प्रिय कथा

सुसाइ

अचानक सडकमा जुलुसको आवाज सुन्यो, बुढाले यसो झ्यालबाट चियाइ हेर्‍यो। जेष्ठ नागरिकहरूको जुलुस आइरहेको थियो। ‘जेष्ठ नागरिकलाई न्याय गर’ भन्ने नाराका साथ आफैँतिर आइरहेको थियो। त्यस हुलको अग्र पंक्तिमा ज्ञानुमाया त्यही नारा लगाइरहेकी थिई।

सुसाइ

(रचनागर्भ– केही समयअघि काठमाडौं महानगरपालिका– १४ अन्तर्गत कुलेश्वर आबास परिवार संस्थाको साहित्य, कला, संस्कृति समाजको आयोजनामा कुलेश्वरको आफनै भवनमा विश्व वातावरण दिवस मनाइएको थियो। त्यस दिन “पारिवारिक वातावरणमा जेष्ठ नागरिक” विषयक विद्यार्थीहरूको बीचमा वक्तृत्वकला प्रतियोगिताको आयोजनासमेत गरिएको थियो।

त्यस कार्यक्रममा वर्तमान हाम्रो समाजमा संयुक्त परिवार र एकल परिवारको बारेमा तथा जेष्ठ नागरिकहरूले परिवारमा व्यहोर्नु परिरहेको समस्या र उपेक्षित भएर वृद्धाश्रममा बाध्य भएर जीवन बिताउनु परेको तथा अपमानित भएर बस्नुपरेको पीडाबारे व्यापक चर्चा भएको थियो।

त्यस कार्यक्रममा उठाइएको विषय र मेरो कथा ‘सुसाइ’ले उठाएको सन्दर्भ मिलेकोले मैले त्यसलाई उल्लेख गरेको हुँ। ‘सुसाइ’ कथा यथार्थमा हाम्रो समाज, परिवारको पेरिफेरीमा भइरहेको अवस्थाको कथा हो। यसमा जेष्ठ नागरिकहरूले परिवार र समाजमा बेहोर्न परिरहेको पीडाको सुसाइ हो। हाम्रो समाज संयुक्त परिवारबाट बिस्तारै एकल परिवारमा परिवर्तन भएको कारणले पनि परिवार, समाजमा केही विकृति, विसंगति देखा पर्न थालेको छ। एकल परिवारले केही फाइदा त होला तर आत्मियता अथवा गहिरो ममतामा कमि आएको महसुस भएको छ। वर्तमान समयमा हाम्रा जेष्ठ नागरिकहरूले अपमान बेहोर्नु परेको सत्य हो।

नेपालीमा एउटा उखान छ “यो सन्तान बढ्ला, हामीलाई दूधभात खुवाउला”। तर अवस्था त्यस्तो रहेन। विश्व उपभोक्तावादी चलन र संस्कारले अझ भनौँ महाजनी प्रणालीले (पैसाको दबदबा भएकोले) हाम्रो समाजलाई पनि गाँजेको छ। गोजीमा पैसा छैन भने ऊ बाँच्न सक्दैन, बिनाउपचार, बिनाखाना, नाना, छाना शान्ति सुरक्षा उसले बिजोगको अवस्थामा रहनु पर्ने बाध्यता छ।मानव जातिले खास गरेर वृद्धाहरू यस्तो अन्यायपूर्ण शोषणमा परेका छन्। यस्तो उकुसमुकुस वातावरणमा उनीहरू लामो स्वास तानेर सुसेल्न बाध्य छन्।

बुढेसकाल लागेपछि बिर्सने रोग लगायत अनेकन् रोग लाग्छन्। त्यस बेला अनजानमा केही गल्तीहरू हुने गर्छ र त्यसलाई नै अनावश्यक विषय बनाएर वृद्ध बाआमाहरूको अपमान गरिन्छ। आफूले खाइनखाई सानोदेखि हुर्काएर सबल बनाएका छोराले आफ्ना आमाबालाई यस्तो भनेको पनि सुनियो, “बिहान–बिहान यो बाउको अनुहार हेरेर बाहिर जाँदा साइत पर्दैन। साइत नपरेर काम नै बिग्रिन्छ।” त्यो कपुतले आफ्नो बाआमाले उसलाई हुर्काउन गरेको मेहनत सबै बिर्सियो। बाआमा उसको लागि बोझ बन्यो।मानौँ ऊ आफैँ अन्त कतैबाट त्यसै अवतरित भएको हो।

एकातिर आमाबा बोझ बन्यो भने अर्कोतिर आमाले लगाएको सुनको सिक्री पनि खोसेर लियो। आमाको मन रोयो। आमा पीडा पचाएर सुसाइरहिन्। परिवारमा पनि वर्गसंघर्ष हुन्छ भनेको सायद यहि होला। बाआमालाई सन्तानले हेला गर्नु, अपमान गर्नु भनेको एकले अर्कोलाई दमन गर्नुजस्तै हो। त्यही पीडाको ‘सुसाइ’ यो कथा हो।

ज्ेष्ठ नागरिकहरूले सम्मानपूर्ण जीवन जिउनको लागि गरेको जुलुस, धर्ना, आन्दोलनको विषय पनि कथामा परेको छ। यसप्रकारको सोच र व्यबहारले ल्याएका शब्दहरू जब मैले सुनेँ, जब मैले देखेँ त्यहि नै मेरो कथाको विषयबस्तु बन्यो। त्यसलाई आफ्नो कथाको विषय बनाएरलेखिएको कथा हो– सुसाइ। परिवार, समाजमा सम्मानपूर्ण जीवन बाँच्न चाहलेहरूको अपेक्षाको कथा हो– सुसाइ।)

‘ए बुहारी ! ए जेठी ! ए ज्ञानु ! उठ, उठ। जाऊँ। मसँग।’

ज्ञानुले निधन भइसकेकी सासूले सपनामा एक्कासी बोलाएको सुनिन्।

ज्ञानु अचानक सपनाबाट विपनामा ओर्लिइन्, ब्युँझिइन्। एक प्रकारले उनी तर्सिइन्। आत्तिइन्। निधारभरि चिटचिट पसिना आयो।

‘कस्तो नराम्रो सपना देखेको।’ मनमनै सोचिन्।

नजिकै मस्त निद्रामा रहेका आफ्ना श्रीमान्लाई हेरिन्। कराइन्, ‘ए, दिलुको बुबा ! ए दिलुको बुबा ! उठ्नुहोस् न।’

‘हुँ ! के भयो ? किन कराएको ?’

‘उठ्नुहोस् न। मलाई डर लागिरहेको छ।’

‘किन हँ ? किन डर लाग्यो। म पनि सँगै छु। नडराऊ।’

‘म त मर्छु कि क्या हो ? साह्रै नराम्रो सपना देखेँ आज।’

‘के सपना देख्यौ ?’

‘तपाईँको आमा (सासूआमा) मलाई लिन आएकी थिइन्। म डरले तर्सिएर ब्युँझिएँ। निधार छाम्छु, अलिअलि ज्वरो आएको पनि छ। सपना नराम्रो देखेँ। नरमाइलो लागिरहेछ। सुन्नोस् त ! यति राति मस्र्याङ्दी पनि कति नरमाइलो गरी सुसाइरहेछ। मलाई कसैले बोलाइरहेको जस्तो लागिरहेछ। कसो गरुँ दिलुको बुबा ?’ यति भनिनसक्दै ज्ञानु क्वाँ क्वाँ रुन थालिन्।

‘हैन के कुरा गरेकी तिमीले यस्तो ? आत्तिएर हुन्छ ? नआत्तिऊ। नडराऊ। म सँगै छँदैछु। भोलि उज्यालो भएपछि ज्वरोको औषधि गरौँला। अहिले सुत।’ नेत्र बुढाको सल्लाह।

नेत्र बुढाको सल्लाह ज्ञानुले त सुनिन्। बुढाले सम्झाउन त खोज्यो तर ऊ आफैँ विश्वस्त हुन सकेको थिएन। ऊ आफैँ हरेश खाइरहेको थियो। आत्तिएको थियो। किनभने उसले पनि नराम्रो सपना देखेको थियो। सपनालाई विश्वास गर्ने कि नगर्ने ? आफैँ दोधारमा परेकी थिई। आफूले देखेको सपनामा उसको मुखबाट दाँतको टुक्रा खसेका थिए। यस्तो सपना नराम्रो हुन्छ भनेर कतैकतै सुनेकी थिई तर कसैलाई भनेको भने थिएन।

‘सम्साँझै कुकुर रुनु, दाँत खस्नु, निधन भएकामानिसले सपनामा लिन आउनु’– राम्रो लक्षण होइन भन्ने सुनेको कुरा नेत्रबहादुर बुढाले सम्झियो। श्रीमतीलाई अब के भनेर सम्झाउने भनेर अक्क न बक्क भएर चुपचाप बसिरह्यो। त्यो रातमा मस्र्याङ्दी सुसाइ बाहेक अरू केही पनि सुनिएको थिएन। दुवै जना चुपचाप बसिरहेका थिए। तिनीहरूबाट निद्रा टाढा भागिसकेको थियो। उनीहरूलाई बिहानको पर्खाइमात्र थियो।

त्यो त्यही मस्र्याङ्दीको फाँट हो, जहाँ तिनीहरू धेरै वर्ष पहिले गाउँबाट बसाइँ सरेर आएका थिए। खेतबारी बेंसीमा भएकाले आउन जान गाह्रो भयो भनेर बेंसीमा नै सरेका थिए। तिनीहरूको जीवन सुविधासँग व्यतित भइरहेको थियो। अहिलेको बुढेसकालको जस्तो जीवन थिएन त्यति बेला। खेतीपाती राम्रो थियो। सानोतिनो पसलको व्यापार पनि राम्ररी चलेको थियो।

विगतका दिनहरूमा नेत्र र ज्ञानमायाको जीवन संघर्षपूर्ण थियो। विगतका दिनहरूमा कति कठिनाइ बेहोर्नुपर्‍यो भन्ने कुराको नेत्रको स्मरणका पाना पल्टिन थालेः

‘ज्ञानमायाले मेरो घरमा आएपछि मलाई हरेक पाइलामा साथ दिएकी छिन्। मसँगै हाँसी हाँसी दुःख बेहोरेकी छिन्। जायजन्म नभएका होइनन्। तर जोगिएनन्। ज्योतिषी, धामीलाई देखाइयो, मकैबारीमा सुत्केरी गराउनुपर्ने सल्लाह दिए। त्यस्तै गरियो। ठूलो छोरा जयन्तको जन्म त्यही मकैबारीमा भयो। उनीहरूकै सल्लाह अनुसार छोरा जन्मेपछि दलित डम्वर सिंहको जहानलाई जिम्मा लगाइयो पनि र पछि पैसा तिरेर विधि पुर्‍याएर फिर्ता गरियो। जेठो राम्ररी हुर्कियो। बढ्यो। त्यसपछि अरू बच्चाहरू जन्मे र हुर्के पनि। तिनीहरू सानो छँदा कति रमाइलोसँग हुर्किएका थिए। छोराहरू शिक्षादीक्षाका लागि सहरतिर लागे, नजिकको सहर पोखरामा। त्यतैतिर बस्न थाले। व्यापार, व्यवसाय गर्न थाले। गाउँ फर्केनन्।’

नेत्रबहादुर र ज्ञानमायाले एकापसमा दुःखसुखका कुरा गरेर बिताए। नेत्रबहादुरको उमेरले गर्दा हो वा बाहिरी वातावरणले गर्दा हो, पहिलेजस्तो अवस्था छैन। बिस्तारै बिस्तारै पुराना कुरा बिर्सिदै थियो। त्यसैले ज्ञानमायाले भन्ने गर्थिन्, ‘के भएको छ यो बुढालाई ? कति छिटो कुरा बिर्सने गरेको ?’

‘हँ, हो र ! मलाई त थाहै भएन त !’ नेत्रको जवाफ हुन्थ्यो।

ज्ञानमायालाई राम्ररी सम्झना छ, ‘द्वन्द्वकालमा उनीहरूले निकै दुःख पाए। हुलका हुलमानिस आएर चन्दामाग्थे। सकेको दिन्थे, पठाउँथे। त्यस रात के संयोग परेछ कुन्नी ? चन्दामाग्न आएकाहरूसित बुढाको झगडा भयो। चर्को झगडा। झगडा गर्दै नेत्र बुढाले आक्रोश पोखेको थियो, होइन, एक केटा हो ! कति अतिचार गरेको हो हामीलाई। एकदिन होइन, दुई दिन होइन। जहिले पनि आएको छ। दुःख दिएको छ। हामीले जीविका गर्न नपाउने हो कि क्या हो ? भएभरको सबै कुरा तिमीहरूलाई नै चढाएपछि हामीले के खाने ? के लाउने ? दुःख दिने पनि हद हुन्छ नि !’

‘ए बुढा ! हाम्रो कुरा सुन। तिम्रो कुरा सुन्न आएको होइन हामी।’ आएकाहरूमध्ये एकजना करायो।

‘म चन्दा दिन सक्तिनँ। दिने चन्दा छैन। के गर्छौ तिमीहरूले ?’ नेत्रबहादुर पनि झोक्कियो।

‘ए, यो बुढो निकै ठूलो भएछ। ए केटा हो, ठीक गर यसलाई। भौतिक कारबाही गर।’ कमाण्डरले आदेश दियो।

त्यहाँ आएका सबै मिले नेत्रबहादुरमाथि जाइ लागे।

हुल्लडबाजहरूले कुटपिट गरेर घाइते समेत बनाए। त्यति बेला उसलाई बचाउन कोही आएनन्। सबैतिर आतंक छाएको थियो। सबैमा डर–त्रासले शासन गरेको थियो। झन्डै बेहोस भए नेत्र बुढा। त्यसै बेलादेखि नेत्रबहादुरको स्मरण शक्तिमा र्‍हास आयो। एक प्रकारले बेइज्जती बेहोर्नु परेकाले उसको मनमस्तिष्कमा आघात पर्न गयो। सामान्य स्वभाव रहेन बुढाको। डिप्रेसनको प्रभाव बढ्न थाल्यो।

गुन्डाहरूले गाउँमा हमला गरेर आफ्नो बाउप्रति गरेको भौतिक कारबाहीका कारणले घाइते भएको खबर पोखरामा बस्ने जेठो छोरा जयन्तले थाहा पायो।

‘अब गाउँ (तार्कुघाट)मा बस्नु सुरक्षाका दृष्टिकोणले ठीक छैन। बाआमालाई अब यतै ल्याएर राख्नुपर्छ।’ जयन्तले सोच्यो। तार्कुघाटमा गयो। सहरमा ल्याएर राख्यो बाआमालाई। गाउँबाट आउन त आयो। तर भनेजस्तो कहाँ हुन्छ र ! वातावरण पनि मिल्नुपर्‍यो नि ! गाउँमा आफूखुशी जीवन यापन गरिरहेकोमा त्यहाँ छोरा–बुहारीको सोच र व्यवहार अनुसार जीवन यापन गर्नुपर्ने भयो। कसो, कसो नियन्त्रणमा परेको जीवन जस्तो।

छोरा–बुहारी पोखरामा बसोवास गरेको धेरै वर्ष भइसकेको थियो। जेठो जयन्तको विवाह भएपछि नातिनीहरूमात्र धेरै जन्मे। छोरा कुर्दाकुर्दा छोरीको ओइरो लागे। चार जना छोरीपछि पाँचौँ गर्भ पनि छोरा हो वा छोरी थाहा पाउन आवश्यक ठानियो। भारतको दिल्ली हस्पिटलमा गएर लिङ्ग पत्ता लगाउने कार्य गर्दा छोरी भन्ने थाहा भयो। गर्भ पतन गराइयो। छैठौँ गर्भमा छोरा भएको थाहा भएर जोगाइयो। छोरा नै जन्मियो।

धेरै नातिनीहरूको जन्मपछि नातिको जन्म भयो। यसमा सबभन्दा बढी नेत्रबहादुरलाई खुशी लाग्यो र हल्ला गर्दै भन्यो, ‘बल्ल वंश जोगियो।’ त्यसैको खुशीयालीमा उसले भोजभतेर गरे। टोल छिमेकका लोग्नेमान्छेहरूले बुढासित खुशी मनाए।

ससुराको त्यो खुशीयाली र व्यवहार बुहारीलाई भने कत्ति पनि चित्त बुझेको थिएन। ‘छोरी पाउँदा दुःखमनाउ गर्ने। छोरा पाउँदा खुशी मनाउने। यो कस्तो हाम्रो चलन होला।’ सम्झँदै बुहारी आँखाभरि आँसु पारेर रोइन्।

छोरी, बुहारी र नातिनीहरूप्रति नेत्रबहादुरको सोचाइ, व्यवहार एक प्रकारले असमान नै रह्यो। बुहारीलाई छोरा अथवा लोग्नेमानिसको आधिपत्यप्रति चित्त दुखिरह्यो।

नेत्रबहादुरको स्मरण शक्तिमा र्‍हास आएको धेरै भएको थिएन। तर यसको प्रभाव एक्कासी बढ्यो। त्यसैले नेत्रबहादुर कतै बाहिर जाँदा उतै हराउन थाल्यो। कता जाँदैछु भन्ने बिर्सन थाल्यो। ऊ हराउनै थाल्यो। छोरा, बुहारी र नातिनातिनीहरू सबै हैरान भइसकेका थिए। बल्लबल्ल खोजेर घरमा ल्याउनुपथ्र्यो।

एक रात लोडसेडिङको बेला सबैतिर अँध्यारो भयो। नेत्र बुढा राति उठेर पिसाब गर्न निस्क्यो। चर्पी भनेर अर्को कोठामा गयो। चर्पी जस्तो लागेको ठाउँमा पिसाब फेर्‍यो, फक्र्यो। पछि थाहा भयो– चर्पीमा पिसाब गरेको त ग्यासको सिलिन्डर राखेको ठाउँमा परेछ।

त्यस्तो व्यवहारबाट घर–परिवारका सबै सदस्यहरू रिसाए। कराए, ‘यो त अति भयो। बाहिर गएर बाहिरै हराउने। खाएको नखाएको पनि थाहा नपाउने। जहाँ पायो, उतै दिसापिसाब गरिदिने।’

सबैले आफ्नो बुढालाई गाली गरेको, अपमान गरेकाले ज्ञानुमायालाई साह्रै चित्त दुखेको थियो। सबै कराएको देखेर नेत्रलाई पनि असह्य भयो र भन्न थाल्यो, ‘ल तिमीहरूलाई हामी यहाँ आएर बसेको सैह्य भएन। हामी तिमीहरूका लागि बोझ भयौँ। हामी गाउँमा नै फर्किन्छौँ। ल हिँड बुढी। आफ्नै गाउँठाउँमा।’ तर भन्नासाथ जाने कुरा पनि थिएन। त्यस दिन त्यतै रहे। बुढाबुढी आपसमा हेराहेर गरे। अपमानित वातावरणमा उनीहरू निस्सासिएको अनुभव गरिरहेका थिए।

आफूहरूलाई साह्रै हेला गरेकाले त ज्ञानमायालाई असाध्यै चित्त दुखेको थियो। उसलाई बुढालाई कसैले केहीभन्दा पनि आफैँलाई भनेजस्तो लाग्ने। कसैले बुढालाई कुटे पनि आफैँलाई दुख्ने। यो के भएको होला ? मनमनै भनिन् ज्ञानमायाले।

‘यो बुढाले साह्रै बेइज्जती गर्‍यो। यो बुढा बरु मरको भए पनि हुने। विधवा भएर बस्ने थिएँ।’ छिमेकीसँग आक्रोशसमेत पोखेकी थिई ज्ञानमायाले।

‘छ्या ! के अशुभ कुरा गरेकी दिदी तपाईँले ? यस्तो कुरा पनि गर्ने हो ?’ बहिनी सानुले भनिन्।

ज्ञानमायाको आक्रोश तीव्र हुँदै गइरहेको थियो। नातिनी पवित्रासित पनि कुरा हुन्थ्यो। एक दिन कुरैकुरामा ज्ञानमायाले भनी, ‘हामी बुढाबुढी भनेर हामीलाई धेरै हेला नगर है ! पवित्रा, तिमीहरू पनि एक दिन बुढाबुढी भइहाल्छौ। त्यसमा पनि तिमी त झन् अर्काको घर बिहे गरेर जाने जात ! साह्रै ठूली हुनु पर्दैन। हामीलाई साह्रै हेला नगर। तिमीहरूले पनि हामीले जस्तै अपमानित हुनपर्ला। होस गर।’

बजैको एकोहोरो आक्रोश सुनेर पवित्रा जिल्ल परी। केही प्रतिवाद गरिन। बजैको कुरा मनमामात्र राखी। एक दिन फुपू जमुनासित भेट हुँदै बजै (अजी)ले भनेको कुरा खोली। दुवै जना गम्भीर बने।

‘छोराछोरी बढ्लान्, सुख शान्ति होलान्, सुख शान्तिसित जीवन चलाउँला भन्ने सोचिएको थियो। आफ्ना नाममा भएको श्रीसम्पत्ति पनि छोराहरूलाई बाँडेर दिइयो। आफ्नो हातमा केही पनि नभएपछि सबैले हेला गर्दा रहेछन्। सुन्नु, नसुन्नु पर्ने कुरा सुनेर बेइज्जती सहनुपर्ने रहेछ। धिक्कार छ यो जिन्दगीलाई।’ ज्ञानमाया मनमनै आफैँसित यसरी आक्रोशित भइरहेकी थिई। त्यो आन्तरिक मर्म कसले पो बुझिदेला। आफैँमामात्र गुम्स्याएर राख्नु बाहेक अरू उपाय पनि रहेन।

छोरा, बुहारी, नाति, नातिनीहरू भएको ठाउँमा बस्न, टिक्न नसकेपछि तिनीहरू पोखराबाट तार्कुघाट फर्के। तार्कुघाट फर्केको एक महिना पनि भएको थिएन।

नराम्रो सपना देख्नु। ज्वरो आउनु। छाती गहु्रँगो हुनु राम्रो लक्षण थिएन। पोखरा जान ज्ञानमाया नचाहँदा नचाहँदै स्वास्थ्य परीक्षण गराउन फेरि पोखरा जानुपर्ने भयो। नेत्र बुढालाई घरमा छोडेर तार्कुघाटबाट पोखरा घरमा पुगिन्।

‘पहिले त पोखराको बस्ने घर मेरै नाममा थियो। बुढाले मेरै नाममा पास गरिदिएको थियो। पछि छोरो जेठो जयन्तको व्यवहार के भयो कुन्नी ! एक छिन जयन्तले बोलायो र भन्यो, ‘आमा ! आज बैंकमा जानुपर्‍यो।’ मेरो नामको घरजग्गा बैंकमा राखेर ऋण निकाल्नु छ। आमालाई कागजमा कताकता ल्याप्चे र सही गर्न भन्यो। आमाले छोराको व्यापार राम्रो होला भनेर भने बमोजिम सही गरिदिइन्।

आफूलाई सबै कुरा थाहा नहुनु पनि केही रहेनछ।माल अफिसमा गएर पनि कागजमा सही गरायो, गरेँ। आफ्नो छोराले पनि के अविश्वासको काम गर्ला भन्ठानेकी थिएँ। पछि थाहा भयो, मेरो नामको घरजग्गा बुहारीको नाममा पो सारेको रहेछ। अब म लाटीले के पो गर्न सक्थेँ र ! यस्तो बुढेसकालमा यिनीहरूले यस्तो गर्ला जस्तो लागेको थिएन तर गरे। सहेँ। जे भए पनि बुढेसकालमा सहारा चाहिने रहेछ। अन्त कतै जान सकिएन। यहाँ आइयो। एक पटक डाक्टरलाई जँचाएर तार्कु फर्कनु पर्ला।’ लामो सास तानेर ज्ञानमायाले मनमनै यसरी गुन्गुनाइन्। केही महिना अगाडि डाक्टरकहाँ जचाउँदा फोक्सोमा पानी जमेको छ रे भनी औषधि खान दिएको थियो। उच्च रक्तचापको औषधि पनि खाइरहेकै हो। चिनी रोग पनि छ रे भन्थे। कसैले भन्थे मुटुमा खराबी छ रे ! तर कसैले यकिन गर्न सकेको थिएन। कसैले पनि ज्ञानमायाको रोगको उपचारमा गम्भीरताका साथ खासै चासो राखेको देखिएन।

बुढीआमा उपचार गर्न आएका बेला जेठो छोराले भने रे, ‘आमा मलाई पुँजीको साह्रै अभाव भयो। तपाईँका सिक्री बैंकमा राखेर पैसा निकाल्नुपर्‍यो।’ तयसपछि आमाको मञ्जुरी वेगर नै घाँटीबाट सुनको सिक्री झिकिदियो रे ! त्यो ज्ञानमायालाई साह्रै चित्त बुझेन र भनिछे, ‘यो के गरेको बाबु ! मैले घाँटीमा लगाएको सिक्री पनि झिकिदिएको ? पैसाले पनि कति पुगेन तिमीलाई ?’

‘यस्तै भयो, के गर्ने। अब पैसा नभई भएन।’

‘पैसा भएन भनेर यसरी मेरो घाँटी रित्तै पारेर लगाएको गहना पनि झिक्नु हुन्छ त ? यस्तै हो छोराको धर्म ? म विसञ्चो भएर आएको जँचाउनलाई। वास्ता पनि गर्दैनौ। जँचाउन पनि जान पाइएन।’ ज्ञानमायाको आक्रोश पोखिएको थियो। आँखाभरि आँसु पारेर रोई।

त्यसपछि ज्ञानमाया छोरीकहाँ गई र ‘छोरी, हेर तिम्रो दाजुले मेरो एउटा सुनको सिक्री पनि घाँटीबाट जवरजस्ती झिकेर लियो। बैंकबाट पैसा निकाल्नु छ भनेर। मलाई के गरेको होला ?’ भनेर ह्वाँह्वाँ गर्दै रोएकी थिई।

दाजुको व्यवहारले आक्रोशित छोरी बोली, ‘म अर्काको घरमा परेकी छोरी, मेरो के अधिकार छ र तपाईँको घरको बारेमा बोल्ने। जेसुकै गर्नुस्। तपाईँको घरको कुरा।’

एकदिन बिहान ज्ञानमाया उठी। केही पर छोराज्वाइँको घर थियो। छोरीलाई बोलाई फोनबाट।

‘नानी ! मलाई कस्तोकस्तो असजिलो भएको छ, तिमी छिटो आऊ न।’

‘हुन्छ आमा ! म आएँ।’

छोरी आएर दाजुलाई खबर गरी। जयन्तले गाडी निकाल्यो, अस्पताल जानका लागि।

ज्ञानमाया कोठाबाट बिस्तारै तल ओर्ली। चर्पीमा गएर पिसाब गरी। बिस्तारै बाहिर निस्की। छोरीको हात समाएर गाडीमा बसी।

छोरी मनमायाले आमालाई काखमा राखी। गाडी अस्पतालतिर लाग्यो। जयन्तले गाडी चलाइरहेको थियो। छोरीको काखमा पल्टिएकी ज्ञानमाया अनायास चल्मलाई। छोरी आत्तिएर कराई, ‘आमा ! के भयो ! आमा तपाईँलाई के भयो ?’ ज्ञानमायाको मुखबाट फिँज निस्केको र आफूतिर हेरेको छोरी मनमायालाई थाहा भयो। हेर्दाहेर्दै छोरीको काखमा ज्ञानमायाले प्राण त्यागी। जयन्तले गाडी हुर्‍यायो। ज्ञानमायालाई डाक्टरको आकस्मिक कक्षमा पुर्‍याइयो। डाक्टरले मृत घोषित गर्‍यो।

ज्ञानमायाको निधनको खबर आफ्ना नातेदार, छिमेकी भएको स्थान सबैतिर फैलियो। पोखरा, काठमाडौं, नारायणगढ, तार्कुघाट सबैतिर एक प्रकारको सन्नाटा छायो। तार्कुघाटमा बसेका बुढालाई लिन पठाइयो। छरछिमेक, नातेदारहरू अस्पतालमा जम्मा भएका थिए, बुढा अस्पताल पुग्दा।

अस्पतालमा अनुहार छोपेर राखिएको थियो ज्ञानमायालाई। नेत्रबहादुर नजिकै गयो। बिस्तारै छोपेको कपडा पन्छायो। अनुहार चुपचाप थियो। बुढालाई भनिरहेजस्तो लाग्यो, ‘ल है बुढा ! तिमी एक्लै बस घरमा। म त गएँ।’

बुढाले ज्ञानमायाको चिर निद्रामा परेको अनुहार एक टकले हेरिरह्यो। जिल्ल पर्‍यो। यताउता नातेदार, छिमेकीहरूलाई हेदै बोल्यो, ‘छिट्टै जानु रहेछ। मसँग सधैँ वादविवाद गरि रहन्थी। बेला बेलामा मसँग रिसाएर कराउँथी। उसको रिसाउनुका कारण धेरै होला। अब गइसक्यो। कारण पनि उसैले लिएर गयो। अब मैले अन्दाजमात्र गर्न सक्छु। ल, भाग्यमानी रहेछौ तिमी ज्ञानु। गयौ, सन्चोसँग गयौ। मैले जस्तो दुःख पाउनु परेन। मैले जस्तो अपजस सुन्नु परेन। तिमी त भाग्यमानी रहेछौ। मेरो संसारै शून्य पारेर गयौ। अब त मेरो बोल्ने सहारा पनि भएन बाबै।’ नेत्रबहादुर बोल्दाबोल्दै एकोहोरियो।

बुढाभन्दा बुढीको पहिले निधन भयो भने नेवारी चलन अनुसार लुगा, चुरा, पोते, धागो, सिन्दुर लगायतका सबै पहिरन सामग्रीहरू निधन भएकी श्रीमतीलाई राखिदिनु पर्छ। ती सबै काम ज्ञानुलाई चढाइयो। ‘तिमीलाई यसरी बिदा गर्दैछु। शान्तिसँग जाऊ है ज्ञानु।’ नेत्रको बोली फुट्यो। नरोऊँ भन्दाभन्दै पनि हुक्कहुक्क रुन थाल्यो। भन्न थाल्यो, ‘मेरो संसार डुब्यो। अब म एक्लो भएको छु। मलाई अब कसले सुन्छ। ज्ञानु ! जाऊ तिमी जाऊ।’ जयन्त र अरूले बुढालाई हात समाएर ल्याई बसाए। घाटमा अन्त्येष्टि गर्न जाने तयारी हुन थाल्यो।

नातेदार, छिमेकमा कुरा चल्यो। फोनमा समेत कुरा भयो। के भएर बितेकी रहिछन् ती बुढीआमा ? बजै। ठूलीआमा, फुपू, दिदी, बहिनी, सबैको चासो। वास्तवमा के भएर बिती, स्पष्ट भएन। कसैले भने, ‘मुटुको भल्ब बिग्रेको थियो रे ! त्यसैबाट हृदयघात भएको रे !’

कसैले भने, ‘रक्तचाप, चिनी रोग, दम थियो रे। त्यसैले लग्यो।’

कसैले भने, ‘फोक्सोमा पानी जमेको थियो रे।’ जे हुनु थियो भयो, बिती।

आमाको त्यति बेलाको अवस्था सम्झेर छोरी जुनुमाया सम्झी सम्झी रोई र भनी, ‘मैले आमालाई त्यस्तो किन भने हुँला। आमालाई दाजुले त्यस्तो अत्याचार गरेका बेला म आमालाई लिएर कुरा गर्न किन गइनँ छु। किन विरोध गरिनँ छु। धिक्कार छ। मेरो जुनीलाई पनि।’

‘वास्तवमा त्यो घटनाले गर्दा नै आमाको धेरै चित्त दुखेको थियो। रोएको रोई गर्नु हुन्थ्यो। दाइ आमाको हत्यारा हो। आमाको नामको घरजग्गा थाहै नदिई नामसारी गर्‍यो। अरू भाइहरूलाईमारेर आफैँ खायो। जाबो एउटा सिक्री पनि मर्ने बेलामा लुटेराले लुटेजस्तो गरेर जबरजस्ती लुट्यो। धिक्कार छ, त्यस्ता डाँका छोरालाई।’ जुनुमाया कराएको सुनेर उसको श्रीमान् छक्क पर्दै भन्न लाग्यो, ‘होइन, तिमीमाइतीदेखि जहिले पनि डराएर बस्थ्यौ। आज कसरी कराउन सक्यौ ?’

‘आमाको हत्याराको नास होस्।’ जुनु कराई।

जुनुका तीन जना दाजुहरूमध्ये एक जना दिलु विदेशमा र दुईजना नेपालमा नै थिए। सम्पत्तिको बाँडफाँट र अंशबण्डामा भेदभाव भएका कारणले आपसमा मेलमिलाप थिएन। र, पनि व्यवहार जसोतसो चलेको थियो।

विदेशमा भएका छोराबुहारी र नातिहरूकहाँ फोनबाट ज्ञानमायाको निधनको खबर पुग्यो। किरिया–कर्मका लागि विदेशबाट छोराबुहारी घर आइ पुगे। नातिहरू त्यतै रहे। बजै (अजी) को निधनको खबर सुनेर दुवै जना नातिहरू बेस्सरी रोए। केही दिन अगाडि तिनीहरूले इन्टरनेट (स्काइप)मा बजैसँग प्रत्यक्ष कुरा गरेका थिए। कुरा गर्दा तिनीहरूले भनेका थिए, ‘अजी, हामी विदेशमा बसेको धेरै भयो। नेपाल आउन मन लागेको छ। गाउँमा जान मन लागेको छ। तपाईँसँग हामी हाम्रो गाउँमा जाऊँ है अजी।’

‘हुन्छ बाबा, हुन्छ। तिमीहरू बरु छिटो आऊ। गाउँमा जाउँला। मस्र्याङ्दीको किनार घुमौँला। गाउँ डुलौँला। रमाइलो छ अचेल गाउँमा पनि। मोटर जान्छ गाउँसम्मै।’ बजै ज्ञानमायाले नातिहरूसित कुरा गरेकी थिई। दुई जना नातिहरूसित पालैपालो बोलेकी थिई।

त्यो क्षण सम्झेर, अब बजैलाई देख्न पाइने छैन भनेर दुवै जना बेस्सरी रोएका थिए। तिनीहरू नेपालमा छँदा बजैको हेरचाहमा खुब ध्यान दिने गर्थे। बजैको हात समातेर डोर्‍याउने गर्थे। बजैको सम्मान गर्थे। आज ती सब कुरा विगतमा गए र सम्झनामात्र भए भनेर पनि तिनीहरू रोए। खुब रोए।

ज्ञानमायाको शरीर सद्गत गर्न जान छिमेकी, नातेदारहरू मलामीमा सामेल हुन अस्पतालमा जम्मा भए। मलामीहरू घाटतिर लागे ज्ञानमायाको लास राखिएको बसको पछिपछि हिँडे तर नेत्रबहादुर घरमा फर्के। श्रीमती ज्ञानुसँग बस्ने कोठामा पुगे। ज्ञानमायाको लुगाको पोको फुकाएर लुगाफाटो एकोहोरो टोलाएर हेरेर बसिरहे। रुन पनि रोएनन्। जिल्ल परेर लुगालाई ओल्टाइपल्टाई खोजि हेरे ज्ञानमायालाई। फेरि भने, ‘ज्ञानु दुःख पाएर बस्नु परेन। तिमी आनन्दसँग गयौ। तिमी भाग्यमानी।’

घाटको लास जलाउने ठाउँमा ज्ञानमायाको शरीर राखी दागबत्ती दिइयो, दुई जना छोराबाट। एक जना विदेशबाट आउन बाँकी छ। भोलि पर्सिसम्म आउने कुरा गरेका थिए। लासमा आगो दन्किन थाल्यो। ज्ञानुको शरीरमा बलिरहेको आगोले भनिरहेको थियो, ‘जयन्त, तिमीलाई जन्माउँदा, हुर्काउँदा यस्तो कंश होला जस्तो लागेको थिएन। तर तँ त कंशभन्दा पनि महाकंश भइछस्। मेरो अपमान गरिस्। तेरो बुबाको अपमान गरिस्। अपमानै अपमानमा हाम्रो बुढेसकाल बित्यो। म त आनन्दले मर्न पाएँ। यसरी मर्न पाएकामा खुशी लागेको छ। तिमीलाई पनि एउटा ठूलो बोझ थियो, पन्छियो भनेर अवश्य पनि खुशी लागेको होला। खुशी मनाऊ। तर तेरा बाउलाई भने म छँदा जस्तो बेइज्जती र अपमान नगर है।’

हेर्दाहेर्दै ज्ञानमायाको सारा शरीर जलेर खरानी भयो। सायद बादलपारि कता हराएर बेपत्ता भएर गयो।

छोराहरू, छोरीहरू, बुहारीहरू किरियामा बसेको ठाउँमा निकै नातेदार, छरछिमेकी आए। फोटो र धुप राखेको ठाउँमा आगन्तुकहरू गएर श्रद्धाञ्जली चढाउँथे। रजिस्टरमालेख्थे। दुःखसुखका कुरा गर्थे। पण्डितहरू आएर पुराण भने र तिनीहरूले पण्डितलाई दानदक्षिणा गरे। शोक श्रद्धाञ्जली स्वरुप पत्रिकामा ज्ञानमायाको फोटो छपाए। फेसबुकमा पनि राखे। गर्नुपर्ने सबै काम गरे छोराहरूले। छोरी भने सबभन्दा बढी शोकाकुल देखिन्थी। आमाबाप्रतिको व्यवहार र निधन हुनु अगाडि आमालाई आफूले गरेको व्यवहारप्रति छोरी जुनुमाया पश्चाताप गरिरहेको जस्तो देखिन्थी।

नेत्रबहादुर पनि कहिलेकाहीँ किरिया घरमा जाने गर्थे। आगन्तुकहरूसित भेट भएमा बोल्थे। कोठामा आउँथे। वाल्ल परेर बस्थे। कोहीसँग पनि बोल्दैनथे। विगतलाई सम्झेर वर्तमानलाई वाल्ल परेर हेर्दा ‘संसार चल्दैछ, चलिरहने छ’ जस्तो लाग्थ्यो।

जीवनका धेरै वर्ष मस्र्याङ्दीको किनारमा बितेको, मस्र्याङ्दी नदीको सुसाइमा हुर्केको ज्ञानमायाको अन्त्येष्टि भने सेती नदीमा हुन पुग्यो। सेती एकनासले बगिरहँदा ज्ञानमायाको लास एकनासले जलिरहेको थियो।

‘मुनामदनमा महाकवि देवकोटाले भनेजस्तै भएको थियो ज्ञानमायालाई। ‘आँखाको धुलो पखाली हाल्यौ हे भाइ बहिनी !’ कसैका लागि आँखाको धुलो भएको भए पनि त्यो अब आँसुले पखालियो।’ छोरी जुनुमायाले सम्झी आमालाई।

‘बुढाबुढी भएर कसैले पनि दुःख पाएर बाँच्न नपरोस्। भनेको त हो। तर के गर्नु काल नआई मर्न नसकिने रहेछ, के लाग्छ र ?’ मन मिल्ने साथीहरूसित नेत्रले आफ्नो मनको कुरा पोख्थे।

‘बुढापाका भएर बाँच्नु परेपछि यस्तै हो नेत्र ! के गर्छौ ?’ अर्को बुढा साथीको सान्त्वनाको स्वर हुन्थ्यो।

पर कसैको रेडियोमा कविमाधवप्रसाद घिमिरेको गीत र नारायणगोपालले गाएको गीत बजिरहेको थियो–

‘आजै र राति के देखेँ सपनी मै मरी गएको
बतास बिना हाँगाको फूल झैँ झरी गएको
मस्र्याङ्दी नदी नरमाइलोसित सुसाइ रहेको
कहाँ हो कहाँ बादलभित्र म रोइरहेको….२’

नेत्रबहादुर कोठामा एक्लै बसिरहेको बेला त्यही गीत गुन्जिरहेको थियो। नेत्रले गीतसँगै ज्ञानुमाया सपनामा ब्युँझदै झस्केको देख्न थाल्यो। त्यस बेला अचानक सडकमा जुलुसको आवाज सुन्यो, बुढाले यसो झ्यालबाट चियाइ हेर्‍यो। जेष्ठ नागरिकहरूको जुलुस आइरहेको थियो। ‘जेष्ठ नागरिकलाई न्याय गर’ भन्ने नाराका साथ आफैँतिर आइरहेको थियो। त्यस हुलको अग्र पंक्तिमा ज्ञानुमाया त्यही नारा लगाइरहेकी थिई।


Comment

One thought on “सुसाइ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved