बजेटमा दुई/चार घरानाको मात्रै अनुहार देखिन्छ : ओली

उनले बजेट निर्माणमा विचौलियाको प्रवेशबारे छानबिन गर्नका लागि संसदीय समिति बनाउन पनि माग गरेका छन्।

नेपालभ्युज

बजेटमा दुई/चार घरानाको मात्रै अनुहार देखिन्छ : ओली
तस्वीर: रासस

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बजेट निश्चित घरानालाई फाइदा हुनेगरी बनाइएको आरोप लगाएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा विशेष सम्बोधन गर्दै उनले बजेट दुई चार घरानाको जस्तो मात्रै भएको बताएका हुन्।

उनले भने, ‘‘यो त दुई चार घरानाको बजेट भयो, यसमा घरानाको अनुहार देखिन्छ। यसरी अनुहार हेरेर निश्चित घरानालाई फाइदा हुने गरी अरुलाई फाइदा नहुने गरी बजेट किन बनाइयो ?’’

उनले तिनै घरानालाई फाइदा पुग्नेगरी करको दर निर्धारण गरिएको समेत आरोप लगाए।

“एउटै घरानालाई असारमा कर छुट दिइन्छ, त्यही घरानाको मुख हेरेर अन्त:शुल्क तोकिन्छ,” ओलीले भने, “बजेट बनाउँदा त केही स्ट्र्याटेजी, उत्पादन बढाउने, राष्ट्रिय आत्मनिर्भरताको स्ट्र्याटेजी, आयात घटाउने निर्यात बढाउने स्ट्र्याटेजी आदिका आधारमा काम हुन्छ । तर, यहाँ त करका दरहरू व्यक्ति वा व्यापारिक घरानाको अनुहार हेरेर राखिएको छ ।”

उनले असम्बन्धित व्यक्ति पनि बजेट निर्माणमा प्रवेश गरेको प्रसंग उठाउँदै सीसीटीभी फुटेज सार्वजनिक गर्न र बजेट निर्माणमा विचौलियाको प्रवेशबारे छानबिन गर्न संसदीय समिति बनाउन पनि माग गरेका छन्।

बजेट निर्माणजस्तो गम्भीर विषयमा अनधीकृत मान्छे राखेर काम गरेको विषयमा प्रश्न गर्दा अर्थमन्त्रीले दम्भ देखाएको ओलीले बताए। “सीसीटीभी भिडियो माग्दा दिँइदैन, को हो एमाले भनिएको छ, आई एम द स्टेटको शैलीमा प्रस्तुत भएको अवस्था छ,” ओलीले भने, “एमाले को हो, यो संसद्‌ चिन्छ कि चिन्दैन, यो संसद एमालेले चलाइरहेको होइन, महँगी, बेरोजगारी र बेथितिविरुद्ध कसले बोलेको छ ?”

अर्थ मन्त्रालयले आइतबार मात्रै १२ दिनमै बजेट निर्माणमा असम्बन्धित व्यक्ति प्रवेश गरेको भनिएको दिन १४ जेठको सीसीटीभी फुटेज डिलिट भएको जनाएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved