पहाड : दिनेश अधिकारी र महेश प्रसाईंका दुई कविता

पहाडलाई थाहा छ, छातीमा भोटेगंगा हिँडेको
अन्तरतहमा बिझेको छ, उकुच
प्राचीन जलविहार हिँडेको।

नेपालभ्युज

पहाड : दिनेश अधिकारी र महेश प्रसाईंका दुई कविता

पहाडको गुण

–दिनेश अधिकारी

आपसमा
कसरी मिलेर बस्नुपर्छ भन्ने कुरा
मान्छेले पहाडसँग सिक्नुपर्छ।

पहाड सबभन्दा पहिले
आफैँ आधार भइदिन्छ अर्कोलाई उभिन
र, थपमा
आफ्नै थाप्लो थापिदिन्छ अर्कोलाई
माथि उठ्न।

जब विपत्ति पर्छ
माथिल्लो तल्लोलाई
खुट्टाले धकेल्दैन तल पुर्‍याउन होइन
बरु तल्लोलाई सघाउने
पहिलो कर्तव्य पनि
माथिल्लो आफ्नै हो भन्ठान्छ
र, एकैचोटि हामफालेर
तलभन्दा तल आइपुग्छ
बादल, वर्षा र चट्याङ
माथिल्लो आफ्नै शिरमा थाप्छ
धूलो, हिलो र बाढीसँग
तल्लोले संघर्ष गर्छ
तल
ढकमक्क बाबरी फुल्छ
र, उसको उर्वरता हेरेर
माथिल्लो गर्व गर्छ
माथि
जब गुराँसले सिँगारिन्छ
आफूमा आत्मसात् गर्छ माथिको उचाइ
र, तलको मख्ख पर्छ।

आपसमा
कसरी मिलेर बस्नुपर्छ भन्ने कुरा
मान्छेले पहाडसँग सिक्नुपर्छ।

०००

पहाडलाई भन्न मन छ

–महेश प्रसाईं

ढुंगाको छातामा चट्टान अलंकृत
वर्षादी खोज्न हिँडेको
बुढो जलविरेको मुस्कान पोखियो
पहराको टेकोले धान्दै
हिमताल निःसृत छातीमा।

ऊ हेर्छ गुम्बाको निद्रा
माने पेमेको बैठक,
अझ परेलीमा लिस्तीमाई
वीर जवान रचनाक्रम
कहीँकहीँ कुतीको प्रणय
भोट सवाई ल्हासाको यात्रा।

पहाडबाट झरेको कालो रङ्गको आय
त्रिकालदर्शी ती बिघ्न रिम्पोछेको
ध्वनिमा, अलिकति हुण्डरी मिसिन,
प्राचीन झुस उम्रिएको शरीर
थोरबहुत बाँझो तीर्खा थियो,
दिन बिताउन, पुस्तैनी रात बिताउन
कालातीत काल निमोठ्नु थियो।

नभन संवेगहरूलाई, स्पन्दन नभएको
जलकणको प्रकार
पहाडैपहाड– काला पहाडको प्रहार,
ज्योतिर्लिङ्गमा, ज्योति हराएको रन्को बनेर
कामनै कामनाको यो सल्फरको व्यथा
फेरि बल्झन्छ,
पञ्च महावलि झस्कँदै
एकान्त सामल बल्झन्छ,
पहाडलाई थाहा छ, छातीमा भोटेगंगा हिँडेको
अन्तरतहमा बिझेको छ, उकुच
प्राचीन जलविहार हिँडेको।

पहाडलाई कुनैकुनै मौन थाहा छ
चुपचाप पदचाप थाहा छ।

त्यहाँ मैलो तीर्खा उम्रिन सक्दैन
भन्छ ऊ काँढेतार टेकेर
पराजयको खुसी, यो बगरमा मिसाउन पाइँदैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved