आयुष्मानले चाले पहिलो पाइला

उनको सांगीतिक यात्राको प्रथम खुट्किलालाई प्रोत्साहन गर्न अग्रज गायिका तारा थापा पनि उपस्थित थिइन्। त्यस्तै उपस्थित थिइन्, प्रसिद्ध गायिका सुक्मित गुरुङ पनि। सांगीतिक क्षेत्रका हस्तीहरू राजु सिंहलगायतको पनि उपस्थिति थियो।

नेपालभ्युज

आयुष्मानले चाले पहिलो पाइला

काठमाडौं। भर्खर युवा–वयमा हिँड्न थालेका आयुष्मान विष्टले ‘सांगीतिक गुरु’ थापेका थिए, आफ्नै हजुरबुबा दिवंगत जगतमर्दन थापालाई। शुक्रबार अपराह्न राष्ट्रिय नाचघरको हरिप्रसाद रिमाल प्रेक्षालयमा संगीत पारखीहरूमाझ उनै विष्टले प्रथम गीति–एलबमको लोकार्पण र सांगीतिक प्रस्तुतिको बेला प्रातःस्मरणीय थापाले बीसको दशकमै गाएका ‘भन लौ तिमी नढाँटी…’ बाट गीति–प्रस्तुतिको शुरुआत गरे।

नेपाली लोकसंगीतका धरोहर कुमार बस्नेतले आशीर्वाद दिने क्रममा आयुष्मानको सांगीतिक यात्राको कामना मात्र गरेनन्। भने, ‘नयाँ पुस्ताले नेपाली कला–संगीतलाई यथेष्ठ योगदान पुर्‍याइरहेका छन्।’ लोक–गायनका उच्च व्यक्तित्व बस्नेतको रोहवरमा विष्टको प्रथम गीति–एलबम ‘मेरो कलिलो मन’ लोकार्पण भयो।

हजुरबुबा थापाको चर्चित गीत ‘भन लौ तिमी नढाँटी…’ गाएर उनले गएको वर्ष कोरोनाबाट निधन भएका हजुरबुबालाई स्मरण गरे। साथै, ‘बिहानी पख’, ‘परदेशी कान्छा’ सहित पछिल्लो समय आफ्नो चिनारी बनेको ‘पोखरेली नानी’ पनि उनले उत्तिकै तन्मयपूर्वक गाए। ‘पोखरेली नानी’ ले त वान्समोरसमेत पायो।

उनको सांगीतिक यात्राको प्रथम खुट्किलालाई प्रोत्साहन गर्न अग्रज गायिका तारा थापा पनि उपस्थित थिइन्। त्यस्तै उपस्थित थिइन्, प्रसिद्ध गायिका सुक्मित गुरुङ पनि। सांगीतिक क्षेत्रका हस्तीहरू राजु सिंहलगायतको पनि उपस्थिति थियो।

गीतकार संघ, नेपालको व्यानरमा आयोजित कार्यक्रममा संघका अध्यक्ष शुभ मुकारुङले पनि विष्टको सांगीतिक यात्राको सफलताको कामना गरे। गीतकार मोहितमर्दन थापाद्वारा धन्यवाद ज्ञापन गरिएको सो कार्यक्रममा आयुष्मानलाई आशीर्वाद दिन आएका नायक भुवन केसीले आफू फिल्म क्षेत्रमा आउनुअघि गायन क्षेत्रलाई अँगालेको पुराना दिनहरू सम्झिन भ्याए।

सानै उमेरदेखि गायनमा भिजेका विष्टको प्रथम गीति–एलबम ‘मेरो कलिलो मन’ को निर्मात्री उनकै आमा पुष्पाञ्जली थापा (विष्ट) हुन्। भकारी म्युजिकले बजार व्यवस्थापन गरेको सो गीति–एलबममा सात वटा गीत रहेका छन्। जगतमर्दन थापा, सञ्जीव सिंह, मोहितमर्दन थापा, कुशलकुमारका शब्दहरूमा प्रभुराज ढकाल, सञ्जीव सिंह, ज्योतिचन्द्र शाह, वसन्त सापकोटा, सुनिल सिंह र मनराज नकर्मीका संगीत रहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved