मिटरब्याजीका कारण आत्महत्या, प्रहरीले लिएन जाहेरी

इन्जिनीयर जैसवालको अन्त्यष्टिपछि घर सफा गर्ने क्रममा पर्समा ‘सुसाइड नोट’ भेटिएको थियो। ‘सुसाइड नोट’ मा आठ जना मिटरब्याजीको नाम र नम्बर पनि छ। तर प्रहरीले परिवारको जाहेरी नै लिन मानेको छैन।

नेपालभ्युज

मिटरब्याजीका कारण आत्महत्या, प्रहरीले लिएन जाहेरी

काठमाडौं। मिटरब्याजीको दबाबका कारण विष सेवन गरी आत्महत्या गरेका बाराको महागढीमाई नगरपालिका वडा नम्बर–४, दहियारका इन्जिनीयर प्रभात जैसवालको परिवारले प्रहरीको व्यवहारका कारण थप पीडित बन्न पुगेका छन्।

प्रभातको मृत्यु भएको दुई महीना बितिसक्दा पनि प्रहरीले पीडकविरुद्धको जाहेरी दर्ता नगरेपछि आफन्त थप पीडामा परेका हुन्।

पर्साको बहुअर्वामा डिस्टिलरी कम्पनी सञ्चालन गरिरहेका इन्जिनीयर जैसवाल ९ जेठमा आफ्नै घरमा मृत भेटिएका थिए।

उनको अन्त्यष्टिपछि घर सफा गर्ने क्रममा पर्समा ‘सुसाइड नोट’ भेटिएको थियो। ‘सुसाइड नोट’ मा आठ जना मिटरब्याजीको नाम र नम्बर पनि उल्लेख छ।

मृतकका एक आफन्तले नेपालभ्यूजलाई दिएको जानकारीअनुसार, जेठ ३० गतेदेखि जाहेरी दर्ताका लागि प्रयास गर्दा पनि अहिलेसम्म जाहेरी नै दर्ता गरिदिएको छैन। सुरुमा प्रहरीका बारा जिल्ला प्रमुख एसपी दीलिप देउवाले तुरुन्त मुद्दा शाखामा ल्याएर जाहेर दर्ता गर्न आग्रह गर्दै त्यसपछि आफूहरूले अनुसन्धान सुरु गर्ने आश्वासन दिए पनि पछि मुद्दा शाखाले किन दर्ता गरेन भन्ने नै आश्चर्यमा परेको उनले बताए।

मृतक इन्जिनीयर जैसवालको पर्समा भेटिएको नोटमा लेखेका छन्, ‘‘मिटरब्याज तिर्न नसकेपछि अप्रिय निर्णय लिन बाध्य भएँ।’’ मृतकले आफूलाई आठ जना मिटरब्याजीले दुस्ख दिएको भन्दै उनीहरूका नामसमेत उक्त नोटमा लेखेका छन्।

त्यसै नोटका आधारमा पीडकसँग ‘लेनदेन’ गरी जाहेरी समेत दर्ता नगरेको आशंका आफन्तको छ।

मिटरब्याजीहरुको विरुद्ध परिवारले आत्महत्या दुरुत्साहनको कसूरमा जाहेरी लिएर प्रहरीसमक्ष गएका थिए। जिप्रका बाराको मुद्दा शाखा प्रमुख सुरेन्द्र यादवले उजुरी दर्ता गर्न पहिले मृतकको १० पृष्ठ लामो अर्को लिखतसँग सुसाइड नोटको अक्षर तुलना गर्नुपर्ने बताएर पर धकेलेपछि अहिलेसम्म जाहेरी नै दर्ता हुन सकेको छैन।

मृतक इञ्जिनीयर जैसवालका पिता असर्फीप्रसाद जैसवाल इँटा व्यवसायी संघका अध्यक्ष हुन्। उनले पहिले नै चिनजान भएका बाराका प्रमुख जिल्ला अधिकारीले जाहेरी दर्ता गरेर अनुसन्धान अघि बढाउन आग्रह गर्दा पनि अझै दर्ता हुन नसकेको परिवारको गुनासो छ। प्रहरीकै केही अधिकारीको मिटरब्याजीहरूसँग उठबस भएकाले मुद्दा दर्ता नभएको पनि परिवारको आरोप छ।

प्रहरीले भने चिठी र मृतकको हस्ताक्षर परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला पठाएको र हस्ताक्षर मिलेर आएमा मुद्दा दर्ता गरिने बताएको छ। मृतक प्रभातको शव पोस्टमार्टमपछि परिवारले जेठ दोस्रो साता नै दाह संस्कार गरिसकेका छन्। अन्त्यष्टिपछि ुसुसाइड नोटु भेटिएकाले परिवारले दोषीमाथि छानबिन गरी कारवाही अघि बढाउन चाहेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved