दोहोरो नागरिकता दिन सिफारिस गरेका वडाध्यक्ष र सचिव फरार

दोहोरो नागरिकता दिन सिफारिस गरेका वडाध्यक्ष र सचिव फरार

जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिकाका एक वडाध्यक्षले एउटै व्यक्तिको दोहोरो नागरिकता दिन सिफारिस गरेको अभियोगमा पक्राउ पुर्जी जारी भएपछि फरार भएका छन्।

जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेपछि जनकपुरधाम उपमहानगरपालिकाका निर्वतमान वडाध्यक्ष रमेश ठाकुर र सचिव माधव राय फरार भएका हुन्। उनीहरुले मुखियाट्टी मुसहरनियास्थित तुलसियाही जब्दीबाट एउटा नागरिकता लिइसकेका आनन्द मिश्रलाई अर्को नागरिकताको लागि सिफारिस गरेका थिए।

अदालतले उनीहरुलाई त्यही नागरिकता दिएको अभियोगमा नागरिकता सम्बन्धी कसुर मुद्दामा पक्राउ पूर्जी जारी गरेको हो। दोहोरो नागरिकता लिएका आनन्द असार पहिलो साता नै पक्राउ परेका थिए। अहिले उनीमाथि अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ।

पक्राउ परेका आनन्दसँग नेपालको दुई र भारतीय मतदाता कार्ड पनि रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएकोछ। मुद्दा परेपछि प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान गर्दा दुई नेपाली र एक भारतीय मतदाता परिचय पत्र समेत फेला परेको बताइएको छ।

धनुषाको मुखियाट्टी मुसहरनियास्थित तुलसियाही जब्दीका आनन्द मिश्रले २०७० साल जेठ १९ मा जिल्ला प्रशासन कार्यालय धनुषाबाट नागरिकता प्राप्त गरेका थिए।

वडाध्यक्ष ठाकुरले नागरिकता प्राप्त गरेका आनन्द मिश्रलाई जनकपुरधाम वडा ८ बाट आनन्द मोहन शरणको नाममा नागरिकताका लागि सिफारिस गरिएको पाइएको छ। त्यसपछि मिश्रले २०७८ मंसिर १७ गते आनन्द मोहन शरणको नाममा जिल्ला प्रशासन कार्यालय धनुषाबाट अर्को नागरिकता प्राप्त गरे।

दुवै नागरिकतामा उनको नाम, जन्म मिति र स्थान फरक फरक देखिएको छ। पहिलो नागरिकतामा बुवाको नाम पवन मिश्र उल्लेख छ। अर्को नागरिकतामा बुवाको नाम देव शरण राखिएको छ। दुवै ठाउँबाट लिएको नागरिकतामा मिश्र कै फोटो रहेको छ।

भारतको निर्वाचन आयोगबाट जारी मतदाता सूची र उनले बनाएको मतदाता परिचय पत्रमा पिताको नाम पवन मिश्र र आफ्नो नाम भवेश मिश्र उल्लेख गरेका छन्। यी कार्डमा पनि मिश्रकै फोटो छ। तर मिश्रले दुवै ठाउँबाट लिएको नेपाली नागरिकता वंशजको आधारमा रहेको छ। उनी जानकी विहार कुण्ड मन्दिरका महन्थको सहयोगी थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved