स्रष्टा पदयात्रा : घुमफिरसँगै सिर्जना

केही दशकयता एउटा विषय उठ्दै पनि आएको छ, ‘अब साहित्य र पर्यटनलाई जोडेर अघि बढाइनुपर्छ।’ अर्थात्, साहित्य लेखनमा पर्यटन र पर्यटनमार्फत् साहित्यको विकास।

स्रष्टा पदयात्रा : घुमफिरसँगै सिर्जना

हिँड्दाका फाइदा र उपलब्धि के-के होलान् ? शारीरिक एवं मानसिक अभ्यास, प्रकृतिसँग निकटताका साथै दृश्यावलोकन, जनजीवनसँग गहिरो साक्षात्कार। अनेक छन्, फाइदा। हिँडाइको फाइदा बुझेका केही स्रष्टाले विगत केही वर्षयता पदयात्रालाई सिर्जनशील यात्रासँग जोड्दै आएका छन्, एउटा अभियानकै रुपमा चलाउँदै आएका छन्।

कहिले उकालीका घुम्तीहरूमा सुस्ताउँदै, कहिले देउरालीको चिसो हावा पिउँदै त कहिले निधारबाट तपतप पसिना बगाउँदै। अधबैँसेको हातमा लठ्ठी र युवाहरू भने फुक्काफाल। बितेको सात वर्षयता काठमाडौं उपत्यकाभित्रका केही स्रष्टाले ‘स्रष्टा पदयात्रा’लाई निरन्तरता दिँदै आएका छन्, लेखकीय ऊर्जाका रुपमा ग्रहण गर्दै आएका छन्। एक दिनभित्र घुमिभ्याइने उपत्यका वरपर काँठ क्षेत्रका सुन्दर बस्ती, डाँडा-पाखा र अझ चार भञ्ज्याङभन्दा परका मार्खु, चित्लाङसम्म पुगेर आनन्दमात्र लिँदै आएका छैनन्, जनजीवनसँग जोडिएर त्यसलाई लेखन-अध्ययनको धरातलमा उतार्दैसमेत आएका छन् उनीहरूले।

गिरी भन्छन्, ‘हामी स्रष्टाबीच पदयात्राको योजना २०७२ सालमा भूकम्प आउनुभन्दा अगाडि नै बनेको थियो। तर योजनाअनुरुप तत्काल पदयात्रा गर्न सकिएन। त्यसको करीब डेढ वर्षपछि मात्रै हामीले शुरु गर्‍यौँ।’

पहिलो पटक पदयात्राको साइत जुरेको थियो, ३ मंसीर २०७३। त्यो बेला लामो दूरीको पदयात्रा थिएन। ललितपुरको उत्तर-पूर्वी भेग लामाटारदेखि लाकुरीभञ्ज्याङसम्म। तत्कालीन समय केवल सात जना पदयात्रीले पदयात्राको जग खन्ने काम गरेका थिए। जसमा सांस्कृतिक अन्वेषक शीतल गिरी, परराष्ट्र सेवामा लामो समय बिताएर अवकाश जीवन बिताइरहेका जय छाङ्छा राई, जसध्वज गुरुङ, डिल्लीराज अर्याल, डा. भक्त राई, प्रवीण पुमा र डिल्लीरमण सुवेदी थिए।

गिरी भन्छन्, ‘हामी स्रष्टाबीच पदयात्राको योजना २०७२ सालमा भूकम्प आउनुभन्दा अगाडि नै बनेको थियो। तर योजनाअनुरुप तत्काल पदयात्रा गर्न सकिएन। त्यसको करीब डेढ वर्षपछि मात्रै हामीले शुरु गर्‍यौँ।’

स्वच्छ वातावरणको चाहना

काठमाडौंको निस्सासिँदो जीवन। सडकमा जहिल्यै जाम। त्यतिकै धुवाँ, धूलो। अत्यन्तै गुम्सिँदो वातावरण। तर, केही घण्टा मात्रैको दूरी छिचोलेर सातामा एक दिन मात्रै भए पनि उपत्यका वरपरका बस्तीहरूका साथै सदवै हरियालीभित्र प्रफुल्ल मुस्कान छरिरहने चुलीहरूमा विचरण गर्ने हो भने जोकोहीले आफूलाई स्वस्थ र ताजगी अनुभूत गर्छन्। मन-मस्तिष्कमा नयाँ ऊर्जा भरिन्छन्।

छाङ्छाले काठमाडौं उपत्यका वरपरका डाँडाहरूलाई यस्तो संज्ञा दिएका छन्, ‘काठमाडौं उपत्यकालाई चिरकालदेखि सुरक्षा गर्दै स्वयंसेवकका रुपमा खडा भइरहेका चुलीहरू।’

‘स्रष्टा पदयात्रा’ मुहूर्त गर्नेहरूमा यस्तै सोच आएको थियो, ‘काठमाडौंको धुवाँ, धूलोबाट एक दिनका लागि भए पनि उन्मुक्ति पाउन उपत्यका वरपरकै थलोहरूमा घुम्नु पर्दछ। ती थलोहरूका जनजीवनलाई बुझ्नु पर्दछ।’

घुमफिरले स्वच्छ वातावरणसँग संलाप गर्ने अवसर मात्रै जुराइदिएन, जुन स्रष्टालाई जुन क्षेत्र÷विधाप्रति रुचि र लगाव छ, त्यसको अध्ययन, अनुसन्धान र लेखनमा पनि थप टेवा र स्रोत जुटाइदियो। जस्तै, सांस्कृतिक अध्ययन गर्ने चाहनेहरूले संस्कृतिमाथि, ऐतिहासिक र पुरातात्विक क्षेत्रको अध्ययन गर्न चाहनहरूले सोही क्षेत्रका र नियात्रा लेख्नेहरूले नियात्रा लेखेर आफ्नो घुमाइलाई सार्थक तुल्याए। जारी छ यो क्रम।

नियात्रा-सर्जक जय छाङ्छाले त उपत्यका वरपरका डाँडा-काँडाहरू घुम्दाका अनुभूतिलाई समेटेर किताबै लेखे- ‘पैदलै काठमाडौंका चुलीहरू’। उनले उपत्यका वरपरका डाँडाहरूमा वर्षौंदेखि बसोवास गर्दै आएका बासिन्दाहरूको जीवनशैलीदेखि ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक महत्वका स्थलका साथै प्रकृतिको अनुपम छटाबारे डुबुल्की मारेरै लेखे। भन्न सकिन्छ, स्रष्टा पदयात्राको शुरुआत नभएको भए छाङ्छाबाट यति गहन नियात्रा कृति आउन मुस्किलै पर्थ्यो।

छाङ्छाले काठमाडौं उपत्यका वरपरका डाँडाहरूलाई यस्तो संज्ञा दिएका छन्, ‘काठमाडौं उपत्यकालाई चिरकालदेखि सुरक्षा गर्दै स्वयंसेवकका रुपमा खडा भइरहेका चुलीहरू’। अझ उनले त पैदल यात्रामा रमाउनेहरूलाई त यस्तो सुझाव पनि दिएका छन्-

१. पदयात्रा गर्न सजिलो हुने किसिमका पहिरन लगाउने, जस्तो कि टेक्सुट, क्यान्भास जुत्ता, सनग्लास, टोप आदि।
२. पैदलयात्राका समयमा खाने खाजा तथा पिउने पानी स्वयम्ले लिई आउने।
३. औषधि सेवन गर्नु पर्ने भए सो पनि साथमा बोक्ने।
४. सुरक्षा हेतु सानो हतियार खुकुरी आदि साथमा लिई पैदलयात्रामा जुट्ने।
५. सहयात्री छेलिन वा ओझेल पर्दा आवश्यक पर्ने सिटी वा सम्भव भएमा दुरवीन आदि बोक्ने।

यस्तै-यस्तै १५ थान टिप्स दिएका छन् उनले।

‘स्रष्टा पदयात्राः डाँडाकाँडा घुम्ने रहर’ अर्को कृति पनि जन्मियो, पदयात्राकै क्रममा। जसमा, शीतल गिरी, डिल्लीराज अर्याल, नारायण तिवारी, जसध्वज गुरुङ, धनप्रसाद सुवेदी ‘श्रमिक’, शशी थापा पण्डित, डिल्लीरमण सुवेदी, मन्दिरा मधुश्री, लीलाराज दाहाल, श्रीओम श्रेष्ठ ‘रोदन’, हरि गौतम, श्यामबहादुर भावुक, श्रीराम पौडेल, पुरण राई, धु्रव घिमिरेलगायत स्रष्टाका यात्रा-अनुभूतिले स्थान पाएका छन्।

गिरी भन्छन्, ‘घुम्दाखेरि हामी ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक महत्वका स्थानहरूमा पनि पुग्छौँ र त्यसको अध्ययन पनि गर्छौँ। एक पटक खोपासीमा जाँदा हामीले सांस्कृतिक महत्वका चिजहरूबारे अध्ययनसमेत गरेका थियौँ।’

पर्यटन क्षेत्रको विकासका निम्ति विभिन्न क्षेत्र र पर्यटनलाई जोड्ने कार्य हुँदै आएको छ। केही दशकयता एउटा विषय उठ्दै पनि आएको छ, ‘अब साहित्य र पर्यटनलाई जोडेर अघि बढाइनुपर्छ।’

साहित्य र पर्यटन जोड्ने आधार

पछिल्लो समय पर्यटन क्षेत्र नेपाली अर्थतन्त्रलाई गतिशील तुल्याउने एउटा दह्रो स्तम्भको रुपमा विकसित हुँदै गएको छ। भलै, २०७२ साल वैशाख १२ गतेको महाभूकम्प र पछिल्लो समय विश्वव्यापी रुपमा झाँगिएको कोरोना महामारीले नेपाली पर्यटन क्षेत्रलाई नराम्रोसित धक्का पुर्‍यायो। यी दुई प्राकृतिक व्याधीले सिंगो सामाजिक जीवनका साथै पर्यटन क्षेत्रलाई पनि थङ्थिलो तुल्याउनु स्वाभाविकै बन्यो। अब भने कोरोनाको त्रासबाट सिंगो विश्व मुक्त हुँदै गइरहेको हुँदा नेपाली पर्यटन क्षेत्र पनि तंग्रिन थाल्दै छ।

पर्यटन क्षेत्रको विकासका निम्ति विभिन्न क्षेत्र र पर्यटनलाई जोड्ने कार्य हुँदै आएको छ। केही दशकयता एउटा विषय उठ्दै पनि आएको छ, ‘अब साहित्य र पर्यटनलाई जोडेर अघि बढाइनुपर्छ।’ अर्थात्, साहित्य लेखनमा पर्यटन र पर्यटनमार्फत् साहित्यको विकास। निश्चय नै देशको कुनाकाप्चासम्म हुने साहित्य महोत्सवले पर्यटन क्षेत्रको विकासमा उल्लेख्य टेवा पुर्‍याउँदै आएकोमा दुईमत देखिँदैन।

‘स्रष्टा पदयात्रा’ले पनि त्यही भूमिका निर्वाह गरिरहेको गिरीको कथन छ, ‘हाम्रो पदयात्राले साहित्य र पर्यटनलाई जोड्ने काम गरिरहेको छ। हामी जुन ठाउँमा जान्छौँ, त्यहाँका स्थानीयहरूसँग अन्तक्रिया हुन्छ, उनीहरूका कुरा सुन्छौँ र त्यसलाई हामी लेखनमा उतार्छौँ। अझ कतिपय ठाउँका स्थानीय उत्पादनहरूबारे पनि हामी लेख्छौँ र त्यसले स्थानीय उत्पादनको प्रबर्द्धनमा सहयोगसमेत पुग्ने गरेको छ।’

आउँदो साउन महीनाको पहिलो शनिबार हुने पदयात्रा-मार्ग तोकिएको छ- साँखुदेखि नगरकोटसम्म। यो ६० औं शृंखला हो। यद्यपि, कोरोना महामारीले असर नपुर्‍याएको भए शृंखला अझै लामो हुन्थ्यो होला। करीब दुई वर्ष त ठप्पै रह्यो।

घुमफिरपछि लेखिएका साहित्यले जनजीवनको प्रतिनिधित्व गर्ने बुझाइ छ, गिरीको। भन्छन्, ‘कोठामा बसेर लेख्दा शब्दहरू खेलाउँदै लेख्न त सकिएला तर घुमफिर गरेर स्थानीय ठाउँमा पुगेर लेखिएका साहित्य यथार्थपरक हुन्छ।’

स्रष्टाहरूको बढ्दो रुचि

‘स्रष्टा पदयात्रा’ को एउटा नियमित तालिका नै बनेको छ- हरेक महीनाको पहिलो शनिबार घुम्ने। पदयात्राका निम्ति बार त तोक्नै परेन। आउँदो महीनाको पहिलो शनिबार कहाँ घुम्ने भन्ने विषयमा चाहिँ स्रष्टाहरूबीच सल्लाह भएर पदयात्रा-मार्ग तय हुँदै आएको छ। के झरी, के तुसारा। बाह्रै महीना स्रष्टाहरू पदयात्रामा निस्किन जुर्मुराइ हाल्छन्।

आउँदो साउन महीनाको पहिलो शनिबार हुने पदयात्रा-मार्ग तोकिएको छ- साँखुदेखि नगरकोटसम्म। यो ६० औं शृंखला हो। यद्यपि, कोरोना महामारीले असर नपुर्‍याएको भए शृंखला अझै लामो हुन्थ्यो होला। करीब दुई वर्ष त ठप्पै रह्यो।

कहिले ७-८ घण्टाको पदयात्रा हुन्छ भने कहिले दिनभरि नै। बिहानदेखि बेलुकीसम्मै। कतै बास बस्नु नपर्ने गरी पदयात्राको मार्ग तय गर्दै आएका छन्, स्रष्टाहरूले।

उपत्यका वरपर मात्र नभई उपत्यका बाहिर पनि पदयात्रा हुँदै आएका छन्। कुनै निश्चित ठाउँमा काठमाडौंबाट सवारी साधनमा पुग्ने र त्यस भेगमा पुगेपछि पदयात्रा गर्ने। अहिलेसम्म ओखलढुंगाको पोकली झरना क्षेत्र, तनहुँको व्यास नगरपालिकाका बस्तीहरू, चितवनको मौलाकालिका, कर्णालीको चिसापानी र मकवानपुरको इन्द्रसरोवरमा स्रष्टाहरूले पदयात्रा गरिसकेका छन्। गिरी भन्छन्, ‘आगामी असोज महीनामा भने हामी पाल्पाको रामपुर गएर पदयात्रा गर्ने तयारीमा छौँ।’

पदयात्रामा निस्किँदाको खर्चबर्च नि ? गिरी भन्छन्, ‘पदयात्रामा हिँड्ने स्रष्टाहरूले खर्च भने आ-आफैँले बेहोर्दै आएका छन्। यो हाम्रो रुचि र सोखले थालिएको हुँदा अरूले खर्च गर्ने कुरा पनि भएन। कहिलेकाहीँ भने स्थानीय संघसंस्थाले खाने र बस्ने व्यवस्था गरेर सहयोग गर्दै आएका छन्।’

दिनमा कति दूरी छिचोल्ने भन्ने टुंगो चाहिँ हुँदैन। कहिले ७-८ घण्टाको पदयात्रा हुन्छ भने कहिले दिनभरि नै। बिहानदेखि बेलुकीसम्मै। कतै बास बस्नु नपर्ने गरी पदयात्राको मार्ग तय गर्दै आएका छन्, स्रष्टाहरूले।

शुरुमा उत्साही सात जना स्रष्टाले बसालेको यो थितिमा अहिले नियमित रुपमा १९ जनाले सहभागिता जनाइरहेका छन्। पूरै उत्साहपूर्वक। कुनै महीना यदाकदा कोही छुटे पनि सबैजसोले निरन्तरता दिइरहेका छन्। कहिलेकाहीँ त २६-२७ जनासम्मै हुन्छन्। कुनै जुलुसजस्तै। संख्या बढ्दै गइरहेको देख्दा स्रष्टाहरूमा पदयात्राप्रति रुचि बढ्दै गएको संकेत दिन्छ।

उकाली-ओराली, तरेली परेका फाँट, बस्ती र जंगलको निर्जन बाटाहुँदै एक दिनभरि सँगसँगै हिँड्दा स्रष्टाहरूले लेखनमा पनि फाइदा उठाउँदै आएका छन्। कसले के लेखिरहेका छन्, कसले के लेखिरहेका छन्, आपसी छलफल र संवाद हुन्छ। यस्ता संवादले लेखनबारे ताजा जानकारी प्राप्त हुनुका साथै ऊर्जासमेत मिल्छ। उद्देश्य घुमफिर होला तर लेखकीय ऊर्जा पनि सँगसँगै मिलिरहेको हुन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved