नयाँ दिल्ली। भारतको सबैभन्दा ठूलो सिमेन्ट उत्पादक कम्पनी अल्ट्रा टेक सिमेन्टले आफूलाई आवश्यक पर्ने कोइला रूसबाट मगाइरहेको छ। र त्यसका लागि तिर्नुपर्ने रकम चिनियाँ मुद्रा युआनमा दिएको भारतीय भन्सार विभागको प्रतिवेदनमा उल्लेख रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले दाबी गरेको छ। भारतले तेस्रो देशबाट समान खरिद गर्न चिनियाँ मुद्राको प्रयोग गर्नु नौलो विषय हो तर आगामी दिनमा यो बढ्दै जाने भन्सार विभागका कर्मचारी बताउँछन्।
अल्ट्रा टेकले करीब १ लाख ५७ हजार टन कोइला रूसको सुएक कम्पनीबाट खरिद गरेको हो। उक्त कोइला रूसको सुदूरपूर्वी बन्दरगाह भ्यानियोबाट ठूलो मात्रामा भारत ल्याइएको हो। खरिद गरिएको कोइलाको बिलमा ५ जुनमा समान आएको देखिएको छ भने त्यसको मूल्य १७ करोड २६ लाख ५२ हजार ९ सय युआन छ। यसलाई अमेरिकी डलरमा मूल्यांकन गर्दा २५ दशमलव ८१ मिलियन डलर हुन आउँछ।
यो खरिद प्रक्रियासँग सम्बन्धित दुई व्यापारिक स्रोतका अनुसार यो मात्राको कोइला रूसको सुएक कम्पनीबाट भारत ल्याउनका लागि दुबईमा रहेको सुएक कम्पनीको शाखाले महत्वपूर्ण भूमिका खेलेको छ। सुएकको शाखाले नै भुक्तानी चिनियाँ युआनमा गर्न आग्रह गरेको थियो।
अन्तर्राष्ट्रिय व्यापारमा चिनियाँ युआनको प्रयोग बढ्दा त्यसको फाइदा रूसलाई हुनेछ। रूसले युक्रेनमाथि हमला गरेको भन्दै पश्चिमा देशले रूस विरुद्ध आर्थिक प्रतिबन्द लगाएका छन्। पश्चिमा देशको आर्थिक प्रतिबन्दका कारण रूसी अर्थतन्त्रमा प्रभाव पर्नसक्ने आकलनबीच अन्तर्राष्ट्रिय व्यापारमा चिनियाँ मुद्रा प्रयोगमा आउनु रूसका लागि सकारात्मक सन्देशका रुपमा लिइएको छ। यस्तै अन्तर्राष्ट्रिय व्यापारमा अमेरिकी मुद्राको एकाधिकारलाई पनि यसले केही हदसम्म कम गर्ने विश्वास लिइएको छ।
रूसी कोइला खरिदका लागि चिनियाँ मुद्राको प्रयोगका विषयमा बुझ्न खोज्दा भारतीय सिमेन्ट उत्पादक अल्ट्रा टेक र रूसी कम्पनी सुएक दुवै सम्पर्कमा आएका छैनन्। सञ्चारमाध्यममा बोल्न आधिकारीक व्यक्ति नभएका कारण भन्सार विभागमा स्रोत आफ्नो परिचय खुलाउन चहाँदैनन्।
‘यो कदम अत्यन्तै महत्वपूर्ण हो। मैले आफ्नो करियरको २५ वर्षमा कुनै पनि अन्तर्राष्ट्रिय व्यापारमा भारतले चिनियाँ मुद्राको प्रयोग गरेको थाहा पाएको थिइन। यो अमेरिकी डलरका लागि चुनौती हो,’ सिंगापुरमा रही मुद्रा व्यापार गर्दै आएका एक व्यापारी भन्छन्।
भारतले रूसबाट यो परिणाममा कोइला खरिद गर्नुलाई तेल र कोइला खरिदमा भारतले रूससँगको आफ्नो सम्बन्धलाई कसरी मजबुत राखेको छ भन्ने देखाउँछ। पश्चिमा देशले रूसमाथि प्रतिबन्द लगाउँदा भारतलाई पनि रूससँग कुनै प्रकारको व्यापार नगर्न दबाब आएको थियो।
तर, भारतले पश्चिमा देशको त्यो दबाबलाई स्वीकार गरेको छैन। दबाबबीच नै भारतले रूससँगको आफ्नो व्यापारलाई थप बढाउँदै लगेको छ। भारत र रूसबीच लामो समयदेखि सुरक्षा साझेदारी रहँदै आएको छ। त्यसैले पनि रूसले युक्रेनमाथि आक्रमण गर्दा भारतले केही बोलेको छैन। युक्रेनमाथिको आक्रमणलाई रूसले ‘विशेष सैन्य कारबाही’ भन्दै आएको छ।
भारतले रूससँग कोइला खरिद गर्दा चिनियाँ मुद्राको प्रयोग गरे पनि कुनै बैंकबाट त्यो कारोबार भयो भन्ने जानकारी भने प्राप्त भएको छैन। यस विषयमा दुवै देशका कम्पनीले कुनै प्रतिक्रिया दिएका छैनन्।
भारत–चीन व्यापार
भारतले रूससँगको व्यापारमा आफ्नै मुद्रा रुपैयाँको प्रयोगको सम्भावना अध्ययन गरेको थियो तर त्यसले कुनै मूर्त रुप लिएको छैन। यता चीनले भने रूससँगको आफ्नो व्यापारमा लामो समयदेखि आफ्नो मुद्रा युआनको प्रयोग गर्दै आएको छ।
भारतले चिनियाँ मुद्रा युआनमा व्यापार गर्दा चिनियाँ बैंकका बेइजिङ वा हङकङ शाखामा डलर भुक्तानी गर्नुपर्ने हुन्छ। भारतीय व्यापारीले चिनियाँ बैंकमा डलर जम्मा गरेपछि मात्रै व्यापारका लागि आवश्यक पर्ने युआन उनीहरुले प्राप्त गर्ने भारतीय दुई वरिष्ठ बैंकरहरुले बताए।
भारतीय वित्त मन्त्रालयका पूर्व सचिव सुवासचन्द्र गर्ग भन्छन्- ‘रुपैयाँ–युआन–रुबेलमा हुने व्यापार फलदायी भयो भने अन्य व्यापारीहरुलाई पनि व्यापारका लागि यही तरिका अपनाउन सहज हुनेछ। यस्तो अवस्था आउने देखिन्छ।’
यता भारत र चीनबीचको व्यापार जसमा डलरको प्रयोग हुन्छ, सन् २०२० मा भएको दुई देशबीचको सैन्य झडपपछि पनि तीव्र गतिमा बढ्दै गएको छ। भारतले केही चिनियाँ समान र मोबाइल एप प्रयोगमा प्रतिबन्द लगाए पनि दुई देशबीचको व्यापारमा भने कुनै कमी आएको छैन।
यता भारतीय सरकारका एक कर्मचारी यो रूसी कम्पनी र भारतीय कम्पनीबीच युआनमा भुक्तानी भएको जानकारी राख्छन् उनी सरकारले यो विषयमा जानकारी भएको बताउँछन्।
‘चीन बाहेका अन्य देशबाट युआनमा भुक्तानी गर्नु यसअघि नौलो विषय थियो तर अब यो मात्रा बढ्ने देखिन्छ। रूस विरुद्ध पश्चिमा देशले लगाएको आर्थिक प्रतिबन्दका कारण पनि यो बढ्ने देखिएको हो,’ ती सरकारी कर्मचारीले भने।
रूसबाट भारतले उर्जा समाग्री खरिद गर्ने दर पछिल्ला हप्ता निकै बढेको छ। रूसले समान खरिदमा ठूलो मात्रामा छुट दिएका कारण पनि भारतीय व्यापारीले ठूलो मात्रामा खरिद गरेका हुन्। नयाँ दिल्लीले पनि रूसले उर्जा समाग्री बिक्रीमा हठात् रोक लगायो भने भारतीय उपभोक्ता प्रभावित हुनसक्ने भन्दै अहिले नै प्राप्त समान खरिद गरिएको भन्दै व्यापारीको बचाउ गरेको छ।
दुबईमा रहेको रूसी कोइला कम्पनीको शाखा पछिल्लो समय भारतसँगको व्यापारमा सक्रिय देखिएको छ भने महत्वपूर्ण केन्द्रका रुपमा विकसित भएको छ। तर, दुबईमा रहेको कम्पनीको शाखाले दुबईबाट रूसमा रूसी मुद्रा रुबेल पठाउने विषय भने चुनौतीपूर्ण रहेको बताउँछ।
-द वायरबाट