माओवादी बैठक : सांगठनिक अराजकता हटाउनेदेखि आगामी योजनासम्म

“एउटा वडा जित्दासमेत खुशी हुनुपर्ने अवस्था आयो। हामी गठबन्धनमा इमान्दार भए पनि कांग्रेसले इमानदारी देखाएन।”

नेपालभ्युज

माओवादी बैठक : सांगठनिक अराजकता हटाउनेदेखि आगामी योजनासम्म
फाइल फोटो

काठमाडौं। राजधानीको कमलादीमा आजदेखि शुरु भएको नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठकमा सांगठनिक अराजकता हटाउनेदेखि आगामी योजनासम्मका विषयमा छलफल भएको छ।

बैठकमा बागमती प्रदेशका अध्यक्ष सरलसहयात्री पौडेलले पार्टीको पदाधिकारी चयन, केन्द्रीय समितिलाई पूर्णता, विभागहरूलाई क्रियाशिल बनाएर स्पष्ट कार्ययोजनाका साथ जनतामा जानुपर्नेमा जोड दिए।

विशेष प्रदेश समितिका अध्यक्ष जगत सिंखडाले पनि पार्टीले अबलम्बन गरेको गठबन्धनको नीतिप्रति तिखो टिप्पणी गरे। उनले गठबन्धन भन्दै जाँदा पार्टीको स्वतन्त्र पहिचान नै गुम्न थालेको, चुनाव चिह्न नै बिर्सने अवस्था आएको बताए। अध्यक्ष सिंखडाले गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनबाट सबैभन्दा बढी फाइदा नेपाली कांग्रेसले लिएका टिप्पणी गरे।

“एउटा वडा जित्दासमेत खुशी हुनुपर्ने अवस्था आयो। एक्लाएक्लै लडेको भए पनि हाल प्राप्त भएको भन्दा धेरै स्थानमा जीत निकाल्न सकिने रहेछ। हामी गठबन्धनमा इमान्दार भए पनि कांग्रेसले इमानदारी देखाएन”, उनले भने, “राजधानी र मधेश प्रदेशमा हाम्रो उपस्थिती प्रभावकारी बन्न सकेन। यसमा निर्मम समीक्षा गरौँ।”

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १० पेज लामो संक्षिप्त राजनीतिक प्रतिवेदन पेश गरेका छन्। त्यसमा पार्टीले आगामी दिनमा अवलम्बन गर्नुपर्ने नीति, योजना र कार्यक्रमका बारेमा उल्लेख गरिएको छ।

“नयाँ संविधानअन्तर्गत दोस्रो पटक संघीय एवम् प्रादेशिक निर्वाचन केही महीनामा हुँदैछ। स्थानीय तहको निर्वाचनमा हाम्रो पार्टीलाई पराजित गर्ने र सीमान्त शक्तिमा बदल्न चाहने शक्तिहरू स्वयम् नराम्ररी पराजित भएका छन्। माओवादी पार्टी पुनः शक्तिशाली बन्ने स्पष्ट संकेत देखिएको छ। यस निर्वाचनको शिक्षालाई गम्भीर रुपमा आत्मसात् गर्दै आगामी आम निर्वाचनको घनिभूत तयारीमा लाग्नु आजको प्रमुख जिम्मेवारी हो”, अध्यक्ष दाहालको प्रतिवेदनमा भनिएको छ।

सङ्गठनात्मक कामअन्तर्गत सङ्गठानात्मक कार्यदिशालाई लागू गर्न पोलिटब्यूरो, स्थायी समिति र पदाधिकारी चयन गरी केन्द्रीय समितिलाई पूर्णता दिने, नयाँ सन्दर्भमा आयोगलाई पूर्णता दिने, सल्लाहकार, जेष्ठ कम्युनिस्ट मञ्चलाई पूर्णता दिई बैठक बोलाउने, विभागलाई कामकाजी बनाउने, आगामी निर्वाचनका लागि प्रतिबद्धतापत्रका लागि सुझाव सङ्कलन र तयारी गर्ने, माओवादी धाराका नेता तथा कार्यकर्ता र समर्थकलाई ठोस योजना बनाई मूल घरमा फिर्ता ल्याउने विषय समेटिएको छ।

वामपन्थी धाराका नेता तथा कार्यकर्ता, समर्थक र शुभचिन्तकलाई ठोस कार्यक्रमका साथ पार्टीमा समाहित हुन आग्रह गर्ने, विभिन्न पार्टीसँग एकताका लागि पहल गर्ने, स्थानीय तहको निर्वाचनको अनुभवका आधारमा वर्तमान गठबन्धनलाई प्रभावकारी बनाउन जोड गर्ने विषय सङ्गठनात्मक कामका रुपमा उल्लेख गरिएको छ।

जनयुद्धको जग र जनआन्दोलनको समायोजनमा आजको परिवर्तन सम्भव भएको तथ्य पेश गर्दै अध्यक्ष दाहालले तीव्र गतिमा आर्थिक विकास, समृद्धि, सामाजिक न्यायमा आधारित नयाँ नेपालको खाका तयार पार्न आवश्यक रहेको ठहर गरेको छ। पार्टीले विज्ञ, विशेषज्ञसँग छलफल गरेर आगामी निर्वाचनको प्रतिबद्धतापत्र तयार पार्ने अध्यक्ष दाहालको प्रतिवेदनमा उल्लेख छ।

सम्पूर्ण केन्द्रीय सदस्यलाई ठोस कार्यविभाजनसहित निर्वाचन क्षेत्रमा पठाउने, सङ्घ र प्रदेशमा जनसहभागितामा चुनावी प्रतिबद्धतापत्रको तयारी गर्ने, निर्वाचन क्षेत्रको तथ्याङ्क सङ्कलन र विश्लेषण गर्ने, निर्वाचन क्षेत्रका आधारित सङ्गठन परिचालन, स्थितीको आंकलन र जन अपेक्षामा आधारित निर्वाचनमा विजयी हासिल गर्ने रणनीति बनाउने अध्यक्ष दाहालको प्रतिवेदनमा समावेश छ।

बैठकमा अध्यक्ष दाहालले नयाँ आधारमा वामपन्थी शक्तिबीच एकता, सहकार्य र चुनावी मोर्चाबन्दी हुन सक्ने बताउनुभएको थियो। त्यसका लागि सामान्य छलफल भएको समेत उनले जानकारी दिएका थिए।

यस्तै, पार्टीको सहायक सङ्गठन वाइसिएल, महिला सङ्गठनलगायतका जनवर्गीय सङ्गठनको भेला आयोजना गर्ने, स्पष्ट कार्ययोजनाका साथ उनीहरूलाई परिचालन गर्ने विषय पनि समावेश गरिएको प्रतिवेदनमा संविधानको रक्षा, प्रतिगमनको विरोध गर्ने समूह र शक्तिसँग सहकार्य गर्ने विषय समावेश गरिएको छ।

अध्यक्ष दाहालले गठबन्धनमा माओवादी सबैभन्दा बढी इमान्दार देखिएको समेत प्रतिवेदनमा उल्लेख गरेका छन्। पार्टीको साङ्गठनिक अवस्थाको बारेमा अन्य दलसँग तुलना गर्दै उनले ग्रामीण क्षेत्रमा माओवादीप्रति जनताको आकर्षण उस्तै रहेको उल्लेख गरेका छन्।

बैठक सोमबार पुनः बस्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved