चीनबाट ऋण नलिने अभिव्यक्तिपछि देउवालाई योगेश भट्टराईले सोधे चार प्रश्न

सरकारले समान विषयमा मुलुकैपिच्छे अलग अलग नीति लिन मिल्छ ? कि राष्ट्रिय हित, असंलग्न र पञ्चशील र पारस्पारिक लाभका आधारमा वैदेशिक सम्बन्ध कायम गर्ने होइन र ?

नेपालभ्युज

चीनबाट ऋण नलिने अभिव्यक्तिपछि देउवालाई योगेश भट्टराईले सोधे चार प्रश्न
फाइल तस्वीर

काठमाडौं। नेकपा एमालेका सचिव योगेश भट्टराईले चीनबाट अनुदान मात्रै लिने तर ऋण नलिने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइ सार्वजनिक भएपछि सामाजिक सञ्जालमार्फत चार प्रश्न सोधेका छन्।

नेपाल भ्रमणमा रहेका चिनियाँ नेतासँगको भेटमा देउवाले नेपालले चीनसँग विकासका लागि अनुदान लिने तर ऋण नलिने भनेर जानकारी गराएको सामाचार सार्वजनिक भएसँगै भट्टराईले देउवालाई चार प्रश्न सोधेका हुन्।

भट्टराईले सामाजिक सञ्जालमार्फत सोधेका छन्,

१. के अब नेपालले कुनै पनि मुलुक र अन्तर्रास्ट्रिय वित्तीय निकायबाट ऋण नलिने नीति लिएको हो ? हो भने यो नीति सरकारले हालै संसद्मा पेश गरेको नीति तथा कार्यक्रममा किन नलेखेको ? यो नीति मन्त्रिपरिषद्ले पास गरेको हो भने आजसम्म किन सार्वजनिक जानकारी गराइएन ?

२. २०७८ असार २९ गते प्रम भएपछि शेरबहादुर देउवाको गएको एक वर्षको कार्यकालमा कुनै मुलुक र निकायबाट ऋण लिएको छ कि छैन ? लिएको भए चीनसँग मात्र ऋण नलिने नीति हो यो सरकारको ?

३. आजसम्म नेपालले लिएको अन्तर्रास्ट्रिय ऋणको अवस्था अब के हुन्छ ? ब्याज तिर्नु पर्दैन कि ? सबै अनुदानमा परिणत हुन्छन् कि ? सरकारले स्पष्ट पार्नु पर्दछ।

४. सरकारले समान विषयमा मुलुकैपिच्छे अलग अलग नीति लिन मिल्छ ? कि राष्ट्रिय हित, असंलग्न र पञ्चशील र पारस्पारिक लाभका आधारमा वैदेशिक सम्बन्ध कायम गर्ने होइन र ?

‘कसैसँग ऋण नलिएर देश बनाउने कुरा राम्रो हो तर के आज हामी त्यो अवस्थामा छौँ ? भावना र आग्रहमा होइन यथार्थको जमिनमा टेकौँ,’ भट्टराईले थप लेखेका छन्, ‘नेपालले कुनै पनि शक्ति राष्ट्रको छाता ओड्दैन र भूराजनीतिक द्वन्द्वबाट टाढै रहन्छ। यसैमा हाम्रो स्वतन्त्र अस्तित्व रहन्छ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved