नेपालमा पनि फैलिन थाल्यो नैरोबी फ्लाई, कीराविज्ञ खोज्दै रोग नियन्त्रण महाशाखा

नेपालमा पनि फैलिन थाल्यो नैरोबी फ्लाई, कीराविज्ञ खोज्दै रोग नियन्त्रण महाशाखा

काठमाडौं। तराईका केही जिल्लामा नैरोबी फ्लाई नामक कीराका कारण छालामा समस्या देखिन थालेपछि स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कीराविज्ञ खोज्न थालेको छ।

नैरोबी फ्लाई कीराको सम्कर्पमा आएका व्यक्तिहरूमा यस्ता समस्या बढ्दै गइरहेकाले छानबिन टोली बनाउन लागेको महाशाखा शाखा प्रमुख डा.गोकर्ण दाहालले जानकारी दिए। भने, “त्यही कीराकै कारण मान्छेहरू बिरामी भइरहका हुन् वा के हो भनेर थाहा पाउन कीराको विषयमा अध्ययन गर्ने व्यक्तिहरूलाई हामी खोजिरहेका छौं।”

नेपालमा कीराको अध्ययन गर्ने कमै देखिएकाले उनीहरूलाई महाशाखाले खोजिरहेको र हिजो र आज सार्वजनिक बिदा भएकाले पनि केही ढिलाइ भइरहेको उनले बताए।

“भोलि वा पर्सिसम्ममा कीरा विज्ञ र छाला रोग विशेषज्ञलाई राखेर यस विषयामा छलफल गरेर केही निचोड निकाल्ने वा फिल्डमै गएर नैरोबी कीरा वा जे भन्ने गरिएको छ त्यो कीराबारे एकचोटि अध्ययन गर्ने कि भनेर पनि प्लान बनाइएको छ। त्यसपछि मात्र इडीसीडीले डिटेलमा के हो भनेर भन्न सक्छ”, उनले जानकारी दिए।

दुई दिन पहिला कञ्चनपुरको भीमदत्त नगरपालिका र काठमाडौंको सिभिल अस्पतालमा दुई जनामा नैरोबी फ्लाई कीराको असर देखिएको खबर प्राप्त भएको महाशाखाका शाखा प्रमुख डा.दाहालले बताए।

यद्यपि महाशाखामा भने अहिलेसम्म नैरोबी फ्लाई नामक कीराका कारण मानिसहरू बिरामी परे भनेर कुनै पनि अपडेट नभएको उनको भनाइ छ। त्यस्तै झापा र पूर्वी नेपालतिर यसले धेरैलाई असर गरेको भन्ने खबर प्राप्त भइरहेको उनको भनाइ छ।

सामाजिक सञ्जालतिर पनि यसको उत्तिकै चर्चा भइरहेका कारण महाशाखाले कीरा विज्ञहरूको टोली गठन गरेर अध्ययन गर्न लागेको डा.दाहालले बताए।

नैरोबी फ्लाईको विषयमा मिडियामा कोट दिएका विशेषज्ञसँग महाशाखाले छलफल गर्दा उनीहरूले हाल अस्पतालमा बिरामीले जुन प्रवृत्तिका लक्षण लिएर आएका छन् त्यस्ता लक्षणहरू गत वर्षतिर पनि लिएर आउने गरेको उनले बताए।

विशेषज्ञहरूले नैरोबी फ्लाईका कारण बिरामी भएर आएपछि त्यस रोगलाई ‘पेडेरस डर्माटाइटिस’ नामकरण गरिएको डा. दाहालले बताए। “अहिले सामाजिक सञ्जालमा छाला स-साना फोकाहरू देखिरहेका छन् त्यस्तो समस्या हुनुमा धेरै कारणहरू छन्। तीमध्ये एउटा नैरोबी फ्लाई पनि हो,” उनले भने।

नैरोबी फ्लाई कीराले त्यस्तो गम्भीर खालको असर नपार्ने उनको तर्क छ। कुनै पनि व्यक्ति कीराको सीधै सम्पर्कमा गएपछि मात्र असर पार्ने भएकाले यसले समुदायलाई नै असर नगर्ने समेत उनले बताए।

त्यस्तै अहिलेसम्म कीराका कारण बिरामी भएकालाई पनि सामान्य खालको समस्या मात्र नदेखिएको उनले जानकारी दिए।

अहिलेसम्म कीराका कारण बिरामी पारेका भएकाहरूमा छालमा एलर्जी देखिने, रातो हुने, चिलाउने, फोकाहरू आउने जस्ता मात्र देखिएको तर योभन्दा जटिल समस्या भने नदेखिएको उनले जानकारी दिए।

के हो नैरोबी फ्लाइ?

सन् १९९८ मा असामान्य रुपमा भारी वर्षा भएका कारण केन्या र अफ्रिकामा प्रकोप भएको थियो। यस क्षेत्रमा ठूलो संख्यामा कीरा आएपछि प्रकोप भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एपीको रिपोर्टमा उल्लेख गरिएको छ।

हालसम्म यसको संक्रमण अफ्रिकाबाहिर जापान, इजरायल, पाराग्वे र भारतमा पनि देखिएको छ। यो कीरा सुन्तला र कालो रङको हुन्छ। यो उच्च वर्षा हुने क्षेत्रमा बढी फैलिन्छ।

संक्रमणबाट कसरी बच्ने ?

“यो एक विषालु एसिड भएको कीरा भएकाले आफू बसेको ठाउँमा विषाक्त तरल पदार्थ (एसिड) छाड्दै जाने भएकाले कीरा बसेको ठाउँमा गएपछि साबुनपानीले राम्रोसँग हात धुनुपर्छ र बसेको ठाउँलाई राम्रोसँग नधोइन्जेल शरीरको अन्य कुनै पनि भाग छुनु हुँदैन।

नैरोबी फ्लाईबाट बच्न ओछ्यानमा जाली लगाएर सुत्ने, पूरा बाहुला भएको लुगा लगाउने र रातको समयमा बत्तीमुनि बस्नु हुँदैन।

कीरा बसेको ठाउँलाई साबुन पानीले राम्रोसँग धुनुपर्छ। कीरा बसेको ठाउँबाट उडेर गए पनि त्यसले विषाक्त तरल पदार्थ (एसिड) छोडेको हुन सक्छ। त्यसैले हात तथा उक्त ठाउँलाई राम्रोसँग नधुन्जे्लसम्म शरीरको कुनै पनि अन्य भाग छुनु हुदैन। अझ विशेष गरी आँखा छुनु हुँदैन।

यो पनि पढ्नुहोस्

भारतभर फैलिन थाल्यो दृष्टिविहीनसम्म बनाउने खतरनाक कीरो


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved