व्यक्तिवृत्त

अहोरात्र गम्भीर संगीतकर्ममा व्यस्त

जागिरे जीवनको क्रममा केही वर्ष भने उनी संगीतकर्मबाट अलग्गिए। कृषि विकास बैंकको धनगढी, भैरहवा र काठमाडौं क्षेत्रको निर्देशकको जिम्मेवारीमा रहनुपरेको बेला चलचित्र संगीतबाट टाढिए। भन्छन्, ‘जिम्मेवारी बढी भएको हुँदा केही समय संगीत कर्म गर्न सकिनँ।’

अहोरात्र गम्भीर संगीतकर्ममा व्यस्त

‘लोक ‘फ्लेबर’मा शास्त्रीय संगीतको मिश्रण’ वरिष्ठ संगीत-सर्जक शक्तिबल्लभले संगीत-यात्राको थालनीदेखि नै पछ्याउँदै आए, यस्तो शैलीलाई। चाहे सिनेमाहरूमा संगीत दिँदा होस् वा आधुनिक वा राष्ट्रिय गीतहरूलाई सजधज गर्दा होस्। आजपर्यन्त पनि उनले पछ्याइरहेका छन्- यही शैली, समातिरहेका छन् यही बाटो।

लामो समय बैंकिङ क्षेत्रको अनुभव बटुलेका उनले करिब सात वर्षअघि जागिरबाट विश्राम लिए। जागिरे जीवनकै क्रममा समय उबारेर कालजयी संगीत सिर्जना गरेका उनले पछिल्लो समय त सिर्जनकर्ममा आफूलाई झनै तल्लीन तुल्याउन पाएका छन्। संगीतमा पूरै भिज्न समय पाएका उनले अचेल आफूलाई संगीतकर्ममै लीन तुल्याएका छन्।

प्रकृति र संगीत

६ दशकीय आरोहमा हिँडिरहेका उनलाई संगीततिर लाग्न उत्प्रेरित गर्ने तत्व थिए- प्रकृति। अझ त्यसमा पनि गौरीशंकर हिमशृंखला। २०१५ सालमा हिमाली जिल्ला दोलखाको सुन्दर पहाडी नगरी चरिकोटमा जन्मिएका उनी रोल्वालिङ हिमशृंखलाको सान गौरीशंकर हिमाललाई हेर्दै हुर्किए। भन्छन्, ‘प्रकृतिको प्रभाव मभित्र कतिसम्म परेको रहेछ भन्ने कुरा मैले संगीत सिर्जना गर्न थालेपछि थाहा पाएँ। हुन पनि म जन्मिएको प्रकृति, माटो र हावापानी मेरो सिर्जनामा प्रखर रुपमा आएका छन्।’

प्रकृतिसँग भिज्नुअघि घरायसी वातावरणले पनि उनलाई संगीत क्षेत्रमा प्रथम पाइला टेक्न प्रेरित गरिसकेको थियो। नेवार समुदायमा जन्मिएका उनको घरमा बाबु-बाजे भजनमा मस्त रहन्थे, साँझ-बिहान। बिहान-बेलुकी नै हारमोनियम र तवलाको घन्किँदो नादले उनको कलिलो मस्तिष्कलाई घनीभूत रुपमा स्पर्श गथ्र्यो।

अझ, काका नारायणभक्त श्रेष्ठ त लोकगायक नै। रेडियो नेपालमा समेत केही गीत गाएका थिए, काकाले। सम्झिन्छन्, ‘विद्यालयमा अध्ययन गर्दा काकाले केटा र मैले केटीको स्वरमा गीत गाउँथ्यौँ। गाउँघरमा हुने कार्यक्रमहरूमा पनि हामी मिलेर गीत गाउँथ्यौँ। बाहिरबाट चरिकोटमा आउने अतिथिहरूलाई पनि हामी सांस्कृतिक कार्यक्रममार्फत् मनोरञ्जन दिन्थ्यौँ।’

टेबुल-गायक

घरभित्र सांगीतिक वातावरण, गाउँघरका सांस्कृतिक समारोहमा सक्रिय सहभागिता। संगीतमा रसबस बसेकै थियो। २०३२ सालमा भीम पव्लिक हाई स्कुलबाट एसएलसी उत्तीर्ण गरेपछि उनले उच्च अध्ययनका निम्ति पाइला सोझ्याए- काठमाडौंतिर। तर, काठमाडौंमा उच्च अध्ययन गर्न आउनुपूर्व उनले जनकपुरस्थित रामसागर-रामस्वरुप बहुमुखी क्याम्पसमा भर्ना भई ६ महीनासम्म अध्ययन गरिसकेका थिए। पछि भने पाटन संयुक्त क्याम्पसमा भर्ना भएर पढ्न थाले।

सोख संगीतमा भए पनि पढे अर्थशास्त्र। भन्छन्, ‘म दिउँसो कलेज जान्थेँ र बिहान-बेलुकी संगीताभ्यास गर्थेँ।’ कलेजमा त उनी समकालीनहरूबीच ‘टेबुल-गायक’ का रुपमा स्थापित भइसकेका थिए। टेबुल ठटाएर गाउँदा साथीभाइले भरपूर मनोरञ्जन लिन्थे।

काठमाडौं बसाइकै क्रममा संगीत-प्रशिक्षक गोपालनाथ योगीसँग भ्वाइलिन सिक्न थाले उनले। सिकाइकै उपक्रमताका वस्ताद चेतनाथ शर्मासँग शास्त्रीय संगीत पनि सिक्न थाले। र, बिस्तारै शास्त्रीय संगीतको बाह्रखरीसमेत छिचोल्दै गए।

आधुनिक संगीतबारे ज्ञान भने वरिष्ठ संगीत-सर्जक अम्बर गुरुङबाट लिए। भन्छन्, ‘मैले एक वर्षसम्म नेपाल प्रज्ञा-प्रतिष्ठानमा उहाँसँग आधुनिक संगीतबारे शिक्षादीक्षा ग्रहण गरेँ।’

मोह त उनलाई गायनप्रति पनि थियो। शास्त्रीय संगीत सिक्दा सिकेका पनि गायन नै। चरिकोटमा छँदा पनि गाउँथे नै। गायनभन्दा संगीतकर्ममा नै आफूलाई मग्न तुल्याए। पचासको दशकतिर भने गजल गाएर गायनप्रतिको मोह पूरा गरे।

संगीत सिर्जनामा घोटिएर लाग्न उनलाई एउटा घटनाले प्रेरित तुल्याएको थियो। २०३६ सालमा त्रिचन्द्र कलेजमा संगीत प्रतियोगिता आयोजना गरिएको थियो। उनले तीन जना गायकका निम्ति संगीत दिए। कति रमाइलो ! आफूसिर्जित संगीतमा गाउने तीनै जनाले पाए, प्रथम, द्वितीय र तृतीय पुरस्कार। ती गायकहरू थिए- रवीन शर्मा, उमेश पाण्डे र पूर्णा थापा। भन्छन्, ‘मैले संगीत सिर्जनामा केही गर्न सक्ने रहेछु भन्ने आत्मविश्वास ममा त्यसपछि बढ्यो। त्यसपछि मैले आफूलाई संगीत सिर्जनामा नै व्यस्त राख्न थालेँ।’

बैंकमा जागिरे

त्यति बेला व्यावसायिक भइसकेको थिएन, संगीत जगत्। अधिकांशले सोखकै रुपमा गाउँथे, संगीत सिर्जना गर्थे। संगीतकर्मबाट जीवन चलाउन सहज थिएन। अर्थशास्त्रका विद्यार्थी उनी। २०४३ सालमा कृषि विकास बैंकमा शाखा अधिकृतको जागिर खुल्यो। उनले निवेदन दिए, परीक्षा दिए र उत्तीर्ण पनि भए। सुरुको तलब थियो- १४ सय ७० रुपियाँ।

जागिरे जीवनको क्रममा केही वर्ष भने उनी संगीतकर्मबाट अलग्गिए। कृषि विकास बैंकको धनगढी, भैरहवा र काठमाडौं क्षेत्रको निर्देशकको जिम्मेवारीमा रहनुपरेको बेला चलचित्र संगीतबाट टाढिए। भन्छन्, ‘जिम्मेवारी बढी भएको हुँदा केही समय संगीत कर्म गर्न सकिनँ।’

२०४५ सालमा भने उनको सिर्जनाको राम्रै कदर भयो। सो वर्ष वातावरण गीत प्रतियोगिता हुँदा उनको संगीत र रवीन शर्माको स्वरमा सजिएको गीतले प्रथम पुरस्कार पायो। पुरस्कारस्वरुप उनले १५ हजार नगदै पाए। भन्छन्, ‘त्यति बेला १५ हजार धेरै ठूलो रकम थियो।’

प्रथम पुरस्कार पाएको त्यही गीतले उनलाई थाईल्याण्ड घुम्ने अवसर पनि दिलायो। विभिन्न देशका प्रथम पुरस्कार पाउनेहरूलाई एसिया प्यासिफिकले आफ्नो सम्मेलनमा निम्त्याएको थियो। निर्णायकलाई मन परेपछि के भन्न सकिन्छ र ? उक्त प्रतियोगितामा गोपाल योञ्जनको संगीत भने दोस्रो भएको थियो।

सिने संगीतमा पाइला

उनले नेपाली सिनेमाहरूमा संगीत दिन थालेको तीन दशक कटिसक्यो। प्रतिभा चिन्न सिपालु सिने निर्देशक यादव खरेलले २०४७ सालताका एउटा फिल्म बनाउन लागेका रहेछन्- ‘आँधीबेरी’। मौलिक र अर्थपूर्ण रुझान भएका संगीत-सर्जकहरूको खोजी भइरहेकै बेला खरेलले उनलाई भेटे। ‘आँधीबेरी’ को चार थान गीतमा उनले कम्पोज गरे।

रेडियो नेपाल र रत्न रेकर्डिङ संस्थानमा गीतहरू रेकर्डिङ हुने भए पनि चलचित्रका गीत रेकर्डिङ गर्न भने मुम्बई नै पुग्नुपथ्र्यो। उनी जहाज चढेर मुम्बईमा गए र आठ दिनसम्म मुम्बईमा बसेर सबै गीतको रेकर्ड सिध्याए। निर्देशक खरेलले हातमा १० हजार राखिदिए। भन्छन्, ‘मैले संगीतकर्ममा लागेर पैसा कमाउन थालेको त्यही समयदेखि नै हो।’

अत्यधिक चल्यो, ‘उडूँ कि गुँडू म ए चरी सरर…।’ साधना सरगमको स्वरमा सजिएको यो गीतबाटै शक्तिबल्लभको संगीत-शक्तिको पहिचान खुल्यो। त्यसलगत्तै संगीत-संयोजक उत्तम सिंहले चलचित्र ‘चोखो माया’ को संगीत गर्ने जिम्मा पनि उनलाई नै दिए। भन्छन्, ‘मेरो पहिलो मुम्बई यात्रा सार्थक र प्रभावकारी रह्यो। म एक्सपोज हुन पाएँ।’

उनको संगीत-सिर्जनामा दम देखेपछि मुम्बईका केही संगीत-संयोजकले मुम्बईमै रहेर संगीतकर्म गर्न सुझाव नदिएका होइनन्। उनी मुम्बई-मोहमा अल्झिएनन्। भन्छन्, ‘मलाई मुम्बईमा रहेर संगीतमा संघर्ष गर्नुस् भनेका थिए। तर नेपालमा राम्रै जागिर थियो, घरपरिवार पनि हेर्नुपर्ने थियो। त्यही कारण मैले मुम्बईमा बस्ने विचारलाई त्याग्नुपर्‍यो।’

उनले संगीत गरेका धेरै सिनेमाका गीतले प्रसिद्धिको चुली टेकेका छन्। कतिपय सिनेमालाई त उनकै संगीतले व्यावसायिकत सफलता दिलाइदिए। चलचित्र ‘सिमाना’ को ‘उकाली ओराली गर्दै…’ होस् वा ‘चोखो माया’ को ‘सप्तरंगी फूलै फुल्यो…’ होस्, सदाबहार गुन्जिरहने गीतको लहरमा आबद्ध छन्। चलचित्र ‘सिमाना’ को गीतले त नेपाली संगीत जगत्मा व्यावसायिक रेकर्ड तोड्न सफल भएको थियो। उक्त चलचित्रको गीतको क्यासेट यति धेरै बिक्री भयो कि, म्युजिक नेपालले उनलाई लगातार दुई वर्षसम्म पुरस्कृत नै गर्‍यो।

मुम्बई गएर रेकर्ड नगरी चलचित्रका गीतहरू जम्दैनन् भन्ने सोचलाई भत्काउन उनको पनि भूमिका रह्यो। भन्छन्, ‘किन मुम्बईमा जाने ? हामीकहाँ पनि राम्रो प्रविधि आइसकेको छ, अब नेपालमै गीत रेकर्ड गर्नुपर्छ भन्ने मलाई लाग्यो र नेपालमै गीत रेकर्ड गर्न थाल्यौँ। आफ्नै खुट्टामा उभिन सक्ने यो हाम्रा लागि ठूलो उपलब्धि थियो।’

तर, मुम्बईमा हिन्दी चलचित्रका पाश्र्वगायक/गायिकाहरूसँग सहकार्य गर्दा उनले तिनीहरूमा केही गुण भने पाए। जस्तैः उनीहरू समयलाई महत्व दिँदा रहेछन्, पूरै अनुशासित भएर गीत गाउँदा रहेछन् र आफूले गाउने गीतको राम्रो अभ्यास गरेर प्रस्तुति दिँदा रहेछन्। कुमार सानुले गाउँदा होस् वा कविता कृष्णमूर्तिले। वा, साधना सरगम र पूर्णिमाले गाउँदा नै किन नहोस्। सबै अनुशासित। सबै प्रस्तुतिमा अब्बल। भन्छन्, ‘समय र अनुशासनलाई कसरी पालना गर्नुपर्छ भन्ने कुरा भारतीय स्वरसाधकहरूबाट हामीले सिक्न जरुरी छ।’

नेपालका प्रेमध्वज प्रधान, बच्चुकैलाश, योगेश वैद्य, प्रकाश श्रेष्ठ र दीपक खरेललगायतमा पनि अनुशासित गुण रहेको उनको ठम्याइ छ।

गुलाम अलीसँग सहकार्य

२०५५/०५६ सालतिरको कुरा हो। गजल-सम्राट गुलाम अली काठमाडौंमा आयोजित एउटा कार्यक्रममा लाइभ कन्सर्ट दिन आएका थिए। आयोजकसँग आर्थिक विषयमा कुरा नमिलेपछि अली कार्यक्रममा नगाउने मुडमा पुगेछन्। त्यही बेला एउटा स्टुडियोमा उनले अलीलाई भेटे। उनी आफ्नो संगीतमा गाउन अलीलाई राजी गराउन चाहन्थे। उनको कुरा सुनेपछि अलीले भने, ‘ल, गीत सुनाउनुस् न। चित्त बुझ्यो भने गाउँछु।’

त्यति बेला गीतकार शंकर कोइराला र उनी सँगै पुगेका थिए, अलीलाई भेट्न। उनले अलीलाई एउटा गीत सुनाए। उनको स्वर सुनेपछि अलीले सोधे, ‘तपाईँ आफैँ मीठो गाउनु हुँदो रहेछ। आफैँचाहिँ गाउनु हुन्न ?’

उनले संगीतमा नै बढी समय दिँदै आएको बताए। त्यही गीत अलीले दोस्रो पटक पनि सुनाउन लगाए। तेस्रो पटकचाहिँ उनले उर्दूमा टिप्न थाले र गाउन थाले। गीत थियो, ‘नहुँदामा एउटा पीर, भएपछि हजार पीर/माया भयो जिन्दगीमा वल्लो घाट न पल्लो तीर…।’

कति गज्जब ! अलीले गुन्गुनाउन थालेको एक घण्टाभित्रै उक्त गीत रेकर्ड भयो।

एउटा थकथक

उनलाई एउटा थकथक अझै पनि लागिरहन्छ। त्यो हो- स्वरसम्राट नारायणगोपालसँग सहकार्य गर्न नपाउनु।

नारायणगोपाल बिते, २०४७ को मंसिरमा। २०४५/०४६ सालतिर उनको सांगीतिक कदमले भर्खर चिनारी बनाउँदै थियो। त्यही समय उनले स्वरसम्राटको स्वरमा एउटा गीत रेकर्ड गर्न चाहे। उनको संगीतमा नारायणगोपालले एउटा गीतमा अभ्यास पनि गरिसकेका थिए। अचानक, बिरामी भए, स्वरसम्राट। गीत त्यतिकै रह्यो। रेकर्ड हुनै पाएन। बिरामीले गिजोलेपछि स्वरसम्राटले सदाका निम्ति बिदा लिए।

भन्छन्, ‘नारायण दाइलाई एउटा गीत गाउन लगाउने इच्छा थियो तर त्यो इच्छा अपुरै रह्यो।’

सिनेमा र आधुनिक संगीतभन्दा अलि पर हेर्ने हो भने उनले प्रशस्तै गजल, बालगीत र राष्ट्रिय गीतहरूमा पनि संगीत दिएका छन्। सम्भवतः नेपाली गजलहरूको पहिलो एलबम उनले नै तयार पारेका थिए। २०५० सालमा ‘गजल’ नामक एलबम निकाल्दा मोतिराम भट्टका रचनालाई पहिलो सूचीमा राखे। त्यसपछि रत्नशमशेर थापा, कालीप्रसाद रिजाल, ललिजन रावलका गजललाई पनि संगीतबद्ध गरे। भन्छन्, ‘उक्त एलबममा मेरो संगीत र गायन दुवै छ। नेपाली संगीतमा गजललाई पनि भित्र्याउनुपर्छ भनेर मैले शुरुआत गरेको थिएँ।’

भन्नै पर्दैन, संगीतबाट पनि हुन्छ समाजसेवा। मस्कुलर पीडित बालबालिकाको सहयोगार्थ उनले तीन ओटा बाल गीति-एलबम पनि निकाले। क्रमशः ‘सप्तरंगी’, ‘रंगीचंगी फूल’ र ‘ढुलुमुलु पुतली ढुलुमुलु’। यो एलबममा बालबालिकाका स्वर रहेका छन्। भन्छन्, ‘यी एलबम बेचेर आएको पैसा मस्कुलर रोगबाट पीडितहरूको संस्थामा जान्छ।’

उनको कथन छ, ‘मैले धेरै संगीत गरेँ तर धेरै सन्तुष्टि भने बालगीतहरू गर्दा नै पाएँ।’

बिहान ऊर्जावान्

तीसको मध्य दशकदेखि नै संगीत संसारमा डुबेका उनी सिर्जना भने प्रायः बिहानीको समयमा गर्छन्। भन्छन्, ‘बिहानको समय ऊर्जावान हुन्छ। त्यतिबेला दिमाग सफा र शून्य हुन्छ। मैले नब्बे प्रतिशत संगीत सिर्जना बिहानको समयमा नै गरेको छु।’

पछिल्लो समय हल्काफुल्का गीत-संगीतको बाढी आउन थालेकोमा उनी केही चिन्तित पनि छन्। भन्छन्, ‘हामी गम्भीर र सिर्जनात्मक संगीत सिर्जना गथ्र्यौँ तर अचेल भने हल्काफुल्का र सुनेर उडाउने संगीत बढी आउन थालेका छन् र त्यस्तै संगीत बढी चल्न थालेका छन्। यो दुःखद पक्ष हो।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved