता कथा लेखेकी थिएँ, जसमा आदिवासीहरूप्रति मैले पूरै वैचारिकताका साथ आवाज दिएकी थिएँ। यसरी, ‘चोट्टी मुण्डा र उसका तीर’ जस्तो उपन्यास पनि लेखेँ, जसमा आदिवासी हरिजन र अन्य शोषित वर्ग मिली एक संगठित सेना बनाएर संघर्ष गरेका थिए। यी सबै कथाहरू आसन्न खतरालाई ध्यानमा राखेर लेखिएका हृदयस्पर्शी पुकार थियो।

जातीय एवं वर्गीय घृणाको जह्रा जमिनको स्वामित्वको हकसँग जोडिएको छ। यदि हामी यसको जह्रामा पुग्यौँ भने देख्दछौं कि, यस व्यवस्थालाई भारतमा अंग्रेजले शुरुआत गरेको थियो। यो सामन्ती भूमिव्यवस्था थियो, जो ऋग्वेदमा क्षेत्र एवं ‘खिला’/‘किला’ को रुपमा उल्लेख छ। यस तथाकथित महान् देशमा अंग्रेज निर्मित पंचाङ्गसँगै कैयौं अरू पंचाङ्ग पनि बेग्लाबेग्लै इलाकामा साथसाथै चलिरहेका छन्। यसरी नै हाम्रो यहाँको जमिनको पनि कैयौँ व्यवस्था एकैसाथ चलिरहेको छ। सामन्ती भूमिप्रथा हरेक ठाउँमा छन्। जमिनदारी प्रथाको नाम मात्र हटाइयो। पुराना जमिनदारको नयाँ सन्तान नयाँ सामन्ती व्यवस्थाको सहयोगमा गरिबहरूमाथि शोषण गरिरहेछन् र खेतीयोग्य जमिन उनीहरूबाट खोसेर त्यसमा कतै झिंगे माछाको खेती गरिरहेका छन्, कतै उद्योग चलाइरहेका छन्।

भारत जब स्वतन्त्र भयो, केवल केरला र पश्चिम बंगालमा केही भूमिसुधार भयो। भारतका अरू भूमिमा यो प्रथालाई यथावत रहन दिइयो। त्यही समय सबैका हदबन्दीभन्दा बढी जमिन खोसेर भूमिहीनहरूलाई वितरण गरिनुपथ्र्यो। जबसम्म सामन्ती व्यवस्था रहन्छ, तबसम्म सामन्ती मूल्यले भरिपूर्ण समाज पैदा भइरहन्छन्। त्यो समाज साना जाति, जनजातिका वर्गका विरुद्ध हुन्छ र महिला विरोधी तथा हरेक जनपक्षीय चिजको विरोधी हुन्छ। आज भारतका हरेक वैभवशाली नागरिक यही सामन्ती व्यवस्थाको उपज हो। यिनीहरूका लागि जमिनमाथिको स्वामित्व ‘जसको लाठी, उसको भैंसी’ भन्ने सिद्धान्तमा आधारित छ। सरकारले यस्ता व्यक्तिहरूलाई पूरै सुरक्षा दिन्छ। यस कारण गरिब व्यक्ति चाहे जुन जाति, समुदाय, वर्ग, राष्ट्रियता, धर्मका होउन, उसलाई जुत्ताको टुप्पोमा राख्ने गरिन्छ।

यो व्यवस्था पूरै आन्ध्र र सिंगो भारतमा फैलिएको छ। एक पटक अल्लूरी सीताराम राजुले विशाखापत्तनम राज एजेन्सीको विरोधमा विद्रोह गरेका थिए। पूर्व गोदावरी क्षेत्र आज पनि कुनै न कुनै राज–जमिनदार एजेन्सीको हातमा छन्। आन्ध्रको बाँकी सबै क्षेत्र पनि जमिनदारको खल्तीमा छन्। अत्यन्तै थोरै जमिन मात्र भूमिहीनलाई बाँडिएको छ। अब त्यहाँ पनि, बिल्कुलै स्वाभाविक कुरा हो, जनआन्दोलन चलिरहेको छ। ठीक, त्यसरी नै तेलंगाना आन्दोलन भएको थियो। किनभने तेलंगाना आन्दोलन पनि जनताको समस्याबाट उत्पत्ति भएको थियो। के यो आन्दोलन हिंस्रक थियो ? १९८० को दशकमा जनतामाथि भइरहेको अत्याचारले मेरो रगत उम्लिएको थियो र मैले ‘प्रमा’ नामक बंगाली पत्रिकामा लेखेकी थिएँ, ‘के हिंसा प्रासंगिक र जरुरी छ ?’ जब सत्ताधारी र सरकार स्वयं अहिंस्रक छैन भने फेरि जनता हिंस्रक किन हुँदैनन् ? जहानाबादमा रणबीर सेनालाई सिंगो देश, पूरै राज्यसत्ता र नीति–प्रणालीले साथ दिनुपर्छ, त्यसको पछाडि सम्पूर्ण सामन्तवादी भूमि व्यवस्था र अन्य भूमिहीन गाउँलेले ‘अहिंसा परमो धर्मः’ भनेर जप्नुपर्ने कुरा मलाई कहिल्यै पनि तर्कसंगत लागेन।

जुन दिन मैले पलामूको बारेमा लेखिरहेकी थिएँ, ती दिनहरूमा नक्सल आन्दोलन सुरु भइसकेको थिएन। परिवर्तनको पहिलो संकेत त्यतिबेला देखिन्थ्यो, जब यस इलाका रेलसँग जोडिएको र आफ्ना मालिकको अनाचार तथा दुराचारबाट बच्नका लागि मानिसहरू मजदुरका रुपमा पञ्जाव र अमृतसर गएका थिए। यसरी, ती बँधुवा मजदुरहरूले यो कुरा महसुस गरे– मालिक त हरेक ठाउँमा एउटै हुँदा रहेछन्, उनीहरू शोषक नै हुँदा रहेछन्।

त्यस अवधिमा त्यहाँ सक्रिय एउटा समूहले कोयल–कारो ड्याम परियोजनाको अवधिमा निस्कासन गरिएका आदिवासीहरूलाई उनीहरूलाई जमिनको साटो पैसा दिलाउन संघर्ष ग¥यो र सफल पनि भयो।

यसरी, सबभन्दा सकारात्मक घटना के रह्यो भने कृष्ण सिंह नामक एकजना नक्सली पलामूमा आए र विरोध आन्दोलनको जग बसाले। जब मनातूको मानव–हिंस्रक जगदीश्वर सिंह मोवारलाई स्थानीय भूमिहीन र साना जातिका मजदुरहरू मिलेर हत्या गरे र त्यसको जबरजस्त विरोध भयो। तर उनीहरूले पराजय स्वीकार गरेनन्।

कृषि प्रधान बिहारको बारेमा हामी जान्दछौं। त्यहाँ आरा र नालन्दामा के भइरहेको छ, कुन किसिमको अन्धकार छ, हामी सबै जान्दछौं। तर जंगलाच्छादित बिहारको बारेमा कसले जान्दछ ? त्यहाँ त कुनै विरोध आन्दोलन भएकै छैन। जहाँ कुनै बेला बिरसा मुण्डाले संघर्षको विगुल बजाएका थिए, त्यहाँ पूरै राँची–गुमला–खुँटी क्षेत्र आज सामन्तहरूको चंगुलमा छ।

जहानाबादको जवाफ त एक पवित्र साटोफेराइ हुनसक्छ। मेरो पुत्रले २७ वर्ष पहिला नक्सली हिंसाको बारेमा एउटा कविता लेखेका थिए, ‘यह मृत्यु–उपत्यका नही है मेरा देश’। आज म भन्न चाहन्छु, यो नै मेरो देश हो। देशमा आमूल भूमिसुधार सम्भव छैन र देशको नब्बे प्रतिशत जमिन जमिनदारको हातमा छन्। दलितहरूसँग त दस प्रतिशत मात्र जमिन छन्। तसर्थ, उपाय केवल यही हो, जमिनदारबाट जमिन खोस्ने र भूमिहीनहरूलाई बाँड्ने। म बिहारमा एकापसमा फुटेका नक्सलीलाई भन्न चाहन्छु, जमिनदारको भाडाका गुण्डा यथा ब्रह्र्षि सेना, लोरिक सेना, सनलाइट सेना सबै रणबीर सेनासँग मिलेका छन् भने तिमीहरू आफ्नो गुटबन्दीलाई बिर्सेर संकटको यस घडीमा किन एकजुट हुँदैनौ ?

तिमीहरू एक भएर देखाऊ। तिमीहरूले देख्नेछौ– तिमीहरू धेरै शक्तिशाली छौ। तिम्रो एकताले तिम्रा विरोधीहरू पहेंला हुन पुग्छन्। केवल मैले मात्र होइन, अरू मानिसहरूले पनि चाहिरहेका छन्, तिमीहरू एक बन, मिलेर अगाडि बढ र जबरदस्त प्रतिरोध आन्दोलन चलाऊ। नयाँ पुस्ताको भरोसा तिमीहरूसँगै छ। अरू दलहरूसँग होइन। साठी र सत्तरीको दशकीय उमेरमा पुगेको मजस्ता मानिसलाई यो कुराप्रति रुचि छैन कि, तिमीहरूमध्ये कुन सैद्धान्तिक रुपले सही छौ र कुन गलत ? तिमीहरूको आपसी फुट देखेर हामी उदास छौं, दुःखी छौं। आपसी फुटले कमजोरी उत्पन्न हुन्छ। सही बाटो कसले देखाउँछ, हामी जान्दैनौं।

जहानाबादमा यस्तो भएको थियो। के पश्चिम बंगालमा गौतम चक्रवर्ती छातीमा गोली लिएर १४ वर्षदेखि घुमिरहेका छैनन् ? केल्टी मुर्मु नामक आदिवासीको मेरुदण्डमा गोली लागेको छैन ? शायद बंगालमा सत्तरी र असीको यस आन्दोलनलाई दोस्रो पटक पुनर्जीवित गर्नेमा कसैले रुचि लिइरहेका छैनन्। तर बिहारमा रणबीर सेना भूपतिको तर्फबाट जनतालाई मारिरहेका छन्।

अतः हाम्रो माग हो, तिमीहरू पनि एक होऔ। महिला, वृद्ध र बच्चालाई होइन, हत्याराहरूलाई दण्ड देऊ।

हामी जो त्यहाँ छैनौं, हामीले पनि सोच्नुपर्दछ– हामी कसरी विरोध गर्छौं ? मृत्युको यो उपत्यका हाम्रो देश हो। यो तिमी–हामी सबैको जिम्मेवारी हो, हामीले यस धर्तीको छातीमा बगेको रगतलाई धोऔं। यो रगतलाई हत्याराको रगतले मात्र पखाल्न सकिन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved